चोकको कथा

असन डबली : वारि र पारि

असन चोकको ‘यता चपा’ विश्वकै सर्वाधिक पुरानो अदालतघर साबित हुन सक्ने स्थितिमा छ । तर, असनवासीहरुले यस्तो बोध गरेकै पाइँदैन ।
सौरभ

असन, मुख्य बजार नेपालकै । राजधानीमा अवस्थित र अस्तव्यस्त, केन्द्र धेरै व्यवसायीको । यसमाथि एउटा लेखोट पढ्न पाइयो केही महिनाअघि (दुई शताब्दी पुरानो बजार, १३ कात्तिक २०७८) कान्तिपुर ‘कोसेली’ मै । धीत मरेन । त्यसैले केही थपौं लाग्यो । र, लेखिए तलका सन्दर्भहरू ।

विचित्र संज्ञा : ‘यता चपा !’

‘यता चपा’ अर्थात् ‘साउदर्न पेभिलियन’ (दक्षिणी मण्डप) भन्छन् असन डबली दक्षिणको भवनलाई— यस्तो जानकारी गुगलमा हालिएको छ । तर, नेवारी शब्दहरूको कुन व्युत्पत्तिले यता चपाको अर्थ दक्षिणी मण्डप हुन जान्छ ? पंक्तिकारले बुझेको छैन ।

यता चपा खासमा गीता पाञ्चालीको अपभ्रंस हो अर्थात् लिच्छविकालीन न्यायाधिकरण हो, जहाँ झगडियाहरूले गीता छोएर शपथ खाएपछि पञ्च भलादमीले फैसला दिन्थे । यही ‘यता’ शब्द यस भवनको दक्षिणपट्टि ‘वटु’ हुन गएको छ, उत्तरपट्टि ‘त्यौड’ र ‘ज्याठा’ हुन गएको छ, पश्चिमपटि ‘ङतपाचो’, ‘यटखा’ र ‘इटुमबहाल’, पूर्वपट्टि ‘झतामुगर’ टोल र ‘भोटाहिटी’ हुन गएको छ, उत्तरपश्चिममा ‘कोयताहिटी’ र उत्तरपूर्वमा ‘कोयतामार्ग’ हुन गएको छ ।

ङतपाचो स्वयम् गीता पाञ्चालीको अपभ्रंस भएको स्पष्टै छ । अर्थात् सँगैको ङतदेवी नेपालीकरण भएर नरदेवीसमेत हुन पुगेकी छन्, तिनको परिचय नै बदलिएको छ । पाञ्चाली शब्द बिग्रिएर पचली बन्न पुगेको देउताथानको उत्तर नायपाचो भएको बाट पनि ङतपाचोलाई बुझ्न सकिन्छ । चोकबीचको इनारको नाम इटुमबाट इटुमबहाल भएको हो भनी नेटमा हाल्नेहरूले बताइदिनुपर्‍यो इटुमको व्युत्पत्ति के हो ?

झतामुगरको मुगर शब्द मकर वा मकरधाराको अपभ्रंस हो । जसरी चिकंमुगल र ग्वाछेमुगल बनेको छ । यताबाट ज्याथा हुँदै झता हुन गएको हो, जसरी संस्कृतको जंगम नेवारीमा झंग (चरा) हुन पुग्छ, जाली शब्द झेल्ली र जल शब्द झोल हुन्छ । यसैबाट ज्याथाको एक ठाउँ झ्वाबहार टोल हुन पुग्छ ।

अर्थात् झतामुगर भन्नु र भोटाहिटी भन्नु एउटै हो । ‘य’ भएको हो ‘भ’ । जसरी योगिनी वा योगवती बन्न जान्छ भगवती, संयोग शब्दको ‘यो’ बदलिएर ‘भ’ हुन जाँदा लाग्छ यौनमूलक अर्थ । भोटबाटै बनेको भए हुनुपर्थ्यो भोटेहिटी । नेवारीको हिटीचाहिँ संस्कृतको स्रोतबाट बनेको हो । जसरी बन्दछ सिन्धु शब्द हिन्दु । आफूले ‘ङत’ को अर्थ नबुझ्दा ‘नर’, ‘यता’ को अर्थ नबुझ्दा ‘भोटा’ बनाइदिएका हुन् नेपालीभाषी जिब्राहरूले, नेवारहरूको दोषै छैन ।

उसको स्थान

आजको सिंगो नेपाल देशको सर्वोच्च अदालतको परिसरको तुलनामा लिच्छविकालीन काठमाडौं देशको न्यायालयको यति विशाल अनौपचारिक परिसर हुनु असनवासीहरूका निम्ति सर्वोच्च गौरवको विषय हुनुपर्ने हो ।

सेलोबादनका पर्यायवाची पाब्लो केसल्सले (कलाका पर्यायवाची पाब्लो पिकासो, कविताका पर्यायवाची पाब्लो नेरुदाजस्तै, यी तीनै जना एकै वर्ष सन् १९७३ मा बिते) संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा भनेथे— म क्याटालान हुँ र विश्वको पहिलो संसद् बेलायतमा भन्दा अघि क्याटालोनियामा स्थापना भएथ्यो । त्यसैगरी विश्वको सबैभन्दा पुरानो ‘कोर्ट हाउस’ मानिन्छ भ्यालेन्सिया, स्पेनको एक अदालतघरलाई गुगल पहिल्याउने हो भने । तर, त्यो मात्रै हजार वर्षअघिको हो । त्योभन्दा धेरै पुरानो हो– यता चपा ।

किनभने लिच्छविकालीन भनेपछि कम्तीमा १३०० वर्ष पुरानो त्यसै भयो जग भागलाई मात्रै लिने हो भने पनि । त्यसमाथि पश्चिम कुनाको इखापोखरी र इखानारायण नै पनि बनेको बुझिन्छ ‘यता’ बाट । किनभने शेषबाट शिखानारायण बन्ने हो, तर शिखाबाट इखा भएको हो भन्नलाई त्यस मूर्तिको शिरोभागमा फणाचक्र छैन । ‘इखानारायण पाँचौं शताब्दीको हुनुपर्छ’ (केही साताअघि यही अखबारमा सुदर्शन तिवारी) भन्ने टिप्पणी हेर्ने हो भने ‘गीता’ बाट ‘यता’ हुँदै

‘इखा’ बन्न ३०० वर्ष लाग्यो होला । गीता पाञ्चाली लिच्छविकालभन्दा अघिकै हुनुपर्छ । गीता बनेकै २५०० वर्षभन्दा बढी भइसकेको मानिन्छ पनि ।

थप्नैपर्ने एउटा पुच्छर

हनुमानढोकाको सबैभन्दा पुरानो भाग १६ औं शताब्दीको अन्तको भएको मानिएको छ । यसो भएपछि विसं १५३७ कै दस्तावेजमा फेला परेको वटु भन्ने स्थान नाम नेवारीको वता अर्थात् पूर्व (हनुमानढोकाको) बाट बनेको हो भन्न शंकरमान राजवंशीले मिल्दैन (‘काठमाण्डू शहर’ मा उद्धृत) । न यटखा भन्ने नाम नेवारीको येता अर्थात् पश्चिमबाट भएको हो भन्न न हेमराज शाक्यले नै मिल्छ (‘काठमाण्डू शहर’ मा उद्धृत) । किनभने हनुमानढोकाको पश्चिममा पर्दैन यटखा बरु उत्तरमा पर्छ । स्पष्ट गरौं, संस्कृतको उदयबाट वता, अस्तबाट येता बन्छ नेवारीमा ।

लक्ष्मी/असन–तिब्बती नाम

ल्हछेन भन्छन् तिब्बतीहरू शिवलाई । ल्हाको अर्थ देवता हो, यही छेन नेपालीमा सुन र संस्कृतमा सुवर्ण (राम्रो रङ) हुने हो । अर्जुन, कनक, हाटक, हिरण्य सबैको अर्थ शिव र सुन दुवै हो । सुनका निम्ति प्रख्यात नै छ तिब्बती पठार वाल्मीकिको कालदेखि नै । तर, विष्णु सुन र सम्पत्तिका पर्यायवाची होइनन्, उनकी पत्नी लक्ष्मी सम्पन्नताकी प्रतीक हुनलाई । ल्हाछेनको स्त्री रूप विकास गरेर तिनलाई विष्णुकी पत्नी भनियो भन्ने टड्कारै छ । यति बेला ऋग्वेद र यजुर्वेदतिर नजाऊँ ।

छेन्वीलुङ भनेको लक्ष्मीको प्रतिनिधि ढुंगा हो । किराँत र सुतुलुङ– राई र चाम्लिङ (पेज ३१) ले पनि स्पष्टै भनेको छ, छेन र छेन्वी भन्नु एउटै हो । यहाँ लक्ष्मीलाई प्रस्तरकै रूपमा लिइने चलन छ, जसरी स्थाणु (स्टोन, ठाउँ, थान) भन्नु प्रस्तर र शिव दुवै हो । असन नाम यही ल्हाछेनको रूपान्तरण हो । मध्यपश्चिम पहाडमा कतैकतै आमालाई चेई र पूर्वी पहाडमा सानीआमालाई छ्यामा भन्ने चलन छ । त्यो यही छेनबाट आएको हो । ल्हाछेनबाटै लच्छिन र लक्षण शब्दहरू आउँछ संस्कृत र नेपालीमा । तिब्बतमा भने शिवका निम्ति अन्य नामहरू हुन् वाङचुक क्याम्पो, लेगदेन आदि । लेगदेन पनि ल्हाछेनको रूपान्तरण हो । र, सम्भवतः लिम्बू थर लिङ्देनको ।

अन्नपूर्ण ‘अजिमा’

अन्नपूर्ण अजिमा भनिन्छ, असनकी मूल देवीलाई भनेर गुगलमा सूचना हालिएको छ । अजिमामाथि विगत २–४ महिनायता कम्तीमा दुई जना लेखकहरू (वज्राचार्य, १७ पुस २०७८, चाम्लिङ, ८ माघ २०७८) ले आ–आफ्ना टिपोटहरू दिएका छन् । उद्धृत गरिएका बलदेव जुजूको तर्क आधारहीन छ । उद्धृत गरिएका कोही शान्ति सुरभजस्ताका तर्कहरूलाई टिप्ने हो भने मूल लेखककै ‘क्रेडिबिलिटी’ ध्वस्त हुन्छ । किनभने भक्तपुरको वनमालालाई लिइएको हो भने गथु कुनै किराँत गस्तीबाट बनेको होइन, गुठियारबाट बनेको हो । पाटनमा यही शब्द गठे हुन्छ । पचली कुनै किराँत पब्बीबाट बनेको होइन, पाञ्चालीबाट बनेको हो ।

तर, अज शिवको एक नाम हो र अजिमा उनकी पत्नीको । यसको मूल अर्थ हो अजन्मा अर्थात् मानिसबाट नजन्मिएको । भन्नाले स्वयं उत्पन्न वा स्वयम्भू । गौतमबज्र वज्राचार्यले स्वयम्भूस्थित अजिमालाई बौद्ध जातक कथाहरूसँग जोड्दै तिनलाई यक्षी भनेका छन् ।

तर, जातक कथा लेखिन थालेको २३०० वर्षदेखि मात्रै हो । जबकि स्वयम्भूकी अजिमा भनिने हारतीको शुद्ध नाम हरगौरी हो । भाषा वंशावलीको भाग २, पेज ६१ ले उनलाई लक्षित गर्दै भनेको छ, ‘फेरि शिम्भुका बुढियाको बालकहरूको भय पनि नरहने भयो’ । यो त्यो स्वयम्भूको कुरा हो, जसको पछिल्लो इतिहास १५०० वर्षअघिको वृषदेवबाट मात्र सुरु हुन्छ ।

तर, होमरले २८०० वर्षअघिको इलियडमा बारम्बार (बुक ७ को दुई ठाउँ, बुक ११ को पाँच ठाउँ, बुक २६ को चार ठाउँ र बुक ८, २०, २४ को एक–एक ठाउँ गरी कम्तीमा १४ पटक) ग्रीक देवी हेरालाई ‘ह्वाइट आर्म्ड हेरा’ (गोरो पाखुरा भएकी हेरा) लेखेका छन् । र, समकालीन हेसियोडले थियोगनीको बुक २१ मा पनि त्यही लेखेका छन् ।

तिनले ‘बुल आइड हेरा’ (साँढेको जस्तो ठूलो आँखा भएकी हेरा) लेखेका छन्, जुन साँढे उनका पति जियसको वाहन हो । यो त्यो हेराको प्रसंग हो, जो जियसले अन्य पत्नीबाट जन्माएका सन्तानलाई हारतीले जस्तै पटक्कै सहँदिनन्– किनभने ती हुन् नै ग्रीकहरूले हिमालय क्षेत्रबाट दक्षिण युरोपमा ओसारेका हरगौरी (दुवै अनुवाद ग्रीक अध्ययनका प्राध्यापक मार्टिन वेस्ट) ।

यसर्थ अजिमाबारेको समकालीन नेपाली बुझाइ नै सही छैन । यसो भएपछि आजुद्यो (अज देवता) यलम्बर हुँदैनन् शिव हुन पुग्छन् बरु ।

अब ‘अन्नपूर्ण’

अन्नपूर्ण असन मूल बजारकी देवी हुन् । अन्न भरिएको कलश छ जमिनमा, चन्द्रमा पहिर्‍याउने चलन छ गजुरमा विशेष पूजापर्वका बेला । कलश शब्द बन्ने हो कैलाश अर्थात् शिवस्थानबाट । अन्नपूर्ण मन्दिर फर्किएको छ नै तिब्बतस्थित कैलाशतर्फ ।

चन्द्रमा शिवानीको शिरमा मात्रै हुन्छ, जसरी शिवको शिरमा, नकि विष्णुपत्नीको शिरमा । पश्चिम पहाडी भेग विशेषगरी डोटीका महिलाहरू चन्द्रमा पहिरन्छन् शिरमा । कहाँ पढिएको हो आज सम्झना छैन, तर नारायणहिटी दरबारमा काम गर्ने एक महिलाले भनेकी पनि थिइन्– ‘सुनको चन्द्रमा दिन्छु भनेका थिए महेन्द्रले, तर बितेकाले पाइएन ।’

विसं १९७८ मा दीर्घमान चित्रकारले खिचेको तस्बिरमा लावा उनिएको झुल ओढाइएको छ चन्द्रमासहितको मन्दिरलाई । धानको फूललाई लावा भन्छन्, धानबाटै धनधान्य आएको हो । तर, सबै ऋतुमा धानको फूल जम्मा गर्न सम्भव नहुने हुनाले भुटेर बनेको फूललाई पनि लावा भनिएको हो । सगुन बनाइएको हो । यो दृश्य फेरि रंगीन तस्बिरमा दोहोरिएको छ लगभग ५० वर्षपछि । नेटमा दुवै तस्बिर हेरे हुन्छ ।

लक्ष्मी समुद्र मन्थनमा उत्पन्न भइन्, जसलाई विष्णुले विवाह गरे– ब्रह्म बैवर्त पुराणले भन्यो, जो अधिकतम १२०० वर्ष मात्र पुरानो हो । यसर्थ पुराणसँग असन अन्नपूर्णको तुलना गरेर समयको निर्क्योल हुनै सक्दैन ।

तर, चोक हेरेपछि स्पष्ट संकेत पाइन्छ यता चपाभन्दा पुरानो युगको हो अन्नपूर्णको स्थापना भन्ने कुरा । यता चपा उत्तरका तीन मन्दिरहरू सोझै दक्षिणतर्फ फर्केका छन्, तर कैलाशतर्फ फर्केको अन्नपूर्णको सोझै एउटा पीठ ङतपाचो लाग्ने मोडैमा छ । यो तान्त्रिक तेर्सो रेखा हो भन्ने टड्कारो छ । अन्नपूर्ण थान यता चपाभन्दा नयाँ हुन्थ्यो भने त्यो कैलाश नफर्किएर सोझै दक्षिण फर्किन्थ्यो ।

यसर्थ अन्नपूर्णको जग लिच्छविकालभन्दा पनि सदियौंअघिको हुन सक्छ । तर, बिनावैज्ञानिक विश्लेषण यति बेला समयको निर्क्योल सम्भव छैन । यद्यपि विश्वका प्रख्यात पुरातत्त्वविद्हरूबीच अत्यन्त विवादास्पद डर्हाम विश्वविद्यालयका कुनै प्राध्यापकलाई भण्डारखाल र लुम्बिनी उत्खनन गराएजस्तो असन उत्खनन गराएर सत्यमा पुग्न सकिँदैन ।

लगभग साढे ४००० वर्षअघिकी मेसापोटामियन देवी इनान्ना यतैबाट लगिएकी अन्नपूर्णा हुन् भन्न सकिने आधारहरू छन् । तर, अहिले त्यो विषयान्तर हुनेछ ।

(एक विषयान्तर : आदेश्वर मन्दिरको पश्चिमपट्टि कोही माथेमाले बनाएको भनिने एक पौवा छ । यसको बुर्जाको निधारको बीचोबीच थियो एक विशाल चन्द्रमा । झ्यालहरूका खापामा थिए– सुरथ, पान, चिड, इँट । बुझ्न सकिन्थ्यो ती भारदार फेदीमा घोडा बाँधेर उक्लिन्थे । पूजा हुँदै र सकिँदै गर्दा पौवामा गाँजा र तासको मनोरञ्जन चल्थ्यो । खानापछि दिवा निद्रा त्यसपछि हुक्कापान सकेर परिवार र अर्दलीहरूसहित घोडा चढेर ती घर लाग्थे । तर, त्यो चन्द्रमा देखाएर त्यहाँका एक हात लामो टुपीधारी एक युवा पण्डितले भने— मुसलमान राजाले बनाएको घर हो, त्यसैले छानामा चन्द्रमा छ । पुरातत्त्वलाई सायद यही हावा लाग्यो, आज ती चिड, इँटको खापा त छैन छैन, चन्द्रमा झनै छैन ।)

सराफी र असन

४५ वर्ष उमेरको काठमाडौंको रैथानेसम्मले पनि देखेको हुनुपर्छ— असन डबलीभरि सराफीहरू चाँदीका मोहर र डबलको चुलीचुली राखेर टनाटन बसेका हुन्थे उत्तर फर्किएर । यो तिनै अन्नपूर्ण अजिमालाई लक्ष्मी मानेरै छानिएको अखडा हो, अन्यथा डबलीहरू अन्यत्र पनि थिए । सराफी शब्द अरेबिक मूलको सुनबोधक असरफबाट बन्ने हो । यसको अगाडि नै चामल भरिएका मुख खुला भएका सयौं सयौं बोरा राखिएका हुन्थे । र, आज कमलाछी छिर्ने बेला देब्रेपट्टिको जुन तामाका भाँडाहरूको ठूलो पसल छ, त्यहाँ थियो भारु साट्ने काउन्टर नेपाल राष्ट्र बैंकको ।

असरफको अर्थ दिइनाको छुट्टै कारण छ किनभने असनबाट कमलाछी भएर जाने यो बाटो सोझिन्छ साँखुसम्म— जो सुन आयातको पारवहन नाका हो आदियुगीन तिब्बतदेखिको । उत्तरी भेगबाट सुनमिश्रित ढुंगाहरू साँखुको सुनटोलमा ल्याएर प्रशोधन गरेपछि भित्र्याउँथे व्यापारीहरूले असनमा । कमलाको अर्थ लक्ष्मी हो कमलाछीको, त्यस्तै साँखुको पुखुलाछीको पुखु शब्द आएको हो कमलको पर्यायवाची पुष्करबाट ।

उपेन्द्रमान मल्ल लेख्छन्— चाबेल पर्छ साँखु जाने मूल बाटोमा, जहाँबाट चौतारा र घुमथाङ भएर तिब्बत जाने महत्वपूर्ण व्यापारिक मार्ग हुन सक्छ । साँखुलाई नेवारीमा साँक्व भनिन्छ । यसको अर्थ हुन्छ तिब्बतको तल । किनभने नेवारीमा सँदेको अर्थ तिब्बत हो । (ज्योग्राफिकल जर्नल अफ नेपाल खण्ड एक, सन् १९७८) मल्ल आफ्नो समयका सुपरिचित भूगोलविद् हुन् ।

फेरि पनि कथित भोटाहिटीलाई टिपेर त्यो बाटो भोटसम्मको हुनुपर्छ भन्ने कल्पना उठ्न सक्छ । तर, कतै पढिएको, स्रोत भने बिर्सिसकिएको कुरा हो— ‘विजयपुरका राजा विधाताइन्द्र सेन रानीपोखरी उत्तरको गोलपाटीमा आइपुगेपछि जयप्रकाश मल्लले त्यहीँ पुगेर उनलाई स्वागत गर्दै हनुमानढोका भित्र्याए भोटाहिटीको बाटो ।’ यसले बुझाउँछ त्यो उत्तरतर्फको होइन, पूर्वतर्फको बाटो हो । पछिसम्म पूर्वका सिन्धुलीवासीहरूको अस्थायी अखडा हुने गर्थ्यो पनि काठमाडौंको डिल्लीबजार दायाँबायाँका घरहरू । खासगरी कोइरालाहरू बस्थे नै पद्मकन्या विद्याश्रम अहिले रहेको ठाउँको सामुन्नेको चोकभित्र । (युवराजको हैसियतले स्वागत गरे होलान्, यन्यथा सेन गद्दीच्युत भएको २० वर्षपछि मात्रै मल्ल गद्दीनसीन भए ।)

र, हात्तीको हौदामा विराजमान राणाहरूको सिन्दूरजात्रा गर्ने मार्ग पनि यही हो– भोटाहिटीबाट पसेर इन्द्रचोकअगाडिबाट वटु हुँदै गुच्चाटोल भएर टुँडिखेल निस्कने, जति बेला नयाँ सडक बनेको थिएन । अर्थात् असनले कम्तीमा यो २००० वर्षमा हजारौं शासकहरूलाई प्रत्यक्ष देखेको छ ।

कुलटोल कि कोलिग्राम ?

असनबाट इन्द्रचोक जाँदा बाटोमा पर्ने स्थानलाई भनिन्छ केलटोल । अनेक इतिहासज्ञहरूलाई पढ्दा धेरैले दक्षिण कोलिग्राम, जसमा हनुमानढोका क्षेत्र पर्छ भनिन्छ, बाट यति वरको केलटोल बनेको हो भनेको पाइन्छ । कतिलाई भने दक्षिण राजकुलबाट केलटोल बनेको हो भन्न मन लागेको पनि देखिन्छ । लगभग २५०० वर्षअघि कोसलको शासक विरुधकले दुई आश्रित राज्यहरू कपिलवस्तु र कोलियलाई ध्वस्त पारेपछि उपत्यका भागिआएका कोलियहरूको पुनर्वास क्षेत्र हो कोलिग्राम भन्नेतिर प्रायः सबैको मत एकोहोरिएको छ ।

त्यसै हो भने कपिलवस्तुवासी शाक्यहरू पनि त भागेर आए होलान् अनि तिनको थर शाक्यबाट उत्तर शाक्यग्राम र दक्षिण शाक्यग्रामचाहिँ किन नभएको ? शाक्य र कोलियहरू आखिर दुई मात्र सम्भ्रान्त र घनिष्ठ नाता रहेको विस्तृत परिवार थियो भन्ने प्रमाणित तथ्य त हो नै ।

तर, महत्त्वपूर्ण लक्ष्मी मन्दिर र विस्तृत न्याय परिसरको स्थापनाले बरु राजकुल वा लायकुटोल थियो भन्ने नै बुझाउँछ बौद्धमार्गी कोलियग्राम होइन । राजकीय संरक्षणप्राप्त मन्दिर र कार्यालयवरिपरि नै मानिसहरूको भीड हुन्छ, बजार बन्छ ।

‘दुई शताब्दी पुरानो बजार’ भन्ने आलेखमा लेखिएको छ, ‘सय वर्षअघिको काठको भाँडोमा आज पनि एक महिलाले ढिकेनुन अन्नपूर्ण थानअघि बेच्दै छिन् । उपत्यकामा सिँधे, बीरे, ढिके आदि नुन आउनुअघि किनबेच हुने भनेको भोटेनुन नै हो ।’ (त्यही नुनको भाँडो भएको ठाउँमा थियो वीरधारा) ।

तर, उनको सय वर्षको इतिहासलाई उछिन्ने कथित ६ पुस्तादेखिका जिरा–मरीच पसले–व्यापारीहरूको कथा पनि त्यति पुरानो लाग्दैन अन्नपूर्ण थानपछाडिका घेवारेहरूका अघि । भन्न खोजिएको मन्दिरपछाडिको घेवारेहरूको पसल सम्भवतः २००० वर्षभन्दा बढी पुराना होलान् । किनभने जब देवीथानको स्थापना भयो, बत्ती बाल्न चाहिने पहिलो वस्तु नै तेल–घ्यू हो ।

आधुनिक युग सुरु भएपछि आर्थिक गतिविधिलाई सञ्चारसाधनको चर्को आवश्यकता पर्ने नै भयो । उपलब्ध एक मात्र माध्यम थियो त्यो युगमा हुलाक । यही कारण हो, असनबाट इन्द्रचोक लाग्दाको दाहिने मोडको भित्तामा गाडिएको थियो पत्रमञ्जुषा, ठ्याम्मै त्यही ठाउँमा छ अहिले एउटा बैंकको एटीएम । त्यही प्वाइन्टमा कुनै न कुनै खोपा हुनैपर्ने के नियति रहेछ कुन्नि ?

र, भोटाहिटीको साझा भवनबाहिर थियो गोश्वारा हुलाक, भरियाहरूको ठूलो अखडा पनि ।

दक्षिणी प्रभाव

पत्रमञ्जुषा भएको घर छोडेर इन्द्रचोक लाग्दा दुई घरपछि नै दाहिने मोडमा थियो पानपसल । यो त्यसै त्यो स्थानमा बस्न पुगेकै थिएन । एक लेखक लेख्छन्, ‘पान लक्ष्मीसहित अन्य देवीदेवताको प्रिय वस्तु हो ।’ (पेज १२५, पत्रंपुष्पम्, पुष्कलप्रसाद रेग्मी) । किनभने पान (पाइपर बिटल) नेपालको रैथाने होइन, बरु चाबो (पाइपर बिटलोइड्स) चाहिँ हो । विजयपुरको पानबारामा पहिलोपल्ट पान सेनहरूले लगाएका अनुमान गरिएको छ ।

तिब्बतबाट परिकल्पित ल्हाछेनको पूजामा इन्डियन प्रभावको थालनी थियो यो । तर, त्यतिमै सीमित थिएन त्यो । मानौं उपत्यकामा आयातित फलफूल पाइने एउटा यही ठाउँ थियो, जहाँ फलफूल भन्ने कुरा बिरामीका निम्ति मात्रै किन्न जान्थे मध्यमवर्गीयहरू, आफू स्वस्थले खानलाई चाहिँ होइन । नाम नलेखी हालौं, सम्भवतः यही पानपसलले दिएको थियो आफ्नो समयकी एक प्रसिद्ध गायिका र अर्की एक नाट्य अभिनेतृ नेपाली समाजलाई ।

ङा लोहँ

यसको अर्थ हो माछा ढुंगा वा माछाको मूर्ति, जो छ अन्नपूर्णको उत्तरपट्टि । आकाशबाट तोकिएको घडी र पलामा सोही ठाउँमा माछा झरेथ्यो आदियुगमा– ज्योतिषीय कथा छ । तर, आकाशबाट माछा झर्ने कुरा संसारभरिकै अनुभव र विज्ञानसिद्ध कुरा हो । सम्भवतः २००४ सालको ‘गोर्खापत्र’ मा छापिएको समाचारजस्तो पनि लाग्छ, जाउलाखेलवासीहरूले एकाबिहानै आकाशबाट झरेर माछाले चौर भरिएको देखे र सँगैको पोखरीमा हालिदिए ।

तर, यो माछा ज्योतिषीय कथाको पात्र मात्रै देखिँदैन स्थायी सगुनका रूपमा मन्दिर परिसरमा स्थापित मूर्ति हो भन्नेमा पुगिन्छ, चाँगु मन्दिरबाहिरको शंख र चक्रजस्तै । सम्भवतः दक्षिणतर्फ अर्को सगुनरूपी अण्डाको स्वरूप पनि थियो, डबलीले पुरिदियो वा खाइदियो ।

मेरी स्लसरले यसलाई मत्स्यावतार ठान्नु (काठमाण्डू शहर– जगदीशचन्द्र रेग्मी) रमाइलै लाग्छ । त्यसैले होला उनको नेपाल मण्डलालाई केपी मल्लले ‘लिमिट अफ सर्फेस आर्कियलजी’ भनेको (सिनास जर्नल) । मत्स्यावतार नै हो भने आइकनोग्राफीको कोणले यसको शिरोभागमा मानवआकृति हुनुपर्थ्यो ।

स्थान विभाजन

‘धोँचा’ को पसलअघिको गणेश मन्दिरवरिपरि सालको पात मात्रै पाइन्थ्यो । बीचको मन्दिरवरिपरि भाग्योदय चिठ्ठा, जनकल्याण चिठ्ठा र पछि सायद समाजकल्याण चिठ्ठाका स्टलहरू मात्रै थिए । पश्चिमको लक्ष्मीनारायण मन्दिरवरिपरि सिट्रस अर्थात् बिजुलायुक्त स्थानीय फलहरू मात्रै फिँजारिएका हुन्थे । यो विचित्रको स्थान विभाजन थियो एउटा गजबको विशेषता त्यो बेला ।

(क्षमायाचनासहित अर्को विषयान्तर ः भाग्योदय चिठ्ठा सम्भवतः नेपाल क्षयरोग निवारण संस्थाको अधिकतम रु. ४० हजार दिइने एउटा कार्यक्रम थियो । यही संस्थाले केन्द्रीय उर चिकित्सालय चलाउँथ्यो वीरको आजको इमर्जेन्सीको लाइनमा । जनकल्याण संस्था रामलाल श्रेष्ठद्वारा सञ्चालित बेवारिस शवहरूको अन्तिम संस्कार गरिदिने समाजसेवी अभियान थियो । आज त्यो अभिभारा लिएकी एक किशोरीको वाहवाही छ– तर, श्रेष्ठको नाम थाहा हुनेसमेत छैनन् । त्यसमाथि तिनको नामलाई तुलसीमेहर श्रेष्ठ र दयावीरसिंह कंसाकारको नामले खाइदिएको छ ।)

देवकोटाको ‘जन्मघर’ ?

भोटाहिटीसम्मलाई असनकै भाग मानिएको छ (काठमाण्डू शहर) । यसो लेखिएपछि भोटाहिटीमा रहेको एउटा सानो मन्दिरको सामुन्ने, दक्षिणको चोकभित्र पस्नुपर्छ । त्यहाँ शिवालय छ, त्यसलाई दाहिने पारेर ९०/१०० फिट दक्षिण लागेपछि एउटा घरको भित्ता र पर्खालबीच ३ फिट व्यासका दुई अग्ला न अग्ला ग्रीक शैलीका सेता खम्बाहरू देखाएर २० वर्ष जतिअघि भोटाहिटीवासीले भने— देवकोटाको जन्मघरको अवशेष हो यो ।

असनबाट महाबौद्ध (पुरानो जनजिब्रोमा मागुत/माभूत) लाग्दा को बीचोबीच मासँगल्लीमा पुरानो युगमा पहाडबाट काठमाडौं बसाइँ सर्ने देवकोटाहरूको बसोबास थियो भन्ने कुरा एक स्थापित सत्य हो । देवकोटाको जन्मघर भनिएको स्थान त्यसैको विस्तार हो पनि । तर, उनी जन्मँदै दरबारमा जन्मिएका थिए ? त्यो बेला उठेको प्रश्न आज पनि गुन्जिरहन्छ ? रहस्यमै छ यो । अहिलेलाई यत्ति नै ।

प्रकाशित : चैत्र १२, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

मैले किन सहें ती सब ?

तराईमा उत्पातै गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । घरमा छँदा आधा जीउ नांगै हुन्थ्यो । कपडा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरु कपडै नलगाई उफ्रिरहेका हुन्थे ।
मुना चौधरी

मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ ।

...

वैशाख १ को फूलबारी मेला हेर्न दिदी र भाउजूहरूसँग गएकी थिएँ । १२ वर्षकी थिएँ । एक समय मिडी पहिरन धेरै चलनचल्तीमा थियो । रातो बुट्टेदार मिडी लगाएकी थिएँ । खेतका फाँटहरू उजाड–उजाड थिए । यात्रुहरू खेतैखेत हिँडिरहेका थिएँ । हामी फूलबारीको गहबर (मूर्ति) दर्शन गरेर ढुनमुनि गाउँतिरको गहबरतिर जाँदै थियौँ । त्यहाँ पुग्न आधा घण्टा समय लाग्थ्यो । धूलाम्मे आली र खेत हुँदै हिँडिरहेका थियौँ । यात्रु धेरै थिए, पाइला टेक्ने ठाउँसम्म थिएन ।

गहबर नजिकै अग्लो आली थियो । आली हुँदै तीन जना केटा आइरहेका थिए । हामीहरू लहरै खेतको बाटो हिँडिरहेका थियौँ । एक जना

केटो अचानक आलीबाट खेतमा हाम फाल्यो । र, उसले मेरो बायाँ स्तनमा औँलाले बेस्सरी घोच्यो ।

खेतमा ऊ अचानक उफ्रिँदा उसको जीउको सबै बल भर्खरै टुसाउँदै गरेको मेरो बायाँ स्तनमा पर्‍यो । मानौँ, कुनै दह्रो लठ्ठीले उसले निर्दयी तरिकाले घोच्यो । मलाई हड्डीमा घोचेजस्तै कष्ट भयो । मेरो सास अड्कियो । हलचल गर्न नसक्ने भएँ । जहाँको त्यहीँ ठिङ्ङ उभिएँ । दिदीहरूले के भयो भनेर सोध्नुभयो । केटोले मेरो छातीमा औँलाले आक्रमण गरेको दिदीहरूले देख्नुभएनछ ।

मेरो अनुहार रातो भएको थियो, कानबाट तातो निस्किरहेको थियो । केही भएको छैन भन्दै सकीनसकी हिँड्न थालेँ । केटोको अनुहारतिर पनि हेरिनँ । केटोले यति छिटो औंलाले घोचेको थियो कि कसैले केही देखेनन् । मैले मात्र पीडा अनुभव गरेँ । एक छिनपछि बल्ल होस आयो । तर, केही बोल्न सकिनँ । एक प्रकारको अप्ठ्यारो लाग्यो । सम्झन्छु, त्यो रगत झर्लाझैं रातो भएको कलिलो अनुहार मेरै थियो ।

अहिले सोच्छु, उतिबेला दिदीहरूलाई भन्न सकेको भए केही सहयोग पाउँथेँ कि ! दिदीहरूले त्यस केटोलाई रन्किने गरी थप्पड हान्नुहुन्थ्यो होला । र, म पनि आगामी दिनमा साहसी केटी बन्थेँ होला । अनि पटक–पटक मैले त्यस्ता समस्या सामना गर्नुपर्दैनथ्यो होला ।

...

तराईमा उत्पात गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । लुगा लगाउँदा घमौरा बिझ्थ्यो । घरमा हुँदा माथिल्लो जीउ नांगै बस्थेँ । कम्मरमुनि स्कर्ट मात्रै लगाएकी हुन्थेँ । लुगा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरू कपडै नलगाई उफ्रिरहेका हुन्थे । त्यतिबेला मेरो मस्तिष्कमा सोच आउँथ्यो, साथीहरू छाती ढाक्ने गरी समिज वा सर्ट लगाउँदैनन् भने मचाहिँ किन लगाउने ?

मेरो शरीरमा आइरहेको तीब्र परिवर्तन मलाई स्वीकार्य थिएन । म चाहन्नथेँ, मेरा स्तन पलाऊन् । म बस्न चाहन्नथेँ लुगाभित्रको ओढारमा । म पहिलेझैं नांगै जीउ फुक्काफाल भएर साथी समूहमा खेल्न चाहन्थेँ । म चाहन्थेँ, मेरो बाल्यकाल कहिल्यै मभन्दा टाढा नजाओस् । म किशोरावस्थाका परिवर्तन स्विकार्न कदापि तयार थिइनँ ।

तर, मेरो बाल्यकाल सधैँ मसँग रहेन । जति ठूली हुँदै थिएँ, उति नै आमा र दाइहरू यो नगर्, त्यो नगर्, यसरी नहिँड्, त्यसरी नबस् भनिरहनुहुन्थ्यो । समाजले खडा गरेका कुनै पनि नियम मान्न म तयार थिइनँ । खेतका फाँटहरूमा खुलेआम धानका बाला हावासित बयली खेलेसरि प्रकृतिको काखमा र आँपको रूखमा चढेर पुली डन्डा खेल्ने बानी परेको थियो । धूलाम्मे डगहरमा जीउभरि बालुवा घसेर चुंगी, गुच्चा, भाँडाकुटी खेल्दै हुर्केकी थिएँ । त्यसैले म कुनै नियममा बस्न चाहन्नथेँ । खुलेआम त्यसरी बस्न चाहन्थेँ, जसरी सानैदेखि निस्फिक्री बसेकी थिएँ । तर, शारीरिक परिवर्तनहरूले मेरो सीमारेखा तोकिरहेका थिए ।

अहिले सोच्छु, मेरो स्तनमा कुनै परचक्रीले औँलाले घोच्दा किन मौन बसेँ ? किन विरोध गर्न सकिनँ ? तत्कालै त्यो केटोको गाला रन्किने गरी किन थप्पड हान्न सकिनँ ? हामीलाई सधैं सिकाइयो, छोरी मान्छेले लाजलाई छोप्नुपर्छ । तर, हाम्रा संवेदनशील अंगमा कसैले नराम्रो नियतले हेर्‍यो वा स्पर्श गर्‍यो भने जहाँको त्यहीँ उसलाई लात हान्नुपर्छ भनेर किन सिकाइएन ? सहेर बस्नुहुँदैन, यस्तो कुरा अरूलाई सुनाउनुपर्छ र पिडकलाई सबक सिकाउनुपर्छ भन्ने किन सिकाइएन ?

१२ कक्षा पढ्दै थिएँ । लहान बजारको एक पसलमा जिन्स पाइन्ट किनेकी थिएँ । पाइन्ट धेरै फिटिङ थियो । हाम्रो घरमा छोरी, बुहारीलाई फिटिङ कपडा लगाउने अनुमति थिएन । बा र दाइहरू जहिल्यै खुकुलो कुर्ता–सुरुवाल सिलाइदिनुहुन्थ्यो । यति खुकुलो कि कुर्ताभित्र दुई जना अटे पनि अझै खुकुलै देखिन्थ्यो । टोलका केटी साथीहरू पनि खुकुलै लुगा लगाउँथे ।

म बिहान क्याम्पस पढ्न र दिउँसो कम्प्युटर सिक्न जान्थेँ । एक दिन त्यही जिन्स पाइन्ट लगाएर कम्प्युटर सिक्न निस्किएँ । निस्किने बेला कुन्नि, बा कहाँ हुनुहुन्थ्यो देख्नुभएनछ । तर, उताबाट फर्केर आउँदा मैले लगाएको जिन्स बाले देख्नुभयो । रिसाउँदै भन्नुभयो, ‘यस्तो लुगा कसले लगाउन भन्यो हँ ? जीउमा टाँस्सिएको लुगा लगाउने अनुमति कसले दियो ? तेरो कर्तुत देखेर छिमेकीहरूले के सोचे होलान् ? किन किनिस् यस्तो लुगा ? कहाँ किनिस् ? कसले भन्यो किन्न ? लाज नामको चीज छ कि छैन तँसँग ?’

बाको गाली खाएर मैले शिर निहुराएँ । मानौं, नचाहिने काम गरेछु, ठूलै अपराध गरेछु ।

म एकान्तमा एक छिन रोइरहेँ । जतनसाथ जिन्स अलमारीमा राखेँ । त्यो जिन्स अब म कुनै अवस्थामा पनि लगाउन सक्दिनथेँ । लगाएँ भने बाको टोकसो सुन्नुपर्थ्यो । जिन्स पाइन्ट लगाउने रहर निकै थियो । तर, बाको अनुमतिबिना त्यो लगाउने फेरि साहस भएन । मैले आफ्ना सबै रहर मनभित्रै मारेँ ।

भोलिपल्ट क्याम्पस सकेर जिन्स पसलमा पाइन्ट फिर्ता गर्न गएँ । फिर्ता गरेर खुकुलो कपडाको पाइन्ट लिएँ । पसलमा चेन्जिङ रुम थिएन । मैले चुनीदार सुरुवाल र कुर्ता लगाएकी थिएँ । पसलेलाई सोधेर स्टोर रुम गएँ । सुरुवालको माथिबाटै मैले पाइन्ट लगाएर ठीक भयो कि भएन भनेर जाँचेँ । पाइन्ट लगाउँदै गर्दा पसले स्टोर रुममा आयो । मलाई लाग्यो, सायद कुनै कपडा लिन आएको होला ।

मनजिक आउँदै उसले सोध्यो, ‘पाइन्ट ठीक भयो ?’ मैले उतिर हेर्दै नहेरी टाउको हल्लाउँदै जवाफ फर्काएँ, ‘एकदम ठीक भयो ।’ मेरा कुरा सुनेर ऊ मनजिक आयो । र, उसले मेरो पाइन्टको टाँक छाम्यो । कम्मरको टाँक छाम्दै अचानक एक सेकेन्डमै मेरो तल्लो पेटामा हात छिराउँदै बेस्सरी चिमोट्यो । चिमोटेर तुरुन्तै हात निकाल्यो र पिठ्युँमा धाप मार्दै भन्यो, ‘यो पाइन्ट ठीक छ नि है ?’

उसलाई कसेर गालामा थप्पड हान्नुपर्ने ठाउँमा मैले उल्टै लाजले टाउको निहुराएँ । चिमोटेर हात निकाल्दै ऊ फेरि काउन्टरमा गएर बस्यो ।

डरले म रातीनीली भइसकेकी थिएँ । पूरै जीउ काँपिरहेको थियो । निधारभरि पसिना थियो । त्यो पाइन्ट हतपत फुकालेर, बटारेर म झोलामा हाल्दै कतै नहेरी डराउँदै पसलबाट निस्केँ । छेउछाउका मान्छेलाई पनि त्यो पसलेको कर्तुतबारे बताउन सकिनँ । हल्ला पनि गर्न सकिनँ । विरोध गर्नु त झन् परको कुरा थियो । हुँदाहुँदा क्याम्पस पढ्न जाँदा मैले त्यो बाटै हिँड्न छोडिदिएँ ।

त्यति नै बेला मैले त्यो पसलसँग किन प्रतिवाद गर्न सकिनँ ? म किन डराएँ ? त्यो कुरा बा–आमालाई किन भन्न सकिनँ ? त्यसपछि मलाई लाग्यो— बाले भनेको कुरा सही रहेछ । केटी मान्छेले खुकुलै कपडा लगाउनुपर्छ । यस्तै यस्तै अपराधी आँखाबाट मलाई जोगाउन बा र दाइले यसो भन्नुभएको हो । मैले त्यस दिनदेखि जिन्स लगाउन छाडेँ । लुकेर पनि कहिल्यै जिन्स लगाइनँ ।

अहिले सोच्छु— केटी मान्छेले फिटिङ लुगा लगाउनु हुँदैन भनेर सिकाउनु कहाँको न्याय थियो ? मन लागेका लुगा लगाउनुपर्छ । तर, लुगालाई लाञ्छना लगाउने र हवसका दृष्टिले हेर्ने घटिया आँखाहरूमा सकारात्मक सोचको पट्टी भिराउनुपर्छ भन्ने किन सिकाइएन ? संवेदनशील अंग छाम्ने हातहरूलाई प्रतिवाद गरि रोक्न सक्नुपर्छ भन्ने किन सिकाइएन ?

केटी मान्छेले खुकुला लुगा लगाउनुपर्छ र पुरुषअघि टाँस्सिएका लुगा लगाएर प्रस्तुत हुनु हुँदैन भन्ने कुरा केटीको हकमा मात्रै किन ? केटीहरूलाई अपराध र हवसका दृष्टिले हेर्नेहरूले नै सोच परिवर्तन गर्नुपर्छ भन्ने किन सिकाइएन ? स्वेच्छाचारी यौनिकता प्रकट गर्नेहरूमाथि तत्कालै दह्रोसँग जाइलाग्नुपर्छ भन्ने किन सिकाइएन ?

किन मैले ती सबै झेलेँ ? किन मौन बसिरहेँ ? किन सहें ती सब ?

...

पछि एमएड गर्न काठमाडौँ आएँ । पहिलो वर्षमा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएँ । दोस्रो वर्ष चल्दै थियो । दोस्रो वर्ष उत्तीर्ण भएपछि गाउँकै क्याम्पसले मलाई पढाउन बोलाएको थियो । धेरै खुसी थिएँ । पहिलो वर्षमा प्रथम श्रेणीमा उत्तीर्ण भएकीले दोस्रो वर्षमा पनि राम्रै अंक ल्याउँछु भन्ने आशा थियो । तर, दुःखको कुरा दोस्रो वर्ष ५० पूर्णांकको एउटा विषयमा म अनुत्तीर्ण भएँ । गाउँको क्याम्पसमा पढाउने मेरो इच्छा त्यत्तिकै रह्यो ।

क्याम्पसमा सँगै पढ्ने ६० वर्ष कटेको एक जना साथी थियो । उसले भन्यो, ‘रि–टोटलिङका लागि बल्खुमा निवेदन हाल, मेरो एक जना साथी छ । उसले क्याम्पस पढाउँछ । उसले तिमीलाई सहयोग गर्छ ।’ र, साथीको फोन नम्बर दियो । उसको साथीले मलाई कपनमा भेट्न बोलायो ।

भोलिपल्ट उसलाई भेट्न कपन गएँ । कपन चोकको सानो चियापसलमा हामी भेट्यौँ । मैले आफ्ना लागि कालो चिया मगाएँ । उसले आफ्ना लागि बियर मगायो । म चिया र ऊ बियर खाइरहेका थियौँ । बियर खाइसकेर उसले भन्यो, ‘हेर्नुस् म तपाईंलाई रि–टोटलिङ गराउने बेलामा अंक थपेर उत्तीर्ण गराइदिन्छु । तर, त्यसको बदलामा तपाईं मलाई के दिनुहुन्छ ?’

म उसको माग सुनेर ट्वाल्ल परेँ । म विद्यार्थी मान्छे, उसलाई के पो दिन सक्थेँ र ? न मसँग पैसा थियो, न सम्पत्ति । मैले सोचेँ, उसले पैसा माग्नेछ । त्यसो भए म रि–टोटलिङ गराउँदिनँ । पैसाले शैक्षिक योग्यता किन्दिनँ ।

मैले केही नबोल्दै उसले थप्यो, ‘भोलि १० बजेपछि मेरो घर आउनुस् । मेरा छोराछोरी स्कुल र श्रीमती अफिस गइहाल्छन् । एक छिनको त काम हो नि । त्यसपछि म तपाईंलाई नम्बर थपेर उत्तीर्ण गराइदिन्छु ।’

उसको कुरा सुनेर डरले र रिसले मेरो जीउ काँप्न थाल्यो । केही भनौं, बियर खाएको छ, यस्तो बेला के भन्नु ? ऊ होसमै छैन । त्यहाँ भएका मान्छेहरूलाई भनौं, उनीहरूले मेरो विश्वास गर्दैनन् सायद । किनकि त्यहाँका मान्छेहरूले उसले मसँग बोलेका संवाद सुनेका थिएनन् । म चुप लागेर टेबलबाट उठेँ । काउन्टरमा पैसा तिरेँ ।

चियापसलबाट निस्किँदै गर्दा त्यो मान्छेले सोध्यो, ‘के भयो ? किन केही नबोली हिँड्नुभो ?’

म केही नबोली सरासर कपन चोकमा यात्रु कुरिरहेको कपन–बंगलामुखी यातायात चढेर डेरा फर्किएँ ।

पहिले नै स्तन र तल्लो पेटमा अत्याचारीेका आक्रमण भोगेकी थिएँ । अब त सीधै शारीरिक सम्पर्कको प्रस्ताव आएको थियो । नचिनेको, कहिल्यै नदेखेको मान्छेले अनायास बिस्तारामा सुत्ने प्रस्ताव गरेको थियो । डेरा पुगेर धेरैबेर रोएँ । कसैलाई केही भन्न सकिनँ ।

रि–टोटलिङका लागि निवेदन हालेँ । तर, त्यो मान्छेसँग सहयोग मागिनँ । रि–टोटलिङको परिणाम जस्ताको त्यस्तै आयो । म अनुत्तीर्ण भएँ ।

...

मैले बोर्डिङ स्कुल पढाउन थालेँ । स्कुल पढाउँदै अनुत्तीर्ण भएको विषय दैनिक एक घण्टा बेलुकी पढ्न थालें । जति जति बेला पढ्न बस्थेँ, त्यो मान्छेको अनुहार आँखाभरि नाच्थ्यो । क्रोधित हुन्थेँ । क्रोधले झन् बेस्सरी पढ्ने जाँगर चल्थ्यो ।

म आफ्नो इज्जत बेचेर होइन, मिहिनेत गरेर उत्तीर्ण हुन चाहन्थेँ ।

वर्षैभरि त्यो विषय पढ्दा–पढ्दा कुन पेजमा कुन पाठ छ, सबै कण्ठस्थ भइसकेको थियो । अर्को वर्ष जाँच दिएँ । राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ ।

म सोच्छु, अहिले भए बिस्तारा बनाउन खोज्ने त्यस्ता मान्छेलाई पिउँदै गरेको तात्तातो चिया उनीहरूका अनुहारमा छ्यापिदिन्थेँ । हिंस्रकहरूको भयंकर प्रतिवाद गर्ने थिएँ ।

त्यति बेलै छ्यापेकी भए म दरिली हुने रहिछु । तर, त्यति बेला म के भएँ हँ ?

आज मेरो मन आकाशजस्तै छयाङ्ङ भएको छ । आफूलाई स्फूर्त अनुभव गरिरहेकी छु । मेरो गह्रौं मन हलुका भएको छ ।

मनको भारी बिसाउन पाएकोमा आफूलाई हिंसाका दृष्टिले हेर्ने मान्छेहरूलाई सजाय दिएझैँ भएको छ ।

प्रकाशित : चैत्र १२, २०७८ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×