कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पर्खालबाहिरका कवि

विमल भौकाजी

पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ।’

पर्खालबाहिरका कवि

महान् दर्शन मिसिएझैं लाग्ने यो वाक्य वासु शशीले भनेका थिए । यस गहन वाक्यको रहस्य सोध्न मन नलागेको होइन । तर, लेख्दालेख्दैको कलम बन्द गरें र उनको अन्तर्वार्ता समाप्त गरेँ । किनकि त्यस्तो गह्रौं वाक्यप्रति कुनै अर्को प्रश्नवाचक शब्द निकाल्ने हिम्मत भएन मलाई ।

खोज्नुमै छ जीवनको सार । तर, खोज्दाखोज्दै थाहै नपाई जीवन समाप्त हुन्छ । जब भेटिन्छ खोजेको, फेरि अर्को खोज सुरु हुन्छ । जीवन बुझ्न खोजिरहे शशीले । एक हिसाबमा जीवनसँग असन्तुष्ट रहे, तर जीवनको अर्थ खोजिरहे ।

– कविता लेखे, कवितामा जीवनको उद्देश्य खोजे ।

– गीत लेखे, गीतको धुनमा जीवनको लय खोजे ।

–पत्रकार भए, समाचारमा वास्तविकता खोजे ।

–‘सञ्चय’ डाइजेस्टको सम्पादक बने, लेखनमा मान्छेको संवेदनशीलता खोजे ।

–टेलिफिल्म बनाए, पात्रहरूको अभिनयमा बाँच्नुको अर्थ खोजे ।

तर, खोजले कहिल्यै पूर्णता पाएन । टुँडिखेलको खुलामञ्चमा उभिएर भाषण पनि ठोके, तर राजनीतिमा सदा कमजोर रहे ।

...

करिब–करिब ‘बेड’ नै स्थायी साथी भइसकेको थियो त्यसबेला वासु शशीको । बिरामी परेको थाहा पाएर गणेशमान सिंह वासु भेट्न उनको घर पुगे । उपचारार्थ मुम्बई जाने तयारी चल्दै थियो उनको । गणेशमानले खल्तीबाट एक लाख रुपैयाँको बिटो निकालेर शशीतर्फ बढाउँदै भने– ‘देशमा कवि कलाकारलाई राज्यले यस्तो बेला सहयोग गर्नु उसको कर्तव्य हो । तर, राज्यले त्यति वास्ता नगरेको तपाईंको अवस्था थाहा पाएर, एउटा अभिभावकको हैसियतले तपाईंलाई सहयोग गर्नु मेरो नैतिक कर्तव्य ठानेर यहाँ आएको छु । त्यसैले... ।’

गणेशमानको वाक्य पूरा हुन नपाउँदै वासु डाँको छोडेर रोए । वासुले भने, ‘उपचारका लागि मलाई खर्च जुटेकै छ, आवश्यकता त मलाई प्रेमको छ, स्नेहको छ । तपाईं जो यहाँसम्म आइदिनुभो, त्यो नै मेरो सौभाग्य हो । मलाई यो पैसाको जरुरत छैन ।’

...

अरूको पीडामा सानो बच्चाझैँ रोइदिने कमलो हृदयका मानिस थिए उनी । बच्चाबच्चीप्रतिको लगाव ज्यादा नै थियो । वरिपरिका बालबालिका बोलाएर चकलेट बाँडी हिँड्थे । बिन्दास, बेमतलबी, मनमौजी उनले आफ्नो घर अवस्थित चाबहिल–जयबागेश्वरीमा ‘वासु शशी मार्ग’ नाम लेखेर टोलमा साइनबोर्ड झुन्ड्याएका थिए । उनको पिउने बानी छँदै थियो, जीवनको उत्तरार्द्धमा त्यसको गतिले झन् तीव्रता लियो । भनिन्थ्यो, घरको बगैंचामा कतै न कतै रूखबिरुवाको झाङमा समेत उनी रक्सीका साना–साना सिसी लुकाएर राख्थे । बेलाबेला भन्ने गर्थे, ‘म जिन्दगीसँग हारिरहेछु ।’ कदाचित् पिउन नपाउँदा उनी चिच्याउँथे– ‘खोसे, मेरो आनन्द खोसे... ।’

रक्सीभन्दा चुरोटका अम्मली थिए वासु शशी । अझ पातमा सुर्ती बेरिएको बिँडी तान्थे । नशासँगै उनले अद्भुत सिर्जना गरे । ‘बीसौँ शताब्दीका गीत’ (कविता), ‘बाँसुरीमा नअटाएका धुनहरू’ (नाटक) लेखे ।

उनले लेखेका केही वाक्य सधैं सम्झनामा आउँछन्–

– पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।

– हिमालय अग्लो हुँदैमा हामी महान् होइनौँ ।

– कवि–लेखकहरू दियो समान हुन्छन्, ती कहिल्यै मर्दैनन् । एउटा दियोले अर्को दियोलाई बालिरहेको हुन्छ ।

– संसारमा कुनै पनि मानिसको सट्टा–भर्ना गर्न सकिँदैन ।

...

उनी जीवित रहुन्जेल नेपाली लेखकका विभिन्न समूह–जमात कसैले पनि उनको प्रतिभा पहिल्याउने खाँचो सम्झेनन् । उनी भन्ने गर्थे– ‘समाजमा धोका र प्रपञ्चका अलावा अर्थोक मैले केही पाइनँ ।’ उनले लेखेका छन्–

‘सत्यको किरिया मानिसले बाहेक

अरू कुनै प्राणीले खाएनन् !

तर, मानिसले बाहेक झूटो कुरा

अरू कुनै प्राणीले गरेनन् ।’

अहिले पनि साहित्यकारहरूले लगाएको पर्खालभन्दा बाहिरै छन् वासु शशी । राज्य वा सम्बन्धित जमात, मूलतः साहित्यिकहरू कुनै सरोकार राख्दैनन् । उनकै नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ एक्लैले शशीको नाम–काम संरक्षण गरिरहेको छ । यो समाजले यति बुझिराख्नु जरुरी छ– इतिहासको महल भत्काएर कहाँ भत्किन्छ ? भग्नावशेषभित्रै पनि इतिहासको जग गाडिएको हुन्छ !

प्रकाशित : चैत्र १२, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?