३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५९

सुखानीमा ढलेको सपना

५० वर्षअघिको झापा विद्रोह समकालीन कम्युनिस्ट राजनीतिमा सधैं बहस र छलफलको विषय बन्ने गर्छ
निरोज कट्टेल

सन् १९७१, फ्रेब्रुअरी २१ । दिउँसो चार बजे सिलिगुडी जेलबाट कैदीहरू फरार भएकोे घटना बजारमा एकाएक फैलियो । कडा सुरक्षा घेरा तोडेर कैदीहरू फरार भएको त्यस खबरले सिंगो भारतीय राजनीति तरंगित भएको थियो । त्यति मात्रै होइन घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानाकृष्ट गरेको थियो । कारण त्यो जेल ब्रेकमा नक्सल आन्दोलन जोडिएको थियो । फरार कैदीहरू नक्सल आन्दोलनका कार्यकर्ता थिए । तिनताक दक्षिण एसियाली राजनीतिमा नक्सल आन्दोलन विप्लवी धारका रूपमा स्थापित हुँदै थियो ।

सुखानीमा ढलेको सपना

झापाको आउजाउ चलिरहने छिमेकी बजार हो– नक्सलवारी । सन् १९६७ देखि स्थानीय जमिनदारविरुद्ध भएको किसानहरूको संगठित विद्रोहलाई नक्सलवारी आन्दोलन भनिन्छ । कानु सन्याल विद्रोहका स्थानीय नेता थिए भने चारु मजुमदार आन्दोलनका भाष्यकार र दार्जिलिङ जिल्ला तहका नेता थिए । भाकपा (मार्क्सवादी) अन्तर्गतको सङ्गठन ‘किसान सभा’ दार्जिलिङ जिल्ला कमिटीले नक्सल विद्रोहको साङ्गठनिक आधार तयार पारेको थियो । कानु सन्याल त्यही कृषक सभा दार्जिलिङ जिल्ला कमिटीका सचिव थिए । एकीकृत भाकपामा आएको विभाजनपश्चात् भाकपा (मार्क्सवादी) गठन भएको थियो ।

विभाजनको सैद्धान्तिक पृष्ठभूमिमा चिनियाँ मोडलको क्रान्ति थियो । हैदरावादका निजामविरुद्ध किसानहरूले गरेको तेलङ्गना विद्रोहलाई आदर्शका रूपमा स्विकार गरिएको थियो । चारु मजुमदार भाकपा (मार्क्सवादी) दार्जिलिङ जिल्ला कमिटीका प्रतिबद्ध नेता थिए । जमिनदार पृष्ठभूमिका ब्राह्मण परिवारमा जन्मिएका मजुमदार पार्टीभित्र हार्डलाइनर नेता मानिन्थे । विभाजन पश्चात बनेको भाकपा (मार्क्सवादी)ले पनि तेलङ्गनाका किसानहरूले बनाएको विद्रोहको जगमा सशस्त्र क्रान्तिको कार्यदिशा अपनाउनुपर्नेमा मजुमदारको जोड थियो । जिल्ला र प्रान्तीय कमिटीको बैठक अनि सम्मेलनहरूमा त्यसको जिकिर उनी गरिरहन्थे । तर, विद्रोहमा गइहाल्ने भौतिक परिस्थिति नबनेको भन्दै मजुमदारको प्रस्तावलाई भाकपा (मार्क्सवादी) नेतृत्वले खासै वास्ता गरेको थिएन । पार्टी विभाजनको सैद्धान्तिक उद्देश्य पूरा नहुने निष्कर्षमा पुगेपछि मजुमदारले गृहनगर सिलिगुडीस्थित महानन्दपाडामा बसेर क्रान्तिको खाकालाई सूत्रीकृत गरे, जसलाई आज पनि नक्सल आन्दोलनको ऐतिहासिक आठ दस्तावेजको रूपमा चर्चा गर्ने गरिन्छ ।

मजुमदारलाई क्रान्तिको हतारो थियो । उनी आफ्नै जीवनकालमा क्रान्ति सफल भएको हेर्न चाहन्थे । उनले जमिनदार र सरकारी अधिकारीहरूलाई प्रहार गर्न स–साना सैन्य गुरिल्ला दस्ता बनाउनुपर्ने सजिलो अवधारणा अघि सारेका थिए । तेलङ्गना विद्रोहको रापताप सेलाएको थिएन, रापिएकै बेला किसान आन्दोलन उठाउन सकिन्छ भन्नेमा मजुमदार विश्वस्त थिए । तर, उत्तर बङ्गालका गाउँमा साङ्गठनिक पकड भएका कानु सन्याल किसान मजदुरको बृहत् साङ्गठनिक एकताको बलले मात्रै आन्दोलन सफल हुनेमा विश्वस्त थिए । चारु मजुमदार र कानु सन्यालबीच क्रान्तिकारी रणनीतिको मुद्दामा मतभेद चुलिएको थियो । नक्सल आन्दोलनमा सुरुकै दिनदेखि दुईथरी मत थिए, तर फलामे अनुशासनका कारण विवाद सतहमा आएका थिएनन् ।

सन् १९६७ मई १८ मा नक्सलवारी गाउँमा सन्यालले नेतृत्व गरेको सोही कृषक सभा नामको सङ्गठनको आयोजनामा किसान सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले ग्रामीण इलाकामा रहेका जमिनदारलाई ‘उच्छेद’ गर्दै सामन्तको उत्पीडनबाट मजदुर किसानलाई मुक्त गर्ने नीति तय गर्‍यो । सम्मेलनको केही दिनपश्चात् परम्परागत हातहतियार लिएर विद्रोहमा उत्रिएर किसानहरूको समूहले स्थानीय जमिनदार नगेनराय चौधरीको हत्या गरेको थियो । जमिनदारको हत्यापश्चात् सरकारले प्रहरी परिचालन गरेको थियो । विद्रोहीहरूले प्रहरी अधिकारी सोनाम वाङ्गदीलाईं समेत मारिदिए । त्यसपछि सरकारले किसान आन्दोलनलाई प्रतिबन्ध लगाएर धरपकड सुरु गर्‍यो । पीडीए (प्रिभेन्टिभ डिटेन्सन एक्ट) भनिने कानुन लगाएर थुनामा राखिएकामध्ये केही जेलको घेरा तोड्न सफल भए । त्यसरी फरार हुनेमध्ये भकापा (माले) का पोलिटब्युरो सदस्य दीपक विश्वास र उत्तर बङ्गाल आञ्चलिक कमिटीका सदस्य शान्ति पाल, मुनिलाल सिंह, निमु सिंह र खुजेन सिंहहरू थिए ।

...

झापाको धुलाबारी बजारलाई बीचबाट चिरेको बाटो पछ्याउँदै दक्षिण झरे ज्यामिरगढी पुगिन्छ । पुछारमा कालिकाझार भन्ने गाउँ छ । पूर्वमा मेची नदी र नदीपारि बङ्गालको बतासीे गाउँ छ । वारि र पारिका गाउँहरू खासै फरक देखिँदैनन् । बीचमा उभिएको जङ्गे पिलरले दुई देशीय सिमानाको संकेत गर्छ, तर सिमाना छुट्याउने खाँबाले कसैलाई रोकटोक गर्दैन । बतासी र कालिकाझार हुँदै कुनै विघ्न बाधा नझेलेरै धुलाबारी आएका थिए– निमु सिंह र खुजेन सिंह । सिलिगुडी जेलको कैदबाट मुक्त भएर झापा आइपुगेका निमु सिंह ‘राजेन राजवंशी’ र ‘खुजेन सिंह’ भोगेन राजवंशी भए । राजेन र भोगेनलाई झापासँग जोड्ने काम भने झापाली युवा वीरेन राजवंशीले गरेका थिए ।

कक्षा आठसम्म अध्ययन गरेका वीरेन नेपाली, बङ्गाली, अङ्ग्रेजी र हिन्दी भाषामा दख्खल राख्थे । स्वाध्ययनले खारिएको थियो उनको व्यक्तित्व । तीक्ष्णताका कारण पञ्चायत प्रशिक्षण केन्द्र चन्द्रगढीमा पीटीए (पञ्चायत ट्रेनिङ एसिस्टेन्ट) का रूपमा सरकारी जागिर पाएका थिए । उनको जिम्मेवारी गाउँ र नगर पञ्चायतका प्रतिनिधिलाई पञ्चायतको सैद्धान्तिकी बुझाउनु थियो । सरकारी जागिरे वीरेन जमिनदार धनसिंह राजवंशीकी छोरीसँग विवाह गरेर ज्यामिरगढी आएका थिए । स्थानीय सत्तासँगको प्रत्यक्ष सम्पर्कका कारण वीरेन राजवंशी समुदायमा नामी थिए ।

पञ्चायत व्यवस्थाका सिद्धान्तविद् वीरेन व्यवस्थाविरुद्ध बोल्न मन पराउादैन थिए । इमानदारी र लगनशीलताको उपज, सरकारले उनलाई अवलोकन भ्रमणका लागि विदेश पठायो । एक महिनाभन्दा बढीको भ्रमणमा उनी बम्बई, हङकङ र फिलिपिन्ससम्म पुगे । फिलिपिन्समा उनले कम्युनिस्ट पार्टीका अनेकौं रोचक र काल्पनिक किस्सा सुने । तत्कालीन हिन्द–चिनी देशलाई चिनियाँ सांस्कृतिक क्रान्तिको उभारले छपक्कै छोपेको थियो । त्यहाँका कम्युनिस्टसँग प्रत्यक्ष संगत गर्न नपाए पनि भ्रमणका क्रममा कम्युनिस्ट छापामारका सनसनीपूर्ण कथा सुनेर प्रभावित भए ।

फिलिपिन्स यात्राबाट फर्केका वीरेनमा परिवर्तन देखियो । कम्युनिस्टलाई मन नपराउने उनी कम्युनिस्टहरूसँगै नजिक हुने थाले । यात्रामा सुनेको र बुझेअनुसारको पार्टी बनाउनुपर्नेमा जोड दिन थाले । साथै सम्पर्क विस्तारमा अग्रसर भए । फिलिपिन्सबाट फर्केपछि राधाकृष्ण मैनालीसँग सुमधुर सम्बन्ध बनाए । त्यसो त नजिकका गाउँ दुवागढी बस्ने राधाकृष्ण मैनाली र पुहाँतुबारी बस्ने वीेरेनको चीनजान–सम्बन्ध पुरानै थियो । वीरेनमा आएको परिवर्तनले सो सम्बन्धलाई राजनीतिक तहमा स्थापित गर्‍यो । बिस्तारै वीरेनले झापामा कम्युनिस्ट भनेर चिनिएका मदन खपाङ्गी, गोपालकृष्ण प्रसाई, रामनाथ दाहालसँग पनि सम्पर्क गरे । वीरेनले आफ्नै गाउँ ज्यामिरगढीका खोका राजवंशी, सत्तालसिंह राजवंशी, विसु राजवंशी, विसुलाल राजवंशी, कोटिया राजवंशीलगायत युवालाई राजनीतिक रूपमा दीक्षित गरे ।

झापामा मात्र नभई वीरेनले पश्चिम बङ्गालमा नक्सल आन्दोलनका कार्यकर्तासँग सम्पर्क स्थापित गरे । पारिपट्टि सम्बन्ध विस्तारको सेतु भने विसुलाल राजवंशी र मदन खपाङ्गी थिए । विसुलालको घर बतासी नजिकको कालिकाझारमा थियो । विसुलाल पुजारी थिए राजवंशी समुदायको– पूजाका लागि वारिपारि गरिरहन्थे । त्यसैक्रममा वीरेनको भेट नक्सल आन्दोलनका गाउँ तहका कार्यकर्तासँग भइरहन्थ्यो । विसुलालले पारिका कार्यकर्ताहरूलाई वीरेनको घरसम्म ल्याउन थाले । तिनताक पूर्वकोसी प्रान्तिय कमिटीअन्तर्गत झापा जिल्ला कमिटीका सचिवका रूपमा काम गरिरहेका मदन खपाङ्गीको घर नक्सलवारीको पश्चिमतर्फ रहेको नकलबन्दामा थियो । खपाङ्गीको सम्बन्ध नक्सल आन्दोलनका गाउँतहका कार्यकर्तासँग राम्रै थियो । खपाङ्गी कहिलेकाहीं भारतीय क्रान्तिकारीलाई आफ्नो निवासमा सेल्टर दिन्थे । वीरेनले मदनमार्फत पनि सम्बन्ध विस्तार गरे । समय क्रममा प्रशासनको आँखा नपुग्ने सरकारी जागिरे वीरेनको गाउँ ज्यामिरगढी नक्सलीको अड्डा हुन पुग्यो । भाकपा (माले) का पोलिटब्युरो सदस्य दीपक विश्वाससँग राधाकृष्ण मैनालीको भेट वीरेनले नै गराएका थिए । वीरेनको घरमा उनीहरूले नक्सल आन्दोलनका उतारचढावबारे छलफल गरेका थिए । सोही भेटमा मैनालीले आफूहरू पनि किसान आन्दोलन उठाउने तयारीमा रहेकाले सहयोगका लागि अनुभवी साथीहरू पठाइदिन आग्रह गरे । मैनालीको मौखिक आग्रहकै आधारमा उत्तर बङ्गाल आञ्चलिक कमिटीको निर्णयबाट राजेन र भोगेन राजवंशी झापा आए । तिनताक झापाली युवा झापाको पूर्वकोसी प्रान्तिय कमिटीअन्तर्गतको जिल्ला कमिटीसँग सम्बन्धविच्छेद गरेर अलग्गै कमिटी गठन गर्ने तर्खरमा थिए । आन्दोलनको मार्गचित्रको कुनै लिखित दस्तावेज भने तयार गरेका थिएनन् ।

झापाली क्रान्तिकारीले बुझेको एक पंक्ति तकनिकी थियो– गुरिल्ला स्क्वाड गठन गरेर सामन्तको सफाया गर्ने । सोही बुझाइअनुसार, वीरेन राजवंशी राजनीतिक नेतृत्वमा र खोका राजवंशी गुरिल्ला कमान्डर रहने गरी ज्यामिरगढीमा गुरिल्ला स्क्वाड गठन भयो । पहिलो स्क्वाडले कर्णबहादुर गौतमलाई दुस्मन ठहर गरेर आक्रमण गर्‍यो । गुरिल्ला स्क्वाडद्वारा मारिएका गौतम सामान्य किसान एवं स्थानीय जमिनदार रघुवीर बुढाथोकीका कारोबारी थिए । गौतमको सफायासँगै झापा विद्रोहको सूत्रपात भयो । २०२८ सालदेखि त्यसरी सुरु भएको सामन्त सफाया अभियान २०३२ सम्म चल्यो । पहिलो स्क्वाडकै शैलीमा झापाका विभिन्न स्थानमा एरिया कमिटी र अन्य स्क्वाड गठन भए । दुस्मनको पहिचान गर्ने र आक्रमण गर्ने उपक्रम तीव्र भयो । स्क्वाडको आक्रमणका कारण बुटन चौधरी, उद्रकान्त राजवंशी, विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुँडाल, ज्ञानबहादुर बस्नेत, धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्रप्रसाद ढकाल मारिए ।

...

गुरिल्ला स्क्वाड एवं राजनीतिक कमिटीमा संगठित अधिकांश झापाली नेता कार्यकर्ता विसं २०१०/२० को दशकमा पूर्वी पहाडी जिल्लाबाट मधेस बसाइं सरी आएका बाहुन–क्षत्री परिवारका युवा थिए ।

दोस्रो विश्वयुद्धपछि परिवर्तित वैश्विक राजनीति र अर्थतन्त्रमा आएको बदलावले पहाडबाट बसाइँसराइ हुन थालेको थियो । गुजारामुखी अर्थतन्त्रमा आधारित कृषि प्रणालीले पहाडको बढ्दो जनसंख्याको भारलाई थेग्न सक्ने अवस्था थिएन । पहाडमा आर्थिक क्रियाकलाप नगन्य थियो । लाहुरे परम्पराबाट भित्रिने सीमित रकमले पहाडी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सकेको थिएन । मान्छेहरूले विदेशबाट आएको सानो रकम तराईका फाँटमा खर्चिन थालेका थिए । महेन्द्रराजमार्ग निमार्णसँगै मधेसमा स–साना बजार बन्न थाले । लाहुरेहरूको आर्कषण पहाडभन्दा मधेसमा ज्यादा थियो । पहाडको जनसंख्याको भारलाई स्थान्तरित नगर्दा विद्रोहको सम्भावना बढेको थियो ।

अभिजात वर्गको आडमा सैनिक कूमार्फत शक्ति हातमा लिँदै सक्रिय बनेका राजा महेन्द्रले पञ्चायती व्यवस्था सुदृढ गरिसकेका थिएनन् । पहाडमा विद्रोह हुने सम्भावना औंल्याएरै उनले केही खास नीति तर्जुमा गरे । भूमिसुधार र महेन्द्र राजमार्ग निमार्णका राजनीतिक–रणनीतिक महत्त्व यसैसँग जोडिन्छन् । भूराजनीतिक परिस्थितिले पनि ती नीति बने । सोभियत संघ, अमेरिका, चीन र भारतका आ–

आफ्ना स्वार्थ थिए । कोदारीजस्ता सडक हुँदै ‘ट्याक्सी’ चढेर माओवाद नेपाल नभित्रियोस् भन्नेमा भारत र अमेरिका बढी सचेत थिए । नेपालमा भूमिसुधार जसरी पनि लागू गर्नुपर्ने जोड अमेरिकीहरूको थियो । सन् १९६२ को जनवरीमा फोर्ड फाउन्डेसनमार्फत अमेरिकी भूमिसुधार विशेषज्ञ उल्फ लेडेजेस्की नेपाल आएका बेला भूमिसुधार लागू गर्न दबाब दिएको विषयमा अनुसन्धाताले लेखिसकेका छन् ।

आन्तरिक राजनीतिक परिवेश र बाह्य दबाबका कारण परम्परागत भूस्वामित्वको पुनःसंरचना गर्नुपर्नेर् बाध्यताबीच भूमिसम्बन्धी ऐन २०२१ लागू भयो । हदबन्दीभन्दा माथिको जग्गालाई नियन्त्रण गरी सुकुम्बासी, मोही किसानलाई वितरण गर्ने उद्देश्य थियो । भूमि ऐनमार्फत पहाड र तराई दुवैतर्फको समस्याको समाधान एकैचोटि गर्ने भनिएको थियो । तर, तराईको तुलनामा पहाडमा हदबन्दीको चाप कम थियो । तराईका जग्गामा हदबन्दी लागू भएपछि सहजै जग्गा हात पारेर खेती गर्न सकिन्छ र मनग्गे कमाइ हुन्छ भन्ने सन्देश पहाडमा फैलियो । पाखुरा बजार्न सक्ने पहाडेहरू मधेस झर्न थाले ।

मधेसमा जनसंख्या वृद्धिले अन्तरविरोध सृजना हुन थाल्यो । राजा महेन्द्र धनाढ्य जमिनदारलाई पूर्णतया चिढ्याउने पक्षमा थिएनन् । चरणबद्ध भूमिसुधार लागू गरिएका कारण ठूला जमिनदारले विभिन्न बहानामा जमिन लुकाउने मौका पाए । आम मानिसको उच्च आकांक्षा र जमिनको वैज्ञानिक पुनर्वितरणको अभावले झापाका खेतमा साना किसान र जमिनदारबीच द्वन्द्व सुरु भयो । भूमिसुधार ऐन, २०२१ लागू भएको एकाध वर्षपश्चात् जोताहा किसान र जग्गाधनीबीचको अन्तरविरोध पेचिलो बन्यो ।

...

मौजुदा कम्युनिस्टहरूले किसानले गरेका सानातिना प्रतिरोधमा खासै चासो दिएनन् । भरतमोहन अधिकारी सचिव रहेको पूर्वकोसी प्रान्तीय कमिटीमातहतको जिल्ला कमिटी झापामा संगठित थियो । माथि नै भनियो, सो कमिटीका सचिव मदन खपाङ्गी थिए भने इन्चार्ज गोपालकृष्ण प्रसाई । युवा विद्यार्थीतर्फबाट राधाकृष्ण मैनाली र द्रोणाचार्य क्षेत्रीलाई जिल्ला सदस्यमा मनोनयन गरिएको थियो ।

इन्चार्ज प्रसाई कहलिएका जमिनदार थिए । आफ्नो जग्गा कमाउने मोही किसानसँगको विवादमा अल्झिरहन्थे । जोताहा किसान र मोहीसँग विवादमा अल्झिन थालेकाले प्रान्तीय कमिटीको नेतृत्वसँग युवाहरूको असन्तुष्टि बढ्यो । अनेकौं गुटमा विभाजित कम्युनिस्टहरू मिलाएर कम्युनिस्ट केन्द्र बनाउने योजनामा थियो प्रान्तीय कमिटी । तर, युवाहरूको मत थियो– पुराना नेतालाई जोडेर आन्दोलन अघि बढ्दैन । उनीहरू जसरी पनि आन्दोलन उठाउने यत्नमा थिए । बंगालमा मजुमदारको प्रस्ताव नकारियो, झापामा पनि युवाको प्रस्तावलाई प्रान्तीय कमिटीको नेतृत्वले महत्त्व दिएन । पुरानो कमिटी परित्याग गरी २०२७ सालको अन्त्यमा युवाहरूले अलग्गै जिल्ला कमिटी गठन गरे । सो कमिटीको नाम अखिल नेपाल कोअर्डिनेसन केन्द्र, झापा जिल्ला कमिटी राखियो । अधिकांश सदस्य उमेरले पच्चीस नपुगेका युवा थिए । राधाकृष्ण मैनाली सचिव रहेको कमिटीमा नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, पुण्य निरौला, शिवप्रसाद शिवाकोटी, नरेश खरेल, मोहनचन्द्र अधिकारी, राजेन राजवंशी, भोगेन राजवंशी, तिलविक्रम ढकाल, हर्क खड्का, डम्बर बानियाँ, खड्गप्रसाद ओली, लीला कट्टेललगायत सदस्य थिए ।

जिल्ला कमिटीको संख्या यकिन गर्न सकिँदैन, सक्रियताका आधारमा मनोनयन हुन्थ्यो । चन्द्रप्रकाश मैनाली र मुकुन्द न्यौपानेलाई पछि मनोनयन गरियो । रैथाने वीरेन राजवंशी, बङ्गालबाट आएका राजेन र भोगेनबाहेक जिल्ला कमिटीका सबै सदस्य पहाडबाट बसाइँ सरी आएका धनी तथा मध्यमवर्गीय किसान परिवारका सदस्य थिए । उनीहरूबीच एकआपसमा नातासम्बन्ध पनि थियो । राधाकृष्ण र नेत्र घिमिरे सहपाठी थिए । रामनाथ र शिवप्रसाद मामा–भान्जा थिए । रामनाथको भव्य व्यापार, प्रशस्त जमिन र धान मिल थियो । सार्वजनिक गाडी हम्मेसी नदेखिने समयमा उनी निजी जिप चढेर हिँड्थे । खड्गप्रसाद ओली, खड्ग पकुवाल र रामप्रसाद दाहालहरू रामनाथकै आश्रयमा चारपानेमा बसोबास गर्थे ।

२०२५ सालको अन्त्यसम्म झापामा जमिनदार र आम किसानबीच अन्तरविरोध पेचिलो भयो । प्रतिरक्षाको तहमा पुगेका जमिनदारहरू भूमि ऐन लागू भएको पाँच वर्ष नपुग्दै आक्रामक भए । मोही किसानलाई अनेकौं बहानामा दुःख दिए । जमिनबाट बेदखलीको क्रम तीव्र पारे । किसान र जमिनदारका झडपमा किसानहरू कुटिएको र खेदिएको घटनाले अलग्गै कमिटी गठन गरेर संगठित भएका युवा उत्तेजित भए । मजुमदारलाई झैं उनीहरूलाई पनि क्रान्तिको हतारो भयो । र, उनीहरू गाउँका जमिनदार सफाया गरेपछि जनता स्वतः आफ्ना हुन्छन् भन्ने ठम्याइमा पुगे ।

प्रशासनको दमन, धरपकड र त्यसपछि उत्पन्न हुने परिस्थितिको आकलन नगरी उनीहरू सफायाको निर्णयमा पुगे । कोअर्डिनेसन केन्द्र झापामातहतमा गठन भएको एक्सन स्क्वाडले एकपछि अर्को हत्याको शृंखला बढाएपछि दमन र धरपकड तीव्र भयो । तत्कालीन अञ्चल प्रहरी कार्यालयका एसपी पदमबहादुर मानन्धर विद्रोह नियन्त्रण गर्नैपर्ने दबाबमा थिए । उनले व्यापक मात्रामा प्रहरी र सुराकी परिचालन गरे । पहिलो चरणमा झापाबाट लगभग सय जना पक्राउ परे ।

विद्रोहीलाई झापाबाट इलाम जेल सार्नका लागि मेची अन्चलाधीस छिरिङ तेन्जी लामाले झापा कारागार कार्यालय चन्द्रगढीलाई लेखेको पत्र । लामाले पत्र लेखेकै दिन (२०२९/११/२१) जेल सारिएका पाँच जनाको सुखानी जंगलमा हत्या गरिएको थियो । सौजन्य : निरोज कट्टेल

पक्राउ तीव्र भए पनि हत्याको शृंखला रोकिएन । प्रशासन जसरी पनि विद्रोह निस्तेज पार्न चाहन्थ्यो । त्यसका लागि सजिलो बाटो अपनाइयो– पक्राउ परेकाको हत्या गर्ने । अञ्चलाधीश छिरिङ तेन्जी लामा र एसपी पदमबहादुर मानन्धरले आफैँले थुनेका कैदी मार्ने योजना बनाए । सोही योजनाका आधारमा २०२९ फागुन २१ गते लामाले ‘मेची अञ्चलाधीशको कार्यालय भ्रमण मुकाम भद्रपुर’ बाट झापा कारागार चन्द्रगढीको नाममा पत्र पठाए । पत्रमा ‘ज्यानमारा र अन्य शान्ति सुरक्षासम्बन्धी’ मुद्दामा जेल परेका बन्दीहरूले ‘लाटासुधा बन्दीलाई भड्काउने सम्भावना भएको हुँदा’ जेल सार्नुपर्ने व्यहोरा उल्लेख थियो । कारागारमा क्षमताभन्दा ज्यादा बन्दी भएको र झापामा उनीहरूलाई राख्ने अर्को स्थान नभएको हुँदा अदालतबाट ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेकामध्ये पाँच जनालाई इलाम कारगार चलान गर्ने उल्लेख थियो । जेल सार्नुपर्ने बन्दीहरूको नामै किटेर आदेश दिइयो ।

ती पाँच बन्दी थिए– रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुंइँकेल र नारायण श्रेष्ठ । रामनाथ, नेत्र र वीरेन पहिलो तहका जिल्ला कमिटीका सदस्य थिए भने नारायण र कृष्ण युवा विद्यार्थी थिए । उनीहरू गुरु नेत्र घिमिरेको राजनीतिक प्रभावले आन्दोलनमा संलग्न थिए । अञ्चलाधीशको आदेश पाएकै दिन झापा कारागार कार्यालय चन्द्रगढीले अञ्चल प्रहरी कार्यालयसँग समन्वय गरी पाँच जनालाई शनिश्चरे हुँदै इलाम पठाउने व्यवस्था मिलायो । उनीहरूलाई दिउँसो चन्द्रगढीबाट गाडीमा हालेर शनिश्चरे पुर्‍याइयो । खुदुनाबारी, ज्यामुदारको जङ्गल, गरुवा हुँदै हिँडाएर इलाम सदरमुकामसम्म पुग्ने बाटो तय गरिएको थियो । शनिश्चरेबाट हिँडाएर लगिएका पाँच झापाली युवालाई ज्यामुदारको जङ्गलबीचको सुखानीमा एकाएक गोली दागियो । क्रान्तिको सुदूर सपना बोकेर आन्दोलनमा होमिएका युवाहरूको सपना आधा बाटो नपुग्दै ढल्यो ।

(झापा विद्रोहबारे अनुसन्धान गरिरहेका कट्टेल सोही विषयमाथि पुस्तक लेख्दै छन् ।)

प्रकाशित : फाल्गुन २१, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?