कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘माउन्टेन गाइड’ को वृत्तान्त

छिरिङ जाङबु शेर्पा एक गाइडको आाखाबाट नेपाली हिमाली पर्यटनको सिंहावलोकन गर्छन् । हिमाली पर्यटनका उज्याला–अँध्यारा दुवै पाटा किताबमा छन् ।
विराट अनुपम

हिमाल आरोहणका अधिकांश कथा शेर्पाको आँखाले होइन, पश्चिमा श्वेत आरोहीका आँखाले लेखिएका छन् । शेर्पाका कथा उनीहरूकै मुखबाट कमै पढ्न पाइन्छन्, पाइएका पनि नेपाली भाषामा नगन्य छन् । अरू त अरू तेन्जिङ नोर्गेको आत्मकथा ‘टाइगर अफ् द स्नोज’ अहिलेसम्म नेपालीमा आएकै छैन । छिरिङ जाङबु शेर्पाको किताब ‘माउन्टेन गाइड’ ले शेर्पाहरूका सुन्दर कथाहरूको बयान गर्छ । 

‘माउन्टेन गाइड’ को वृत्तान्त

नेपालमा कमै माउन्टेन गाइड छन्, जो हिउँमा चिप्टेली खेल्ने खेल स्किदेखि गाइडका दुवै काम गर्न सक्छन् । यिनै अल्पसंख्यक जनशक्तिमा एक हुन्– छिरिङ जाङबु शेर्पा । अझ उनी नेपाल सरकारको आधिकारिक हिमाली साहसिक खेलकुदको अध्ययन, अध्यापन, अन्वेषण र प्रकाशन गर्ने नेपाल माउन्टेन अक्याडेमीका प्रशिक्षक हुन् । उनले नेपाली स्की जनशक्ति उत्पादनका लागि स्विजरल्यान्डदेखि फ्रान्ससम्म लगेर तालिम गराएका छन् । मुक्तिनाथ, कालिन्चोक, शैलुङ, भृकुटी शैल आदिमा स्की गराएका छन् । नेपालमा ‘स्की नियमावली’ बनाउन सक्रिय छन् ।

०७६ जेठ ८ मा नेपालको तर्फबाट पहिलोपटक सगरमाथा चुलीको मापन भयो । नाप लिने टोलीमा नापी विभागबाट सर्भेयर खिमलाल गौतम थिए भने गाइड थिए– छिरिङ जाङबु । सगरमाथाका लागि बिदाइ गर्दा ‘इन्ची इन्ची सगरमाथा नापेर आउनुहोला’ भनेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले गौतम र शेर्पाको टोलीलाई भनेझैँ भयो रिजल्ट । ८,८४८ मिटरको सगरमाथाको उचाइ ८८४८.८६ भयो । उचाइलाई नेपाल र चीनले २०७७ मंसिर २३ मा संयुक्त कार्यक्रम गरी सार्वजनिक गरे ।

सन् १९९६ को वसन्त–ऋतुमा पाँच कक्षाको परीक्षापछि किचन सहयोगी भएर शेर्पाको हिमाली करिअर सुरु भएको हो । सगरमाथा आधार शिविरको यात्रामा चप्पल, हाफ पाइन्ट र टिसर्ट लगाएर, २५ किलो भारी बोकेर उनको करिअर सुरु भयो । सन् २००३ बाट उनको हिमाल आरोहण सुरु भयो । पहिलो चुचुरो ल्होत्से टेके । त्यसपछि उनी आठ हजार मिटरमाथि १४ पटक पुगे– १३ पटक त अक्सिजनबिनै । सन् २०१४ मा उनी राष्ट्रिय माउन्टेन गाइड भए, सन् २०१६ बाट अन्तर्राष्ट्रिय माउन्टेन गाइड । उनका ब्याजी अन्तर्राष्ट्रिय गाइड साथीहरू युरोप–अमेरिकातिर छन् । उनी भने नेपालमै केही गरिरहेका छन् ।

३३२ पृष्ठको यो किताबमा ४३ अध्याय छन् । ‘ल्होत्सेमा पहिलो पाइला’ देखि ‘पर्यटनका अँध्यारा पाटा’ सम्मका अध्यायमा शेर्पा एक गाइडको आँखाबाट नेपाली हिमाली पर्यटनमाथि सिंहावलोकन गर्छन् । नेपाली हिमाली पर्यटनका उज्याला र अँध्यारा दुवै पाटा किताबमा छन् । लोबुचे पुग्दा सगरमाथा नापको टोलीलाई निःशुल्क खान–बस्न दिँदै सहयोग गर्ने काजी विष्टदेखि लाङटाङ क्षेत्रको क्यान्जिङ गुम्बाको बुद्ध इन लजका चिनेकै साहुले प्रतिलिटर पानीको ४५० रुपैयाँका दरले ८० हजार लिएको, खुम्बु क्षेत्रको छुकुमको चिनेकै साहु भएको काङरी रिसोर्टले नेपालीलाई बस्न नदिएका सम्म कथा किताबमा छन् ।

अटेरी ग्राहकबाट खाएको थप्पडदेखि टेन्टमै दिशा गर्ने ग्राहकलाई हानेका थप्पडका रोचक कहानी पुस्तकमा छन् । सबैभन्दा पहिले किचेन सहयोगी हुँदा पाएको २५ सय रुपैयाँदेखि पछि पाएका सयौं डलरका टिप्सका रोचक किस्सा छन् ।

सगरमाथा नापनताका सहयोगी पेम निमाले चुचुरोतर्फ सोझिने बेला दिएको धोकादेखि मनास्लु आरोहणमा मरेका इटालियन ग्राहक जुजुपेका दुःखान्त कथा कुनै चलचित्रझैं लाग्छ । सन् २०१३ को मे २१ मा स्विस नागरिक एरविन ज्याकोमेथले मध्यपश्चिमको हिमचुली पुथा चढि स्की गरेर ओर्लिर्एपछि कसरी शेर्पा स्कीमा लागे र देशविदेश गए भन्ने रोचक कथाहरू छन् पुस्तकमा ।

नेपाली साहसिक पर्यटन, हिमाल क्षेत्र, स्कीदेखि सगरमाथा मापनका इनसाइड स्टोरी पढ्न चाहनेका लागि किताब संग्रहणीय छ । पुस्तकमा केही प्राविधिक समस्या छन् । जस्तै ३१३, ३१४, ३१५ र ३१६ पेज दोहोरिएर छापिएका छन् ।

किताबमा तिब्बती विद्रोह खम्पाको कथा–व्याख्या अपुरो छ । खम्पाले मुस्ताङलाई तिब्बतमा मिलाउन विद्रोह गरेको भनिएको छ । खम्पाले तिब्बतमा मुस्ताङ जोड्न होइन तिब्बतलाई चिनियाँ कब्जाबाट मुक्त पार्न हतियार उठाएका थिए । केही स–साना कमजोरी भएपनि पुस्तक पठनीय छ ।

छिरिङ पर्यटनका अनुभव आफैं लेख्छन् । अंग्रेजी फरर बोल्छन् । विदेशी मिडियामा छाएका छन् । अन्तर्वार्ता दिएका छन् । तर, धेरै पढ्न नपाएकोमा ग्लानि छ उनलाई ।

‘टिप्सले लोभ्यायो’ शीर्षकमा उनी लेख्छन्, ‘पढ्न छाडेर मैले काम र पैसातिर लाग्नु त्यो बेला गल्ती भो । अहिले झन् त्यो कुराले पटकपटक पीडा दिँदा नराम्रो लाग्छ । पढेर जानेको सीप र जबरजस्त जानेको सीपमा आकाश–जमिनको फरक पर्दोरहेछ । त्यसको पीडा आजभोलि म भोगिरहेको छु ।’

यो किताब उनको आफ्नै स्वामित्वको एजेन्सी ‘अल्पाइन शेर्पा गाइड ट्रेक एन्ड एक्सपिडिसन’ बाट छापिएको हो । नयाँ पुस्तालाई सन्देश दिँदै उनी लेख्छन्, ‘म भन्छु– पढ्ने उमेरका केटाकेटी वा पढिरहेका विद्यार्थी कहिल्यै पनि ट्रेकिङतिर जानु हुँदैन । एक–दुई दिन त हो नि भनेर जाँदा त्यतैको रस बसेर विद्यार्थीहरू पढ्न छोड्छन्, पैसाको मोहमा पर्छन् ।’

प्रकाशित : माघ १५, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?