२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मर्न बरु गाह्रो हुन्न !

लामो बेहोसीपछि होसमा आउनु भनेको एक प्रकारले मरेर ब्युँतनुजस्तै हो क्यार ! बौरिउठेको मान्छेले आफू बाँचेकोमा खुसी हुनु कि अप्ठ्यारोमा परेको महसुस गर्नु, बडो अलमल हुन्छ । मेरो निजी अनुभव त्यस्तै रह्यो ।
कोसी किनारमा जमोठ भएर सदियौंदेखि उभिइरहेका जोर सिमलझैं आमाको प्रेम र प्रियतमको प्रेम मेरो जीवनकहानीमा सतीसालजसरी शिर उठाएर ठडिएका छन् । त्यसैले त तिम्रो प्रेमको आँखिझ्यालबाट म हरदम हरपल मुवाँको मायाममतालाई चियाइरहन्छु ।
कल्पना बान्तवा

सबैका लागि सबै दिन एकनास हुँदैनन् । न त कुनै साल, गते, तारिख र महिना सबैका लागि उस्तै रहन्छन् । निजी भोगाइ र घटना–परिघटनाका कारण उही समय पनि व्यक्तिअनुसार बेगल भइदिँदो रैछ । मेरो लागि चाहिँ पुस १७ गते (जनवरी १) बाँचुन्जेललाई नमेटिने पीडाको विम्ब बनेर रहने भयो ।

मर्न बरु गाह्रो हुन्न !

२०७६ चैतमा सुरु भएको मेरो खोकीले महिनौंसम्म विविध घरेलु नुस्खालगायत खसीको खुट्टीको झोललाई समेत टेरपुच्छर लाएन । अँ... मेरो खोकी सधैं यस्तै त हो नि भन्दै निच मारियो किनकि प्रथम लकडाउनको बेला थियो । सुरुका तीन महिना अमन भएर पेटमा अन्नका दाना परेनन् । कमजोरीले सुस्तरी गाल्दै गयो । म हिँड्दाहिँड्दै लड्ने, टुक्रुक्क बसेर बारीमा गोडमेल गरिरहँदा भुइँमा हात नटेकाई उभिनै नसक्ने हुन थालें । आफ्नो कोठाबाट निस्केर बैठकमा आउँदा सोफाछेउ भुइँमा पछारिएँ एक अपराह्न । मुवाँ घुँडा दुखाइले हिँड्न सक्नुहुन्नथ्यो, अत्तालिएर सोध्नुभयो, ‘मैयाँ ! के भयो ?’ आफैं उठ्न नसकेकी मैले रुँदै भनें, ‘मुवाँ ! म लडें ।’

‘हे भगमान् ! हे पशुपतिनाथ ! मेरो मैयाँलाई चाँडो जाति बनाइदेऊ,

प्रभु !’, जम्ले हात जोडेर पुकारा गर्दै मेरो विवशतामा आँसु झार्नुभयो मुवाँले !

दुई महिनापछि स्वरै भासियो । अस्पतालमा जँचाउँदा छातीमा क्षयरोगले जरा गाडिसकेछ । भर्ना गरेर टीबी, न्युमोनियाको दबाई चलाए । पीसीआर टेस्टको रिपोर्ट ल्याबमै गोलमाल भयो, पाइएन । नाक र मुखको जरामै घोचेर स्वाब स्याम्पल लिने त्यो दर्दनाक प्रक्रिया फेरि सहेँ । अस्पताल बसाइमै गोडा लुला भएर हिँडडुल गर्न असमर्थ भएँ, दुर्बलताले हरिबिजोगै बनायो । सलाइन लगाउँदा नसा फेला नपर्नाले क्यानुला घोच्दा घोच्दा दुवै हात छियाछिया भयो । दुखाइको कुनै मापन थिएन, केही समाउन र हात टेक्न सक्दिनथें । धेरैचोटि घोचिएको छालामा सुन्निएर रातो, नीलो हुँदै काला बनेका टाटाहरू हातमा बाक्लिन थाले । पछिल्लो पीसीआरको परिणाम निगेटिव आएपछि डिस्चार्ज गरे । भदौमा घर फर्केपछि त झन् सिकिस्तै भएँ । घरकालाई पनि टीबी सर्छ भनेर आफ्नै कोठामा कैदी बनें । भाइले मलाई ह्वीलचेयरमा राखेर शौचालय लान्थ्यो–ल्याउँथ्यो, म आफैं हिँडेर कमोडसम्म जान असमर्थ थिएँ । दुईचोटि वासरुमको ढोकामा उक्लँदा लडेको चोट सम्झनास्वरूप कालो दाग बनेर अद्यापि मेरो घुँडामा छ ।

भाइ अफिस गएको हुन्थ्यो, घरमा मुवाँ र म मात्र हुन्थ्यौं । म ठूलो स्वरमा बोल्न वा कसैलाई बोलाउन सक्दिनथें । कति बाजी त आफैं हिँड्न नसक्ने मुवाँले ढोकाबाहिर कसैको पदचाप सुन्नुभयो भने उसलाई हारगुहार गरेर बोलाउनुहुन्थ्यो र ‘लौन बाबु ! मेरो छोरीलाई के चाहिएको छ हेरिदिनू न ! ऊ बोल्न सक्दैन’ भनेर बिन्ती गर्नुहुन्थ्यो । राति तिनताका मलाई घरी जाडो घरी गर्मी लागिरहन्थ्यो । स्ट्यान्डवाला रिमोट कतै हराएकाले खाटभन्दा थोरै परको पंखा आफैं गएर अन/अफ गर्न सक्दिनथें, पल्लो कोठामा सुतेको भाइलाई बोलाउनुपर्थ्यो । एउटा सानो रबरको खेलौना थियो– कर्कश ध्वनि निकालेर प्याँक् प्याँक् कराउने, म त्यही बजाउँथें । तर, थाकेर चुर हुँदै निदाएको भाइको कानमा त्यो कर्कश ध्वनि पनि पस्न सक्दैनथ्यो, मुवाँले कराएर ‘बाबु ए बाबु ! दिदीले बोलाउँदै छ, उठ् त !’ भनेर बोलाइदिनुहुन्थ्यो । दयालाग्दो गरी परनिर्भर दिनरात झेलिरहेकी थिएँ ।

तीन महिनाको दबाई खाएर गरिएको खकार जाँचको नतिजाले टीबी निगेटिव देखाएपछि बल्ल घरकाले कोठाबाट बाहिर निकाले मलाई । अनि बैठक कोठामा मुवाँको खाटछेउको काउचमा लम्पसार परें । खाना देखेरै बान्ता हुने हाडछाला मात्रको काया मेरो, टीबीका बडेमानका नौवटा चक्की दिनैपिच्छे खान मन मरेर आउँथ्यो । तर, मुवाँकै आँसुले पग्लिएर दबाई खान बाध्य हुन्थें । उतिबेला मुवाँले दबाई खुवाउन करबल नगर्नुभएको भए पक्कै म आजको दिन देख्न पाउँदिनथें । आमाछोरी दुवैले मास्क लाउँथ्यौं । मुवाँलाई अँगाल्दै खुट्टा बोकाएर घुस्रिँदै सुत्ने सारै मन हुन्थ्यो मलाई, तर एक हात परको मुवाँको ओछ्यानसम्म पुग्नु मेरा निम्ति आकाशको फल टिप्नुजत्तिकै थियो । म पीडाले कराउँदा–चिच्याउँदा मेरो दुःख बुझेर आँसु खसाल्ने, मेरो आत्मबल र हिम्मत बढाउन हरसम्झव प्रयत्न गर्ने मेरी मुवाँ समीपै हुनुहुन्छ भन्ने सत्यबोधचाहिँ त्यस्ता घडीबाट गुज्रँदा मेरो एक मात्र मानसिक सम्बल हुन्थ्यो ।

अनिवार्य दैनिकी पनि स्वयम्ले सम्पन्न गर्नु अझै मेरो बुताको कुरा थिएन । क्याथेटर र डाइपरमा आश्रित थियो शौच–कर्म । आफू गुज्रिरहेको कहालीलाग्दो समयदेखि बेखबरजत्तिकै थिएँ । तर, अहिलेको स्थितिभन्दा तुलनात्मक रूपमा त्यसबेलाको अवस्था मलाई ढुक्कको लाग्छ । ती दिन–रातमा आफूले बेहोरिरहेको शारीरिक कष्ट र सकसको वर्णनातीत अनुभवबाहेक मलाई अर्थोकको वास्ता र चासो हुँदैनथ्यो । मलाई सन्चो छैन, खाना रुचिरहेको छैन । उठेर बस्नधरि सकिरहेकी छैन । यस्तै भइराख्यो भने के गर्ने होला ? जस्ता अत्यासिला सोच मेरो मनमस्तिष्कमा ढिम्कनै सक्दैनथिए । न मलाई कसैको माया लाग्थ्यो, न त कुनै चिन्ताले पिरोल्थ्यो । न मनमा कसैप्रति दया–ईर्ष्याभाव जाग्थ्यो । चेतन र अवचेतनको लागछोडले मलाई घडीको पेन्डुलमजस्तो बनाइरहन्थ्यो । ‘मैले खाना खाएँ ?, मैले दबाई खाएँ ?, कस्तो झमक्क रात परेको, मुवाँ ?’ नानाथरी सोध्दै मुवाँलाई झिँजो लगाइरहन्थें । ‘तिमीलाई चम्चाले भर्खरै थोरै दालभात खुवाएको, मैयाँ ! दबाई पनि केराको टुक्रामा एक एक टबलेट घुसारेर ताराले तिमीलाई खुवाइसक्यो, काली ! अहिले रात हैन दिउँसो हो ...’, मुवाँ बताउनुहुन्थ्यो । क–कसलाई के–के भनें र कतिको चित्त दुखाएँजस्ता महत्त्वपूर्ण कुराहरू सम्झनामा टिकिरहँदैन थिए । मुवाँलाई नै पनि मैले कति बाजी भन्नु/नभन्नु भनें, तर छोरीले भोगिरहेको अधबेस्रो अवस्था बुझेर मुवाँले मलाई हरेकपल्ट माफ गरिदिनुहुन्थ्यो ।

निधारमा केही सास फेर्न अझ बाँकी लेखिएको रहेछ, त्यसैले त डार्बिन जीबाको ‘सर्भाइभल अफ द फिटेस्ट’ मेरो हकमा साँचो साबित भएको ! घस्रीघस्री बाँचे पनि सास नफुस्कुन्जेल त बाँचेकै मान्नुपर्‍यो !

लामो बेहोसीपछि होसमा आउनु भनेको एक प्रकारले मरेर ब्युँतनुजस्तै हो क्यार ! बौरिउठेको मान्छेले आफू बाँचेकोमा खुसी हुनु कि अप्ठ्यारोमा परेको महसुस गर्नु बडो अलमल हुन्छ । मेरो निजी अनुभव त्यस्तै रह्यो । क्षयरोग र त्यसको कडा दबाईले खटिया समाएपछि धेरैजसो अर्धबेहोसीको अवस्थामा रहने मैले ज्यादाजसो कुराहरू बिर्सिएँ । तर, त्यस्तो हालतमा पनि, एक रात अचानक एउटा फोन गरेँ । फोनको छोटो कुराकानीमा खासै यही कुरा गरेँ भन्ने अझै यकिन छैन मलाई । तर, योचाहिँ पक्का सम्झना छ कि म रोएकी थिएँ फोनमा, सायद त्यति बेलाको मेरो पीडा र व्यथा आँसु बनेर छचल्किएको थियो । छेउको ओछ्यानमा मुवाँ सुतिरहनुभएको थियो । उहाँले सायद मेरो त्यो फोनवार्ता याद गर्नुभएन ।

मैले त्यस रात तिमीलाई फोन गरेकी थिएँ, प्रिय मान्छे ! बडो ज्याद्रो हुनेरैछ मान्छेको मानसिकता, केही नसम्झने अवस्थामा पनि माया गरेको मानिसलाई सम्झने ! मानौं, कोमामा रहेका कोही कोही बिरामीले चलायमान परिवेशलाई महसुस गरिरहेजस्तै ! मेरो त्यो आधारातको अप्रत्याशित फोन गराई त्यही गहिरो लगावको नतिजा थियो भन्नेमा ढुक्क छु ।

तिमीसम्म पुग्न मलाई नौ सय खोला तरेर नौ डाँडा काटेर पनि सम्भव छैन, थिएन । त्यसैले होला अवचेतन मनले मलाई फोनमै भए पनि तिम्रो मायालु सान्त्वनाको आवाज सुन्न उक्साएछ । फोन वार्तापश्चात् मैले मनमनै खुई काढें, ‘तिम्रो मायाले मलाई सन्चोले मर्न पनि नदिने भयो !’ लगत्तै

विह्वल बन्दै सम्झिएँ तिम्रा उद्गारहरू – तिमी कति ज्ञानी छौ, मैयाँ ! सबै छोरी तिमीजस्तै भैदिए । अनि के ! त्यो झुलभित्र राजविराजको गर्मी रातमा तिमीलाई मुवाँले पँखा हम्केको मैले आफ्नै आँखाले देखेजस्तै लाग्छ के मलाई ! त्यो मात्र के, मैले त तिम्रो न्वारान नै देखेजस्तो लाग्छ । अनि मेरै आँखा अगाडि तिमी हुर्केजस्तो लाग्छ, काली !

तिमी मलाई दुरुस्त उसरी नै बुझ्छौ जसरी मेरी मुवाँ बुझ्नुहुन्थ्यो । मुवाँले जसरी नै तिमी मलाई ‘काली’, ‘मैयाँ’ सम्बोधन गर्छौ । त्यसैले पनि तिम्रो प्रेममा म मुवाँको ममता छिपेको पाउँछु र एक किसिमको सन्तोक मान्छ मेरो दग्ध चित्तले । मान्छेको मन न हो, केही न केहीमा चित्त बुझाउने मेसो

भेट्टाइछाड्दोरैछ ! मेरो लागि मुवाँको प्रेम र तिम्रो प्रेम सदैव एकै कित्तामा उभिएर ममा बाँच्नुको मोह जगाइरहन्छन्, दुवै प्रेम स्तुत्य र अतुल्य छन् मलाई !

खासमा के होला हगि यो प्रेम भन्ने अबोधगम्य कुरा ?

बर्ट जोशुवा (रुबिन जोशी) लेख्छन् – ‘...प्रेम एउटा मामुली आवेग हो । वैज्ञानिक दृष्टिले रोमान्टिक प्रेमको तीन तह हुँदो रहेछ, यौन–आकर्षण र लगाव ...हामीलाई यस्तो व्यक्ति मन पर्छ, जसले कुशलतापूर्वक हाम्रो जिनलाई निरन्तरता दिन सकोस् । पुरुषको दृष्टिमा आफ्नो वीर्य धारण गरेर जन्म दिन सक्ने र आफ्नो सन्तानलाई हुर्काइदिन सक्ने महिला भए एक किसिमले पुग्यो । अब महिलाहरूको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संयोजन नै जीवनको सुरुवात हो । यदि संसारमा हुने प्रजननका लागि अलग अलग लिंग (स्त्री, पुरुष) नचाहिने भएको भए कुनै पनि प्रेम व्रेम भन्ने आवेग प्रकृतिमा हुँदैनथ्यो । प्रेम एउटा त्यस्तो सम्झौता हो जसले परस्परको जिनलाई निरन्तरता दिन मदत गर्छ ...।’

के साँच्चै आफ्नो जिनलाई निरन्तरता दिन नै प्रेम गर्छन् त मानिसहरू ?

हिन्दी सिनेमा ‘लस्ट स्टोरिज’ हालसालै हेरें, जसभित्रका चार कथाहरू शारीरिक क्षुधाको तुष्टिमै केन्द्रित छन् । सोचें, के वासना र प्रेम एकै कुरा हो ? के प्रेम हुनका निम्ति यौनसम्बन्ध आवश्यक छ ? दस मनमा एक मनले भन्छ– होला र त, वात्स्यायनले दुनियाँले मानेको शास्त्रै लेखे – कामसूत्र । हाम्रा मन्दिरका टुँडालहरूमा खोपिए अभिसाररत् कलात्मक मूर्ति चित्रहरू र अजन्ता एलोराका गुफाहरू सजिए कामसुखका विविध आसनहरू, अनुपम प्रस्तर कलाकृतिबाट । र, एफ्रडाइटी सेक्सुअल लव र सुन्दरताकी देवी मानिइन् प्राचिन ग्रीसमा !

तर, बाँकी मन नकार्छ – होइन, प्रेम भनेको सेक्स होइन ! उसो र, सेक्सबिना नै हृदयमा गहिरो गरी जरा गाड्न सक्षम हुन्छ प्रेम, तर सेक्समा प्रेम हुनु अनिवार्य छैन भन्छन् बुज्झकीहरू ! तर, एकअर्कालाई अथाह प्रेम गर्नेहरू यदि दैहिक रूपमा पनि एकाकार हुन्छन् भने त्यो प्रेम झनै प्रगाढ हुन्छ भन्नेचाहिँ मलाई पनि लाग्छ । यौन व्यवसायमा लागेका धेरैजसो पेसाकर्मीका लागि भने यौनकार्यमा प्रेम पनि हुनु वाहियातै हो । व्यवसायलाई इमानदारीसाथ निर्वाह गर्ने प्रसंगमा मलाई पाउलो कोहेलोको उपन्यास ‘इलेवेन मिनट्स’ की प्रमुख पात्र झलझली याद आउँछिन्, जो उनीकहाँ आउने हरेक ग्राहकको इच्छामुताबिक आफूलाई ढाल्छिन् र तिनको पूर्ण सन्तुष्टिका लागि हरतरहले आफूलाई समर्पण गर्छिन्, तर कुनै ग्राहकलाई प्रेम गर्दिनन् ।

‘लस्ट स्टोरिज’ हेरेलगत्तै हेरेको फिल्म ‘इज लव इनफ, सर !’ ले मेरो धारणालाई मजबुती प्रदान गर्‍यो कि गहिरो प्रेममा भावनाको प्रधानता सन्निहित हुन्छ । मलाई यो लेखिरहँदा तसलिमा नसरिनको उपन्यास ‘लज्जा’ को एक प्रसंगको तीव्र सम्झना भइरहेको छ, जहाँ पुरुष प्रमुख पात्र सुधामयको लिंग छेदन गरिदिन्छन् जेहादीहरूले, उनकी पत्नीले पतिलाई उसरी नै प्रेम गरिरहन्छिन् जसरी पहिले गर्थिन् । सेक्सको आकांक्षाबिनै मानिस कसैलाई प्रेम गरिरहन सक्छ, हिन्दी फिल्म ‘सदमा’, ‘गुजारिश’ ले त्यही देखाउँछन् । वासनाका पलहरू आवेगको समाप्तिपछि स्मृतिबाट ओझेल पर्लान्, तर जति पटक बोले पनि, लेखे पनि र कबोले पनि समर्पित प्रेमका बातहरू कहिल्यै सकिँदैनन् । प्रेमकथाहरू अजर–अमर रहिरहन्छन् र प्रेमपात्रहरू अजम्बरी बन्छन् ।

‘राजा’ शब्द मेरो जीवनमा प्रेमको प्रतिनिधित्व गर्दै आइरहेको देखेर ताज्जुब लाग्छ । सुरुको मेरा प्रेम पात्र थिए राजा खड्का, जो मेरो क्षणिक सुकुमार आकर्षणदेखि सर्वथा अनजान थिए । उनी मेरा स्कुले साथी पवन बस्नेतका काठमाडौं बसेर अध्ययन गरिरहेका दाजु थिए । र, एउटा शुक्रबारे कक्षा समाप्तिपछि हाम्रो विद्यालयका विद्यार्थीमाझ बसेर गितार बजाउँदै गाउँदै थिए– हजार आँखा हेर्ने मेरी मायालुलाई ...। उतिबेला उनको सम्मोहनको जादु ममा यस्तरी चढ्यो कि लाग्यो त्यो ‘हजार आँखा हेर्ने – हजार हात छेक्ने मायालु’ उनले मलाई नै भनेका हुन् । किशोरी मन केही दिन त्यसैत्यसै फुरुंग

भइरह्यो । र वर्तमानमा, उहिले भनिने गरेको कहिल्यै घाम नअस्ताउने मुलुकमा जस्तै मेरो मनको साम्राज्यमा घाम बनेर छाइरहने राजा तिमी ! एकबारको जुनीमा प्रेम मात्र एकचोटि र केवल एक जनासँग हुन्छ भनेर किटानी जाहेरी दिन नमिल्नेरैछ । तापसी पन्नुले भनेजस्तै जीवनमा प्रेम बारबार भइरहँदोरैछ, त्यो बेग्लै कुरा हो कि ती प्रेमका पकड र प्रभाव कति बलशाली हुन्छन् । लामो दूरी वा छोटो दूरीका क्षेप्यास्त्रजस्ता ! तर, झन्डै होसहवास गुमाएको अवस्थामा पनि मैले तिमीलाई याद गर्नुचाहिँ साँचो प्रेमको तिलस्मी घटना हो भन्ने मान्छ मेरो मनले ।

कोसी किनारमा जमोठ भएर सदियौंदेखि उभिइरहेका जोर सिमलझैं आमाको प्रेम र प्रियतमको प्रेम मेरो जीवनकहानीमा सतीसालजसरी शिर उठाएर ठडिएका छन् । त्यसैले त तिम्रो प्रेमको आँखिझ्यालबाट म हरदम हरपल मुवाँको मायाममतालाई चियाइरहन्छु । तिम्रो साथको उष्मामा म मुवाँको न्यानोको न्यास्रो मेट्छु । एउटै कुराले मन खिन्न हुन्छ मेरो कि बिस्तारै हिँडडुल गर्न थालेकी अहिलेकी मलाई देखेर तिमीजसरी नै अपार आनन्द र सन्तोकले भरिपूर्ण हुन नपाउँदै मुवाँले सधैंका लागि मलाई छाडी जानुभयो, गएको पुस १७ गते, १ जनवरी ।

अन्त्यमा, यही लेखमार्फत स्वदेश–परदेशमा रहनुहुने मेरा प्रिय पाठक, शुभेच्छुक मित्र र आफन्तजनहरू, जसले मलाई तन–मन–धनले निःस्वार्थ सेवासाथ दिनुभयो, तपाईंहरूको सद्भाव र स्नेहप्रति म सधैं आभारी रहनेछु । सबै सबैमा नमन् !

मेरी मुवाँको प्रथम पुण्यतिथिका दिन उहाँलाई यही शब्द–श्रद्धाञ्जली अर्पण गरेँ !

र, मुवाँले प्रायः गुनगुनाउनुहुने ‘यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिलेकहिले ...’ का गायक प्रिय फत्तेमानज्यूको स्वरमा स्वर खामें – मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न... !

प्रकाशित : पुस १७, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?