कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेजनको आगो

युवराज भट्टराई

लोबो एक जागुएर ‘मभन्दा पहिला मेरा पिता पुर्खा यो जंगलमा सिकार गर्थे  । जागुएर पाउ हो मेरो नाम  ।  म एउटा सिकारी हुँ । यो जंगल मेरो हो । अनि म मरेपछि मेरा सन्ततिहरूले तिनका सन्तानसँग मिलेर यहाँ सिकार गर्नेछन्,’ मेल गिब्सनको सिनेमा ‘एपोक्यालिप्टो’ को प्रमुख पात्र जागुएर पाउको संवाद हो यो ।

अमेजनको आगो

स्पेनिस अन्वेषकहरूले अमेरिका पत्ता लगाउँदाताकाको समय हो त्यो । माया सभ्यता आसपासको अमेजन रेन फरेस्टजस्तो लाग्ने घना जंगलभित्र बस्ने सिकारी समुदायको कथा हो— ‘एपोक्यालिप्टो’ । विषम परिस्थितिमा सिंगो समुदाय गुमाउनुपरे पनि अन्नतः कथाको मूलपात्र जागुएर श्रीमती र दुई छोरालाई बचाउन सफल हुन्छ । सिनेमाको अन्त्यमा स्पेनिस अन्वेषकका जहाजहरू देखाउँदै श्रीमती जागुएरसँग सोध्छे, ‘त्यो के हो ?’ ‘तिनले मान्छे ओर्साछन्,’ जागुएर जवाफ दिन्छ । ‘के हामी पनि त्यसमै जान्छौँ ?’ ऊ फेरि सोध्छे । जागुएर भर्खर जन्मिएको नवजात छोराको अनुहारमा हेर्छ र भन्छ, ‘हामी जंगलमै जान्छौँ र नयाँ जीवन सुरु गर्छौं ।’ जागुएर ठूलो छोरालाई जिस्क्याउँछ र उसको परिवार घना जंगलभित्र छिर्छ, जुन तिनीहरूको घर हो ।

‘एपोक्यालिप्टो’ पूर्णतः मेस्मोअमेरिकन क्षेत्रसँग सम्बन्धित छ । त्यसो त स्पेनिसहरूको आगमनसँगै यस क्षेत्रको माया सभ्यता मात्र सिद्धिएन, बदलिँदो सभ्यतासँगै जागुएरजस्ता जंगली सिकारी समुदायको पनि अस्तित्व लोप भयो । युरोपियन सभ्यता अमेरिकी महाद्वीपमा छिरेको पाँचौं शताब्दी भइसकेको छ । तर, अझै पनि यो मेस्मोअमेरिकन क्षेत्रबाट केही दक्षिण ब्राजिलको घना अमेजन रेन फरेस्टभित्र युरोपियन सभ्यताले छुन नसकेका कैयौं सिकारी समुदाय छन्, जसको घर नै अमेजन रेन फरेस्ट हो । आज पनि थुप्रै जागुएरहरू आफ्नो घर जल्छ वा ध्वंस हुन्छ भन्ने त्रासमा बाँचिरहेका छन् । ब्राजिली राष्ट्रपति बोल्सेनारोको नीतिले तिनको अस्तित्व फेरि नमीठोसँग खतरामा परेको छ । यसको पछिल्लो उदाहरण पाउलो पाउलिनो ग्वाजाजाराको हत्या हो ।

ग्वाजाजारा ठ्याक्कै पाँच सय वर्ष पुरानो काल्पनिक पात्र जागुएरजस्तै लाग्छन् । ग्वाजाजारा उनको आदिवासी समूहको नाम हो र तिनको क्षेत्रलाई अरारिबोइया आदिवासी संरक्षण क्षेत्रका रूपमा चिनिन्छ । यो ब्राजिलको अमारत्ने सहर नजिकै पर्छ । अमेजन रेन फरेस्टभित्र ४,१३० वर्ग किलोमिटर क्षेत्र ओगटेको अरारिबोइया आदिवासी संरक्षण क्षेत्र करिब ५,३०० ग्वाजाजारा आदिवासीहरूको आश्रयस्थल हो ।

‘लोबो’ (पोर्चुगिजमा ब्वाँसो) उपनामले चिनिने पाउलिनो सिकारमा आश्रित जीविकोपार्जन गर्ने ग्वाजाजारा आदिवासी मात्र थिएनन्, बरु उनी जुजारु वन संरक्षक पनि थिए । आफ्नो संरक्षण क्षेत्रभित्र थोत्रे बन्दुक भिरेर जंगलमा हुने बाह्य मानवीय हस्तक्षेपविरुद्ध नियमित गस्ती गरिरहन्थे । त्यसैले पनि मुख्यतया उनी ठूला–ठूला काठ तस्करको निसानामा थिए । ब्राजिलको ‘इन्डिजिनियस मिसनरी काउन्सिल’ की मारान्हावो संयोजक गिल्डेरलान रोड्रिगेजले रोयटर्सलाई भनेकी छन्, ‘तिनको कामले तिनको क्षेत्रमा लुट मच्चाउने जमातलाई बाधा पारेको थियो । हत्याराहरू नजिकैको सहरी इलाकाका तस्कर हुन्, जो अनधिकृतसँग संरक्षण क्षेत्रभित्र पसेर लुट मच्चाउने गर्छन् ।’ त्यस्तै सर्भाइभल इन्टरनेसनलकी वरिष्ठ अनुसन्धानकर्मी साराह सेङ्कर यो हत्याबारे बोल्छिन्, ‘यो हरितभूमि बढ्दो अनधिकृत वन विनाशको चपेटामा छ— यस्तो हुन सक्छ भन्ने सबैको अनुमान थियो ।’

पछिल्लो समय विश्वको सबैभन्दा ठूलो प्राकृतिक दोहन र विनाश ब्राजिलको अमेजन रेन फरेस्टले भोगिरहेको छ । विश्वकै फोक्सो मानिने यो जंगलले विश्वको कुल २० प्रतिशत अक्सिजन उत्पादन गर्छ । पृथ्वीकै भविष्यसँग जोडिएको अमेजनको विनाशले विश्वकै ध्यान तान्नु अनौठो होइन । यद्यपि यसको सबैभन्दा ठूलो मार अमेजन जंगलमा आश्रित लाखौं आदिवासीले भोगिरहेका छन् । अमेजन सँगसँगै त्यहाँ बस्ने आदिवासीको अस्तित्व नामेट हुने खतरा छ ।

‘लोबो’ अर्थात् पाउलिनो अमेजन र आदिवासीको भविष्यमाथि साँच्चिकै चिन्तित देखिन्थे । लोबोको चिन्ता एउटा खरो आक्रोशको रूपमा पोखिन्थ्यो । ठीक एक वर्षपहिले सर्भाइभल इन्टरनेसनललाई उनले भनेका थिए, ‘यो वन विनाश देखेर म बहुलाउँछु । यी मानिसहरूलाई के लाग्छ ? यिनीहरू यसरी निसंकोच हाम्रो घरमा घुस्न सक्छन् ? हुँदैन । हामी दिँदैनौँ । के हामी कहिल्यै तिनका घरमा घुसेका छौँ ? कहिल्यै तिनलाई लुटेका छौँ ? मेरो रगत उम्लिन्छ । मलाई एकदम रिस उठेको छ ।’

जागुएरजस्तै लोबो पनि एक कलिलो छोराको युवा पिता थिए । उनी आफ्ना सन्तानका लागि अरारिबोइया जंगल क्षेत्र सुरक्षित राख्न चाहन्थे । त्यसैले उनले सन् २०१२ मा ‘गार्जियन अफ फरेस्ट’ (वन रक्षक) समूह बनाएर जम्मा १२० जना आदिवासी लडाकुसहित अवैधानिक वन विनाशविरुद्ध नियमित गस्ती गर्दै आएका थिए । बेलाबखत काठ तस्कर र जंगलमा आगजनी मच्चाउने समूहबीच झडपको अवस्था सिर्जना भइरहेको थियो । २०१२ यता यो वनरक्षक समूहका तीन जना मरिसकेका छन् भने समूहले काठ तस्करका २०० भन्दा बढी क्याम्प जलाइसकेका थिए ।

जेनोसाइड र इकोसाइड
ब्राजिलको इन्डिजिनियस मिसिनरी काउन्सिलका अनुसार, सन् २०१८ मा मात्रै कुल १३५ आदिवासीको हत्या भएको थियो । बोल्सेनारो निर्वाचित भएर अमेजनप्रतिको उनको धारणा सार्वजनिक भएपछि यस्तो हत्याको संख्या पनि आकासिएको हो । जब बोल्सेनारोले ‘अमेजनलाई आर्थिक उपार्जनको साधन’ बनाउने अभिव्यक्ति दिए, आदिवासीमाथिको आक्रमण र वन अतिक्रमणले तीव्रता पायो । ‘अब एक थोपा पनि आदिवासी रगत नचुहियोस् !’ नामको क्याम्पियन युरोपमा चलाइरहेकी आदिवासी अभियन्ता सोनिया बोने ग्वाजाजारा भन्छिन्, ‘राष्ट्रपतिको डिस्कोर्सले आदिवासी जेनोसाइडलाई वैधानिकता दिएको छ ।’

न्युयोर्क टाइम्सका अनुसार, यो वर्षको सुरुमै दुई–दुईपटक ग्वाजाजारा आदिवासीले आफूहरूविरुद्ध तस्करले भाडामा बन्दुकधारी खटाएको र आफ्नो ज्यान असुरक्षित रहेको निवेदन सरकारलाई गरेका थिए । तर, सरकारले कुनै वास्ता गरेन । यदि आदिवासीप्रति बोल्सेनारो सरकारको अलिकति पनि सकारात्मक दृष्टिकोण हुन्थ्यो भने यो नोभेम्बर १ मा नियमित सिकारमा निस्किएका लोबोलाई उनकै क्षेत्रभित्र घुसेर ढुकेरै तस्करहरूले हत्या गर्न सक्ने थिएनन् । सायद यही विषयलाई मध्यनजर गर्दै ९० हजारभन्दा बढी ब्र्राजिलियन आदिवासीको छाता संगठन एपीआईबीले भनेको छ, ‘बोल्सेनारोको सरकारको हात आदिवासीको रगतले रंगिएको छ ।’ एपीआईबीको नेतृ तथा अभियन्ता सोनिया बोने ग्वाजाजारा लेख्छिन्, ‘यो संगठनात्मक जेनोसाइडलाई रोक्नुपर्छ । हाम्रा मान्छेको हत्या–नीति बन्द गर !’

अमेजन रेन फरेस्टभित्रका आदिवासी संरक्षित क्षेत्र सबैलाई खुला गर्ने नीति बोल्सेनारोले अघि सारेका छन् । उनको नीतिले आदिवासी हत्या, वन विनाश र डढेलो अनियन्त्रित तरिकाले उकालो लागेको छ । बाह्य जगत्सँग सम्पर्क भएका/नभएका अमेजन रेन फरेस्टमा आश्रित सबै आदिवासीको संवैधानिक सुरक्षाको ग्यारेन्टीको साटो बोल्सेनारो तिनको अस्तित्व नामेट पार्न उद्वेलित देखिन्छन् । त्यसैले अहिले ब्राजिलमा आदिवासी वा आदिवासी अभियन्ताको हत्या हुनु सामान्य भइसकेको छ । सेप्टेम्बर पहिलो साता अमेजन क्षेत्रको ताबानिंगा सहरमा आफ्नै परिवारजन सामुन्ने आदिवासी अधिकारकर्मी म्याक्सिएल पेरेरा डी सान्तोसको गोली हानी हत्या गरिएको थियो । त्यसो त १५ दिनपहिले १४ डिसेम्बर, शनिबार, अरारिबोइयाकै आदिवासीद्वय फिर्मिन्हो ग्वाजाजारा र राइमुन्डो ग्वाजाजारालाई गोली हानी मारियो ।

त्यसो त लोबोको हत्यारालाई नछाड्ने सरकारी प्रवक्ताले बताइसकेका थिए । फिर्मिन्हो र राइमुन्डोको हत्याले झन् शंका थपेको छ । मारान्हवो राज्यमा मात्र १९८५ देखि २०१७ सम्ममा १५७ जनाको यस्तो प्रवृत्तिको हत्या भइसकेको थियो भने केबल पाँच घटनाका दोषीलाई मात्रै कानुनी सजाय भएको छ । लोबोका बुवा जे. मारिया एसोसिएट प्रेससँग भन्छन्, ‘मेरो छोरा आफ्नो इलाकाको रक्षार्थ मर्‍यो ।’ मारियालाई न्याय मिल्ने कुरामा विश्वास छैन । ‘जबसम्म म बाँच्छु, जबसम्म म तीर र भाला फाल्न सक्छु, तबसम्म म लडिरहन्छु । हामी यो लडाइँबाट पछि हट्दैनौँ । हामीले भाबी पुस्ताका लागि यो जंगल जोगाउनुपर्छ । यदि हामीले थुप्रै योद्धा गुमाउँदा लड्न छोड्यौँ भने अबको बीस/तीस वर्षमा हाम्रा सन्ततिका लागि के बाँकी रहला ?

यो जंगलको के हाल होला ?’ छोराको हत्याको न्याय पाउने र जंगल तथा आदिवासी हक–अधिकारको संरक्षण गर्ने विषयमा किन लोबोका पितालाई बोल्सेनारो सरकारसँग अलिकति पनि भरोसा छैन ! जंगललाई निहित स्वार्थका रूपमा लिने बोल्सेनारो नीति आफैँमा आदिवासी हक–अधिकारविरुद्ध उभिएको छ र सत्ता खुद आदिवासीको अस्तित्व नामेट गर्न प्रत्यक्ष/परोक्ष लागिपरेको छ । जंगललगायत अन्य प्राकृतिक स्रोत–साधनलाई केवल आर्थिक उपार्जनका लागि मात्र लिने संसारका सबै सत्तासीनहरू आदिवासीलाई तिनका निहित स्वार्थको व्यावधानका रूपमा लिन्छन् र आदिवासीको विनाशमा उत्रन्छन् ।

आदिवासी अधिकारकर्मी तथा अभियन्ता वार्ड चर्चिल ‘इन्डिजिनियस रेसिस्टेन्स टु जेनोसाइड’, ‘इकोसाइड एन्ड एक्सप्लोरेसन इन कन्टेमपोररी अमेरिका’ भन्ने पुस्तकमा लेख्छन्, ‘आदिभूमिका आश्रित आदिवासी मात्र होइनन्, त्यस भूमिलाई समेत नष्ट गरिन्छ ।’ वार्ड चर्चिल आदिवासीको जातीय वंशविनाशलाई चर्चित ‘जेनोसाइड’ को संज्ञा दिन्छन् भने भूमि र पर्यावरणको विनाशलाई ‘इकोसाइड’ भन्छन् । नभन्दै अहिले ठ्याक्कै अमेजन ‘जेनोसाइड’ र ‘इकोसाइड’ को सिलसिलेवार अपराधबाट गुज्रिरहेको छ ।

अमेजन–डढेलो
सम्भवतः विश्वको ध्यान खिच्न सफल यो वर्षकै सबैभन्दा ठूलो घटना भनेकै अमेजनमा लागेका डढेलो हो । जुन, जुलाई र अगस्टमा त अमेजनको डढेलोको रेकर्ड हालसम्मकै उत्सर्गमा पुगेको थियो । नेसनल इन्स्टिट्युड अफ स्पेस रिसर्चका अनुसार, यो वर्ष अमेजनमा ७४ हजारभन्दा बढी डढेलो लागेका थिए । सन् २०१३ देखि रेकर्ड गर्न थालिएको मध्ये यही नै अहिलेसम्मको भयानक डढेलो थियो । अमेजन रेन फरेस्टको मुख्य भूभाग ६७० मिलियन हेक्टर अर्थात् ६० प्रतिशत ब्राजिलमा पर्छ । त्यसैगरी संसारको सबैभन्दा अधिक जैविक विविधता पनि यही क्षेत्रमा पाइन्छ । त्यसैले पनि अमेजनमा लाग्ने डढेलोले विश्वकै ध्यानकर्षण गर्नु जायज र स्वाभाविक देखिन्छ ।

प्राकृतिक रूपमै पनि जंगलमा आगो लाग्ने गर्छ । तर, वैज्ञानिकका अनुसार अमेजनमा लागेको डढेलो स्वाभाविक डढेलो होइन । यो त वन विनाश गरेर खेती लगाउने गिरोहहरूको सांगठनिक कार्य हो । पर्यावरणविद्हरू राष्ट्रपति वोल्सेनारोले लिएको अमेजनलाई आर्थिक उपार्जनको साधन बनाउने नीतिबाट वन विनाश र डढेलोले प्रश्रय पाएको तर्क गर्छन् । अर्कोतिर बोल्सेनारो वैज्ञानिक र पर्यावरणकर्मीप्रति झन् आक्रामक देखिन्छन् । सुरु–सुरुमा तिनले एनजीओहरूले बढाई–चढाई डाटा देखाएर ब्राजिलको बद्नाम गर्न खोजेको आरोप लगाए । बिस्तारै एनजीओहरूले नै आगो लगाइरहेका छन् भन्न भ्याए । अझ यो डिसेम्बरमा त उनले प्रसिद्ध अभिनेता तथा संरक्षणकर्मी लियानार्दो डिकाप्रियोलाई नै बिनातर्कको आरोप लगाए ।

अमेजनको डढेलो स्वाभाविक भने होइन । अमेजन रेन फरेस्ट आफैँमा अग्नि प्रतिरोधात्मक छ । त्यहाँ परिरहने पानी र ओसिलो भूभागका कारण लामो समयसम्म अझ धेरैभन्दा धेरै क्षेत्रमा डढेलो फैलन पाउँदैन । नेसनल ओसियानिक तथा एटमोस्फेरिक एडमिनिस्ट्रेसनले प्रस्ट खुलाएको छ, ‘रेन फरेस्टमा अत्यधिक खडेरी पर्दा मात्रै डढेलो लाग्ने गर्छ । तर, यो वर्ष अमेजन क्षेत्रमा त्यस्तो अस्वाभाविक खडेरी पनि परेको छैन् ।’ सुक्खा मौसममा डढेलो ज्यादा फैलन्छ तर सुरुआती आगो मान्छे वा अन्य कारणबाट सल्कने गर्छ । वैज्ञानिकको दाबी छ, अमेजनको डढेलोपछाडि मानवीय हात छ— उनीहरू कृषि, खनिज तथा प्राकृतिक सम्पदा दोहनका लागि अमेजनमा आगो दन्काइरहेका छन् ।

जब बोल्सेनारो सत्तामा आए, अमेजन क्षेत्रमा कृषि तथा खनिज उत्खननमा जोड दिने अवधारणा अघि सारे— अमेजनमा अस्वाभाविकसँग डढेलो बढेर आयो । वन विनाश आकासियो । ठूला–ठूला काठ तस्करहरू सक्रिय भए । डब्लुडब्लुएफका अनुसार, यही अनुपातमा वन विनाश हुँदै जाने हो भने सन् २०३० सम्ममा एक चौथाइ अमेजनको जंगल सकिनेछ ।

‘मानौं म निरो भएको छु, अमेजनको आगो मैले नैं झोसे जस्तो !’ वोल्सेनारो कटाक्ष गर्छन् । वास्तवमा यस्तै देखिन्छ । वोल्सेनारोले अहिलेसम्म देखाएको स्वभावले यही भन्छ । उनको चुनावी नारा थियो, ‘म एक सेन्टिमिटर जमिन पनि आदिवासी संरक्षण क्षेत्रको रूपमा छुट्याउँदिनँ ।’ यसरी उनी अल्पसंख्यक आदिवासीविरुद्धको ‘एन्टी इन्डिजिनियस सेन्टिमेन्ट’ को भोट बटुलेर सत्तासीन भएका थिए । उनलाई त बहुसंख्यक गैरआदिवासीको सेन्टिमेन्ट चाहिएको थियो । सहरकेन्द्रित मतका आधारमा विजयी बोल्सेनारोको आर्थिक नीति पनि सहरकेन्द्रित गैरआदिवासी लक्षित नै हुने भयो । त्यसैले जनवरी १ मा राष्ट्रपति भइसकेपछि उनले आदिवासी अधिकार तथा पर्यावरणीय महत्त्वलाई बेवास्ता गर्दै सहरकेन्द्रित योजना अघि सारे ।

बोल्सेनारोको नयाँ नीतिसँगै आदिवासी हत्या (जेनोसाइड) र प्राकृतिक दोहन (इकोसाइड) आकासिएको छ । आईएनपीईको सर्वेक्षणअनुसार, अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्षको जुन महिनामा मात्र वन विनाश ८० प्रतिशतभन्दा अधिकले वृद्धि भएको थियो ।

त्यति मात्र होइन, ब्राजिलको वातावरण अनुगमन गर्ने संस्था अब्जरभासोरियो डो क्लिमाका सदस्य कार्लोस रिटल सीएनएनलाई भन्छन्, ‘पछिल्लो ६ महिनायता बोल्सेनारो र उनका वातावरणमन्त्री वातावरणसम्बन्धी काम गर्ने संघसंस्थाहरूलाई खुम्च्याउन र तिनका अधिकार कटौती गर्न लागिपरेका छन् ।’ अमेजनको अस्वाभाविक डढेलो र बढ्दो वन विनाशप्रति चिन्तित हुँदै युरोपियन मुलुकहरूले सहयोगको प्रतिबद्धता देखाइरहे । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनको सहयोगको प्रस्तावमाथि त बोल्सेनारोले ठाडो शब्दमा विरोध जनाए । तसर्थ यो प्रस्ट देखिन्छ— उनी नै अमेजनमा आगो झोसिरहेका छन् तथा आदिवासी रगत लत्पतिएको हातमा मुरली लिएर एकोहोरो फुकिरहेका छन् । अमेजन जलिरहेको छ ।

कसको हो जंगल ?
खासमा कसको हो जंगल ? कसका लागि हो पर्यावरण ? आम सीमान्तकृत भुइँमान्छेहरूलाई लाग्छ, पर्यावरण या वन हुने–खानेको सोखको विषय हो । वास्तवमा जंगल या पर्यावरण सम्भ्रान्त वर्गको सोख वा अर्थोपार्जन स्वार्थको विषय होइन । जल, जमिन र जंगल त आदिवासी र स्थानीय समुदायको अधिकारको विषय हो । हरेक सरकार वा सत्ता यसमा संवेदनशील हुनैपर्छ । अरुन्धती रोयले भारतमा उठाइरहेको एउटा पेचिलो मुद्दा यो पनि हो । त्यस्तै अपदस्त बोलिभियन राष्ट्रपति इभो मोरालेज र उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले त पर्यावरण रक्षार्थ पृथ्वी माता र आदिवासीको विशेषाधिकार संविधानमै उल्लेख गरेका थिए । यसलाई पछि पेरुजस्ता मुलुकले समेत पछ्याएका छन् ।

पर्यावरणीय विनाशले जब प्राकृतिक विपत्ति निम्तिन्छ, सबैखाले विपत्तिमा पहिलो सिकार भुइँमान्छेहरू नै हुन्छन् । डढेलो, बाढी–पहिरो–हावा हुरीले यिनै सीमान्तकृतलाई विस्थापित पार्छ, विचलित बनाउँछ । कतिपय अवस्थामा यी भुइँमान्छेको जीवन पनि जंगलमै आश्रित हुन्छ । तिनको जीवन जंगलसँग अभिन्न ढंगले जोडिएको हुन्छ । यति हुँदाहुँदै पनि भूमिहीन विपन्न वर्गहरूलाई भने सत्ता र वन विभागले सदैव वन र पर्यावरणको दुश्मनको रूपमा लिएको पाइन्छ । तिनलाई वन अतिक्रमणकारीको रूपमा हेरिन्छ ।
भूमिहीन सुकुम्वासीहरूको बस्ने आश्रयस्थल पनि वन क्षेत्र र त्यसको आसपास नै हो । वन अतिक्रमणको नाममा पटक–पटक वन विभागले तिनलाई लखेटेर विस्थापित बनाउनु समाजको सामान्य घटना हो ।

वास्तवमा सुकुम्बासीको नाममा हुकुमवासीले वन क्षेत्र हडप्ने र मुनाफा निकाल्ने गरेको विषय लेखक यज्ञशले ‘भुइँया’ मा उठाएका छन् । उनी लेख्छन्, ‘वनबाट हुने ठूलो काठको तस्करीमा सुकुम्बासीहरूको खासै हात रहेको भेटिँदैन । ठूलो मात्राको तस्करी उनीहरूले गर्न सक्दैनन् । वनबाट सुकेका दाउरा ल्याएर बेच्नेसम्म गर्न सक्छन् । काठ अन्तै पुर्‍याएर बेच्ने तहको शक्ति उनीहरूमा भएको पाइँदैन ।’ वास्तवमा यी भुइँमान्छेहरूका लागि जंगल विनाश गरेर अकूत कुम्ल्याउनु कल्पनाबाहिरको कुरा हो । तर, जंगलबाट उनीहरू अन्य विकल्प नहुँदा हात–मुख जोर्न सक्ने वातावरण भने पाउन सक्छन् । तारा विकको प्रसंगमा यज्ञश लेख्छन्, ‘वनवाट कुनै बेला उनी भारीका भारी दाउरा निकाल्थिन् । दुःख गरेर, दिनभरि रनवन चहारेर जम्मा गरेका सुकेका दाउराको भारी बोकेर तुरुन्तै धनगढी बजार पुग्थिन् र होटलतिर बेच्थिन् ।’

ताराजस्ता भूमिहीनहरूका लागि नजिकैको वन रोजीरोटीको आधार हो । तर, शासकको लागि वन भनेको धन हो । जंगबहादुरले बक्सिसस्वरूप फिर्ता ल्याएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जंगल औलो नलाग्ने थारू जनशक्तिले फँडानी गरेर खेतीयोग्य मात्र बनाएनन्, आधाभन्दा अधिक जमिन आफू र आफ्ना भाइभारदारका नाममा गराए । थारूहरू आफ्नै थातथलोमा जल, जमिन र जंगलको अधिकारबाट वञ्चित हुन पुगे । यसरी इकोसाइड र जेनोसाइड सँगसँगै जाने गर्छ ।

सत्ताद्वारा गरिने पर्यावरणीय विनाशमा मात्र होइन, संरक्षण क्षेत्र निर्माण र विस्तारजस्ता पर्यावरणीय महत्त्वका योजनामा पनि स्थानीय आिीवासीहरू पीडित हुन्छन् । मोहन मैनाली ‘देखेको देश’ मा पुरानो पदमपुर निकुञ्ज क्षेत्रभित्र परेपछि नयाँ पदमपुरमा प्रतिस्थापित थारूहरूका समस्या देखाउँछन् । नयाँ ठाउँमा थारूहरू जल, जमिन र जंगलमा आश्रित परम्परागत जीविकोपार्जन पद्धतिबाट वञ्चित हुन्छन् । पाहुन महतो भन्छन्, ‘त्यहाँ निकुञ्जको जंगलमा गयो भने निगुरो, कर्कलो र अरू के–के जाती तरकारी टिपेर ल्याउन पाइन्थ्यो ।’ बास्तवमा वनले सीमान्तकृतका सामान्य तर महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्छ ।

जंगल, संरक्षण क्षेत्र र स्थानीय समुदाय एकअर्काका परिपूरक हुन् भन्ने मान्यता नेपालमा स्थापित भइसकेको छ । यसको श्रेय डा. सुशीला चटर्जी नेपालीलाई जान्छ । संरक्षण क्षेत्रमा काम गर्दा पहिलो प्रथामिकता स्थानीय समुदायको आवश्यकतालाई दिनुपर्छ भन्ने अवधारण उनले अघि सारेकी थिइन् । यसको उदाहरण हुन् चितवनका सामान्य आदिवासी शंकर चौधरी । उनले बाघमारा सामुदायिक संरक्षण कार्यक्रम अघि सारे, नर्सरीका लागि आफ्नै जग्गा उपलब्ध गराए । उनलाई थाहा थियो, वन पैदावर र वन्यजन्तु संरक्षण गर्नु छ भने सर्वप्रथम स्थानीयको आवश्यकताको सम्बोधन गरिनुपर्छ । उनको अवधारणा अनुकरणीय निस्कियो । अहिले स्थानीय मात्र बाघमारा सामुदायिक संरक्षण क्षेत्रभित्र घाँस, दाउरा, निगुरो, जलुको र घुँगीका लागि आश्रित छैनन् । त्यसो त त्यहाँ गैंडा, बाघ, हरिणजस्ता वन्यजन्तु पनि आश्रित छन् ।

स्थानीयकै हो जंगल भन्ने डिस्कोर्स नेपालका सामुदायिक वनको अवधारणाले पाएको सफलताले पनि पुष्टि गरिसकेको छ । वन विभागका अनुसार, नेपालमा १९,३६१ सामुदायिक वन छन् । २४,६१,५४९ स्थानीय परिवारहरू वनबाट लाभान्वित मात्र छैनन्, तिनले समुचितसँग वन व्यवस्थापन र संरक्षण पनि गरिरहेका छन् । सीमान्तकृत वर्ग, समुदायलगायत महिलालाई पनि सामुदायिक वनले सशक्तीकरणतिर डोहोर्‍याएको छ । वन क्षेत्रको पुनर्जागरणमा स्थानीय समुदायकै हात छ ।

तसर्थ, आदिवासी र स्थानीय समुदायको हो— जंगल । लोबो, शंकर र ५५० हेक्टर ब्रह्मपुत्रको बालुवाको किनारलाई घनाजंगलमा परिणत गरिदिने मिसिङ आदिवासी पाएङको हो, जंगल । दाउराको भारी होटलामा बेचेर नुन–तेल किन्ने ताराहरूको हो जंगल, पाहुन महतोहरूको हो जंगल, परिवारका लालाबाला भोकले रन्थनिँदा निगुरो, कर्कलो र घुँगीदेखि सिस्नो, गिठ्ठा–भ्याँकुर र बाँसको फूलको खोजीमा रनवन रन्थनिनेहरूको हो जंगल ।

वनका असली विनाशक त शासक र सम्भ्रान्त वर्ग नै हुन्, जसले इतिहासदेखि आजसम्म वनलगायतका प्राकृतिक सम्पदा दोहन गरेर अर्बौं कुम्ल्याइरहेका छन् । जंगबहादुरले पश्चिम तराई फाँडेर अंग्रेजलाई नबेचेको भए, नयाँ बस्ती विस्तारका लागि पञ्चायतले पूर्वी तराई फाँडेर भारत काठ निकासा नगरेको भए, के जंगल नासिन्थ्यो त यसरी ? अहिले पनि सत्तासीन शासकहरू नै विकास, पूर्वाधार र समृद्धिको नारा दिएर वनमाथि हमला गर्छन् । किनकि प्राकृतिक दोहनबाट सबैभन्दा द्रुत नाफा सम्भव छ । अमेजनले भोगिरहेको र निजगढ जंगलले भोग्न लागेको पीडा पनि यही हो ।

प्रकाशित : पुस १२, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?