उभयदासको डायरी

त्रिभुवनचन्द्र वाग्ले

त्योढुङ्गो कहिलेदेखि हाम्रो घरमा थियो मलाई हेक्का छैन  । बा, जिबाहरूले कुरा गरेको सुनेको थिएँ– यो शङ्खेढुङ्गा हो  । ढुङ्गाको बीच भागमा शङ्ख आकृतिको प्वाल परेकाले यसलाई शङ्खेढुङ्गा भनिएको होला । सायद बेसीमा हाम्रो घर बनाइँदा कर्मीहरूले कतैबाट त्यो ल्याएका थिए ।

बा भन्नुहुन्थ्यो– डल्ले ढुङ्गाले जग र गाह्रो हल्लाउने भएकाले त्यसलाई जगमा नराखिएको हो । त्यो केही चिप्लो थियो, दर्शने ढुङ्गाजस्तो कतै खरी मिसिएको जस्तो । हँसिया, बञ्चरो उजाउन पनि नहुने । यस्तो लाग्थ्यो– त्यो ढुङ्गा प्रयोजनहीन पदार्थ हो ।


भन्नुहुन्थ्यो आमाज्यामाहरू, ‘यो मोरो डल्ले न ताई बसाउन हुन्छ न रसेटो गराउन ।’ उहाँहरू सुनाउन हुन्थ्यो– कतिपटक त्यो ढुङ्गा हल्लेर तिहारका रोटी पकाउन बसालेको ताईको बाहान घोप्टिएको छ । सायद पटकपटक तेल पोखिएर होला ऊ चिल्लो र केही कालो छ । म सोच्थेँ– के यस्ता डल्ले वस्तुको कुनै प्रयोजन हुँदैन ? फेरि देख्थेँ, शङ्खेढुङ्गा खलामा राखेर त्यसमाथि धान झाँटेको । सँधैसँधैं शङ्खेढुङ्गाले धानको चुटाइ खाएको छ अथवा धान झारिएको छ ऊमाथि मुठा पछारेर । ऊखु पेलेको दिन रसेटोमा लाँक्रा तताएर त्यही ढुङ्गामा पड्काएर हामी रमाउँथ्यौँ ।


बुझ्ने भएपछि शङ्खेढुङ्गा चुटिएको, पिटिएर देखेर म कतिपटक रोएको छु । कस्तो अवहेलित होला यो ढुङ्गा । यसको के जात मिलेन, के स्वरूप र रङ मिलेन अथवा ग्रहदशा र बान्की मिलेन र जगमा बस्न पाएन ? गाह्रोमा मिल्ल पाएन । मन्दिर र देवता हुनु त आकाशको फल नै भयो । मन्दिरको पर्खाल पनि हुन पाएन । र पनि ऊ यसरी बिनाअर्थ चुटिएकै हुन्छ, पिटिएकै हुन्छ । बारीमा कहिले यता कहिले उता मिल्किएको त्यो ढुङ्गा तुलसी मठनेर ल्याएर मैले राखिदिएको थिएँ । बा हाँस्नुहुन्थ्यो– ‘छोरो धार्मिक प्रवृत्तिको छ ।’

विडम्बना कुनै दिन मैले भगवान्लाई नमस्कार गरिनँ । मेरा हात त्यसो गर्न बनेका थिएनन् सायद । आमा भन्नुहुन्थ्यो– ‘बाउआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि ।’ आमाले तुलसीमठमा सन्ध्या र आरती गर्दा नजिकैको त्यो ढुङ्गा रातो भएको थियो–परिणाममा पछिल्ला केही वर्षदेखि धान वा ऊखुले चुटिनु परेको थिएन त्यो ढुङ्गालाई । म सन्तुष्ट थिएँ ।


मेरो विवाह बाआमाको निधनपछि भयो, धेरै छिप्पिएपछि । आमा रुनुहुन्थ्यो– मेरो विवाह भएन भनेर । आमाज्यामाले मेरो लिङ्ग र अण्डकोष छामेको मलाई थाहा छ । मेरो लिङ्ग आकृतिमा मात्र थियो, एकदमै छोटो । भनौं न त्यही ढुङ्गाजस्तै डल्ले ! बुझ्ने भएपछि म निकै लजाउँथे आमाहरूले त्यहाँ छाम्दा । कतिपटक रोएको छु लाजले । मलाई गोज्याङ्ग्रो भनिन्थ्यो । कतिले दया दर्साउँथे, कतिले घृणा । मप्रति समाजलाई कहिल्यै संवेदनशील पाइनँ । मलाई सँधै अपराधीका रूपमा हेरिन्थ्यो । कि अभिशाप, बोझ वा अनावश्यक वस्तु !


म सुन्थेँ– मेरा कारण हाम्रो परिवारलाई हेला गरिन्थ्यो । कोही भन्थे– बाआमा चारधामबाट फर्केपछि हरिवंश नलगाएकाले म यस्तो भएर जन्मेको रे । एकपटक म खेतमा पनि लगाउन जाँदा आँपटारी काकाले भनेका थिए– ‘ओई तेरो तुरी खोई ?’ फुपाले भन्नुभएको थियो– ‘तेल लगाएर आमा पानी लिन गइछ, घर आउँदा स्यालले खाइदिएछ ।’ कुलोमा जम्मा भएका सबै हाँसे । म लाजले निहुरिएँ ।


अलि वर्षपछि म उभय लिङ्गी हुँ कि भन्ने लाग्यो तर मलाई यसबारेमा केही थाहा थिएन । म अरु साथीभन्दा भिन्न थिएँ । एकान्तमा महिला देख्दा लाज लाग्थ्यो । पुरुष देख्दा डर । एकातिर गोज्याङ्ग्रो, अर्कोतिर लिङ्गको आकृति मात्र, अण्डकोष नभएको । यही कारण म विद्यालय गइनँ । सुरुमा त गएको थिएँ, पछि अपमान सहन सकिन र गइनँ । मेरो विवाह यसै कारण ढिला भएको हो । धेरैपछि खोल्सापारे घर्तीले मलाई छोरी दिएँ । सामान्य तरिकाले विवाह भयो । म उपाध्याय, ऊ घर्ती । जग्गे लगाएर विवाह हुने कुरै भएन ।


विवाहपछि श्रीमती दुर्गीले आमाले जस्तै सन्ध्या र आरती गर्न थाली । उसलाई ‘बडाको घरमा यस्तो गर्नुपर्छ’ भनेर सायद सिकाइएको थियो । आमाले पूजा गर्दा रङ्गिएको शङ्खेढुङ्गालाई दुर्गीले पूजा गर्न थाली । त्यो ढुङ्गानिम्ति उसले छुट्टै दीप जलाउँथी । प्रसाद दिन्थी । कहिलेकहीं वश्त्र चढाउँथी । शङ्खेढुङ्गा पूरै रङ्गिएको हुन्थ्यो । म सोच्थेँ– दिन त एकपटक सबैको आउने रहेछ । डल्ले ढुङ्गा क्रमशः देवत्वग्रहणको चरणमा थियो ।

एकादशी वा हरितालिकामा दिदीबहिनीले त्यो ढुङ्गामा पूजा गर्न थाले । के भनेर, किन पूजा गर्थे मेरो चासोको विषय भएन तर रमाइलोको खेती भने भयो । उनीहरू निधारै राखेर शङ्खेढुङ्गालाई ढोग्थे । सन्तुष्ट देखिन्थे डल्लेढुङ्गा ढोग्दा । हो, आखिर कुन ढुङ्गा जन्मँदा नै दैव भएको थियो ? आखिर मानिसले न हो ढुङ्गालाई देवता बनाएका । ब्रहृमाण्ड निर्माणका क्रममा लिथिफिकेसनका प्रक्रियामा ढुङ्गालाई के पत्ता थियो कि कुन ढुङ्गा देवता बन्छ र कुनले गुहु पुछिन्छ ? शङ्खेढुङ्गाको बढोत्तरी हैसियतले दङ्ग थिएँ तर म उसलाई भगवान् होइन ढुङ्गा नै रहोस् भन्ने चाहन्थेँ ।


पछिल्ला वर्ष, जब दुर्गी दोस्रो विवाह गरेर गई, त्यो ढुङ्गाको रातो पखेलिँदै गयो । उसको नियमित पूजा हुन छाड्यो । पुरानै फुस्रो रङमा आउँदै थियो ढुङ्गा । आक्कलझुक्कल गाउँले दिदीबहिनीले पूजा गरेका हुन्थे तर त्यसको रातो त्यति टिकेको हुन्नथ्यो ।
अचानक गाउँमा हल्ला भयो– गोज्याङ्ग्रको घरबाट शङ्खेढुङ्गा हरायो । कसैले भने–त्यो ढुङ्गामा शालिग्राम थियो । कसैले भने– मुखियाले भूतप्रेतविरुद्ध बान (बाण ?) हान्न ल्याएका थिए त्यो ढुङ्गा । कसैले शङ्खेढुङ्गामा रहेको खरीमा चाँदी मिसिएकाले कोही चट्टुले ग्योज्याङ्ग्रेलाई चकलेट खान दिएर लग्यो भन्थे ।

मेरो सोचाइविपरीत धेरैको धेरै चासो रहेछ त्यो ढुङ्गामा । मलाई लाग्थ्यो त्यो ढुङ्गामा कसैको चासो छैन । दिन क्रमशः फेरिएका थिए । जतिखेरसम्म त्यो ढुङ्गो बारीमा थियो कसैको ध्यान गएन ऊमाथि । जब मैले तुलसी मठनेर ल्याएर राखिदिएँ, आमाले पूजा गर्दा रङ्गियो अथवा दुर्गी र अन्य दिदीबहिनीले पूजा गर्न थालेपछि त्यो ढुङ्गाको हैसियत बढ्दै गयो, मानौं देवता बन्यो ऊ । मानिसका कारण मानिसले जस्तै मानिसबाटै त्यो ढुङ्गाले शक्ति प्राप्त गर्‍यो ।


आँगनबाट हराएपछि त्यसमाथि विभिन्न थप गम्भीर प्रतिक्रिया आए । कसैले भने–गोज्याङ्ग्रेले सँगै लिएर सुत्छ त्यो ढुङ्गा । मैले यसमाथि प्रतिक्रिया दिन आवश्यक ठानिनँ । म आफूलाई प्रतिक्रियाविहीन बनाउन चाहन्थेँ ढुङ्गाजस्तै । घर वा मन्दिरको गाह्रोमा बस्न ढुङ्गाले फुट्नुपर्छ चेप्टो हुन । हजार चोट सहेपछि ऊ देवता बन्न सक्छ । पिनिनुपर्छ लोहोरोले सिलौटो भएर र सट्टामा मीठो मसला पिनिदिनुपर्छ । कुटिनुपर्छ मुसलले ओखल भएर धानलाई चामल र चामललाई पिठोमा परिणत गरिदिन । कुनै बेला ढुङ्गाले प्रतिक्रिया देखाएको मैले पाएको छैन । मलाई लाग्छ, मानिस मात्र प्रतिक्रियावादी तत्त्व हो । हो, अति भएपछि ढुङ्गा आफैंआफैं फुटिदिन्छ, चोइटिदिन्छ प्रतिक्रियामा तर उसले कुनै मानिसलाई आघात गर्दैन । आफैं दुखिदिन्छ, आफैं टुटिन्दिछ, फुटिदिन्छ तर ढुङ्गाले मानिसले जस्तो घातक प्रतिक्रिया दिँदैन ।


मानिस हुनुको नाताले मैले पनि ढुङ्गाविरुद्ध बोलेको छु । ‘तेरो मन ढुङ्गाको जस्तो छ’ कतिपटक मैले साथीहरूलाई भनेको छु । खासगरी मलाई उनीहरूले हिजडा भनेर जिस्काउँदा, छक्का भनेर हेप्दा । आमाले ‘छोराछोरीको मन....’ भनेर ढुङ्गालाई आममानिसले जस्तै कठोरतामा बुझ्नुभएको थियो क्यार ! मानिसका मन कोमल हुन्छन् जहाँ हजार लेखिन्छन् र हजार मेटिन्छन् । त्यहाँ मायाका नमेटिने स्मरण लेखिन सक्दैन ।

ढुङ्गामा प्रेमगीत लेखिने भए सायदै मानिस प्रेममा असफल हुने थिए । ढुङ्गाका अक्षर मेटिँदैनन् मनका स्मरण वा कागजका अक्षर जसरी । म ढुङ्गालाई कठोर होइन अठोट भन्न चाहन्छु । मेरा लागि ढुङ्गा प्रेरणा र परिवार हो । म ढुङ्गा हुन चाहन्छु । मलाई मानिस हुनुमा कुनै मोह छैन । उनीहरू कसैले पनि मप्रति सम्मान गरेका छैनन् । यसविपरीत कुनै पनि ढुङ्गाले मलाई अवहेलना गरेका छैनन् । हरेक बाबुआमाले मजस्तो सन्तान जन्माउन सक्छन् भन्ने सम्भावनालाई सम्मान नगर्ने मानिस मेरा लागि रोजा वस्तु होइनन् । हुन सक्दैनन् ।


मभित्रको तृष्णा मेटिएको थिएन शङ्खेढुङ्गालाई तुलसीमठ छेउ राखेर । एक दिन राति कसैले थाहा नपाउने गरी त्यो ढुङ्गा ओच्छ्याननेर ल्याएँ । म राति अबेरसम्म ढुङ्गा हेरेर बसेँ । कति दिन ढुङ्गा हेर्दाहेर्दै निदाएको छु । निदाउँदा निदाउँदै सपनामा ढुङ्गासँग खेलेर बिउँझिएको छु । नजिकै गएर बसेको छु । बिस्तारै ढुङ्गामाथि हात राखेको छु । ऊबिना प्रतिक्रिया उस्तै हुन्छ । सत्य हो, ढुङ्गा होइन मानिस मात्र प्रतिक्रियाका लागि बनाइएका पदार्थ हुन् !


जाडो रात थियो । छतमा गएर हेरा–आकाश डम्म बादलले भरिएको । प्रत्येक घरका प्रायः एकएक कोठा उज्याला देखिन्थे । सायद ती नव युगलका कोठा हुन् ।


भित्र पसेँ । बिस्तारामा गएँ । गोडा चिसा थिए । निदाउने प्रयास गरेँ । सम्भव भएन । विस्तारै उठेँ । ढुङ्गासम्म पुगेँ । छोएँ । ऊ झन् चिसो थियो । उचालेर बिस्तारामा राखेँ । उसमाथि सिराना राखेर निदाउने प्रयास गरेँ । त्यो रात कतिबेला निदाएँ पत्तो भएन । बिहान उठेर ओछ्यानबाट ढुङ्गा तलतिर झार्दै गर्दा मलाई लाग्यो आखिर ढुङ्गाको प्रयोजन मानिसको आवश्यकतामा निर्भर हुन्छ । हुन पनि या देवता या ओखल या पर्खाल या पत्थरकला या कल्ली या देवी मानिसको आवश्यकतामा ढुङ्गाको प्रयोग हुँदै आएको छ ।


कति दिन म त्यो ढुङ्गामा सिराना राखेर निदाएको छु । सुरुमा बिझाउँथ्यो । पछि त त्यस्तो अनुभव भएन, बरु कपासको सिरानीले टोक्थ्यो । जुरुक्क उचालेर ढुङ्गा ओछ्यानमा राखो । सिरक ओढाएर सुतेँ । ऊमाथि हात लगेँ । कुनै प्रतिक्रिया थिएन । म सम्झन्छु– विवाहको पर्सिपल्ट मैले यसरी नै दुर्गीको छातीमा हात राख्दा उसले मेरो हात भित्तामा ठोकिने गरी फालिदिएकी थिई ।

ऊ अहिले कता छ कुन्नि ! सायद ऊ मसँग विवाह गर्न चाहन्नथी । घर्ती बूढाले विवाहका सन्दर्भमा भनेका थिए रे– ‘कि घर खान्छे, नसके मुखियाको आधा सम्पत्ति चिरेर लिन्छे ।’ तर बरा मेरो एक गेडो सम्पत्ति नलिई ऊ कता गई ? उसको आवश्यकता सम्पत्ति थिएन, सन्तुष्टि थियो सायद । सुनेअनुसार उसले दोस्रो लाग्नेबाट छोरो पाएकी छ । मसँगै रहेकी भए सायद ऊ आमा बन्न सक्दिनथी । उसले ठिकै गरी । कामना गर्छु, मजस्तो सन्तान नजन्मिए हुन्थ्यो उसलाई ।


केही क्षणमा ढुङ्गा तातिँदै आयो । मलाई पनि न्यानो भयो । विस्तारै ढुङ्गामाथि खुट्टा चढाएँ । अब भने गर्मीको अनुभव भयो । पूरै नाङ्गिएर ढुङ्गालाई अँगालो मारो । उसको शङ्खजस्तो प्वालमा औंला छिराएँ । मलाई ढुङ्गाले बिझाएन । बरु आनन्द अनुभूति भयो । धेरैबेर उसरी नै बसेँ । केहीबेरमा उठेर आफ्नो लिङ्ग हेरेँ । ऊ छोटो मात्र होइन आकृतिमा मात्र थियो । छामेँ–अण्डकोष थिएन । ढुङ्गा निश्चल थियो म अधीर । ढुङ्गा एकनास थियो । म अस्थिर । धेरैबेरपछि म ग्लानिले उठेँ । आफूप्रति हार महसुस भयो ।

पश्चाताप, वैराग्य असन्तुलनले म असामान्य बनेँ क्यार । कन्चटको रौं उखेलेँ, दुख्यो । सोचेँ– म पागल भएको छैन, ममा चेतना सकिएको छैन । अठोट गरेँ म ढुङ्गाजस्तै स्थिर हुनुपर्छ मानिसजस्तो अस्थिर होइन । अरू मानिसका दृष्टिमा मैले गलत र अप्राकृतिक काम गरेँ तर मैले अरू मानिसले जस्तै गर्नुपर्छ र ? पर्दैन । त्यो किनभने उनीहरूले पनि मैलेजस्तो गर्दैनन् । मैले जे गरेँ ठीक गरेँ । नयाँ अभ्यास गरेँ । अभूतपूर्व चरम आनन्द पाएँ । मलाई अपमान गर्ने मानिसबिना पनि बाँच्न सक्छु भनेर मैले समाजलाई देखाउनुछ ।

भोलि तेस्रोलिङ्गीहरूको विश्व सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जानुअघि विख्यात तेस्रोलिङ्गी उभयदासको हालै प्रकाशित चर्चित डायरी पढ्दै थिएँ । समयाभावले पूरै पढ्न पाएको छैन । सबै पढेपछि डायरीमाथि आफ्ना अनुभवसहितको विचार व्यक्त गरूँला । प्रकाशित : कार्तिक १६, २०७६ १०:२४

प्रतिक्रिया
पठाउनुहोस्

छठले रङ्गियो मधेस

पहाडी समुदायमा पनि सूर्य उपासनाको मौलिक लोकपर्वप्रति आस्था बढ्दो छ । वैदिक मन्त्र उच्चारण नगरिने छठमा जातीय सदभावको अनुपम नमुना पाइन्छ ।
प्रदेश ब्युरो

(जनकपुर) — छठ पर्वका लागि गाउँ गाउँका जलाशय सजाउने काम तीव्र छ । गाउँ ठाउँमा रहेका नदी, पोखरीलाई सरसफाइ गर्दै पण्डाल बनाउने काममा स्थानीय जुटेका छन् । षष्ठीको बेलुकादेखि जलाशयमा सजाइएका घाटमा विभिन्न किसिमका पकवान राखेर छठी माताको पूजा गरिन्छ । 

कतिपय घाटमा छठी माताको प्रतिमा पनि बनाउने काम भइरहेको छ । कतै स्थानीय तहले नै यो पर्वका लागि पण्डाल र मूर्ति बनाउन खटाएका छन् भने अधिकांश गाउँका स्थानीय घरघरबाट पैसा संकलन गरेर पूजाका लागि पण्डाल बनाउने काममा जुटेका छन् ।

पर्वमा थप उत्साह थप्नका लागि कतै सामूहिक रूपमा रकम जम्मा गरी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय नदी तथा पोखरी लगायतका जलाशयमा षष्ठीको बेलुकादेखि सप्तमीको बिहानसम्म पूजा गर्ने व्यवस्था मिलाइएको छ । कविलासी नगरपालिका–१ पिपरियाका महन्थ रायले भने, ‘रातभरिको पूजासँगै धार्मिक र साँस्कृतिक कार्यक्रम गरी छठलाई रोमाञ्चक बनाउने तयारीमा छौं ।’ तराईका दक्षिणी क्षेत्रमा मात्रै मान्ने परम्परा रहेको यो पर्व पछिल्लो समय उत्तरी क्षेत्रका पहाडी समुदायले समेत निष्ठा पूर्वक मान्न थालेका छन् । छठी माताप्रतिको आस्थाका कारण वर्षौंदखि यो पर्व मान्ने गरेको हरिवनका स्थानीय अच्युतकुमार सापकोटाले बताए । उनले भने, ‘हाम्रो गाउँतिर पनि छठ पर्व मान्नेको संख्या दिनप्रतिदिन बढ्दै छ ।’ छठ घाटको पण्डाल बनाउने कामसँगै गाउँ गाउँमा चहल पहल पनि बढेको छ ।

छठ घाटमा भएका साँस्कृतिक कार्यक्रम र सजाइएका छठी माताका मूर्तिले रौनकता थपेको छ । सबै जातजातिका मानिसहरू एकै ठाउँमा अटाउने यो पर्व सामाजिक सदभावको नमुना बन्ने गरेको छ । अन्य दिन पानी नचल्नेसँग पनि स्थानीय एकै ठाउँमा पुजाआजा गर्छन् । ‘चेतनाको कमीले अहिले पनि ग्रामीण क्षेत्रका अन्य पूजामा स्थानीय छुवाछूत मान्छन्, तर यो पर्व यस्तो हो जो परा पूर्वकालदेखि हरेक जातजाति र समुदायका मानिस एक ठाउँमा अटाउँछन्,’ स्थनीय अरुणकुमार झाले भने ।

छठ पुजाका दिन जलाशयमा गाउँभरिका स्थानीय जम्मा हुन्छन् । यस दिन व्रतालु महिलाले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभरि पूजापाठमा व्यस्त हुन्छन् । बिहानको उदाउँदो सूर्यलाइ अर्घ्य दिएपछि छठ पर्व समापन हुने गर्छ । यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले यहाँका युवालाई अनुशासनमा बाँध्न सहयोग पुगाएको छ । बिहीबारदेखि छठ पर्व सुरु भएसँगै यहाँका गाउँ ठाउँका बजारमा मदिरा र मासुमा रोक लगाइएको छ ।

धुमधाम खरना
बिहीबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुले शुक्रबार ‘खरना’ विधि मनाए । ‘रस्याउ रोटी’ नामले समेत चर्चित यो विधिमा व्रतालुले शुक्रबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।

रस्याउ रोटीलाई प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खान बोलाइन्छ । यसका लागि अग्रिम निम्तो दिने चलन छ । रस्याउ रोटीका निम्तालुले यस दिन मासुमाछा जस्ता तामसिक भोजन गर्दैनन् । यस वर्ष समेत गरी चौथो वर्ष निरन्तर छठ व्रत लिइरहेकी छतवा बरैनियाकी सुगान्धी कुशवाहाका अनुसार शुक्रबार साँझ रस्याउ रोटी खाएका व्रतालुले यसैको भरमा शनिबार दिनभरि निर्जल/निराहार व्रत बस्ने छन् । शनिबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरू घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशयमा निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् ।

नयाँनयाँ वस्त्र लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पुजा सामग्रीहरू राखिएका बाँसका छैंठी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । छठ घाटमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायत विभिन्न पूजा सामग्रीको अर्घ्य दिने छन् । त्यसपछि उनीहरू घण्टौं घाटमा बसेर पूजा अर्चनामा लीन हुन्छन् । केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यो विधिले व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यसरी कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका पनि त्यहाँ पूजा गर्न आइपुग्छन् । घाटमै बसेका व्रतालु भने रातभरि भजनकिर्तन गर्छन् । व्रतालुले आइतबार बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ्य दिएर व्रत विधिवत सम्पन्न गर्नेछन् ।

व्रतालुका घरघरमा शुक्रबार दिनभरि तथा साँझमा समेत यो पर्वमा चढाइने विशेष किसिमको पिठोको ठेकुवा पकाइँदै छ । यस काममा व्रतालु तथा तिनका परिवारका सदस्य व्यस्त रहनेछन् । यसरी प्रसाद पकाउँदा अत्यन्त चोखोनितो गरी शुद्धता तथा पवित्रताको ध्यान राखिन्छ ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानिघाट, नगवा, मूर्ली आदिका घाट बेहुली झैं सिंगारिएका छन् । जिल्लाको ग्रामीण भेकका पनि सबै जसो गाउँमा छठ घाट तयार पारिएका छन् । वीरगन्ज त्यसमा पनि घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले बर्सेनि राष्ट्रव्यापी चर्चा पाउने गरेको छ ।

वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले सदरमुकाम वीरगन्ज र आसपासका गाउँका विभिन्न छठ घाटको स्थलगत निरीक्षण गरेर त्यहाँको व्यवस्थापन तथा सुरक्षा आदि विषयमा जानकारी समेत लिइरहेका छन् । वीरगन्ज बजार तथा जिल्लाका अन्य ग्रामीण हाटहरूमा पनि छठ पर्वको सामग्री किनमेल गर्नेको बाक्लो भीड लागेको छ । कपडा पसलहरूमा पनि नयाँ कपडा किनमेल गर्नेको भीड बढेको छ ।

‘उगह हे सुरुजदेव...’
‘उगह हे सुरुजदेव अर्घ्यक बेर...’ पूर्वी आकाश रताम्मै भए पनि सूर्यको दर्शन सम्भव भइरहेको हुँदैन । त्यहीबेला दुई दिनदेखि निराहार व्रत बसेकी ब्रतालु मधुरो स्वरमा यो गीत गुनगुनाउँछिन् । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गर्नुअघि व्रतालुले यो चर्चित गीत गाउँछिन् ।

सूर्यको प्रतीक्षाको यो समय निकै कौतुहलतापूर्ण हुन्छ । महिलाहरू ठट्टा गर्दै सूर्यसँग जिस्किन्छन् । ‘ससुराली गएका सुरुज भगवान्लाई आउँन ढिला भइहाल्छ नि ।’ ससुराली गएको कारण छठ पूजाको दिन सूर्य ढिलो उदाउँने गरेको किंवदन्ती छ । यस गीतमा यस्तै भाव अभिव्यक्त छ ।

छठ पूजाको अवसरमा जनकपुरको गंगासागर, धनुषसागर, महाराजसर, रुकमिनीसर, लगाययत पवित्र जलासयमा उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गर्ने वेला यो र यस्तै गीत गाइन्छ ।

व्रतालुहरू गीत संगीतको सुरमा भोक–प्यास बिर्सिने प्रयास गरिरहेका हुन्छन् । अर्कोतर्फ श्रद्धालुहरू पूजा सामग्रीमाथि दूध अर्पण गरिरहेका हुन्छन् । चार दिनसम्म मनाइने छठपर्वको क्रममा कात्तिक शुक्ल षष्ठी र सप्तमीको तिथि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । षष्ठीको दिन अस्ताउँदो र सप्तमीको दिन उदाउँदो सूर्यको पूजा गरिन्छ ।

संसारभरि उदाउँदो सूर्यलाई मात्र पूजा गर्ने परम्परा रहे पनि छठमा भने अस्ताउँदो सूर्यलाई समेत धूमधामका साथ पूजा गर्ने चलन छ । संस्कृतिविद परमेश्वर कापडी यस परम्परालाई मिथिलाको मौलिक परम्परा मान्छन् । ‘आफ्ना आमा–बूबा तथा पुर्खालाई स्मरण गर्ने मनोविज्ञान यस परम्परामा निहित हुन्छ,’ कापडीले भने ।

व्रती महिला पुरुष छठी मैयालाई ठकुवा, भुसवा, नरिवल, केला, पान, सुपारीसहितका परिकार अर्पण गरिरहँदा घाटमा उभिएका सर्वसाधारण रमाइलो मान्छन् । गंगासागर र धनुषसागरमा पक्की घाट निर्माण गरिएकाले पूजा स्थल फराकिलो बनेको छ । तर, बढ्दो सहरीकरणका तथा तेलहा, मरहा, देवान र जनक सरोवरलगायतका महत्त्वपूर्ण पोखरीहरू अतिक्रमण हुँदा पूजा घाटको आभाव छ ।

जनकपुरधाम १ का व्रती राजेन्द्र भगतले भने, ‘गंगासागरमा पक्की घाट निर्माण तथा पानी सफाई अभियान सराहनीय हो । तर, अतिक्रमणमा परेका पोखरीहरूलाई अतिक्रमण मुक्त गर्न सके श्रद्धालुहरूलाई अझ सुविधा हुने थियो ।’ राजनीतिक दलका नेताहरू पोखरीको घाटमा पुगेर सदभाव साटासाट गर्छन् ।

छठ पर्वको पहिलो दिन व्रती महिला पुरुष पवित्र जलासयमा स्नान गरी चोखो खानेकुरा मात्र खान्छन् । जसलाई नहायखाय भनिन्छ । दोस्रो दिन दिनभरि उपवास बसी साँझ गुलियो रोटी र खिर खान्छन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरेर मात्र व्रत समापन गर्छन् ।

पति सुख, सम्वृद्धि, सन्तान प्राप्ति तथा कुष्टजस्ता रोगबाट मुक्ति हुने विश्वासका साथ छठ पर्व मनाइने गरेको पण्डित व्रजनन्दन झाले बताए । झाका अनुसार अज्ञात बासको सफलताका लागि महाभारतकालमा द्रोपदीले सूर्य पूजा गरेकी थिइन् ।

मिथिलाञ्चलमा प्रचलित पर्व त्योहारमध्ये छठ, जितिया, सामाचकेवा लोक पर्व हुन् । जसमा वैदिक मन्त्र उच्चारण गर्नुपर्दैन । यी पर्व– त्योहारको मुख्य मन्त्र भने लोकगीत नै हुन्छ । छठ पर्वको तयारी सुरु भएदेखि नै गीत गाउने चलन छ ।

‘केरा जे फरल घउद स, ओहिपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुष स, सुगा गिरे मुरझाय ।।’

पूजा प्रयोजनका लागि बारीमा फलेको केरा जोगाउन श्रद्धालुहरू गाउँने गर्छन् । खानेकुरा बनाउन पिठो बनाउनेदेखि पकवान पकाउने बेला पनि गीत गाइरहन्छन् । पूजा सामग्री घाटसम्म पुर्‍याउने बेला पनि गीत गाउने चलन छ ।
तर, पछिल्लोसमय पूजा घाटमा छठ गीत अलि कम सुनिन थालिएको छ । मौलिक गीतको स्थानमा रेकडिङ गीत सुनिन थालेको छ । मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष सुनिल मल्लिक मौलिक गीत गायन परम्परामा ह्रास आउनुलाई ‘सांस्कृतिक संकट’को संज्ञा दिन्छन् ।


प्रकाशित : कार्तिक १६, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×