कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्य अर्कै

उमा सुवेदी

म एउटा सामान्य लेखकमाथि यो के आपत् आइलाग्यो ?
स्तब्ध छु । यस्तो स्थितिको त मैले कल्पना पनि गरेको थिइनँ । आज म आफ्नै घरमा लुक्नुपर्ने भएको छ । यतिखेर त्रासले मेरा हातखुट्टा लुला भएका छन् । कानमा तातो अनुभव गरिरहेको छु । मुटु त पक्कै चलेकै छ तर पनि मुटुको गति टक्क रोकिएजस्तो लागिरहेछ । कवि लेखकको जीवनमा डर र त्रासका अनेकन स्थितिहरू आउने–जाने गरिरहेकै हुन्छन् ।

सत्य अर्कै

तर, यो डर अलिक पृथक् खालको । आफ्नो लेखनको कारण म पुलिस प्रशासन या सरकारको कोपभाजनको सिकार हुने स्थिति त मैले पहिला पनि भोगकै हुँ । तर, व्यक्तिविशेषको क्रोध मेरालागि नयाँ अनुभव हो । नयाँ तर डरलाग्दो अनुभव !


खासमा मैले तिनलाई कहिल्यै देखेको थिइनँ । उनको अनुहार कुनै तस्बिरमा देखेको पनि हैन । कुनै आफन्त या चिनजानका सित उनको अनुहार मिलेजस्तो पनि लागेको छैन । तर, उनी भने मलाई नै खोज्दै मेरो घरसम्म कसरी आइपुगिन् ?


साठी पैँसट्ठीकी जस्ती देखिन्थिन् उनी । कपाल सेतै थियो । अनुहार पनि निकै चाउरी परेको । उनी आउँदा अनुहारभरि रिस बोकेर आएकी थिइन् । ढोका पनि नढक्ढक्याई हावाको तीव्र वेगझैं बैठकभित्र प्रवेश गरिन् । मलाई लाग्यो, उनी हुरीबतासको मानवीय रूप हुन् । धन्न, म बैठकमा थिइन्, नत्र आउनासाथ ममाथि जाइलाग्ने रहिछन् ।


कोठामा मेरी बहिनी सोनिया थिई । आमा पनि घरमै हुनुहुन्थ्यो । आगन्तुक महिलालाई देखेर उहाँहरू तर्सिनुभयो । तर्सिनु स्वाभाविक पनि थियो । किनभने ती महिलाको हातमा नरिवलको पातबाट बनेको खरेटो कुचो थियो । मानौँ उनी आफ्नो कुनै शत्रुलाई त्यही कुचोले हिर्काउन चाहन्छिन् ।


उनी हाम्रो घरमा आउनुको अर्थ के ? न कुनै चिनजान, न कुनै नातापाता यसरी साधिकार हाम्रो घरभित्र प्रवेश गर्ने आँट उनले कसरी गरिन् ? कतै उनी झुक्किएर हाम्रो घरभित्र आइपुगेकी त होइनन् ? एक छिन मलाई लाग्यो— मैले नचिने पनि आगन्तुक महिलालाई आमा या सोनियाले पो चिनेका छन् कि ? तर, ती महिला प्रवेश गर्नासाथ कोठामा व्याप्त भएको मौनताले आमा र सोनिया पनि तिनीसित परिचित छैनन् भन्ने पक्का भएको थियो ।


म भान्साकोठामा आफ्नो लागि कालो चिया बनाएर कपमा खन्याउँदै थिएँ । उतै रोकिएँ । किनभने उनी आउनासाथ ठूलो स्वरमा कराउन थालिहालेकी थिइन् ।


‘मलाई फूलवाली भनेर हेप्ने लेखक खै कता छन् ? निस्क बाहिर ? ए लेखक, बाहिर निस्क भनेको सुनेनौ ? के मेरो कुनै इज्जत छैन ? ठीक छ मैले फूल बेचेँ रे । इमान त बेचेको छैन नि । मैले यही आँखाले देखेकी छु, कति जना इमान बेच्छन् र त्यही पैसाले मेरो पसलमा फूलमाला किन्न आउँछन् । हिजै मात्र एक हुल आए र हजार रुपैयाँको माला किनेर गए । त्यो माला उनीहरूले भर्खरै प्रतिनिधिसभामा निर्वाचित भएको एक जना डनका लागि किनेका थिए । तिनीहरूले पहिला त्यो डनलाई के के मात्र भनेनन् ।

माफियाको नाइके भने । तस्कर भने । दलाल भने । तर, जब त्यही मान्छे चुनावमा उठेर नेता भयो, सबैका लागि ठूलो मान्छे भयो । राजनीति त दलालको हातको खेलौना भैसक्यो । यसबारेमा लेखकले केही नलेख्ने तर मैले दोस्रो बिहे गरेँ भनेर सबैलाई पढाउँदै हिँड्ने ? मैले एउटा अशक्त पुरुषलाई छोडेर स्कुलको पालेसँग बिहे गरेँ भनेर मेरो बेइज्जत गर्ने ? खै, कहाँ छ लेखक ? त्यसलाई मेरोअगाडि ल्याउनुस् ।’


हैट्, तिनी त मेरै उपन्यासकी पात्र पो रहिछन् । अब भने म झनै आत्तिएँ । पात्रले नै घरमा आएर लेखकलाई धम्क्याएको मैले कतै थाहा पाएको थिइनँ । कमसेकम मेरो साहित्यिक जीवनमा कुनै लेखक कविसित यस्तो घटना भएको पनि थाहा थिएन । उपन्यास लेख्ने क्रममा उनको चरित्र चित्रण गर्दा लेखेका कुराले उनी क्रुद्ध भइछिन् । तर, मेरो उपन्यास त बजारमा आएकै छैन ! मैले लेख्दै गरेको उपन्यासमा आफ्नो भूमिकाबारे कसरी थाहा पाइन् ? यो प्रश्नले झनै अत्यायो मलाई । मेरा खुट्टाहरू झन् धेरै काम्न थालेँ । मेरा कानका लोती ताता भए । मलाई तीव्र ज्वरो आएको आभास भयो । कन्चटपछाडिबाट पसिना पनि बग्न थाले । यस्तो स्थितिको सामना मैले कसरी गर्ने ? त्यसैले म भान्सामै चुपचाप लुकेर बसेँ । उता, बैठकमा आमाले फूलवालीलाई सम्झाउन थाल्नुभयो ।


‘त्यो मेरो छोरो हो । त्यसलाई अन्जान बालक सम्झेर माफी देऊ बहिनी । हातको कुचो फ्याँक । मेरो छोरो कुचोसित सारै डराउँछ । कुचो देख्यो कि ऊ सडक बढार्ने एउटी केटीलाई सम्झिहाल्छ । त्यो केटीको सम्झनाले ऊ अहिले पनि व्यथित हुन्छ । त्यसैले कृपया कुचो नदेखाइदेऊ उसलाई ।’


सोनियाले कुरा थपी, ‘दाइले त्यो केटीलाई साँचो प्रेम गर्थ्योजस्तो लाग्छ । किनभने जुन बेलादेखि उनले यो टोलको सडक बढार्न थालिन्, त्यही बेलादेखि मेरो दाइले मर्निङ वाक सुरु गरेको थियो । मलाई लाग्छ, उसले तन्दुरुस्तीका लागि मर्निङ वाक सुरु गरेको थिएन, त्यही कुचो बढार्ने युवतीलाई हेर्न गरेको हो ।’


आमाछोरीको कुरा सुनेर फूलवालीको रिस अलिकति मत्थर हुँदै गयो । तर, उनले म कुचोसित डराउँछु भन्ने कुरामा शंका व्यक्त गर्दै सोधिन्, ‘अनि त्यत्तिको आधारमा लेखकले कुचोसित डराउनुपर्ने कारणचाहिँ के नि ?’


आमाले मेरो अतीतको कुरा नभनेको भए पनि हुने । म भान्छामा लुकेर बसेको थिएँ । आमालाई रोक्न पनि सकिनँ । सबै कुरा फूलवालीको अगाडि छ्यालब्याल पारिदिनुभयो ।


‘पुस या माघको कुनै बिहान ऊ चारै बजे मर्निङ वाकका लागि गयो । तपाईंलाई त थाहै छ, जाडोको बेला चार बजे कस्तो गाढा अँध्यारो हुन्छ । सडक बत्तीको मधुरो प्रकाशले हिँड्न सहयोग गरेको थियो । हिँड्दाहिँड्दै उसले कुचो बढारिरहेकी युवतीलाई देख्यो । अँध्यारोमा पनि ती युवतीको अनुहार धपक्क बलेको रहेछ । त्यो दिन खै, के विचार पलायो मेरो छोरोको मनमा, उसले हिम्मत गरेर ती युवतीलाई म तिमीलाई माया गर्छु भनेछ ।’


आमाको यस्तो कुरा सुनेर फूलवालीको स्वरमा उत्साह थपियो । सोधिन्, ‘त्यसपछि के भनी त्यो कुचो बढार्ने केटीले ?’


हतारिँदै सोनिया अघि सरी । भनी, ‘दाजुको प्रेम प्रस्ताव सुनेर सायद केटी मुस्कुराई । मुस्कुराउनु जायज पनि थियो । किनभने दाजुले कवितामा प्रेम प्रस्ताव गरेको थियो । दाइको प्रस्ताव सुनेर त्यो केटी मुस्कुराउँदै आफ्नो घरतिर लागी । मेरो दाजु पनि उसको पछिपछि लाग्यो । त्यो केटीको घर कहाँ हो भन्ने पत्ता लगाउन चाहन्थ्यो ऊ ।’


सोनियाले गलत भनेकी होइन । त्यो दिन मैले त्यसै गरेको थिएँ । म कुचो बढार्ने केटीको पछिपछि लागेको थिएँ । उनी अघिअघि म पछि पछि । धरतीमा रातको अन्तिम अँध्यारो अझै बाँकी थियो । त्यसमाथि बाक्लो कुहिरो । हरर मुभीको कुनै दृश्यजस्तो अँध्यारो बिहानी थियो त्यो । ती युवतीले सेतो लुगा लगाएकी थिइन् । उनी बेलाबेला कुहिरोमा हराउँथिन् र बेलाबेला फेरि देखापर्थिन् ।

आफ्नो घरनिर पुगेपछि युवती टक्क रोकिइन् । अनि फर्केर मतिर हेरिन् र भनिन्, ‘हे लेखक । तिमी किन मेरो पछिपछि आएको ?’
मैले भनेँ, ‘प्रिया, म तिमीलाई प्रेम गर्न थालेको छु । त्यसैले म तिम्रो घर हेर्न चाहन्छु । किनभने तिमीसित बिहेको कुरा गर्नका लागि भोलि या पर्सि मेरी आमा र बैनी तिम्रो घरमा आउनेछन् ।’


‘तर, म त सडकमा कुचो बढार्ने सामान्य केटी हुँ । कहाँ तिमी कवि, कहाँ म ? हाम्रो मिलन सम्भव छैन लेखक ।’


मैले सम्झाएँ उनलाई, ‘त्यसो नभन । तिमीले कुचो बढारेको मलाई खुब मन पर्छ । तिम्रो कुचोको आवाजमा म डुबिरहेको हुन्छु । किनभने त्यो आवाज श्रमबाट सिर्जित सर्वोत्तम संगीत हो । तिमी कुचो बढार्न आउँदा बज्ने तिम्रो चप्पलको आवाज पनि मलाई जीवनपथमा तिम्रो अविराम र अविचलित यात्राको संकेतजस्तो लाग्छ । तिमी यो संसारकी सबैभन्दा सुन्दर केटी हौ । त्यसैले तिमी ढुक्कले मेरो मन मन्दिरमा बस्न आऊ । यो मनको मन्दिरमा बस्न तिमीले चप्पल फुकाल्नु पर्दैन र हातको कुचोलाई ढोकाबाहिर राख्नु पनि पर्दैन । तिमी आफ्नो अस्तित्व र पहिचानसहित यो मनमन्दिरमा सगर्व पस्न सक्छ्यौ ।’


मेरो कुराले फेरि मुस्कुराइन् ती युवती र भनिन्, ‘अहिले मैले सेतो साडी लगाएकी छु । त्यसैले तिमीले मलाई परीजस्तै राम्री देख्यौ । जब म तिमीलाई आफ्नो वास्तविक रूप देखाउँछु । के त्यति बेला पनि तिमी मलाई त्यसरी नै प्रेम गर्न सक्छौ ?’


अनौठो प्रश्न थियो । मैले के जवाफ दिऊँ भनेर तत्काल सोच्नै सकिनँ । मैले केही सोच्नुअघि नै उनले आफ्नो सेतो साडी उतारिन् । उफ् ! मेरो अगाडि ठिंग उभिएको थियो एउटा कंकाल । हातमा कुचो लिएको अस्थिपञ्जर ।


मलाई भननन्नै रिँगटा लाग्यो । मैले त्यसभन्दा अगाडि केही हेर्न सकिनँ । म बेहोस भएर ढलेँ सडकमै ।


सोनियालाई यी सबै कुरा थाहा थियो । ऊ फूलवालीलाई भन्दै थिई, ‘होसमा आएपछि दाजुले पुलिसलाई खबर गर्‍यो । पुलिसले अस्थिपञ्जरलाई आफ्नो नियन्त्रणमा लियो ।’


कोठामा मौनता व्याप्त भयो । सोनिया र आमा दुवैले यो मौनतालाई चिर्ने कुनै प्रयास गरेनन् । बरु धेरै बेरपछि फूलवाली आफैं बोलिन् । अब फूलवालीको कुरा सुनेर स्तब्ध हुने पालो मेरो थियो ।


फूलवाली भन्दै थिइन्, ‘त्यो एउटी अभागी आमाकी छोरी थिई । उसकी आमाले पनि सडकमा कुचो बढार्ने काम गर्थी । नगरपालिकाले दिने थोरै पैसाले उसले आफ्नी छोरीलाई हुर्काएकी थिई । युवती ठूली हुँदै गई । उसले पनि आमाकै जस्तो सहरमा कुचो बढार्न थाली । एक दिन सडकमा कुचो बढारिरहेको बेलामा आफ्नो पार्टी अध्यक्षको चाकडीमा जान लागेको एउटा नेताले उसलाई देख्यो । नेता त्यतिबेलै युवतीको सुन्दरतामा मोहित भयो । उसले युवतीलाई फकायो । उसको जीवनस्तर उकासेर उसलाई ठूलो मान्छे बनाउने सपना देखायो । युवतीले नेताको कुरामा विश्वास गरी । नेतालाई प्रेम गर्न थाली ।

संविधानसभाको पहिलो निर्वाचनमा उ उम्मेदवार भयो । त्यो केटीको पेटमा अर्को शरीर हुर्कँदै थियो । जति जति युवतीको पेट बढ्दै गयो उति उति नेताको अनुहारमा बादल मडारिन थाले । युवती गर्भवती भएको थाहा पाएदेखि ऊ अर्कै अर्कै भएको थियो । ऊ सोच्थ्यो– जनताले उसलाई तिरस्कार गर्न सक्थे । विपक्षीहरूले यसलाई चुनावी मुद्दा बनाउन सक्थे । उसको नैतिकता र चरित्रमाथि ठूलो प्रश्नचिह्न लाग्न सक्थ्यो । यो कुरा थाहा पाएर जनताले उसलाई भोट नदिन सक्थे । त्यसैले एक दिन प्रेम गर्दागर्दै नेताले त्यो युवतीको घाँटी थिचेर हत्या गरिदियो ।’


आमा भने यति बेला फूलवालीको कुरा सुनेरै जिल्ल पर्नुभएको थियो । आँखाका कोस पनि रसाएका थिए । उहाँले आफ्नो मनभित्र उत्पन्न भएको जिज्ञासालाई रोक्न सक्नुभएन । फूलवालीसित हतारहतार सोध्नुभयो, ‘तर, तिमीलाई ती आमाछोरीको बारेमा यी सबै कुरा कसरी थाहा भयो ?’


‘किन थाहा हुन्न मलाई ? एउटी आमालाई उसकी छोरीको कुरा किन थाहा हुन्न ? हो, ऊ मेरी छोरी थिई । म त्यति बेला सडकमा कुचो बढार्ने काम गर्थेँ र पछि मेरी छोरीले पनि त्यही काम गरी । उसको युवावस्थाका धेरैजसो बिहानहरू धूलोमा बिते । न केटाकेटी अवस्थामा सुख पाई उसले न जवानीमा । संसारका कुनै छोरीहरू त्यसरी नहुर्कून्, त्यसरी नबाँचून् र त्यसरी नमरून् ।’


म ढोकाको चेपबाट चियाउँदै थिएँ, आमा र सोनिया फूलवालीको कुरा सुनेर दुःखी भएँ । पीडाले उनीहरूको गलामा गाँठो पर्‍यो । उनीहरू बोल्नै सकेनन् । ट्वाल्ल परेर फूलवालीतिर हेरिरहे । यता, मेरो मुटु पनि व्यथाले बटारिएको थियो ।


फूलवाली एकोहोरो भनिरहेकी थिइन्, ‘तर, मेरो पीडा कति भयंकर छ, तिमीहरूले अन्दाजै लगाउन सक्दैनौ । म आजभोलि फूल बेच्छु । माला बेच्छु । ठीक त्यही नेताको घरअगाडि छ मेरो पसल । त्यही नेता, जसले सपना देख्दादेख्दैकी मेरी छोरीको सपनासहित हत्या गरेको थियो । गर्भमा उसको भविष्य थियो, उसले त्यो भविष्यलाई पनि असमय नै मर्न विवश बनाइदियो । आज ऊ ठूलो नेता भएको छ ।

उसका कार्यकर्ताहरू आउँछन्, मेरै पसलबाट फूलमाला किन्छन् र उसलाई लगाइदिन्छन् । म लाचार भएर टुलुटुलु आफ्नै छोरीको हत्याराले मेरै पसलको फूलमाला लगाएर हाँसिरहेको हेरिरहेकी छु । के एउटी आमाको लागि यो कम पीडाको कुरा हो ? तर, तपाईँको लेखक भनाउँदो छोरोले मेरो सही कथा लेखिदिएन । उसले मैले अशक्त लोग्नेलाई छोडेर स्कुलको पालेसँग बिहे गरेको कुरा लेख्यो । उसले किन लेखेन, मैले अर्को बिहे गरेँ भनेर ? के म एउटा नपुंसकलाई जीवनभरि लोग्ने मानेर बसिरहन सक्थेँ ?’


फूलवालीको अन्तिम प्रश्न मेरो मनमा बमझैं पड्कियो । म आफूभित्रकै विस्फोटले आत्तिएँ । यति हुँदा पनि मैले फूलवालीको सामु पर्ने हिम्मत गर्न सकिनँ ।


अन्ततः सोनियाले बिस्तारै सम्झाई ।


‘ठीक छ, म मेरो दाइलाई तपाईँको सही कथा लेख्न अनुरोध गर्छु । उसले पक्कै मेरो कुरा मान्नेछ । आमाले पनि सम्झाउनुहुनेछ ।’
फूलवाली अब भने नरम भइन् । भन्न थालिन्, ‘तिमीहरू भलाद्मीजस्ता लाग्यौ । नत्र म तिमीहरूलाई यसै छाड्ने थिइनँ । अब आफ्नो लेखक छोरोलाई सम्झाइदिनू । आफूले देखेको सत्य लेख्नु मात्र ठूलो कुरो हैन ।

त्यो सत्यपछाडिका अरू सत्यहरू पनि खोतल्नुपर्छ । कसैलाई नराम्रो लेख्नुअघि लेखकले पात्र किन नराम्रो भयो भनेर स्थापित गर्न सक्नुपर्छ । लेखकलाई सही कुरा लेख्न भन्नू । नत्र, अर्कोपल्ट आएँ भने तिम्रो छोरो फेरि बेहोस हुनेछ । किनभने, म पनि जीवित पात्र होइन । छोरीको हत्याका लागि न्याय माग्दामाग्दै इजलासमै ढलेर मरेकी पात्र हुँ । म पनि मरिसकेकी छु । नपत्याए राति सहरको कुनै न्यायालयको इजलासमा जानू । त्यहाँ मेरो आत्मा अझै पनि न्यायका लागि कराइरहेको भेटिनेछ ।’


आमा र सोनियाको सातो गयो । ठीक त्यही बेला हावाहुरी चल्यो । जसरी कुनै उपन्यासहरू या सिनेमामा यस्ता अप्रत्याशित दृश्य आउँदा चल्ने गर्छ । कोठा दिउसै बत्ती बाल्नुपर्ने खालको अँध्यारो थियो । त्यही बेला बत्ती पनि झ्याप्प निभ्यो । आमा र सोनिया डरले चिच्याउँदै बेहोस भए । म पनि कम्ता डराको थिएँ र । तर म दौडिँदै बैठकमा आएँ ।


बत्ती फेरि आफैं बल्यो । फूलवाली त्यहाँ थिइनन् । तर, उनले बोकेको कुचो भुइँमा लडिरहेको थियो ।

प्रकाशित : आश्विन ११, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?