कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किस्मती कथा

मुनाराज शेर्मा

 सखी’ ले पश्चिम तराईको कथा भन्छ  ।

किस्मती कथा

‘मान्छे होइनन् यिनीहरू थारू हुन्,’ यो एक लाइन संवादमा, संस्कृतिले समृद्ध मिहिनेती सरल सोझो दमित थारूमाथि केन्द्रीय मानसिकताले हेर्ने दृष्टिकोणको उदाङ्गो चित्र जति बोल्छ, त्यत्ति कुनै उदारभन्दा उदार दस्तावेजले बोल्दैन । त्यसकारण ‘सखी’ मेरो प्रिय पुस्तक बन्यो ।


थारूहरू रैथाने हुन् । राज्यले बस्ती बसाउन थारूलाई मधेस आवाद गर्न लायो । त्यो पुस्तकले बोलेन । औलो र तमाम अभाव सब सहेर जिन्दगी बिताउने थारूहरू निमुखा छन् । टाठाबाठाले जालसाजी गरी जग्गा हडप्छन् । पछि तिनीहरूकै कमैया बस्नुपर्ने दुःखको असाध्य छायाले छोड्दैन उनीहरूलाई । मध्ययुगीन दासजस्तो जिन्दगी बाँचिरहेका छ्न् । उनीहरूको आफ्नै मौलिक संस्कृति छ । मानव निरुद्देश्य भौतारिरहँदा नसोचिकनै घर लान,े पढ्न बस्न दिने थारूहरू हृदयका महान् छन् । दुःखलाई फूलजस्तो प्रेम गर्ने थारूहरूको करुणामय जीवनचर्याको फेहरिस्त बताउने प्रयास गरेको छ ‘सखी’ ले ।


प्रेमलाई केन्द्रमा राखेर कमैया आन्दोलन र आंशिक रूपमा माओवादी जनयुद्धको असरलाई समेत पुस्तकले परिधीय वृत्तमा भन्ने प्रयास गरेको छ । सामन्तहरू जनयुद्धमा मारिएका र उनीहरूको अवशेष नामेट भएपछिको समाजको घटनाक्रम घतलाग्दो छ । गाउँमा फूल कुल्चँदै हिँड्ने सामन्तहरू कसरी मन्दिरमा फूल बेच्ने भए ? जीवनको ग्राफ यति ओरालो कसरी झर्छ ? जब मानिसहरू समाजको गतिलाई रोक्न दुस्प्रयास गर्छन् तब जीवनको ग्राफमा उल्टो झुन्डिन्छन् सायद ।
कमैया आन्दोलन, मध्यपश्चिम तराईमा रहेको, मध्ययुगीन दास प्रथाजस्तो लाग्ने कमैया कमलरीजस्ता प्रथाहरूको दुःखको नदीलाई कमैया आन्दोलनले बाढीमा परिणत गरिदिएको छ । गाउँमा खेत बाँझो छ । कमैयाहरू मुक्तिको मार्गमा आवाज लिएर ओर्लिएका छन् । भोकै बसे पनि सामन्तको पाउ मोल्न नफर्कने वैचारिक दृढता निमुखाहरूमा पलाएको छ । मुक्त त भए तर बेरोजगार भए । एउटा संक्रमणबीच आन्दोलन किनारा नलागी शिथिल बन्छ । दुःखका नदीहरू फेरि अभावसँग बग्न थाल्छ ।


भर्जिन बाल्य जीवनको प्रस्तुति मानव र किस्मतीले आफ्ना बालसखाहरूसँग बिताएका कुमारी समयको असम्पादित घटनाले पाठकलाई लौकिक बाल्य स्वतन्त्रताको सौदर्य रसपान गराउँछ ! जुन काँचो र पूर्ण छ । हामी भनिदिन्छौं— बच्चाहरू अबोध निश्चल अञ्जान निष्पाप निश्कलंक हुन्छन् । त्यो परिभाषामाथि पुस्तकले प्रश्न गरेको छ । र, भनेको छ बच्चाहरू हामीले भनेजस्तो हुँदैनन् । उनीहरूको बेग्लै समाज हुन्छ जो छुट्टै कानुनमा चल्छ । त्यो समाज वयस्क समाजको विरुद्धमा वा सापेक्षमा भूमिगत वा छाया हुन्छ ! उनीहरू भयंकर जोखिम मोल्न पनि हिच्किचाउँदैनन् । तुरुन्त निर्णय लिन्छन् । ‘फिरफिरे’ मा बुद्धिसागरले पनि यो भूमिगत विद्रोही बाल समाजको गजब उठान गरेका छन् ।

भूमिपतिका बच्चाहरू विद्यालय जान्छन् । किस्मती स्कुलअघिको झाडीबाट विद्यालय हेरेर फर्कन्छे । मानवलाई स्कुलसम्म पछ्याएर हेरेबापत उसको पुस्तालाई बिरामी बनाउने गाली पाउँछे, पढ्ने अधिकारको कुरै छोडौं । एउटै मात्र कारण ऊ थारूकी छोरी हो र कमलरी बस्न बेचिएकी छे । तथापि मानवको दयाले घरैमा पढ्छे । विचार सपना मन त्याग परिश्रम र भावनाले किस्मती कुनै अरू भूमिपतिकी छोरीभन्दा अब्बल छे । मानवलाई मनले माया गर्छे । विद्यालयमा गाउँको छोटे राजाले आफ्नी छोरीलाई घरैबाट ल्याएको सिंगल बेन्चमा एक्लै बस्ने गरी राखेको छ । समानताको केन्द्र विद्यालय यो कार्यले लज्जित छ । कहीँ नभएको सामन्त मधेसमा ।


मानव पहाडबाट झरेदेखि किस्मतीको अन्जान धागोले बाँधिन्छ । पहिलो पटक विद्यालय प्रवेश गरेपछि नै सामन्तको छोरी मालतीसँगको निस्कपट सम्बन्धको बीउ रोपिन्छ । त्यो सम्बन्ध झाँगिएर उप्काउनै नसकिने विशाल लहराले गाँजेपछि त्यसको परिणामस्वरूप ज्यान जोखिम भएपछि आधा रातमा सिद्धार्थले जस्तो बेपत्ता घर त्याग गर्छ । मानवले किन सिद्धार्थ हुने कोसिस गर्‍यो ? लेखकलाई पाठकले यहीँ प्रश्न गर्छ । धेरैले लेखकीय कमजोरी हो भन्न सक्छन् । यथार्थमा यो आंशिक सम्भव छ कारण यो बाल संसारको निर्णय हो । वयस्क समाजमा पनि यो घटेको छ ।


यही टर्निङ प्वाइन्टले कथालाई द्रुत रूपमा अगाडि धकेलेको छ । शंका गर्न सकिन्छ कमलरी र पहाडे बाहुनको विवाह गराउन चाहँदैन लेखक र उसको समाज । भोग्न भोगाउन मात्रै चाहन्छ । त्यस्तो शंकालाई ध्वस्त बनाउन मानवलाई जिन्दगीभर तड्पाएर कृष्णमा रूपान्तरण गर्छ र राधा खोज्न विवश बनाउँछ जसरी देवकोटा क्षत्रीलाई भोटेको पाउ ढोगाउँछन् तर बाहुनले यो पाउ छुन्छ भन्न सक्दैनन् । मानवको परिवार ध्वस्त हुन्छ तथापि मानवको पूर्ण पुनर्मिलन हुँदैन । यस्तो अदृश्य असहिष्णु शक्तिको कारक समाज हो या हाम्रो लेखकीय मानसिकता वा आख्यानको अनिवार्य तत्त्व ? वा पाठकीय मानसिकता जो दुःख, वियोग, पीडा, कष्ट, संघर्षको पराकाष्टा उपल्लो किनारदेखि खसाएर मात्र हाम्रो मन रमाउँछ । त्यस्तो दुसाध्य नकारात्मक आराधनालाई महान् भन्छौं । त्यसकारण पनि प्रगति राईको ‘मृत्युलाई बिर्सेको मान्छे’ सकारात्मक चिन्तनलाई समाजले अपहत्ते गरेर चर्चा गर्न सकेन । हामी शून्यबाट वा बिग ब्याङ थ्यौरीबाट निर्मित हौं या सूनबाट नबनेर खरानी र सुलीबाट बनेपछि श्रापित हामी फूलजस्तो फुलेकै होइनौं, तसर्थ दुःखको असीमित पीडाले मात्र छुन्छ हामीलाई । सायद लेखकले पाठकीय बायोलोजिकल अभिशप्त दुःखको निर्माण विन्दु थाहा पाएर वा आफूभित्रको त्यो तत्त्वलाई पस्केका हुन् । नायक बेठेगानका छन् ।


समाजको स्वघोषित परम्परित सम्बन्धहरूसँग नायक मित्रवत् छैन । नोम्याड जिन्दगी जिउन चाहन्छ । सम्बन्धहरूको ब्रेकअपभित्र आफ्नो भर्जिन स्वतन्त्रताको खोजीमा छ । संसारमा प्रेम मात्र ठूलो हो भन्ने नायक प्रेमबाटै अस्वीकृत निस्सार जिन्दगी बाँच्छ ।पुरुषत्वको अस्वीकृति झल्काउने ‘सखी’ मा किस्मतीले हन्डरहरूको बीचमा जीवनलाई होमेकी छन् । प्रेम मात्र मानवताको प्रेम हो । शरीर सुख प्रेमको अघि कमजोर छ । जीवनमा अति अपनत्व महसुस गरेको मान्छे पुरुषमा रूपान्तरित भएपछि प्रेम मुर्झाउँछ । प्रेम गरिरहन पुरुष चाहिँदैन उसको कल्पनाले मात्र पनि प्रेमलाई बचाउन सक्छ । ‘नथिया’ मा सामलीले प्रोफेसरलाई प्रेम गर्न नै उसलाई त्यागेको तथ्य किस्मतीले मानवलाई अस्वीकृत गरेर प्रेम गरिरहेको समान पुरुष अस्वीकृत चिन्तन ‘सखी’ मा देखिन्छ । किस्मती मानवलाई प्रेमचाहिँ गर्छे तर ग्रहण गर्दिन ।


स्थानीय भाषाको प्रयोगले नेपाली भाषालाई समृद्ध बनाएको छ । क्षेत्रगत कथ्य भाषाको प्रयोगले सीमान्त समुदायको प्रतिनिधित्व गरेको छ । केन्द्रीय सत्ता र अरू क्षेत्रलाई सीमान्तमा बेगल भाषा र संस्कृतिसँग थारूहरू बाँचेका छन् भन्ने जानकारी प्रदान गर्न ‘सखी’ जस्ता कृतिको योगदान अमूल्य छ । अतिशय भावुकताले प्रभावित नायक बाल्यावस्थामा छोडेर बिछोडिएको किस्मतीको सम्झनाले जीवनभर बिरामी हुन्छ । घर आफन्त बिरलै सम्झन्छ तर किस्मतीको यादले सिकिस्त नै हुन्छ । मालतीको प्रेममा रहिन्जेल किस्मती दोस्रो चाहना थियो । मालतीको लफडा सुरु भएपछि कसैलाई नभनी सुटुक्क भाग्नु अपत्यारिलो र अचम्मलाग्दो छ । मालती फूल बेच्दै भेटेर पनि ऊसँग मन नअडिनु थप आश्चर्य छ । आश्रममा जिन्दगीको सबै लोग्नेहरू भेला हुनु र खास प्रेमीलाई अस्वीकार गर्नु बढी फिल्मी प्रभाव र अस्वाभाविक लाग्न सक्छ । वास्तवमा पुरुषको अहम्लाई अस्वीकार र मानव प्रेमलाई मात्र अंगीकार ‘सखी’ को मूल उद्देश्य देखिन्छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?