कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभेद– विचार र व्यवहार

नीरु राजवंशी

एउटा टेलिभिजनमा एउटा झर्कोलाग्दो कार्यक्रम आउँछ, जसमा जनता के जान्न चाहन्छन् भन्ने कुरा त्यसको सञ्चालकले तय गर्छन्  । त्यसका लागि उनले कार्यक्रममा आउने पाहुनाबारे अनुसन्धान गरेर, दर्शकहरूसँग कुनै सर्वेक्षण गरेका हुन्छन् भन्ने मलाई लाग्दैन  ।

विभेद– विचार र व्यवहार

प्रस्तोताले अक्सर नायिका वा गायिकालाई पाहुना भएर आएको बेलाचाहिँ उनीहरूको प्रेम सम्बन्ध र कौमार्यका विषयमा प्रश्न सोधेर हैरान पार्छन् । महिला कलाकारहरूलाई अर्थ न बर्थका असान्दर्भिक प्रश्नको उत्तर दिन अप्ठ्यारोमा पार्ने अरू पनि कार्यक्रमहरू नभएका होइनन् । यस्ता कार्यक्रमहरूले पत्रकारिताको कुन धर्म निर्वाह गरिरहेको छ भन्ने मैले आजसम्म बुझ्न सकेकी छैन । अचम्मको कुराचाहिँ के भने तिनै कार्यक्रममा कुनै पुरुष अतिथि छन् भने उनीहरूको व्यक्तिगत जीवनलाई लिएर कमै मात्र र्‍याखर्‍याख पारिन्छ ।

महिलाका हकमा भने उनीहरूको उपलब्धि, कर्मभन्दा पनि उनीहरूको प्रेम र यौन जीवनको वरिपरि मात्र प्रश्न घुम्ने गर्छ । यसबाट महिलाहरू राष्ट्रको ‘चौथो अंग’ बाटै एक हदसम्म प्रताडित छन् भन्ने कुरो बुझ्न कुनै आइतबार कुर्न पर्दैन । यौनका कुरा बिक्छन् भन्दैमा कुनै पनि महिलाको निजी जीवनमा चियाउन खोज्नु कति सान्दर्भिक वा उचित हो त ?

टेलिभिजनबाहेक पनि आजकल त च्याउसरि उम्रेका यु–ट््युब च्यानलले आफ्नो भ्युअरसिप बढाउने लोभमा झनै अतिरञ्जित लाग्ने हेडलाइन र थम्बनेल राखेको देख्दा विरक्त लाग्छ । एकदमै साधारण कुरालाई पनि हुन सक्ने जति द्विअर्थी र सस्तो बनाएर दर्शकलाई भ्रमित पार्दै अन्त्यमा फुस्स बनाउने क्रममा विशेषगरेर महिलाको हुर्मत लिने काम भइरहेको हुन्छ ।

पत्रकारिताको पसमेत पनि नबुझेका केही यस्ता च्यानलले पस्कने कार्यक्रम र उनीहरूको प्रश्नको शैली देख्दा पत्रकारिताको विद्यार्थी भएको नाताले मलाई लाज लाग्छ । एउटा मोबाइल फोन र इन्टरनेटको कनेक्सन भएपछि च्यानल बनिहाल्यो । आफूले के पस्किरहेको छु, के गर्नु हुन्छ वा हुन्न भन्ने साधारण ज्ञान पनि नभएकाहरूले चलाउने च्यानलहरूले कस्तो समाज निर्माण गरिरहेको छ होला ? अभिव्यक्तिको स्वतन्त्रताको नाममा जसले जे गरे पनि हुने हो र ? हो, महिलाका कुरा र तस्बिरहरू अलि बढी प्राथमिकतामा पर्ने त विश्वव्यापी प्रचलन नै हो । त्यसो भन्दैमा विषयलाई नै तोडमरोड गरेर पस्कनु कति जायज हो ? यस्ता कुरामा महिलालाई बढी हाइलाइट गरिनु कति न्यायोचित हो ?

हुन त यस कुरामा केही हदसम्म त्यस्ता कार्यक्रममा सहभागी हुनेहरूको पनि दोष नभएको होइन । कुनै पनि रेडियो भन्दैमा, टीभी कार्यक्रम भन्दैमा अथवा कसैले पनि फलानो ढिस्कानो युट्युब च्यानलका लागि भनेर माइक वा हातेफोनको क्यामेरा तेर्साउँदैमा गमक्क परिहाल्नु र उनीहरूको जालमा परिहाल्नु पनि आवश्यक छैन । ‘सो बिज’ वा राजनीतिमा लागेकाहरूलाई आफ्नो विज्ञापन गर्ने लोभ र आवश्यकता दुवै हुन्छ । त्यसो भन्दैमा जताततै आफूलाई छरपस्ट पार्नु पनि आवश्यक हुँदैन होला । यति कुरा मनन गर्ने हो भने पनि टेलिभिजन र युट्युबमा देखाइने बहुलठ्ठी कार्यक्रमहरूमा महिलालाई सस्तो मनोरञ्जनका लागि हल्काफुल्का रूपमा प्रस्तुत गर्ने क्रम अलिकति भए पनि कम हुन्थ्यो कि ?

तर, के यो कुरा टीभी र युट्युबमा मात्र सीमित छ त ? महिलाको समान सहभागिताका र अधिकारको हक संविधानले समेत सुनिश्चित गरिसकेको छ । तैपनि हाम्रा जीवनका अरू बिभिन्न सानातिनादेखि ठूला कुरामा पनि यो विभेद कायमै छैन र ? भन्ने बेलामा महिला–पुरुष समान हुन् भनिन्छ । आजकल त झन् त्यसका लागि नाराहरू पनि घन्किने गर्छन् । हप्तैपिच्छे कुनै न कुनै विषयमा दिमागको तार हल्लाउने लेखहरू छापिइरहेका हुन्छन् । सामाजिक सञ्जालमा पनि गहकिलो हिसाबले प्रश्नहरू उठिरहेकै देखिन्छ । तर सैद्धान्तिक रूपमा जेजस्ता कुरा गरिए पनि व्यावहारिक रूपमा हाम्रो समाज र विशेषगरी पुरुषको सोचचाहिँ अझै पनि त्यहीं छ, जहाँ आजभन्दा पचास वा सय वर्षपहिले थियो । पुस्तौंदेखि चलिआएको मानसिकताका कारण अधिकांश पुरुषमा महिलाका लागि एउटा निश्चित मूल्य र मान्यता स्थापित भएको हुन्छ । त्यसको प्रभावबाट अझै पनि मानिस निस्कन सकेका छैनन् ।

सानादेखि ठूला कुरामा विचार र व्यवहारमा अघोषित तर स्पष्ट रूपमा विभेद अझै पनि विद्यमान छ । हामीले गहिरिएर आफ्नै वरिपरि हेर्‍यौं भने जीवनका विभिन्न सानाठूला पक्षमा यस किसिमका पक्षपातको उदाहरणहरू पाउँछौं । त्यसैले पुरुष मानसिकतामा नै आमूल परिवर्तन नआएसम्म केही हुनेवाला छैन । यो परिवर्तन रातारात हुन सम्भव छैन । महिलाले त्यस किसिमका मानसिकताको सामना हरेक दिन, हरेक क्षेत्रमा गर्नुपर्छ । कार्यालयमा बढुवा भयो, पक्कै कसैको कृपाले गर्दा भएको हुनुपर्छ । कोहीसँग अलि बढी मित्रवत् व्यवहार गर्‍यो, दुई पटक कतै सार्वजनिक स्थानमा नै किन नहोस्, सँगै देख्यो, त्यसैसँग नाम जोडिइहाल्छ । कुनै महिला आफ्नै बलबुतामा माथि पुगे पनि उसलाई तल झार्ने अरू केही उपाय नभेटेपछि सिधै चरित्रमाथि औंला उठाइदियो । कति सजिलो छ हैन त महिलाको मिहिनेत र उपलब्धिलाई हावामा उडाउन ? उस्तै परिस्थितिमा पनि नारी र पुरुषका लागि किन यो समाजको फरक–फरक नियमहरू छन् ।

चार पाँच कक्षा हुँदादेखि नै सँगै पढेको एक पुरुष मित्रसँग स्कुल छोडेको वर्षौंपछि हालसालै फेसबुकले भेटाइदियो । अचानक भेटिएको पुरानो साथीसँग दिनहुँजस्तो कुराकानी हुन थाल्नु स्वाभाविकै थियो । एक हप्ता जति भएपछि एक दिन उसले प्रश्न गर्‍यो, ‘आर यू सिंगल ?’ मैले सामान्य हिसाबले उत्तर दिएँ, ‘त्यसले के फरक पर्छ र ?’ त्यस दिन उसले यो विषयमा केही नभने पनि त्यसपछिका हाम्रा कुराकानी त्यहीं मात्र गएर अड्कन थाल्यो । उसले प्रश्न गर्न छोडेन । एक दिन आजित भएर मैले यो विषयलाई बिट मार्न आफ्नो ब्वाइफ्रेन्ड छ भनिदिएँ । त्यसको भोलिपल्टदेखि उसले मसँग कुराकानी नै गर्न छोडिदियो । म कसैसँग हुनु वा नहुनुले हाम्रो मित्रतामा के फरक पार्दो रहेछ, त्यो मैले आजसम्म बुझेकी छैन ।

यस्तै केही नवपरिचितहरू, विशेषगरेर अरू पुरुषका प्रश्न पनि मेरो सम्बन्धको अंकमा पुगेपछि ब्याट्री सकिएको घडीको सियो जसरी त्यहीं घिट्घिट् गर्न थाल्छ । अनि केही समयमा ट्याक्कै अडकिन्छ । चल्नै छाड्छ । एक पटक त्यही विषयमा कुरा हुँदा मैले मेरा एक पुरुष मित्रलाई उसले इंगित गरेको जस्तो आफ्नो ‘केटा साथी’ नभएको बताउँदा उसले धेरै भएर कुन भनूँ भनेर अन्योलमा परेको त हैन भन्ने भद्दा मजाक गरेको थियो । त्यो घटनाबाट मैले एउटा गज्जबको पाठ सिकेकी छु । कसैले त्यस्तो प्रश्न गर्दा ‘मेरो ब्वाइफ्रेन्ड छ’ भनिदियो भने टन्टै साफ हुन्छ । मैले आजसम्म कुनै पुरुष मित्रलाई उसको व्यक्तिगत जीवनबारे प्रश्न गरेकी छैन । केटी भएकै कारण उनीहरू भने कति सजिलै मसँग त्यस्ता प्रश्न गर्छन् ।

मेरो चिनजानकी एक महिलाको सन्दर्भ पनि यहाँ उल्लेख गरौं । उनी आफ्नो श्रीमान्कै सहमतिमा कलिला छोराछोरीलाई छोडेर वैदेशिक रोजगारीमा मुग्लान भासिएकी थिइन् । उनको अथक प्रयासपछि आर्थिक अवस्था सुध्रियो । केटाकेटीहरू सरकारी स्कुलबाट बोर्डिङमा भर्ना भए, घरको तला थपियो अनि लागेको ऋण पनि तिरियो । झन्डै एक दशकपछि उनी केही पुँजीका साथ सदाका लागि घर फर्किइन् । तर, विडम्बना के भने उनको दाम्पत्य जीवन भने अझै किचलोमा छ । उनका श्रीमान्, जो आफैं एक स्त्रीलम्पट हुन्, उनले विदेशमा त्यत्रो लामो समय उनको कति जना पुरुषसँग सम्बन्ध भयो भन्ने शंका उपशंका र प्रश्नले उनलाई प्रताडित गर्न छाडेनन् । मन भरिएर एक दिन उनले यो कुरा मलाई सुनाउँदा मैले उनलाई भनेकी थिएँ, ‘यस्ता पीडक बूढा रुँगेर कतिसम्म बस्नुहुन्छ ? किन अलग हुनुहुन्न ?’ उनले भनेकी थिइन्, ‘अब छोरीहरूको बिहे गर्ने उमेर भैसक्यो । यो उमेरमा उसलाई छोडेर म कहाँ जाऊँ ? तिमीलाई यो समाज कस्तो छ भन्ने थाहै छ ।’

जसोतसो उनले त्रासदीका दिनहरूसँग सम्झौता गरेर टिकाइरहेको उनको वैवाहिक जीवनको आयु कतिसम्म र कहिलेसम्म तन्किएला भन्ने उनैलाई थाहा छैन । म बेलाबेला सोच्छु, वैदेशिक रोजगारमा गएका पुरुषहरू फर्किएपछि उनीहरूको श्रीमतीहरूले पनि सहज रूपमा यस्ता प्रश्नहरू गर्न पाउँछन् होला ? उनीहरूसँग त्यो प्रश्न गर्ने आँट होला ? आँट भए पनि छुट होला ? महिला भएकै नाताले मात्र यस्ता कुराहरूको हिसाब दिनुपर्ने कहाँको न्याय हो ? यसको मतलब बिदेसिएका हरेक पुरुषले आफ्नी प्रेमिका वा पत्नीलाई धोका दिएका छन् भन्न खोजिएको चाहिँ होइन । तर महिला भएकै कारण कहिलेसम्म यस्ता असान्दर्भिक प्रश्नका उत्तर दिइरहनुपर्ने त ?

अर्को उदाहरण दिनुपर्दा म तीन–चार वर्षदेखि अमेरिका भासिएका एक भाइलाई सम्झिन्छु । हालै एक दिन च्याटमा उसले भन्यो, ‘दिदी, यसपालि छुट्टीमा आएको बेला बिहे गरेर फर्किने विचारमा छु ।’ मैले भनें, ‘यो त राम्रै कुरा हो नि ।’ उसले हाँस्दै भन्यो, ‘बरु यसो कोही अलि ‘कल्चर्ड’ केटी छ भने खोजिदिनुस् न है ?’ ‘कल्चर्ड’ को अर्थ उसका लागि के हो भन्ने मैले प्रश्न गरें । उसको चाहना थियो, केटी घरेलु पाराकी हुनुपर्‍यो । घरेलु र बनेलु भनेको कस्तो हो भन्ने मैले बुझेकी छैन । कुराकानीको क्रममा उसले घुमाउरो पारामा सकभर पहिले कुनै ब्वाइफ्रेन्ड नभएकी कुमारी केटी होस् भन्ने आशय व्यक्त गर्‍यो । उसको कुरा सुनेर मेरो मथिंगल नै केही बेरका लागि हल्लियो । नेपाल छँदै उसका दुई–तीन जना युवतीसँग उठबस भएको त मलाई नै थाहा थियो । मैले त्यो कुरा उप्काउँदा उसले भन्यो, ‘तिनीहरू कोही पनि मैले खोजेको जस्ता थिएनन् ।’ उसले खोजेका जस्ता कोही मैले चिनेको छैन भनेर मैले उसलाई पन्छाइदिएँ । यो कस्तो अचम्मको मानसिकता हो, डेट गर्दा मिनिस्कर्ट लगाउने केटी चाहिने अनि बिहे गर्ने केटीचाहिँ कुर्ता र साडी मात्र लगाउने !

महिलामाथि हुने यस किसिमका विभेद र दोहोरो मानसिकताको बारेमा चुइँक्क मात्र पनि बोल्ने महिलालाई ठाडै ‘फेमिनिस्ट’ को बिल्ला भिराइन्छ । पुरुष भएर पुरुषका हक र हितबारे बोल्नेहरूलाई कसैले पुरुषवादी भनेको चाहिँ आजसम्म यो कानले सुनेको छैन । महिला भएकै कारण पुरुषको असान्दर्भिक प्रश्नका कसीमा खरो उत्रिइरहनुपर्ने हो ? आफ्ना हरेका उपलब्धिका लागि पटकपटक अग्निपरीक्षा दिइरहनुपर्ने हो ? कहिलेसम्म महिलाले आफ्नो दक्षता, क्षमता र मिहिनेतको अवमूल्यन भएको टुलुटुलु हेरिरहनुपर्ने हो ? बोलीमा नारी र पुरुष समान भने पनि व्यवहारमा त्यसलाई कहिले लगाउने ? महिला भएकै कारण हामीलाई कुनै विशेष सुविधा दिइनुपर्छ भन्ने मान्यता मेरो पनि होइन । तर, एउटी नारीलाई उसको लिंगको आधारमा मात्र नभएर उसलाई उसकै रूपमा स्विकार्नु यो समाजलाई किन त्यति गाह्रो लाग्छ ? यो त्यति कठिन कुरा हो र ?

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?