कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'द कम्युनिस्ट'

नाेयल बास्ताेला

अमरत्वको स्वार्थ बोकेर एल चे र कास्त्रोको पछि हिँडेरहुन चाहँदिन सहिद हजुर लेनिन र मार्क्सको गीत गाएर ।

'द कम्युनिस्ट'

सन् २०१४ मेरो यात्रा बेलारुस पुगेको थियो । बेलारुस मौनताको सुन्दरतामा सजिएको देश हो– कमसेकम मेरा लागि । त्यहाँको त्यो मौनताले मेरा कानहरू लगभग बन्द भइसकेका थिए । बेलारुसको त्यो मौनताले मलाई क्युबामा हामफाल्ने रहर जाग्यो । सेन्ट्रल अमेरिकाको मेक्सिकोबाट मैले क्युबाको छलाङ लगाउने निश्चय गरें ।


क्युबा जाने सोचाइसँगै मेरो मस्तिष्कमा क्युबाको झन्डा देखा पर्‍यो । नेपाली झन्डासँग मिल्दोजुल्दो त्यो झन्डाको कल्पनाले म एक छिन रमाएँ । हिमालैहिमालले भरिएको नेपाल र हिमालै नभएको क्युबा विश्व मानचित्रमा सगरमाथा जसरी उभिएको छ । संसारको हरेक मान्छे क्युबाको नामसँग परिचित छन् । तर, नेपालसँग कति मानिस परिचित छन् ?


क्युबालीहरू सफा कपडा लगाउने नम्र स्वभावका लागे मलाई । उनीहरू एउटै बियर र संगीतमा पनि खुसी हुन सक्छन् । इतिहासको एउटा कालखण्डमा क्युबा स्पेनको उपनिवेश थियो । क्युबा सेतो र कालो छाला मिलेर बनेको सुन्दर देश हो । त्यो रंगीन देश हो । अचानक मलाई एउटा केटा आएर भन्दो भयो, ‘माई फ्रेन्ड कलर डज नट म्याटर, वन्ली द म्याटर इज अर्थ, सन्, मुन् स्टार एन्ड वन्ली द म्याटर इज फ्रेन्डसिप ।’
उसका यी वचन सुनेपछि मैले स्वीकृतिको संकेतमा टाउको हल्लाउँदै भनें, ‘एस माई फ्रेन्ड, यू इम्प्रेस मी, यू डिस्टर्व माई माइन्ड । कोरासन डज म्याटर ।’
पृथ्वी र सूर्यको सम्बन्धको चित्रण गर्ने त्यो क्युबेली के कम्युनिस्ट थियो ?


अमेरिकी नाकाबन्दीले थिचिएको भए पनि फराकिला सडक र स्पेनिस कला र नमुनाको सहर क्युबाको राजधानी ला हवानामा थिएँ म । क्युबामा पाइला टेकुन्जेल मसँग क्युबाप्रतिको आसक्ति र सम्मान मात्र थियो तर त्यस भूमिमा खर्च गर्नका लागि मसँग केबल दुई सय डलर मात्र थियो । अर्थात् चार हजार कुप । मलाई थाहा थिएन क्युबामा दुईथरी मुद्रालाई चलाइँदो रहेछ ।जब पेरिसमा रहेको मेरो नेपाली मित्रले सापटीस्वरूप केही रकम वेर्स्टन युनियनबाट हवानामा पठाएर खबर गर्‍यो अनि म हतारिंदै वेर्स्टन युनियनको काउन्टरमा पुगें । पैसा आएको थियो तर मेरो हातमा क्युबेलीले दिन मानेन । खासमा भएको के रहेछ भने क्युबामा विदेशीले आफ्नै नाममा रकम झिक्न नपाउने रहेछ । अब मैले मेरो आफ्नै पैसा झिक्न क्युबेली खोज्नुपर्ने भयो ।


क्युबामा पैसा निकाल्नको लागि म कसैलाई अनुरोध र आग्रह गर्न सक्दिैनथिएँ । दुई सय डलर त कुप र कुक अनि संगीत र मधुशालाका पेगहरूमा दुई दिनमै सकिएको थियो । अब मलाई क्युबामा विश्वास गर्नलायक मान्छे खोज्नु थियो । आफ्नै नाममा पैसा भईकन पनि हातमा नपरेको झोंकले म रन्थनिएको थिएँ ।
मेरो सम्झनामा त्यो अघिको क्युबेली कम्युनिस्ट देखा पर्‍यो । जसले मलाई रङभन्दा पृथ्वी महत्त्वपूर्ण भएको दिव्य ज्ञान दिएको थियो । उसको यो दिव्य ज्ञानले मेरो दिमाग शून्य भएको थियो । मेरो खल्तीजस्तै या रित्तिएको आत्माजस्तै !


वेस्टर्न युनियनबाट पैसा निकाल्न त्योभन्दा उपयुक्त पात्र मैले क्युबामा भेटाउन अब मुस्किल थियो । त्यो कम्युनिस्ट विश्वासिलो एवं भरपर्दो थियो । त्यो विदेशी भूमिमा मैले उसलाई विश्वास गरें । मलाई लाग्यो त्यो कम्युनिस्टले मलाई साथ दिन सक्छ । मेरो यही सोचाइले उसलाई मैले मेरो हृदयमा बसाएँ । अचानक उसले मेरो हृदय जित्यो ।


गएको अन्तिम रात मैले उसको घर देखेको थिएँ । उसले मलाई आफ्नो घरको बाटो हुँदै हिँडाएको थियो । त्यही यात्रामा मैले उसको तस्बिर पनि खिचेको थिएँ । यदि ऊ मेरो हृदयमा बस्छ भन्ने थाहा भएको भए म उसको तस्बिर कदापि कैद गर्ने थिइनँ । खैर, मसँग उसको तस्बिर थियो । त्यही तस्बिर देखाउँदै म उसको घर पुगें । उसको घरमा कोही थिएन, ढोकामा बडेमानको ताल्चा झुन्डिएको थियो ।


साँझको पाँच बजिसकेको थियो, क्युबेलीहरूको चहलपहल सडकमा बाक्लिन थालेको थियो । त्यही समयमा हरियो पहिरनमा मोटरसाइकलमा सवार त्यही कम्युनिस्ट फेरि देखा पर्‍यो र सलाम ठोक्यो । विदेशी भूमिका सलाम पाउनु सौभाग्य थियो ? कम्युनिस्टको परिचयमा सैनिक पनि थपियो । आफ्नो ढोकामा उभिएको विदेशीलाई उसले क्युबेली घरभित्र स्वागत गर्‍यो । उसले स्वागत गरुन्जेलसम्म सहरका वेस्टर्न युनियन बन्द भइसकेका थिए । पैसा निकाल्ने अपेक्षामा मैले एक दिन खेर फालेको थिएँ । मेरो तेस्रो दिन पैसाको आशामा बित्यो ।


स्पेनिस उपनिवेशको सिकार भएकाले पनि क्युबामा अंग्रेजी भाषा बुझ्ने र बोल्ने मानिस मुस्किलले भेटिन्छन् । क्युबेली कम्युनिस्ट, सैनिक मसँग कमजोर अंग्रेजीमा संवाद गर्थ्यो । तर उसको आँखाको भाव भने प्रस्ट झल्कन्थ्यो । त्यसपछि हात समाउँदै ताला खोल्दै, मेरो आँखामा हेर्दै मुस्कुराउँदै नसोचीकन बोल्यो— मी अमिगो इन्त्रा अ मी कासा । उई सी ओन्ली ह्युमन (हामी खालि मानिस देख्छौं, साथी) । गीत र संगीत, आशा र निराशा, इच्छा र आकांक्षा, प्रेम र घृणा, रोदन र हाँसो त एउटै भाषा रहेछन् । यति मलाई बुझ्न मलाई विश्व यात्रामा यतिका समय लाग्यो । त्यही भएर म बारबार सेन्ट अगस्टिनको भनाइ याद आउँछ– ‘संसार एउटा किताब हो । जसले यात्रा गर्दैन उसले किताबको एउटा पन्ना मात्रै पढ्छ ।’


घरभित्र पस्नासाथ उसले बियरले मेरो स्वागत गर्‍यो । चिसो बियरले मेरो सुकेको आत्मा र घाँटी दुवै शान्त बनायो । प्रिय कम्युनिस्टले मलाई आफ्नो परिचयपत्र दिने वाचा गर्‍यो । उसको परिचयपत्रले म वेस्टर्न युनियनबाट पैसा निकाल्न सक्थें । अब म क्युबामा पैसाविहीन नहुने भएँ भनेर विश्वस्त भएँ । त्यही विश्वासमा उसले अर्को बियर खोल्यो र डिनरमा आमन्त्रण गर्‍यो ।
डिनरमा उसले मलाई माछा खुवाएको थियो । माछासँगै अर्को बियर पनि थपियो । ‘हामी काला छौं... तर हामी मान्छेको रङ हेर्दैनौं साथी’ बियरको मातमा कम्युनिस्ट बरबरायो ।


उसको बडबडाहटलाई रोक्ने मनसायसहित म बरबराएँ, ‘तिमीलाई नेपाल कता पर्छ थाहा छ ?’
नेपाल कि जापान ?
‘अफ्रिकामा पर्छ ?’ प्रश्नसहितको कम्युनिस्ट जवाफ ।
त्यसपछि क्युबेली कम्युनिस्टलाई मैले अफ्रिकाको घना जंगलबाट सेताम्य हिमालतर्फ पुर्‍याएँ । छोटो समयको अन्तरालमा भएको नेपाली कम्युनिस्ट आन्दोलनबारे बताएँ । मेरो जवाफ सुनेर उसले हल्लिँदै लाल सलामको संकेत गर्‍यो ।
‘अन्य स्पेनी उपनिवेशभन्दा क्युबा किन फरक ?’ कम्युनिस्टको नेपाली पाहुनाले फेरि प्रश्न गर्‍यो ।
‘केबाला आसारी,’ कम्युनिस्टले सटीक जवाफ दियो । क्युबा स्पेनिस उपनिवेशहरूमध्ये सबैभन्दा शक्तिशाली देश हो । रंगभेद नहुने देश हो क्युबा ।
डिनर सकियो । कम्युनिस्टको घरबाट बहिर निस्कँदै गर्दा ६७ वर्षीया प्रोफेसर भेटिए । हिमालको देशबाट आएको थाहा पाएपछि प्रोफेसरले बारमा जाने प्रस्ताव गरे । मलाई रात कटाउनु थियो । प्रस्ताव स्वीकार गरें ।


कम्युनिस्ट, प्रोफेसर र यात्री तीन जना बारमा । ४६ वर्षीया श्रीमती र २४ औँ वसन्ती घाम तापिरहेकी छोरी प्रोफेसरका सम्पत्ति थिए । कम्युनिस्टको छिमेकी प्रोफेसर कार्लोस स्पेनिस मूलको प्रवासी थियो ।
बारको पहिलो चियर्समा प्रोफेसरले मेरो परिचय आफ्नै बारसँग गरायो । दोस्रो चियर्समा बार मालिकले हवाना क्लब रम र सिगारले स्वागत गरेको थियो । अमेरिकाकी पुँजीवादी सिद्धान्त र कम्युनिस्टको समाजवादी सपना नदेखेको हिमाली चरो रमको तालमा उड्न थाल्यो । हिमाली नेपाल र क्युबाको अंग्रेजी स्पेनिस संवादले क्युबामा बियरको बाढी बग्न थाल्यो । बाढीमा पौडिन आइपुगेका युवतीहरूको गालामा पोतिएका क्रान्तिकारी ओठको दाग अझै पनि देखिन्छ— सारायभोको डायरीजस्तै ।
यात्रीहरूसँग घर फर्किने कुनै मोह हुँदैन । यात्रीसँग प्रेमका लागि पर्खिबस्ने कुनै चौतारी हुँदैन ।
चीन, भियतनाम, लाओस, रुस, (तपाईंलाई थाहा छ ? रुस र बेलारुसको आगमन खुला छ ।) बेलारुस र उत्तर कोरियाजस्ता कम्युनिस्ट देशहरूले मलाई रोमाञ्चित बनाएका थिए । उत्सर्गको अपरिमित उडान भर्न सक्ने क्युबा उत्तेजित थियो । मौनताको संवाद गर्ने बेलारुस, होची मिन्हलाई सम्झँदै गरेको भियतनाम, पुँजीवाद बर्को ओढेर लुकेको चीन, समानान्तर रेखाबाट बाहिरिएको रुस, छिमेकीलाई नक्कल गर्न सिकेको लाओस, एचआईभी पीडित नभएको देश उत्तर कोरिया र नदेखेको आन्दोलन देखेको देशको नेपाली नागरिक क्युबासँग उत्तेजित हुनु नै थियो । क्युबाको संकुचनभित्र लुकेको उदारता देखेर कासा पार्टिकुलर चल्न थालेको छ । अर्थात् पर्यटक बस्ने भाडाको घर । धेरैजसो कासा पार्टिकुलर चिनियाँ स्वामित्वका छन् । २ सय डलरको ब्रेकफास्ट खुवाउने चीनको फैलिँदो हाँगा क्युबासम्म पुगेको छ ।
बारमा घन्केको क्युबेली गीतले मलाई नाच्न बाध्य बनायो । यात्रामा नाच्न र गाउन जान्नु नै प्रेम पाउनु हो । संस्कृतिका आदिम ध्वनिमा कम्मर हल्लाउँदा जीवनको उत्सव मनाएको भान हुनु खासै नौलो होइन । नृत्यमा सघाउन आएकी बार मालिककी श्रीमतीका धारिला आँखामा भोगको क्रान्ति मडारिएको थियो । कम्युनिस्ट भूमिमा म धारिला आँखाको प्रहारले घाइते भएको थिएँ । उत्सवको उन्मादमा आँखाको प्रहारले थपेको रौनकताले म आत्मविभोर भएँ, अनि एल चेको इतिहास पढ्दापढ्दै म निभ्न थालिसकेको थिएँ (म अन्टार्टिका, ल्याटिन अमेरिका हुँदै सेन्ट्रल अमेरिकाबाट क्युबामा हाम फालेको थिएँ) ।


कार्लोसको बार बन्द भयो । त्यसपछि कम्युनिस्ट र म सुनसान सडकका पाइलाहरू नाप्दै रातभरि हिँडिरह्यौं तर कुनै पुलिसले हामीलाई रोकेन (काठमाडौंको मध्यरातको सुनसान सडकमा चुपचाप हिँड्दा पनि म बिनाकारण थुनिएको छु) । मदहोशी आवाजमा कम्युनिस्ट बडबडाउँदै थियो– सत्य के हो असत्य के हो, मलाई थाहा छैन तर मलाई यति थाहा छ कम्युनिस्ट र क्यापिटलिस्ट दुवै बिजनेस म्यान हुन् । हामी उनीहरूका सिकार हौं अमिगो । अनि हेर्दाहेर्दै कम्युनिस्टले आफ्नो भोटे ताल्चा खोल्यो— बिहानको चार बजे ।
अब म ढुक्क भएँ, भोलि त म पैसा निकाली नै हाल्छु । त्यसपछि म कति खेर निदाएछु पत्तै पाइनँ । क्युबेली भूमिका लागि मेरा पाइला नयाँ थिए तर पनि क्युबेली भूमिमा म परिचितजस्तै भएँ । क्युबाको नामसँगै सम्झनामा आउने नाम हो— एल चे । आधुनिक कम्युनिस्ट इतिहासको एक मात्र क्रान्तिकारी । अमेरिकाको पुँजीवादी नाकाबन्दी खप्ने शक्तिशाली क्युबाको नायकको परम मित्र । रेभुलेसन प्लाजाको भित्तामा झुन्डिएको तस्बिरले क्युबालाई संसार परिचित बनाएको थियो । अर्जेन्टिनामा हत्याराको उपाधि पाएको एल चे क्युबाको प्लासा दे रेभुलोसियनमा रिसाउँदै झुन्डिरहेका थिए । बोलिभियामा मृत्युवरण गरेका एल चेले गोली लाग्दा पीडा कम गर्न आफ्नै हात टोकेका थिए ।


नेपालीपत्र पत्रिकामा चे ग्वेभाराको नाम सुनेको थिएँ । तर एल चेको बारेमा भने सुनेको थिइनँ । उपनिवेशी स्पेनिस हिरो क्युबेली क्रान्तिकारी भूमिमा कसरी आयो मैले बुझ्ने कोसिस नै गरिनँ तर एल चेको तस्बिरले छापिएका टिसर्ट संसारभरका युवाहरूको रोजाइमा पर्छन् । क्युबेली भूमिमा मुस्कुराइरहेको एल चे देखेपछि फिडेल क्यास्त्रोको सम्झना आउनु पनि स्वाभाविक हो । कास्त्रोलाई नदेखेपछि मैले सोधे ‘खोइ त तिमीहरूको कास्त्रो ?’
‘विकज वी आर इन द अनोदर प्लानेट,’ कम्युनिस्टको भयानक जवाफ ।
चौथो दिन पनि क्युबामा म पैसाविहीन थिएँ (भोलि आइतबार बिदा हुन्छ भन्ने कुरा त मैले बिर्सिएछु) । पैसाविहीन भए पनि म क्युबामा कास्त्रोको तस्बिर खोजिरहेको थिएँ । पैसा तस्बिर दुवै फेला पारिनँ । कास्त्रोको तस्बिर देखाउन नसक्ने कम्युनिस्टले लन्चका लागि चिनियाँ रेस्टुरेन्टमा लग्यो । हिजोदेखि कम्युनिस्ट मेरो अन्नदाता भएको छ । होटलमा कम्युनिस्टले मर्निङ बियर अफर गरेको थियो । उसको बियर मैले होटलमै भेटिएको अमेरिकीलाई उपहार दिएर आएँ । क्युबेली भूमिमा नेपालीले अमेरिकीलाई दिएको बियर उपहारले बियरदाता कम्युनिस्ट खुसी भयो ।
बिदाको दिन कम्युनिस्ट अफिस गएन । घरमा छिमेकी बोलायो । छिमेकीलाई मेरो परिचय दियो । कम्युनिस्टकी छिमेकी महिलाले लन्च टेबलको तलबाट आफ्ना खुट्टाले मलाई घोचिरही । क्युबेली आगोले मलाई पोल्यो । चिसो बियरले आगो निभाएँ । लन्च सकियो । क्युबेली आगोले पोलिएको मुटुसहित म कम्युनिस्टसँग केहीबेर क्युबाका सडकमा भौँतारिएँ । आगो झन् झन् सल्कियो । आगो निभाउन हामी पुग्यौं— कार्लोसको बारमा । बारमा उसकी श्रीमती थिई, उही तिखा आँखासहित । उही धारिला आँखाले घोचेर उसले मलाई स्वागत गरी । आगोले पोलेका घाउमा तिखा आँखाको प्रहार थपियो । चिनियाँ रेस्टुरेन्टको मालिकले मलाई आफ्नो कासा पार्टिकुलमा बोलाइरहेको थियो ।


क्युबा बसाइका सात दिन बियर, संगीत, नृत्य र प्रेममा पौडिएर बिताएँ । क्युबेली बियरको उन्मादले क्युबाप्रति सम्मोहित बनाएको हो ? यो पटकको भ्रमण सूचीमा क्युबा थिएन । अमेरिकी आकाश मार्गबाट पेरिस उड्न नपाएपछि मैले क्युबाको बाटो रोजेको थिएँ । इतिहासमा स्पेनको अधीनस्थ रहेको क्युबामा स्पेनबाट पैसासँगै उपनिवेशको गन्ध छिर्ने भय अझै बाँकी छ । रंगभेदको विरुद्धमा रहेको क्युबाको उपल्लो तहमा अझै पनि गोरो छाला देखिन्छ । गोरो छालामा अझै पनि आर्थिक आधिपत्यको गन्ध आउँछ ।
आइतबारको दिन कम्युनिस्ट र म चाँडो घर फर्कियौं । भोलिपल्ट उसको आईडीबाट मैले पैसा निकालें । त्यसपछि ऊ अफिस गयो अनि पैसासँगै म जिरोबाट हिरो भएको थिएँ । हिरो हुनेबित्तिकै म कार्लोसको बारमा हुत्तिएँ बाँकी बिल चुक्ता गरी खाना खाएँ र दनादन बियर पिउन थालें । क्रिस्टल र बुकानेरो बियर तान्दै पिलाउँदै पनि गएँ– हामी सबैलाई थाहा छ नेपाल गरिब भए पनि नेपाली संसारका दिलदार नागरिक हौं । कतिखेर साँझ पर्‍यो कम्युनिस्ट सुटुक्क छिर्‍यो र युवतीको घेराभित्र देखेर मुस्कुरायो पनि अनि मेरो त होस नै उड्यो । छाँगाबाट खसेजस्तै रित्तिएको खोल्तीको फिलोसफी पुँजीवादी पकेटमा छिरेको मैलै पत्तै पाइनँ । त्यहाँ उसको साथमा सिगार पिउँदै गम्भीर मुद्रामा उभिएका दुई जना व्यक्ति देख्नेबित्तिकै मलाई मलेसियामा किडन्याप र मंगोलियामा लुटिएको घटना याद आयो ।


तर म ढुक्क थिएँ त्यतिबेलासम्म कार्लोसको बारमा कार्लोस, उसकी श्रीमती र बारकी म्यानेजर मेरा घनिष्ठ मित्र भइसकेका थिए । कम्युनिस्टले अरनार्न्दो, लुइस, रे र दुई जना गम्भीर व्यक्तित्वसँग परिचय गरायो । त्यसपछि त बियर र सिगारको साटासाटसँगै पश्चिमी र पूर्वेली सभ्यताको परिचय भयो । अफ्रिकाको भ्रमणपछि पहिलोचोटि आफू जिरो भएको अनुभूति गरें । एक जना फिलोसफर र अर्को अंग्रेजी प्रोफेसर त्यसमा फेरि लुइस र अरनार्न्दो अनि र सुन्दर युवतीहरूको समूह– आहा आहा आहा त्यो समयको सुगन्धले बिर्सेका सम्झनाहरूजस्तै मलाई भुलेका साथीहरूको याद आयो । म फेरि पनि क्युबा जानेछु अनि लेख्नेछु ती नौला कथाहरू ।
१ लाख ९ हजार ८ सय ४४ वर्गकिलोमिटर क्षेत्रफलमा क्युबेलीहरू कैद भएका छन् । क्युबेलीहरू बाहिर आउन चाहन्छन् । कुनै समय अमेरिकाले खरिद गर्न खोजेको क्युबाका क्युबेलीहरू बियर र संगीतमा जीवनका खुसीहरू खोज्छन् । विदेशीलाई स्वागत गर्न क्युबेली कुनै कसर बाँकी राख्दैनन् । प्रेम, यौन र बियरले विदेशीलाई स्वागत गर्नु क्युबेलीको क्रान्तिकारी रगतमा मिसिएको छ । बारबाहिर पर्खिरहेको कम्युनिस्ट सैनिकले मोटरसाइकलमा मलाई विमानस्थलसम्म पुर्‍यायो । विमानस्थल जाँदै गर्दा कम्युनिस्ट बोल्दै गयो, ‘हामी कास्त्रोका तस्बिर घरका भित्तामा झुन्ड्याउँदैनौं, कास्त्रोको तस्बिर हाम्रो हृदयमा हुन्छ ।’ तेस्रो दिन सोधेको प्रश्नको जवाफ कम्युनिस्टले आठौँ दिनमा दियो । उसको जवाफमा मैले मात्र टाउको हल्लाएँ ।


जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा पुग्दा कम्युनिस्टको आशा पोखियो, ‘म राम्रो कुक गर्छु, रिटायर्ड भएपछि मलाई तिम्रो देशमा बोलाऊ । म नेपालीलाई माछा पकाएर खुवाउँछु ।’ उसको आग्रहमा मैले हाँस्दै जवाफ दिएँ, ‘पहिला तिमी रिटायर्ड त होऊ ।’ कम्युनिस्टलाई आफू रिटायर्ड हुने दिन गन्न लगाई सुटुक्क उसको हातमा १५० कुक थमाउँदै मैले भ्रमित मुस्कुराहटमा सोधें, ‘कम्युनिस्ट तिमी हौ कि कास्त्रो ?’ ऊ मुस्कुराउँदै हात हल्लायो र मन्द स्वरमा गुनगुनायो, ‘नोयल आई एम लिभिङ इन द अनोदर प्लानेट ।’
के तपाईंलाई थाहा छ ?
उत्तरी अमेरिकाको चन्द्रमा मात्र होइन क्युबा त सबैभन्दा ठूलो क्यारेबियन टापु पनि हो ।
चिनी, सिगार, संगीत, रम र प्रेमले मात्र नभई कास्त्रो र एल चेको मित्रताको नामले चिनिने प्रसिद्ध देश हो क्युबा ।

प्रकाशित : असार १४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?