यो पोखरा त्यो पोखरा

भवसागर घिमिरे

 पहिलाका घरहरूलाई रूखले छेक्थे  । अहिलेचाहिँ घरहरूले रूख मात्र होइन, हिमालै छेक्ने भइसकेका छन्  ।

सुन्दरताको नाममा कसरी कंक्रिटको सहर बन्दै गयो पोखरा भन्ने फरकपन झल्काउने पुस्तक ‘पोखरा ः हिजो र आज’ बजारमा आएको छ । विसं २०१० को दशकदेखि हालसम्मका तस्बिरहरू यस पुस्तकले समेटेको छ । पाँच दशकअघिदेखि क्यामरासँग रमाउन सुरु गरेका पोखरा निवासी विश्व शाक्यले पुस्तक प्रकाशनमा ल्याएका हुन् ।


नयाँ पुस्तालाई पुरानो पोखराको बारेमा जानकारी दिने अनि पुरानो पुस्तालाई आफू विगतमा हुर्केको पोखराको सम्झना पुस्तकले दिलाउनेमा शाक्य आशावादी छन् । ‘विकासका नाममा सुन्दरतामाथि थोपारिएको विकृतिबारेमा सचेत गराउने मेरो सोच हो,’ शाक्यले भने । पोखराको परिभाषालाई फेवाताल र लेकसाइडको परिधिमा मात्र घेराबन्दी गर्ने चलन धेरै छ । फेवातालसँगै संरक्षणको चुनौती खेपिरहेका लेखनाथका बेगनास, रूपा, न्युरेनी, दिपाङ, गुँडेजस्ता तालको पनि सहर हो पोखरा भन्ने पुस्तकले देखाउँछ ।


अहिले मोबाइलबाट तस्बिर खिच्ने र सामाजिक सञ्जालमा धुलाउने जमाना आएको छ । तैपनि फोटो पुस्तक प्रकाशित गर्ने सोच कसरी आयो त ? प्रश्न सुनेर उनी हाँसे, ‘एक दशक अघिदेखि मैले पोखरा ः हिजो र आज भन्ने फोटो स्तम्भ स्थानीय पत्रिकामा चलाउँथें, त्यसले तस्बिर संकलन गर्ने र प्रकाशित गर्ने सोच पलायो । संग्रह पनि हुन्छ अनि हात राखेर हेर्नुको मज्जा नै बेग्लै हुन्छ भन्ने सोचें ।’ विदेशीहरूमाझ पोखराको पर्यटन प्रचार गर्ने मनसायले पुस्तकमा अंग्रेजी र नेपाली दुवैमा भाषामा तस्बिरहरूको वर्णन गरिएको छ । डाक्टर हर्क गुरुङसहित दुई दर्जनभन्दा बढी स्वदेशी तथा विदेशीले खिचेका तस्बिरहरू पनि समावेश गरिएको छ यो पुस्तकमा । चार सय हाराहारी तस्बिर रहेको यो पुस्तकमा उनी आफैंले खिचेका तीन सयभन्दा बढी उहिले र अहिलेका पोखराका तस्बिरहरू छन् ।


लेखनाथ शिशुवाका आँगनबाट कसरी धानका फाँटहरू बिलाए ? भैरवटोल, रामकृष्णटोलको आफ्नोपन कसरी मासिँदै गयो ? बिन्धवासिनी मन्दिरमा थुपारिएका संरचनाले कसरी त्यसको सुन्दरतालाई चुनौती दिइरहेको छ ? ठूलो एकादशीमा गरिने तोरण यात्रा, बाघजात्रा, भैरवनाच, सहस्रधारा माघेजात्रा, खैंजडी मुजुरासँगै गाइने भजनकीर्तनसँगै उबेला अत्यधिक चलनमा ल्याइने डोको, डालो, थुन्से, मान्द्रोहरू के पोखराले बिर्संदै त छैन ? पुस्तकमा अटाएका तस्बिरहरूले यस्ता हजारौं प्रश्नको तोप बोकेर उभिएजस्तो लाग्छ । आधुनिकताको पर्खालले मौलिक पहिचान छेक्न हुन्छ कि हुँदैन ? उत्तर पोखराले पक्कै खोज्नेछ भन्नेमा शाक्य आशावादी छन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ १०:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मै छोरी सुन्दरी

सुन्दर हुनु अरूका लागि के हो त्यो त मलाई थाहा छैन, कम्तीमा मेरा लागि यो बाहिरी आवरणको मर्मत सम्भार मात्र होइन ।
नीरु राजवंशी

कालो वर्णकी, आँखामा चस्मा लगाएकी र अनुहारमा कुनै कृत्रिम शृंगार नपोतरेकी एउटी राम्री युवती बघिनीको अघि बाँधिएकी बाख्र्री जसरी भयभीत मुद्रामा देखिन्थिन्  । केही हप्ताअघि सामाजिक सञ्जाल तताउने भिडियो क्लिपको कुरा हो  ।

युवती मिस नेपालका लागि अडिसन दिन आएकी थिइन् । भिडियोमा उक्त प्रतियोगिताकी मुख्य प्रशिक्षकले ती युवतीको सातो हरिरहेकी देखिन्थ्यो । एक्काइसौं शताब्दीमा पनि लिपीपोती नगरी, कन्ट्याक्ट लेन्स नलगाई यस्तो सुन्दरी प्रतियोगितामा सहभागिताका लागि अडिसन दिन आउनु भनेको प्रतियोगिताकै अपमान हो भनेर हकार्ने ती छनोटकर्ताप्रति खनिनेहरूको संख्या ह्वात्तै बढ्यो ।

बाहिरी आडम्बरको आधारमा कसैको अपमान गर्न नहुने बहस चलिरहँदा टिप्पणीकर्ताले आफ्नो बचाउमा सुन्दरी प्रतियोगिताका लागि मेकअप अनिवार्य कुरा भएको र त्यो जानेको छैन भने सहभागी हुन आउनु हुन्न भन्ने आशयका अन्तर्वार्ता दिइन् । आयोजक संस्थाले पनि प्रेस विज्ञप्ति नै निकालेर भन्यो, प्रतियोगीको आत्मविश्वासको परीक्षण गर्न उनलाई त्यस्तो अप्ठ्यारो स्थितिमा पारिएको हो ।

यो सब हेर्दा म भने मनमनै केलाउँदै थिएँ, हामीले दैनिक जीवनमा बाहिरी आवरणलाई कति महत्त्व दिन्छौं, दिनको कति मिनेट वा घण्टा अरूको बाहिरी सुन्दरता वा कुरूपताको प्रशंसा वा आलोचना गरेर बित्छ ? हामीले मान्ने सुन्दरताको मापदण्ड के हो ? परिभाषा के हो ? के हो सुन्दर हुनु अनि के हो कुरूप हुनु ? के मिलेको नाकनक्सा हुनु, छाला गोरो हुनु वा नभएकालाई मेकअप गरेर गोरो बनाउन जान्नु मात्रै सुन्दरताको परिभाषा हो त ? सुन्दरताको भूत हाम्रो मानसपटलमा कति गहिरो जरा गाडेर बसेको छ ? को राम्रो र को नराम्रो छुट्याउने हामीले कहाँबाट सिक्यौं ? के बाहिरी आवरण चिटिक्क भएपछि मान्छे सुन्दर हुन्छ त ?


एघार–बाह्र वर्षकी हुँदा म आफूलाई कहिले पनि राम्री लाग्दिन थिएँ । आफूलाई एकदम औसत पाउँथें । त्यसमाथि कालो वर्णकी म सधैं आफूलाई नराम्री नै लाग्थें । वरिपरि मेरै उमेरका अरू गोरा चिटिक्क परेका सखी तथा सहपाठीहरू देख्दा मलाई सधैं आफ्नो रूपप्रति लघुताभास हुन्थ्यो । त्यसमाथि अरू सन्तान गोरा चिटिक्क परेका जन्माएकी मेरी आमाकी म मात्र किन औसतभन्दा कम भन्ने प्रश्नले मलाई खान्थ्यो । एक दिन आँटै गरेर मैले मम्मीलाई सोधें, ‘मम्मी म किन यति नराम्री ? ठिम्से बच्चाहरू त झनै राम्रा हुन्छन् भन्ने सुनेकी थिएँ । म मात्र किन नराम्री जन्मिएकी ?’ मेरो बालबुद्धि देखेर मम्मीले मलाई सम्झाउँदै भन्नुभयो, ‘तँ कसरी नराम्री ? राम्री छेस् त । हेर त दुइटै हात–खुट्टा सग्ला छन्, आँखाले राम्रोसँग देख्छ, नाक सीधा छ, कान पनि ठीक छ, कपाल पनि कालो छ । तँ राम्री छेस् त ।’


मम्मीको त्यो उत्तरले केही दिनका लागि आफू राम्री भएको भरोसा दिलाए पनि त्यो धेरै दिन टिक्न भने सकेन । पढाइमा ठीकठाक म सधैं आफूलाई औसतभन्दा कम राम्री मानेर नै हुर्किंदै थिएँ । त्यसमाथि टेलिभिजनमा आउने फेयरनेस क्रिमका विज्ञापनहरूले काली हुनु भनेको नराम्री हुनु हो, राम्री त गोरीहरू मात्र हुन्छन् भन्ने खालका कुरा दिमागमा हालिदिएको कारणले पनि म नराम्री नै छु भनेर स्विकारिसकेकी थिएँ । तर आफ्नो कालो वर्णसँग गर्व नभए पनि घृणा नै चाहिँ पलाइसकेको थिएन । यही कारणले होला, विज्ञापनमा देखाइने फेयरनेस क्रिम मैले आजसम्म लगाएकी छैन । आफ्नो वर्णप्रतिको अप्रेम बढिरहँदा सँगैका साथीहरूले त्यस्ता क्रिम लगाउने, ब्लिच गरेर छाला झन् गोरो र टल्काउने प्रयास गरेको देख्दा पनि मलाई त्यस्तो रहर कहिले जागेन । कहिलेकाहीं कुनै साथीले तेरो जीउडाल कति मिलेको छ भनिदिंदा म मेरो छालाको कालोलाई त्यसले केही भए पनि क्षतिपूर्ति गरिदिएको ठानेर चित्त बुझाउँथें ।


ठ्याक्कै कुन कार्यक्रममा हो त अहिले सम्झना छैन, स्कुल पढ्दाताका नै टेलिभिजनमा एक पटक शिक्षाविद् अंगुरबाबा जोशीको अन्तर्वार्ता हेरेकी थिएँ । ओठ अलिकति बाङ्गिएकी ती महिलालाई पहिलो पटक देख्दा पनि उनमा एक अचम्मको आकर्षण भएको कुरा मैले चाल पाएकी थिएँ । कार्यक्रम सञ्चालकले उनी जवान हुँदाको अत्यन्तै सुन्दर तस्बिर देखाएर उनको अहिलेको अवस्थाबारे कुरा गरेका थिए । उनले त्यसको उत्तरमा रूप त क्षणिक हो, मान्छेसँग गुण, सीप र दक्षता हुनुपर्छ— अनुहार कस्तो छ, शरीर कस्तो छ भन्ने गौण कुरा हो भनेर सहज रूपमा उत्तर दिएकी थिइन् । मान्छे सुन्दरभन्दा असल हुनु बढी महत्त्वपूर्ण हो, त्यसैले आफ्नो बाङ्गो ओठले आफूलाई केही फरक नपरेको भन्ने उनको आत्मविश्वासले भरिपूर्ण लवज सुन्दा म लठ्ठ परेकी थिएँ । भर्खर टिन एजमा प्रवेश गदै गरेकी मलाई उनका कुराले सुन्दरताको अर्थ बुझ्न धेरै सघायो । त्यसउप्रान्त मैले कहिले पनि आफ्नो कालो छालासँग कुनै गुनासो गरिनँ ।


‘सुन्दरता’ को मान्यता फरक हुन्छ र त्यो क्षणिक हो भन्ने कुरा मैले बुझिसकेकी थिएँ ।गृह जिल्लामा हुँदा रेडियोमा कार्यक्रम चलाउने म काठमाडौं आएलगत्तै टेलिभिजनमा ठोक्किन पुगें । औसतै अनुहार भए पनि फोटोजेनिक भएको कारणले होला टेलिभिजनमा जागिर पाउन खासै गाह्रो भएन । काली भए पनि फोटोमा राम्री देखिन्छे भनेको सुन्दै हुर्किएकी हुनाले पनि होला, त्यो उमेरमा काँचको पर्दामा छाउने रहर हुनु स्वाभाविकै हो । पर्दाको अगाडि आउनका लागि मेक अप अनिवार्य हुँदो रहेछ भन्ने मलाई थाहा भयो । सुरुसुरुमा त रमाइलै लाग्यो किनभने मलाई थाहा भएको थियो कि मेकअपको सहायताले कालो छाला भएकाहरू पनि पर्दामा काला नदेखिने रहेछन् । तर झन्डै छ वर्ष टेलिभिजनको यात्रामा हरेक दिन भनेजसो एउटा कुर्सीमा बसेर मेकअप आर्टिस्टले आफ्नो अनुहारमा अनेक जिनिस पोतर्ने क्रम बिस्तारै झन्झटिलो लाग्न थाल्यो । टेलिभिजनको यात्रा सकिएको केही वर्ष भइसकेको छ । आज पनि खासै मेकअप गर्न रहर लाग्दैन । किताब पढ्ने रुचि भएकाले होला, मेकअप गर्दा खेर जाने समय बरु पढ्नमै खर्च गर्न मन लाग्छ ।


मेरा लागि सुन्दरताको परिभाषा त समयक्रमअनुसार परिवर्तन हुँदै गयो । तर अझै पनि बिहे, व्रतबन्ध, पारिवारिक जमघट, औपचारिक समारोहमा जाँदा बाहिरी सुन्दरता र शरीरको ढाँचा, बनोटका बारे अनेकौं टिप्पणीहरू सुन्न पाइन्छ । केही समयअघि त्यस्तै एक बिहेको समारोहमा गएकी थिएँ, दुलाहाको तर्फबाट । बिहेमा जाँदा बेहुली हेर्ने रहर र हतारो सबैलाई हुन्छ । सँगै जन्ती गएकी एक माइजूले बेहुली देख्नासाथ प्वाक्क भनिहाल्नुभयो, ‘छिः, कस्ती काली र मोटी रहिछ । कस्ती गोरी, दुब्ली र च्वाँक केटी देखाएकी थिएँ, यस्तीसँग लभ गरेर फसेछ ।’ मैले प्रतिवाद गरें, ‘शील स्वभाव राम्रो होला नि माइजू । केहीं नदेखी त पक्कै मन पराउनुभएन होला ।’ माइजूको जवाफ थियो, ‘गुण भनेको पछि देखिने कुरा हो । झट्ट हेर्दा त अनुहारै चाहिन्छ ।’


इमानदार भएर भन्दा बेहुला पनि कुनै जेम्स डिनको अवतार त कहाँ थिए र । मैले त्यही कुरा भन्दा उनको जवाफ थियो, ‘केटा मान्छे जस्तो भए पनि फरक पर्दैन ।’ मैले विवाद गर्नु व्यर्थ ठानें । त्यही समारोहमा मेरा एक नाता पर्ने बहिनीले सेल्फी खिच्ने प्रस्ताव राखिन् । मेरो क्यामराबाट फोटो खिच्नै लाग्दा उसले सोधी, ‘दिदी कुनै ब्युटी एप छैन तपाईंको फोनमा ?’ मेरो फोनमा कुनै त्यस्तो एप पनि छैन, न त एडिट गर्ने फिल्टरहरूको लम्बेतान लिस्ट नै छ । ऊ जिल्ल परी र त्यसको कारण सोधी । मैले आफूलाई जस्तो हो, त्यस्तै फोटो मन पर्ने उत्तर, दिएँ । उसले हाँस्दै भनी, ‘कस्तो डिप्लोम्याटिक कुरा गर्नुभएको ।’


अनेक फिल्टर प्रयोग गरेर आफ्नो सक्कली अनुहारलाई नक्कली रूपमा ‘सम्पादन’ गर्दा के मजा आउँछ भन्ने कुरा मैले कहिले पनि बुझेकी छैन । त्यसरी आफूलाई गोरी वा स्लिम बनाएर ३६ २४ ३६ को मापदण्डमा पार्न मलाई कहिले पनि रहर लागेन । कलेज ताका म बढी नै स्लिम थिएँ । वर्षौंपछि प्लस टु पढ्दाको एक साथी भेट हुँदा उनको पहिलो प्रतिक्रिया थियो, ‘लौ कस्तो मोटाएको ?’ उनी तिनै साथी थिइन् जसले मलाई भन्ने गर्थिन्, ‘लुरी छेस्, हावाले उडाउला । गोजीमा ढुङ्गा हालेर हिंड्ने गर्नू ।’ तर आज अलिकति वजन बढ्दा ऊ नै भन्दिै थिई, ‘तँलाई त स्लिम हुँदा नै राम्रो देखिएको थियो ।’ मलाई न उसको पहिलेको प्रतिक्रियाले केही फरक पार्थ्यो, न अहिलेकोले पारिरहेको थियो ।


‘कुछ तो लोग कहेंगे... लोगों का काम है कहना ।’ मेरो वर्ण कस्तो छ, म कस्ती देखिन्छु, वा मेरो शारीरिक बनोट कस्तो छ भन्दा म माथि उठिसकेकी छु । केही घटनाहरूले गर्दा मेरा विचारहरू परिवर्तन भइसके । तर अझै मेरा वरिपरिका केही साथीसङ्गीहरूलाई आफ्नो अनुहार, शरीर वा रंगसँग गुनासो छ । कसैलाई हाइट कम भएकोमा, कसैलाई मोटी भएकोमा, कसैलाई कपाल नझाङ्गिएकोमा । अनगिन्ती असन्तुष्टिहरू पाल्न सकिने रहेछ । केही समयअघिकी एक सहकर्मी थिइन् । उनको वक्षस्थल स्वाभाविक रूपमा केही ठूलो थियो । उनलाई स्कुलको बेलादेखि नै त्यसले अप्ठ्यारो पारेको रहेछ । त्यतिबेलाका सहपाठीदेखि अहिलेका सहकर्मीहरूसम्मले त्यसै कारण उनलाई बुल्ली गरेको हुनाले, विभिन्न उपनामहरूले सुसज्जित गरेका हुनाले उनको मगजमा आफ्नो स्तन एउटा ठूलो घाँडोको रूपमा बसिसकेको थियो । उनको एउटै सपना छ, जसरी भए पनि पैसा जम्मा गरेर विदेश गएर खर्चिलो शल्यक्रिया गरेर आफ्ना स्तनहरूलाई ‘साइजमा’ ल्याउने । उनलाई सम्झाउन खोज्दा उनी भन्छिन्, ‘तँलाई परेको छैन, के थाहा ?’


यो उनको रहर होइन, बाध्यता हो । समाजले तोकेको मापदण्डमा उनलाई अटाउनु छ । सामाजिक सञ्जालका आडम्बरी र नक्कली प्रदर्शनले झनै उनमा लघुताभास थपिदिएको छ । मन सुन्दर छ भने मान्छे त्यसै सुन्दर देखिन्छ वा लाग्न थाल्छ भन्ने कुरा मैले बुझिसकेकी छु । हिजो एउटा डन्डिफोर आउँदा आत्तिने म आज अनुहारभरि नै डन्डिफोर आए पनि तिनलाई लुकाउने जुक्ति खोज्दिनँ– बिन्दास हिंड्छु । म आफ्नो समग्रतामा निकै सहज भइसकेकी छु ।


सुन्दर हुनु अरूका लागि के हो त्यो त मलाई थाहा छैन, तर कम्तीमा मेरा लागि आजको दिनमा यो बाहिरी आवरणको मर्मत सम्भार मात्र होइन । मैले बुझिसकेकी छु ‘ब्युटी कम्स इन एभ्री कलर । सेप एन्ड साइज ।’ सुन्दर त्यो हो जसले मान्छेलाई मान्छेको रूपमा व्यवहार गर्छ न कि वस्तुको रूपमा । राम्री हुनु भनेको छाला गोरो हुनु मात्र होइन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो । आज मलाई अलि काली रैछे, मोटी रैछे, हेर कति दुब्ली वा ओहो पेट लागेछ भन्ने टिप्पणीहरूले पटक्कै असर गर्दैन । मलाई थाहा छ मेरो बाहिरी आवरण कसैलाई बिझाइहाल्ने खालको छैन ।
बिझाउँछ भने पनि ‘हु केयर्स ?’

प्रकाशित : जेष्ठ ११, २०७६ ११:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT