चिसो झेल !- कोसेली - कान्तिपुर समाचार

चिसो झेल !

किरण पाण्डे

काठमाडौँ — केहीअघि दैलेखको गुराँसे पुगिएको थियो  । गर्मी बढिरहेका बेला चियो पेय मागियो  ।

सँधै चिसो पिइरहेकाले यसको फरक स्वाद जिब्रोले थाहा पाइहाल्यो । वल्टाइपल्टाइ गरेर हेर्दा पो थाहा भयो, यो चिसोमा त झेल रहेछ । चलेका ब्रान्डको नक्कल गरेर बेस्वादका पेयको बिक्री खुलेआम भइरहेको रहेछ । बजार अनुगनमका गफ निकै सुनिने बेलामा यस्ता नक्कली ब्रान्डदेखि ती अनुगमन सहरका मात्र होहल्ला हुन्जस्तो लाग्यो । सक्कली पेयलाई त स्वास्थ्यका लागि हानिकारक भनिइरहेको बेला त्यसको पनि नक्कलीले के बिजोग गराएको होला ?

प्रकाशित : चैत्र २, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ हरायो चार्ली युनिफर्म ?

हालै पाथिभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । मकालु–सगरमाथा क्षेत्रमा उडेको एउटा हेलिकप्टर भने १६ वर्षदेखि हराइरहेको छ ।
सुरज कुँवर

काठमाडौँ — मकालु हिमाल आरोहण सकेर फर्केका स्पेनिस आरोहीलाई लुक्ला विमानस्थलमा पुर्‍याइसकेपछि एसियन एयरलाइन्सको रसियन हेलिकप्टर एमआई–१७ फेरि मकालु आधार शिविर फर्कियो  । दोस्रो खेपका लागि ६ जना शेर्पा भरिया आधार शिविरमा थिए  ।

चार्ली युनिफर्म कल साइन भएको उक्त चार्टर उडानको कमान्डर थिए, रसियन क्याप्टेन ग्रेभिनिकोभ र कोपाइलट थिए, सोलुखुम्बुका सोनाम टासी शेर्पा । चार जना चालक दलको टिमका रसियन फ्लाइट इन्जिनियर ए गुमार र फ्लाइट एटेन्डेन्ट डी अमात्य थिए ।


वसन्तकालीन आरोहणको सिजन निख्रिनै लागेका बेला सबैलाई हिमालको फेदीबाट घर फर्किन हतारो थियो । मौसम पनि प्रतिकूल हुदै गइरहेका बेलाको उक्त उडानको दोस्रो खेपमा चढे सोलुखुम्बुका वाङछु शेर्पा, निमा दोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनार र ताप्लेजुङका सार्की शेर्पा । यो रेस्क्यू फलाइट थियो । मकालुदेखि लुक्लासम्मको उडान समय १७ मिनेट हाराहारीको थियो । १० बजेतिर उडेको हेलिकप्टरले १०ः२० तिर लुक्ला अवतरण गर्ने समय टिपाएको थियो । तर, आधार शिविरबाट उडेको केही मिनेटमै चार्ली युनिफर्म हरायो ।


यो १६ वर्षअघिको दुर्घटनाको कथा हो । अर्थात् २०५९ साल जेठ १७ गते बिहान । मकालु हिमालको आधार शिविरबाट लुक्लाका लागि उडेको रसियन हेलिकप्टर आजसम्म फेला परेको छैन । न त उक्त उडानमा रहेका यात्रुहरूको कुनै अवेशष फेला परेको छ । खोज तथा उद्धार हुन नसकेको यो गुमनाम हवाई दुर्घटना आज पनि नेपालको नागरिक उड्डयन क्षेत्रको पहिलो र एक मात्र रहस्यमयी कथा हो । जुन घटनाको स्थल नै पत्ता लाग्न सकेको छैन । नेपालमा हालसम्म भएका सय हाराहारी हवाई दुर्घटनाको सूचीमा यो ४६ औं घटना हो । हेलिकप्टरअन्तर्गत यो १३ औं दुर्घटना हो भने रसियन उत्पादनअन्तर्गत यो चौथो एमआई हेलिकप्टर दुर्घटना हो ।


०५९ जेठदेखि हराएको हेलिकप्टर नभेटिएपछि नागरिक उड्डयन प्राधिकरणले त्यस वर्ष चार महिनापछि अर्थात् असोज १४ गते दुर्घटना घोषणा गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार, यो दुर्घटनाको खोजी अहिले पनि रोकिएको छैन । त्यतिबेला दुर्घटनास्थल फेला पार्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा प्राधिकरणले गरेको थियो । यो राशिपछि २ लाखसम्म पुर्‍याइयो । अहिले पनि त्यो दुर्घटनास्थल फेला पार्ने पहिलो व्यक्तिलाई इनाम खुला नै राखिएको छ ।


घटना भएको दिन बिहान काठमाडौंबाट उडेको हेलिकप्टरका को–पाइलट सोनामसँग भीएचएफ रेडियो सेट मार्फत संवाद गरेको याद प्राधिकरणका तत्कालीन एयर ट्राफिक कन्ट्रोलर सञ्जयकुमार साहलाई अहिले पनि ताजै छ । ‘त्यस बिहान काठमाडौंको मौसम पनि बिग्रिएको थियो । नियमित उडान रोकिएका थिए । त्यो हेलिकप्टर उद्धारका लागि जाने भएकाले हामीले अनुमति दिएका थियौं,’ त्यस दिन काठमाडौं टावरमा एटीसीको भूमिकामा रहेका साहले भने, ‘काठमाडौंबाट ५/६ नटिकल माइल पूर्वी आकाशमा पुगेपछि कोपाइलट शेर्पाले टावरलाई अरू उडानलाई पनि छाडिदिनुहोस् । मौसम काठमाडौंभित्रको मात्रै बिग्रिएको रहेछ बाहिर आकाश क्लियर छ भनी मौसमबारे जनाउ दिएका थिए ।’


सञ्जय कुमारसँग संवाद गरेर उडेको हेलिकप्टर अपराह्नतिर हराएको खबर आयो । उक्त हेलिकप्टर खोज्न काठमाडौंबाट अनन्य एयर, नेपाली सेनाको हेलिकप्टर पठाइयो । त्यस्तै विराटनगरबाट सिम्रिक र लुक्लाबाट कर्णाली एयरको हेलिकप्टर पनि परिचालन गरिए तर कतै निसानसमेत भेटिएन । त्यो रुटमा ४ हजारदेखि ५ हजारमाथिका हिमचुचुरामा पर्ने भएकाले बस्ती हुने कुनै भएन । गाउँ नै नभएपछि सर्वसाधारणले न त आगोको मुस्लो देखे, न त पहरामा ठोक्किएको आवाज सुने ।


शेर्पा आरोही, गाइड, प्रहरीको टोली त थुप्रै परिचालित भए । हालै ठमेलमा भेटिएका यसका सञ्चालक यस्ता उद्धार टोलीको गन्ती नै छैन भन्दै थिए । हाल बन्द भइसकेको एसियन एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार, हराएको हेलिकप्टर खोज्न मात्रै ५/६ करोड रुपैयाँभन्दा बढी खर्च भयो । एक वर्षसम्म खोज्ने क्रम जारी नै रहयो । ‘म मात्रै ५/६ दिन हेलिकप्टर चार्टर गरेर खोज्न गएँ,’ नेपालमा पहिलो पटक रसियन हेलिकप्टर भित्र्याउने शेर्पाले भने, ‘एक वर्षपछि आस मार्‍यौं ।’


उनका अनुसार, आरोहीहरू समेटिएका सयौं टोली संखुवासभा र सोलुखुम्बुबाट परिचालित गरिए । कतिपय टोली हेलिकप्टरबाट ठाउँठाउँमा पुर्‍याइए तर पनि फेला परेन । उनका अनुसार, बिमा कम्पनीले ३ करोड हाराहारी खोज/उद्धारको खर्च बेहोर्‍यो भने १० लाख डलर (सटही दर ७७ रुपैयाँको आधारमा ७ करोड ७० लाख) हेलिकप्टरको बिमाबापत शोधभर्ना भयो । उक्त यात्रामा बेपत्ता भएकाहरूका आफन्तजनले जनही २५ लाख हाराहारी क्षतिपूर्ति बुझेको शेर्पाले बताए ।


त्यसबेला सोलुखुम्बुका रेन्जिन शेर्पाले चलाएको आरोहण अभियान मकालु हिमाल चढ्न गएको थियो । ती शेर्पाको सी–टु–समिट नामको कम्पनीबाट आरोहण अभियान चलेको थियो । हेलिकप्टर कति मिनेटमा हरायो यकिन पत्ता नलागे पनि उडेको ५/६ मिनेटमा कुनै हिमचुचुरोमा ठोक्किएर भासिएको अड्कलबाजी छ । ‘अबको ३०/३५ वर्षपछि हिउँ पग्लिएर हेलिकप्टरको भग्नावेश देखिएला कि ?’ ठमेलमा एसियन ट्रेकिङ नामको कम्पनी सञ्चालन गर्दै आएका ६५ वर्षे शेर्पाले भने । यो घटना भएका बेला पर्यटन मन्त्रालयमा सहसचिव पदमा कार्यरत यज्ञ गौतमका अनुसार, यो दुर्घटनाको छानबिन आयोग नै गठन हुन सकेन । ‘कुनै पनि प्रमाण फेला नपरेपछि के कुराको अनुसन्धान गर्नू,’ हाल अवकाशप्राप्त सचिव गौतमले भने, ‘यो नेपालको हवाई इतिहासमा रहस्यमयी घटना हो ।’ सोलुखुम्बुको खुम्जुङमा जन्मे हुर्केका आङछिरिङको एसियन एयरलाइन्स ध्वजाबहाक नेपाल वायुसेवा निगमपछि निजी क्षेत्रले खोलेको पहिलो एयरलाइन्स कम्पनी थियो । सन् १९९६ मा स्थापना भएको यो एयरलाइन्ससँग त्यसताका ५ वटा हेलिकप्टर थिए, जसमा चारवटा रसीयन र एउटा युरोकप्टर ।


नेपालका अहिले जति पनि दुर्गम भेगमा हेलिकप्टर अवतरण हुने हेलिप्याड छन् यीमध्ये अधिकांश एसियनले परीक्षण उडान गरेका स्थल हुन् । व्यवसायी आङछिरिङका अनुसार, त्यसबेला १ सय २५ वटा दुर्गम ठाउँमा एसियन हेलिकप्टर मार्फत टेस्ट ल्यान्डिङ गराइएको थियो । रसियन हेलिकप्टर नेपालमा उड्नुअघि तत्कालीन शाही नेपाली सेनाले भारतीय चिता, फ्रेन्च, अमेरिकन तथा युरोपियन हेलिकप्टर थिए । रसियासँगको दुश्मनीका कारण काठमाडौंमा रहेका राजदूतहरू नेपालमा रसियन हेलिकप्टर भित्र्याउन हुनुहुँदैन भन्दै रोक लगाउँदै आएका थिए ।


उनीहरूकै विरोधका कारण डेढ महिना पाकिस्तानको कराँचीमा एसियनले खरिद गरेर ल्याएका दुइटा एमआई १७ डेढ महिना रोकिए । त्यसताका नेपालका परराष्ट्रमन्त्रीलाई विदेशी राजदूतहरूले अनुमति रोक्न दबाब दिंदै आएका थिए । ‘उनीहरूको दबाबका कारण मैले रसियाबाट ल्याएका हेलिकप्टर पाकिस्तानमा महिनौं पार्किङ गर्दा करोडौं गुमाएको थिएँ,’ उनले भने । त्यसैताका एक साताका लागि परराष्ट्रमन्त्री विदेश गएको मौकामा परराष्ट्र पनि हेर्ने गरी कार्यबाहक बनेका पर्यटनमन्त्री रामहरि जोशीले अनुमति दिएपछि मात्रै हेलिकप्टर नेपाल ल्याउन सकिएको थियो । रसियन पाइलटले इरान, अफगानस्थान, पाकिस्तान, भारत हुँदै ल्याएका ती हेलिकप्टर लिन नारायणसिंह पुन पनि गएका थिए । जो नेपाली सेनाका अवकाशप्राप्त पाइलट तथा लेफिटेनेन्ट कर्णेल थिए । रसियन हेलिकप्टर त्यसबेला अरू मुलुकका उत्पादनको दाँजोमा सस्ता थिए । ४ टन तौल बोकेर ४/५ हजार मिटर उचाइको भूगोलमा सजिलै उड्ने भएपछि आङछिरिङका एक अमेरिकी साथीले उनलाई एयरलाइन्स सुरु गर्न सुझाएका थिए । उनकै सुझावअनुसार, आङछिरिङले भिनाजु दावा नोर्बु शेर्पासँगको साझेदारीमा एसियन एयरलाइन्स सञ्चालनमा ल्याइएका थिए ।


यो हेलिकप्टरको नेपालमा आगमन भएपछि धेरै पर्यटन व्यवसायीहरूले ‘भरियाको रोजगारी गुम्ने भयो’ भन्दै पत्रिकाबाजी गरेको उनी बताउँछन् । ‘डेढ सय भरियाको भारी यसले एकैखेपमा बोक्ने भएपछि साथीहरूले विरोध गरे,’ पहिलो सगरमाथा आरोही एडमन्ड हिलारीले सञ्चालन गरेको स्कुलबाट कखरा सिकेर हुर्केका आङछिरिङ सम्झिन्छन्, ‘पछि पश्चिम नेपालमा हाइड्रोका सामान ओसार्न तथा लिफ्ट गरेर बोक्नका लागि यी हेलिकप्टर वरदान सावित भए ।’ एसियनले राम्रो आम्दानी गरेको र उडानमा सर्वाधिक डिमान्ड देखेपछि अरूले पनि भित्र्याए ।
माओवादी फैलिँदै गएपछि विकट गाउँ विद्रोहीले कब्जामा लिँदै गए । स्थलमार्गबाट हिँडडुल गर्न नसकिने अवस्थामा सुरक्षाकर्मीका लागि रसियन हेलिकप्टर एउटा ब्यारेकदेखि अर्को ब्यारके पुग्न भरपर्दो साधन भयो । सुरक्षाफौजले अत्यधिक चार्टर उडान गर्न थालेपछि माओवादीले टार्गेटमा राख्यो । ‘धेरै पटक माओवादीले बन्द गरिदिने धम्किदिएका थिए,’ आङछिरिङ विगत सम्झिन्छन् ।


मकालुबाट उडेको हेलिकप्टर माओवादीको आक्रमणमा परेको हल्ला पनि आयो तर त्यो प्रमाणित भएन । बरु एक पटक आङछिरिङले पद्मरत्न तुलाधर मार्फत हाइकमान्डमा खबर पुर्‍याए । उक्त दुर्घटनामा आफ्नो कुनै संलग्नता नभएको खबर पठाए । ०५८ मंसिरमा सुर्खेतमा पार्किङमा राखिएको एसियनको अर्को एमआई १७ उनीहरूले आगो लगाई दिए । जम्मा ५ मध्ये सानो युरोकप्टर २०५५ कात्तिकमा सोलुखुम्बुको मूलखर्कमा दुर्घटनामा पर्‍यो । हालै पाथिभरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै दुर्घटनामा परेर ज्यान गुमाएका यती एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाका भाइ तेन्डी शेर्पासहित ३ जनाको त्यसमा मृत्यु भयो । आङछिरिङका लागि यो पहिलो धक्का थियो । दोस्रो धक्का मकालुबाट उडेको हेलिकप्टर हराउनु थियो । सुरक्षाकर्मी बोकेको आरोपमा सुर्खेतमा हेलिकप्टर जलाइएपछि उनले उड्डयन व्यवसायबाट अलग हुने निर्णय गरे । बाँकी २ हेलिकप्टर अफगानिस्थानमा लिजमा पठाए । २०६० सालतिर उतै बिक्री गरिदिएपछि २०६३ भदौपछि एसियन एयरलाइन्सको दर्ता खारेज भइसकेको छ ।
१० वर्षको अवधिमा आङछिरिङले हेलिकप्टर बाहेक स्काई एयरवेजमामा पनि लगानी गरे । तर, उक्त कम्पनीका पनि २ जहाज दुर्घटनामा परे । यीसहित ५ वटा दुर्घटना बेहोरेपछि अन्ततः यिनले सदाका लागि सेफल्यान्डिङ गर्ने मुड बनाए । उनी अहिले पर्वतारोहण र पदयात्रा क्षेत्रतर्फ केन्द्रित छन् । नेपालमा बेलाबेला भइरहने हवाई दुर्घटनामा उनी आफ्नो विगतको उड्डयन जीवन सम्झिन्छन् । त्यस्तो बेला रूखको डालीमा आएर बसेको चराजसरी उनको स्मृतिमा त्यही चार्ली युर्निफर्मको धूमिल सम्झना आइदिन्छ ।
twitter:1stnepali

प्रकाशित : चैत्र २, २०७५ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×