राँकेमा रैथाने 

नारायण तुम्बापो

काठमाडौँ — मेचीमार्गको पाँचथर–इलामको सीमा बजार राँकेमा अक्सर रैथाने रौनक भेटिन्छ ।

‘लोकल आइटम’ राँकेको विशेषता हो । राँकेको सम्पूर्ण व्यवसाय स्थानीय सीप, उद्यम र उत्पादनले धानेको छ । देशीविदेशी पर्यटकको घुइँचो लाग्ने राँके पाँचथर–इलामको ‘कोसेली बजार’ मानिन्छ ।

राँकेमा प्राय: रैथाने सामग्री मात्रै बढी बिक्छ । किरानाका अरू सौदा–सामान बाहना मिलाउन मात्रै राखिएको हो । पसलमा सजाइएका स्थानीय उत्पादनले राँकेको सुन्दरतासमेत उकासेको छ । अकबरे, नौनी घ्यू, दूध, छुर्पी, चिजका साथै धेरै रैथाने उत्पादन राँकेमा किन्न पाइन्छ । उही स्थानीय उत्पादन पनि एउटै पसलबाट दैनिक बढीमा २५ हजार रुपैयाँसम्मको बिक्री हुने गरेको छ ।

स्थानीय व्यवसायी मनुका गुरुङका अनुसार अकबरे, मेलको चुक, सिलटिमुर, नौनीघ्यू, छुर्पी, ललीपप, ग्रिनटी राकेमा पाइछ । जडीबुटी चिङफिङ, खानाक्पा, टिम्मुर, मेलको चुप, अमला पनि राँकेमा पाइन्छ । सुन्तला, किवी, स्याउ, कालो दाल, मस्याम, भटमास, आलु, रायो साग त राके बजारको चिनारी नै हो । राँकेमा सयवटा जति सानाठूला पसल छन् ।

प्रकाशित : माघ १२, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

चासोक तङ्नाम

संस्कृति
नारायण तुम्बापो

काठमाडौँ — लिम्बुसहित प्रकृति पूजक किराती जाति भनेर चिनिने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रूपमा चासोक तङ्नाम मनाउने गर्छन् ।

प्रकृतिपूजक लिम्बु समुदायमा अनादिकालदेखि अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा छ । प्राण बचाइदिने अन्नलाई एक प्रकारले माङ् (देवता) मान्ने प्रचलन छ । पाकेको बाली घरमा थान थापेर पुज्नुका साथै प्रकृति देवीलाई समेत चढाइन्छ । यो पुज्ने क्रम धान पाक्ने सिजन कात्तिकदेखि भण्डारण गर्ने मंसिर पूर्णिमासम्मै चल्छ । यो संस्कृतिलाई लिम्बु समुदायमा चासोक तङ्नाम भनिन्छ ।
मङ्सिर पूर्णिमाका दिन सामूहिकले विशेष तरिकाले चासोक तङ्नाम मनाइन्छ । चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण­) को न्वागी पर्व हो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नुहुन्छ । तागेरानिङ्वाभुमाङ भनेर जल, जमिन, वायु, अग्नि वा सूर्यलाई चिनिन्छ ।

‘तङ्नाम’ ले पर्व/चाड अर्थात् उत्सव जनाउँछ । लिम्बु मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बु पुर्खा सावा येत्हाङहरूले काँचो कन्दमूल खानुपर्ने बाध्यताबाट उन्मुक्ति पाउन तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो), क्यावो (फापर), फामु (कागुनी) लगायत बीज दिए । यो बीज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बु महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरिन । आगोमा अन्न पकाई खान मानिस अभ्यस्त भए । यसपछि ‘तागरेनिङ्वाभुमाङ’ लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो ।

धान र कोदो पाकेपछि लिम्बु जातिले आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बु पुरेत) बोलाई चासोक गरिन्छ । यस क्रममा फेदाङ्माले आउँदो दिनमा पनि धेरै अन्न उत्पादन गरिदिन भन्दै ‘तागेरानिङ्वाभुमाङ’ लाई पुकार्दै सेवा व्यक्त गर्छन् । चासोकका बेला कलात्मकताले बुनेर नयाँ धानका बालाको चिटिक्कको पुतली बनाई घरको शोभा बढाउन ढोका छेउ झुन्ड्याउने चलन पनि छ । सामूहिकले मनाइने ‘चासोक तङ्नाम’ विभिन्न धार्किक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ ।

चासोकमा लिम्बु परम्परागत वेशभूषा, गहना, पालाम, धान नाच, च्याब्रुङ नाचका साथै विभिन्न लिम्बु परिकार प्रदर्शन गरिन्छ । चासोकको मर्म मर्न नदिई यसलाई आधुनिकीकरण गरेर सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने पहल भइरहेको पाँचथर चुम्लुङ अध्यक्ष नरेन्द्रराज केरुङले बताए । चासोक तङ्नाम’ अन्नलाई सम्मानसहित प्रसन्न पार्ने पर्वको रूपमा मनाइने चुम्लुङ महासचिव निरन्ती तुम्बापो सुनाउँछिन् । चासोक तङ्नाम पूर्वका लिम्बु बहुल ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरीमा धुमधामले मनाइन्छ ।

प्रकाशित : पुस ७, २०७५ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्