बिर्सिएको ज्ञान भण्डार

‘चन्द्रनिघण्टु’ पढेपछि मलाई आफैंलाई गर्वको अनुभूति पनि भयो, हाम्रा पुर्खाहरूलाई कति धेरै ज्ञान रहेछ भनेर ।
डा अरुणा उप्रेती

काठमाडौँ — विभिन्न वनस्पति र तिनको औषधीय गुणबारे प्राय: अंग्रेजीमा लेखिएका किताब, पत्रिका र वैज्ञानिक अनुसन्धानबारेमा पढ्ने र त्यसलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने बानी प्राय: हामी सबैको छ ।

ZenTravel

Meroghar

त्यही बानीले गर्दा हजुरआमाले खुट्टामा घाउ हुँदा बेसनको लेप लगाउँदा ‘छया’ भन्ने हामीहरू जब बेसार ‘टर्मरिक’ भनेर राम्रो प्याकेटमा सजिएर स्किन–लोसन भनेर आउँछ— हामीहरू ‘आहा कस्तो राम्रो औषधि’ भन्न थाल्छौं ।

त्यस्तै, आधुनिक औषधिमा बानी परेकाहरूले पनि सिंहदरबार वैद्यखानाबाट निस्केका औषधिलाई पुरातन विचारको भन्ने होच्याउने बानी छँदैछ । त्यसैगरी आयुर्वेदशास्त्र पढेकाले पनि कति आयुर्वेद औषधि सट्टामा आधुनिक औषधिको प्रयोग गर्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आयुर्वेद विकासका लागि त्यसमा लागेका व्यक्तिहरू नै उत्साहित नभएको कुरा दर्साउँछ भने आयुर्वेदका चिकित्सक र वैद्यहरू भने सरकारले आयुर्वेद विज्ञानको वास्तै नगरेको बताउँछन् । सामुन्नेमा यसको दु:खद उदाहरण छन्— नरदेवी आयुर्वेदिक अस्पताल र कीर्तिपुरस्थित आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र ।

कीर्तिपुरको आयुर्वेदिक अस्पताल चाइना सरकारको सहयोगमा निर्माण गरिएको हो । ‘यसको प्रपोजल लेख्न मैले पनि सहयोग गरेको थिएँ । त्यो प्रपोजलअनुसार नै अस्पताल भवनहरूको निर्माण भयो तर त्यहाँ अनुसन्धान केन्द्रको पाटो (जुन आयुर्वेदको विकासका लागि अन्यन्त महत्त्वपूर्ण छ) चाहिं प्रभावकारी हुन सकेको छैन ।

खोइ, अहिलेसम्म त्यस्तो ठूलो अस्पतालबारेमा सर्वसाधारणलाई थाहै छैन,’ लामो समयसम्म नेपाल सरकारको कर्मचारी भएर र पछि विभिन्न अध्ययन अनुसन्धानमा काम गरेका डा. दामोदर अधिकारी भन्नुहुन्छ— मलाई पहिलेदेखि नै वनस्पतिमाथि रुचि थियो । मेरो बुबालाई धेरै वनस्पतिका औषधीय गुणबारे ज्ञान थियो ।

मेरो गाउँघरमा कति बिरामीलाई बुबाले वरिपरिका वनस्पतिबाट उपचार गरी नि:शुल्क सेवा गर्नुहुन्थ्यो । मलाई पनि कति जडीबुटीका बिरुवा खोजेर ल्याउन भन्नुहुन्थ्यो । त्यसैले मलाई पनि कति कुराहरू थाहा भयो । हाम्रा पुराना ज्ञान सुरक्षित राख्नै पनि चन्द्रनिघण्टुजस्ता किताब प्रकाशित हुनुपर्छ भनेर मैले ‘चन्द्रनिघण्टु’ प्रकाशन गर्न स्वास्थ्य मन्त्रालय र आयुर्वेदका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने काम गरेको थिएँ,’ दामोदरले भन्नुभएको थियो, ‘यो पुस्तक निस्केकोमा मलाई साह्रै खुसी लागेको छ ।’

चन्द्रनिघण्टुका बारेमा वास्तवमा वैद्यहरूले लेख्नुपर्ने हो भन्ने मलाई लागेको थियो । तर, जब यसको प्रथम खण्ड मैले हेर्ने मौका पाएँ, अनि लाग्यो— यो त प्रत्येक नेपालीको घरमा हुनुपर्ने किताब हो । किताब दस खण्डमा प्रकाशित हुँदा एक खण्डको २ हजारको दरले २० हजार रुपैयाँ पर्छ । ‘यो महँगो भयो कि ?’ भन्ने भान पर्न सक्छ । तर, पोहोर साल नेसनल ज्योग्य्राफीले प्रकाशित गरेको संसारको उत्तम वनस्पति र तिनको चिकित्सकीय महत्त्व भन्ने किताब मेरो हात परेको थियो । त्यसको एक खण्डको मूल्य नै ४ हजार रुपैयाँ थियो ।

यसैले यस्तो ज्ञानले भरिएको जीवनोपयोगी र पुस्तौंपुस्तालाई काम लाग्ने किताब महँगो होइन भन्ने स्पष्ट छ । यो किताब तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले प्रोत्साहन दिएर जडीबुटी अध्ययन, संकलन र लेखनको काम सुरु भएको र पछि चन्द्रशमशेरले नेपालका साथै बम्बई, कलकता र वाराणसीबाट समेत आयुर्वेदशास्त्रका जानकारलाई एकैसाथ राखेर लेख्न लगाएको कुरा यस किताबमा उल्लेख छ ।

धेरै जना विज्ञ मिलेर यो कृति लेखिएको हुनाले यसमा कुनै एक लेखकको नाम छैन । तर, चन्द्रशमशेरले आफ्नो नामबाट ‘चन्द्रनिघण्टु’ नाम दिएका हुन् । यो किताब हेरेपछि मलाई आफैंलाई गर्वको अनुभूति पनि भयो, हाम्रा पुर्खाहरूलाई कति धेरै ज्ञान रहेछ भनेर । त्यो बेलामा अहिलेजस्तो प्रयोगशाला थिएन । कुन रसायनले के गर्छ भन्ने वैज्ञानिक ज्ञान थिएन तर अनुभव र बारम्बारको प्रयोगपछि कुन औषधि के हो र केका लागि काम लाग्छ भनेर अनुभव हासिल गरेर लेखिएको यो ज्ञान अहिलेको पुस्ताको लागि त अमूल्य नै रहनेछ ।

यो किताबको अर्काे विशेषता भनेको यसमा प्रत्येक वनस्पतिबारेमा अंग्रेजीमा पनि लेखिएको छ । वैज्ञानिक नाम पनि दिइएको छ । यो किताब हेरेर बुझ्न चाहनेले वनस्पतिको बारेमा आधुनिक विज्ञानले कति अध्ययन गरेको छ भन्ने कुरा थाहा पाउन धेरै सजिलो हुन्छ । त्यो वनस्पतिको वैज्ञानिक नाम गुगल गरेपछि अन्य वैज्ञानिक स्रोतहरू पनि सजिलै हेर्न सकिन्छ ।

पुस्तकमा वनस्पति र खनिजसमेत गरेर सबै वस्तुबारेमा राम्रो चिनारी दिइएको छ । चित्रहरू हातैले लेखिएको छ । त्यो बेलामा फोटो खिच्ने सुविधा नहुँदासमेत हातले चित्र लेखिएका छन् । किताब कलेवर सुन्दर छ, किताब गाता पनि बलियो छ । यसमा कुनै वनस्पतिको बढी उपयोग हुँदा पर्न सक्ने समस्या बताइएको छ । तर, कतिपय हामीले भान्सामा प्रयोग गरिरहेका तरकारीबारेमा पढ्दाचाहिं लाग्छ—थाहै नपाईकनै हामीले औषधि पोखाइरहेका रहेछौँ ।

एक वनस्पतिले कमजोरी हटाउँछ, मुटुका लागि लाभदायक हुन्छ । यसमा केही मात्रामा प्रोटिन, क्याल्सियम, फस्पोरस, भिटामिन बी र सी पनि पाइन्छ भनेरपढ्दा कस्तो राम्रो वनस्पति रहेछ भन्ने लाग्छ । तर, यो वनस्पति लौका रहेछ भन्ने थाहा पाएपछि हामी झनै खुसी पो हुन्छौं ।
नेपालका विभिन्न भाग तराइर्, पहाड, हिमालका वनस्पति भिन्दाभिन्दै रूपमा वर्णन गरिएको छ । पलासको फूल केही काम लाग्दैन भन्ने प्राय: हामीलाई लाग्छ तर वनजंगललाई रमितलाग्दो बनाएर फुल्ने रातो र पहेंलो पलास पेटको जुका मार्न प्रयोग हुन्छ भन्ने थाहा पाउँदाचाहिं रमाइलो लाग्छ । फेरि बढी प्रयोग गरेमा समस्या आउन सक्ने कुरा पनि सम्झाइएको छ ।

त्यसैगरी धतुरो विष हो भन्ने कुरा हामीलाई सानैदेखि सिकाइएको हो । तर, धतुरो पेट दुखेको बेला, कपालको जुम्रा र लिखा मार्न पनि प्रयोग गरिन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । कालो, पहेंलो, रातो, सेतो, नीलो धतुरो पनि हुँदो रहेछ । यो सबैका चित्र पनि पुस्तकमा कोरिएको छ ।

चन्दनिघण्टुको पहिलो खण्डमा हामीले भान्छामा प्रयोग गर्ने गाँजर, मुला, लसुन, छ्यापी, मेथी, करेला, बेथे आदि परिचित वनस्पतिको साथै हामीले थाहा पाएको, देखेको तर औषधीय गुण छ भनेर थाहा नभएको वनस्पतिका बारेमा पनि बयान गरिएको छ । यस्ता वनस्पतिमाजाई, पलास, रातो गुलाब, तीतेपाती समेटिएका छन् ।

यति राम्रो किताब पढ्दा एउटा कुराचाहिं सार्‍है खड्किएको छ । यसको मुख्य उपयोग लेख्दाचाहिं सबै संस्कृतमा लेखिएको छ । नेपालीमा अनुवाद गरिएको छैन । संस्कृतको ज्ञान नहुने मानिसले यसको प्रयोग केमा हुन्छ भनेर थाहा पाउन सक्दैन । यद्यापि आजको दुनियामा गुगल गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।

उदाहरणका लागि बाह्रमासे गुलाबको मुख्यकर्म ‘वर्ण रसायन’ भनेर लेखिएको छ । र, यो के हो भन्ने प्राय:लाई थाहा हुदैन । यसैगरी उपयोगमा लेखिएको छ— कर्णकृमी, दाह, पितृविकार, विवन्घ । र, अंग्रेजीमा पनि त्यही शब्द लेखिएको छ । यसले गर्दा पढ्ने मानिसलाई बुझ्न गार्‍हो हुन्छ । सायद यस्ता झिनामसिना कुरालाई ध्यान दिएको भए यो किताबको ज्ञान अझ सहजै लिन सकिन्थ्यो होला । भविष्यमा सायद यसबारेमा सम्पादनमण्डलले ध्यान दिनेछ ।

प्रकाशित : माघ १२, २०७५ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनका मोहक गायिका

साहित्यकार इन्द्रबहादुर राईसँगको भेटवार्तामा सुवास घिसिङबारे प्रश्न गर्दा बूढाले आफ्नो सामुमा रहेको टेपरेकर्ड बन्द गराएर मात्र आफ्नो धारणा राखेका थिए । मैले त्यसबेला दार्जिलिङको बौद्धिक जगत्लाई डरको कुहिरोले ढाकेको अनुभूत गरेथेँ ।
आभास

काठमाडौँ — सानैदेखि संगीत भनेपछि हुरुक्कै हुन्थेँ म । गाउँको शान्त वातावरणमा कतै टाढाबाट गानबजानको आवाज आउँदा त्यतैतिर दौडन्थेँ ।



मलाई लाग्छ कुनै साँझ मनहरिबाको आँगनमा पहिलोपल्ट रेडियो बजेको सुनेथेँ र त्यतै हुर्रिँदै दौडिएको थिएँ म । मनहरिबाको आँगनमा रेडियो सुन्दै गहुँको छ्वाली केलाउँदै थिए परिवार र छिमेकीहरू । घरका छाना छ्वालीले छाउने बेला थियो त्यो । मनहरिबा हाम्रो टोलपटीका मात्र होइनन् गाउँकै नेतृत्व गर्न तम्सिएका अगुवा पनि थिए । अगुवा बन्ने क्षमता भएकाहरूका घरमा मात्र रेडियो हुनु स्वाभाविक थियो त्यसबेला ।

जो पायो त्यसले घरमा रेडियो राख्ने झन्झट पनि गर्दैनथे । किनभने रेडियो घरमा राख्नेले ‘लाइसेन्स’ लिनुपर्ने प्रशासनिक प्रावधान थियो । मनहरिबाको ‘लाइसेन्स’ प्राप्त रेडियो जो कपडाले बेरिएको सानो कन्तुर जत्रै आकारको देखिन्थ्यो । त्यसकै वरिपरि झुम्मिएका हुन्थ्यौं हामी । झन्डै दर्जनजति बालबालिकाहरू । कन्तुरभित्रबाट आएको बोली र गीतसँग हाम्रा आ–आफ्ना बालकल्पना मिसिएका हुन्थे ।

मेरो मस्तिष्कमा त्यसबेला कस्तो कल्पनाले घर बनाएको थियो ? त्यो अहिले सम्झना छैन । मनहरिबाले हामीतिर फर्कँदै, ‘ए भुराभुरी हो † तिमीहरूलाई थाहा छ ? यो कन्तुरभित्र बस्ने मान्छेहरू कत्रा छन् ?’ भन्ने प्रश्नको भने अझैसम्म पनि सम्झना छ । प्रश्न सुनेर हामी अधिकांशले ‘थाहा छैन’ को संकेतमा टाउको हल्लाएथ्यौं । बूढाले रेडियोभित्र बाख्राको बड्कौंलाजत्रा मान्छेहरू बसेका र तिनले नै हामीलाई कुराकानी र गीत सुनाउँछन् भनेर विश्वास गराउने प्रयास गरिरहेका थिए । उनका कुरामा हामीमध्ये धेरैजसो मुख छोपेर हाँसिरहेका थियौं । हाँसोसँगै मेरो दिमागमा भने साँच्चै बाख्राको बड्कौंला जत्रा मान्छेहरूको आकृति घुमिरहेका थिए । मनहरिबाको रेडियो र चित्रमय कुराकानीमा अरूझैँ मेरो पनि बिस्तारै बानी परिसकेको थियो । त्यसैले धेरैजसो साँझ घरका सदस्यको आँखा छल्दै म त्यतै लुसुक्क लस्किएको हुन्थेँ ।

मेरो त्यही रेडियो मोहले नै हुनुपर्छ केही अन्तरालपछि आफ्नै घरमा पनि नयाँ रेडियो भित्रियो तर यो रेडियो मनहरिबाको जत्रो आकारको थिएन । सेन्थेटिक वा छालाको खोलमा रहेको चकलेट रङको हाम्रो घरको रेडियोलाई ‘ट्रान्जिस्टर’ भन्थे । फिलिप्स कम्पनीको थियो कि झैँ लाग्छ । भ‍र्‍याङ छेउको नाम्लो र दाम्लो झुन्डाउने काठको किलामा झुन्डिएको त्यो रेडियो प्राय: बजिरहन्थ्यो । बालकार्यक्रम, समाचार हुँदै रातिसम्म गीत गुन्जन्थ्यो त्यसमा । रेडियोबाट सबैभन्दा पहिले कसको स्वर सुनेँ होला ? अहिले सम्झन सक्दिनँ । तर, कुनै साँझ सुनेको एउटा गीतको अन्तरामा रहेका ‘लसुन पुड्के पोइ’ भन्ने हरफमा म एक्लै खित्खिताएर हाँसेको सम्झना भने अझै पनि छ । त्यो कुनै महिला स्वर थियो । यतिखेर सोच्दा लाग्छ— त्यो हरफ मेलवादेवीले गाएको कुनै गीतको अन्तारामा रहेको हुनुपर्छ ।

दिमागमा पहिल्यै रोपिएको उही बड्क्यौंले मान्छेहरूको काल्पनिक आकृतिबाट ‘लसुन पुड्के पोइ’ पनि प्रभावित भएर होला, मेरो मस्तिष्कमा लसुन आकारको मान्छे फनफनी घुमेथ्यो र म एक्लै मरीमरी हाँसेथेँ । त्यो गीति हरफ त्यस साँझपछि मैले फेरि अर्कोखेप सुनेको भने सम्झना छैन । तर, मेलवादेवीका अरू कति गीतहरू पछिसम्म पनि सुनियो । आक्कलझुक्कल अझै पनि सुन्दै छु । गीतका बीचमा उनले लिने छोटा तानहरू अहिले सुन्दासमेत अद्भुत र प्रभावशाली लाग्छन् । तिनको गायनशैली समकालीन दक्षिण एसियाकै स्तरमा राखेर मूल्यांकन गर्ने हो भने पनि उच्चस्तरको थियो भन्ने लाग्छ ।

मेलवादेवीले गाएको सहिद शुक्रराज शास्त्रीका शब्द ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ र आफ्नै रचनामा गाएको ‘सवारी मेरो रेलैमा’ भित्र प्रयोग भएका छोटा तान सुन्दा जति सरल लाग्छन् त्यत्तिकै गहन पनि लाग्छन् । गीतको तान मात्र होइन शब्द छनोटका हिसाबले पनि शुक्रराज शास्त्रीले लेखेको गीत महिलालाई केन्द्रमा राखेर बुनेको अद्वितीय गीत हो भन्ठान्छु । यी गायिकालाई पहिलो खेप सुन्दा हाँसोले भिजेका मेरा आँखा समयान्तरमा यिनको जीवनगाथा र गीत सुनेर भावुकताले द्रविभूत पनि भएका छन् । राणाकालीन सामन्त दरबारको चहलपहलमा समेत अभ्यस्त मेलवाले पारिवारिक र सत्ताको माखेसङ्लोको चक्रव्यूहबाट गुज्रनुप‍र्‍यो र त्यसबाटै विरक्तिएर देश छोडिन् भन्ने भनाइ छ । उनले आफ्नो त्यो विरक्तिलाई गीत मार्फत नै– ‘बिरानो देशमा लैलै, मै मरी जाउँला बरिलै, रोइदिने कोही छैन, सवारी मेरो रेलैमा’ भनेर अभिव्यक्त गरेकी छन् । हालको कोलकाताको कुनै एकान्त भान्सा कोठामा स्टोभ पड्किएर जिउ जल्दा उनको शरीरको आगो निभाउनका निम्ति वरपर कोही आफन्त उपस्थित थिएनन् भन्ने सन्दर्भलाई सम्झँदै यो गीत सुन्दा मन त्यसैत्यसै अमिलो भएर आउँछ । विरक्तिएर आउँछ ।

रेडियो नेपाल जन्मेको केही वर्षपछि अस्ताएकी मेलवादेवीको स्वर हाम्रो पुस्ताले रेडियो मार्फत सुन्न पायो । प्रविधिको सुरुआती चमत्कारको कालखण्ड थियो त्यो । त्यही कालखण्डमा गाउँकै आँगन र मझेरीमा गुन्जने रेडियोबाटै थप अनेकौं महिला स्वरहरूसँग पनि परिचय भयो । सुरुमा देवीहरूले नै अग्रस्थान लिएका थिए । रानुदेवीको भने नाम मात्र सुनेको हो । रेकर्डेड गीत अहिलेसम्म पनि सुनेको रैनछु । युट्युब मार्फत अन्तरवार्ताका बीचमा उनको बूढ्यौली स्वरले गुनगुनाएको भने सुनेको छु ।

कोइलीदेवी र तारादेवीहरूको नामसँग पनि रेडियोबाटै परिचय भयो । रेडियोमा सुनेका यी गायिकाहरूसँग कुनै दिन भेट होला भन्ने त कल्पनामै थिएन । तर, कल्पना गरेका घटना मात्र जीवनमा हुन्छन् भन्ने पनि छैन रैछ । २०४०–४१ सालतिर होला, रेडियो नेपालको स्टुडियोमा एक जना सानो कद र श्यामल वर्णकी फुर्तिली महिलालाई देखेथेँ । उनी शास्त्रीय संगीतको कार्यक्रमलाई रेकर्डिङ गर्ने प्रबन्ध मिलाउँदै थिइन् । कन्ट्रोल रुममा आफू छेउमै उभिएका कुनै अपरिचित गोरो वर्णको पुरुषलाई मैले सोधेथेँ, ‘सर † उहाँ को हुनुहुन्छ ?’ तिनले– ‘रेडियोबाट यिनका गीत पक्कै सुनेका छौ होला † यिनै हुन् कोइलीदेवी भन्ने गायिका र संगीतकार †’ ती पुरुषबाट कोइलीदेवीको नाम सुन्नासाथ मैले ‘गर्छिन् पुकार आमा’ र ‘आँखा जुध्छन् कहिलेकाहीं, दोष मेरो होइन’ गीतसँगै ‘हे राम हे रघुपते’ लगायत उनका अनेकौं युगल भजनहरू सम्झेथेँ । यिनको स्वर मेलवादेवी जत्तिको शास्त्रीय पनि होइन र पूरै आधुनिक पनि होइन । मध्यम खालको लाग्थ्यो ।

कोइलीदेवीको खिरिलो स्वरसँग चिनियाँहरू पनि प्रभावित थिए भन्ने लाग्छ । कुनै बेला नेपाली भाषामा प्रसारण हुने विदेशी रेडियो स्टेसन पनि निकै सुन्ने बानी थियो । मलाई सम्झना छ, उसबेला रेडियो बेइजिङको नेपाली सेवाले चिनकी कोइलीदेवी भनेर कुनै चिनियाँ गायिकाको गीत बजाउँथ्यो । तिनको स्वर कोइलीदेवीकै जस्तो खिरिलो थियो । तिनले नेपाली गीत पनि गाउँथिन् । कोइलीदेवीकै गीत पनि गाउँथिन् । तिनको चिनियाँ नामचैँ अहिले सम्झना भएन । राणाकालको दरबारिया वातावरणमा हुर्केकी पछिल्ली गायिका कोइलीदेवीलाई पछिल्लो पालि भेट्दा एउटा इतिहासको अन्तिम कालखण्डसँग भेटेको अनुभूति भएथ्यो ।

कोइलीदेवीलाई देख्नुभन्दा निकै पहिलेदेखि नै रेडियोमा आउनेजाने क्रम त सुरु भइसकेको थियो । २०३७ सालतिरै होला म र मेरो बालसखा कुमार खड्का पशुपतिनाथ पूर्वको गोरखनाथ छेउको जंगलमा बसेर दिनभर गीतका शब्द बुन्थ्यौं र ती गीतलाई रेडियोमा लगेर दर्ता गथ्र्यौं । रेडियोमा ‘गीत जाँचकी समिति’ नामको ‘सेन्सर बोर्ड’ थियो । लक्ष्मण लोहनी त्यसको संयोजक थिए । बोर्डबाट पास भएका गीतहरू सूचनापाटीमा टाँसिन्थे । गीतका शीर्षकसहित सूचनापाटीमा आफ्ना नाम देखेर हामी मख्खिन्थ्यौं । त्यहीताका हो रेडियोबाट सुनेका अनेकौं नामहरूलाई प्रत्यक्ष देख्न पाएको । त्यही मेसोमा देखेको हो अर्की मूर्धन्य गायिका तारादेवीलाई । उनका सुरुआतका गीत औधी मन पर्थे । ‘फूलको थुंगा, बहेर गयो’, ‘नौ सय खोला तरेर जाने’, ‘पर्वतकी छोरी हुँ म’ जस्ता अनेकौं गीतहरू रेडियोमा बारम्बार घन्कन्थे । रेडियो नेपाल यिनको नाम उच्चारणबिना अधुरै हुन्थ्यो भन्दा हुन्छ । यिनलाई पत्यक्ष देख्न पाउँदा मन नरमाउने कुरै थिएन । यिनको कार्यकक्षमा छिर्दा मैले चकलेट रङको चिल्लो हार्मोनियम जीवनमै पहिलोखेप देखेको थिएँ । पहेंलो रङको सारीमा तारादेवीको गोरो अनुहार निकै चम्किलो गरी खुलेको थियो । मसँग मित्र चन्दन श्रेष्ठ (जो लामो समयदेखि गायनको प्रशिक्षणमा क्रियाशील छन् ।) पनि थिए । हामी स्वरपरीक्षा निम्ति रेडियो पुगेका थियौं । तारादेवीसँगको दोहोरो वार्ताबाट भने हामी अलि विरक्तिएका थियौं । त्यसबेला मैले तारादेवीमा सुप्रसिद्ध कलाकार मात्र होइन, पञ्चायती संस्कारमा हुर्किएको सामन्त प्रशासनिक व्यक्तित्व पनि भेटेको थिएँ ।

कलाकार पनि सामान्य मान्छे नै त हो रैछ, भन्ने भाव यस्तै घटनाले उत्पन्न गराउने रहेछ । तारादेवी नेपाली गायनको इतिहासकी अद्भुत प्रतिभा हुन् भन्ने कुरामा अहिले पनि दोधार छैन । तर, तिनीसँगको त्यो भेटपछि ममा तिनको गायनप्रति पनि आलोचनात्मक सोच निर्माण भएछ । मलाई उनले गाएका पछिल्लो चरणका गीतभन्दा पहिलो चरणकै गीतहरू बढी प्रभावकारी लाग्छन् । स्वरको माधुर्य पनि पुरानै गीतमा धेरै थियो भन्ने लाग्छ । पछिल्लो चरणको उनको गायन केही खरो र अलि रूखो पनि लाग्छ ।

पलेँटी सुरु भइसकेपछि हुनुपर्छ— बानेश्वरमा रहेको तारादेवीको निवासमा पुगेथेँ म । साथमा नेपथ्यका अमृत गुरुङ पनि थिए । तारादेवीको पछिल्लो स्वास्थ्य अवस्था देखेर हाम्रो मन अति विचलित भएको थियो । त्यसको छोटो अन्तरालमै हो, तारादेवीले संसारबाट बिदा लिइन् । पलेँटी निम्ति दार्जिलिङकी गायिका डेजी बराइलीको अभ्यास चलिरहेको थियो । तारादेवीबारेको समाचार सुनेपछि ‘आर’ शालामा उपस्थित सबै मौन भएथ्यौं र फूलका गुच्छा लिएर बानेश्वरतिर लागेथ्यौं । तारादेवीको आँगनमा प्रवेश गर्दा उनको शरीर अनन्त मौन मुद्रामा पल्टिरहेको थियो । मेरा आँखा शवमाथि फूल चढाइरहेकी गायिका डेजी बराइलीतिर पुगेथे । उनका ओठ वेदनाले लगलग कामिरहेका देखिन्थे । डेजीका काम्दै गरेका ओठ र चन्दन लोमजेलका रसाइरहेका आँखामा दार्जिलिङले तारादेवी मार्फत नेपालतर्फको नेपाली संगीत जगत्लाई गर्ने गरेको प्रेमको झलक पाएको थिएँ मैले ।

सन् १९९४ को अन्त्यतिर होला, म पहिलोखेप दार्जिलिङ पुगेथेँ । सिलगढीबाट प्रकाशित हुने ‘आजभोलि’ दैनिक पत्रिकाको सम्पादन गर्थेँ । साहित्यकार इन्द्रबहादुर राईसँग वार्ता गरेर मन गहकिलो भएको थियो । त्यतिबेला उहाँ लीलालेखनको व्याख्यामा रमाउनुहुन्थ्यो । लीलालेखनबारे आई.बी. सरको व्याख्या मनभरि केलाउँदै दार्जिलिङको उकालो ओरालो फेरो मार्दै थियौं । आई.बी. सरसँग सुवास घिसिङबारे प्रश्न गर्दा बूढाले आफ्नो सामुमा रहेको टेपरेकर्ड बन्द गराएर मात्र आफ्नो धारणा राखेका थिए । मैले त्यसबेला दार्जिलिङको बौद्धिक जगत्लाई डरको कुहिरोले ढाकेको अनुभूत गरेथेँ । साथमा थिए प्रभु कँडेल । सिक्किम स्पाइसी बोर्डमा कार्यरत उनको पृष्ठभूमि पत्रकारिताको रहेछ । म र उनीबीचको सम्बोधनलाई मेरा साथीसंगीको नाताले तानेको थियो । मामा भान्जा बनेका थियौं हामी । काठमाडांैबाट गएको म त्यहाँको भूगोल र समाजसँग बिल्कुलै अनभिज्ञ थिएँ । मामा मलाई सघाउन चाहन्थेँ । त्यसैले दार्जिलिङ घुमाउँदै थिए ।

बजार छेउको कुनै उकालोको मुखमा सामान्य भेषकी महिलासँग हाम्रो जम्काभेट हुन पुग्यो । पछ्यौराले मुख छोपेर उकालो लाग्दै गरेकी सानो कदकी ती महिलालाई प्रभु मामाले अभिवादन गरे–‘दिज्यू, नमस्कार †’ ती महिलाले मन्दस्वरमा अभिवादन फर्काइन् । प्रभु मामाले ती महिलासँग मेरो परिचय गराए, ‘भान्जा † उहाँ हुनुहुन्छ अरुणा दिज्यू † अरुणा लामा †’

मैले हात जोडेर नमस्कार गरेँ । अरुणाको शिरले मात्र नमस्कार फर्कायो । पछ्यौराको फेरले छोपिएका ओठहरूबाट उनका औंलाचाहिँ हटेनन् । तस्बिरमा त उनलाई देखिरहेकै हो तर त्यस दिन मैले अरुणा लामाको सम्पूर्ण अनुहार प्रत्यक्ष देख्न भने पाइनँ । हुन त उनको अनुहारसँगभन्दा स्वरसँगको नाता पुरानो थियो । मैले उनलाई पनि रेडियो नेपाल मार्फत बाल्यकालदेखि नै सुन्दै आएको थिएँ । जतिबेला म उनको गीत सुन्थेँ, उनी दार्जिलिङकी बासिन्दा हुन् भन्नेसमेत पनि थाहा थिएन । उनको स्वरमा रहेको रञ्जक अथवा मूच्र्छनाले सुरुमै आकर्षित गरेथ्यो । संगीतकार शान्ति ठटालले ‘अरुणा लामा नेपाली संगीत जगत्की सर्वश्रेष्ठ गायिका हुन्...’ भनेर सुप्रसिद्ध गायक नारायणगोपालको सम्पादनमा निक्लेको ‘बागिना’ पत्रिकामा उहिल्यै लेखेकी छन् । शान्ति दिदीको त्यो धारणासँग आफू पनि निकट भएको पाउँछु म । साँच्चै अरुणा लामाको स्वरमा अद्भुत आकर्षण थियो । अझै छ । कहिलेकाहीं त उनले गाएका शब्दहरू नबुझे पनि उनलाई सुनिरहिन्छ । एउटा स्वरशिल्पीमा हुनुपर्ने यो श्रेष्ठ गुण नै हो । तर, यति हुँदाहुँदै पनि केही पुराना गीतमा अरुणाको स्वरले उच्चारणको स्पष्टता अझै राम्ररी अँगालेको भए सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने पनि लाग्छ ।
अरुणा लामा र मेरो अर्को भेट मेरा गुरु अम्बर गुरुङको माध्यमबाट हुन जुरेको रहेछ । महाराजगन्ज निकटको धारापाटीमा । त्यहाँ अम्बर गुरुङको गुरुकुल सञ्चालित थियो । त्यहीँ एक साँझ अरुणा लामाले हाम्रो अनुरोधमा ‘फेरि कलि फुलेर’ र ‘सबैले भन्थे’ जस्ता उनका केही उत्कृष्ट गीत सुनाएकी थिइन् । मेरा दौंतरीको सामुमा मैले पनि जानीनजानी भारतीय गायक मुकेशको ‘आँसु भरी है जीवन कि राहें’ गाउने जमर्को गरेको थिएँ । अरुणा दिदीले मेरो गायकी सुनेर दिएको प्रतिक्रिया अझै पनि सम्झनामा छ । म प्राय: ‘कभर नम्बर’ नगाउने स्वभावको । मुकेशको गीत जस्ताको तस्तै गाउनु सम्भव पनि थिएन † त्यसबेला उनले दिएको प्रतिक्रिया भने हार्दिक थियो । उनको– ‘भाइ † गीत गाउँदा त्यसमा गहिरो भावना पनि मिसाउनुपर्छ है †’ भन्ने वाक्यले मलाई गीत गाउने बेला जहिले पनि झक्झक्याउने गर्छ ।

लेखक पिटर जे कार्थकले अरुणा लामाका बारेमा लेखेको एउटा लेख भर्खरै मात्र पढेँ । उनले त्यस लेखमा अरुणाको पिउने बानीबारे छुसुक्क उल्लेख गरेका रहेछन् । हुन त अरुणा लामाको निजी रोजाइको विषय थियो त्यो । तर, पिटर दाइको लेख पढेपछि अरुणा लामाले पहिलो भेटमा आफ्ना ओठबाट पछयौराको फेर नहटाउनुको रहस्य अनुमान गरेँ मैले ।

यी गायिकाले नेपालमै आफ्नो अन्तिम सास फेरिन् । नेपाल प्रज्ञा प्रतिष्ठानको चौरमा उनलाई मन पराउनेहरूको लस्कर थियो । अन्तिम बिदाइ निम्ति भेला भएका सबैका मुहारमा उनले गाएका अधिकांश गीतमा अंकित उदासी नै आएर बसेको हो कि झैँ लाग्थ्यो । केही छिनमै अरुणा लामाको पार्थीव शरीरलाई दार्जिलिङतर्फ लगिँदै थियो । त्यसबेला मेरो मनमा भने उनको प्रसिद्ध गीत ‘सबैले भन्थे’ को अन्तराका हरफहरू गुन्जिरहेका थिए– न घर मेरो न वन मेरो केवल म एक्लो, मुहार मेरो सबैको जस्तो आँसुले म बेग्लो... । अम्बर गुरुङले सायद यही गीत मार्फत अरुणा लामाको जीवनी नै लेखिदिएका थिए । अरुणा साँच्चै सबैभन्दा बेग्लै स्वर र बेग्लै खालको जिन्दगी बाँचेकी आधुनिक गायिका थिइन् । अन्तरमनको पीडालाई मनसम्मै गड्ने गरी गुन्जाउने गायिका थिइन् उनी । छोटै अवधि भए पनि अरुणाजस्ती कोमलकण्ठ र स्वभावकी गायिकासँग भेटघाट/संगत गर्ने अवसर जुरेको थियो भन्न पाउँदा अहिले पनि मनमा सुखानुभूति उब्जन्छ ।

भनिन्छ— संगीत संगत पनि हो । अम्बर गुरुङ, अरुणा लामाजस्ता अनेकौं अग्रजको संगतकै प्रेरणाले नै हो, अहिले पनि आफूभन्दा अघिल्लो पुस्ताका सर्जकहरूसँग निकट रहने इच्छा जागिरहन्छ । गएको गुरु पूर्णिमाताका ‘छिन्नलता सम्मान’ ग्रहण गर्न दार्जिलिङबाट काठमाडांै आएकी थिइन्— संगीतकार शान्ति ठटाल । अगुवा संगीतकर्मीसँग रमाउने हाम्रो एउटा सांगीतिक सर्कल छ । त्यही समूहको प्रतिनिधित्व गर्दै मैले शान्ति दिदीलाई आफ्नै निवासमा केही दिन पाहुना बनेर बसिदिन र हामीसँगै गुरुपूर्णिमा मनाउन आग्रह गर्ने अवसर पाएथेँ । अम्बर गुरुङको अवसानपछि हाम्रो समूहले फेरि एक पटक शान्ति दिदीको सामुन्नेमा जुट्ने अवसर पाएथ्यो । गुरुपूर्णिमाको त्यो साँझ शान्ति ठटालबाट आफ्नो सांगीतिक जीवनको अनुभवसहित ‘सम्हालेर राख’, ‘मेरो दु:खी मन’, ‘उडी जाऊँ भने म पन्छी हैन’ जस्ता अनेकौं मनमोहक रचनाहरू सुन्ने अवसर पाएथ्यो । साथै आफूहरूले पनि आ–आफ्ना भावनामा उनेका रचनाहरू सुनाउने अवसर पाएथ्यौं । मलाई लाग्छ— गुरुपूर्णिमाको त्यो साँझको संगतले उठेका सुखानुभूतिका लहर पनि वर्षौं वर्षसम्म हाम्रा मनहरूमा छल्किरहने छन् । संगीतकार गोपाल योञ्जनले अरुणा लामाका निम्ति धुन भरेको गीतमा रहेको भाव छ नि– ‘कलकल सलसल छलछल चञ्चल निर्मल निश्चल खोली...’ । त्यही सांगीतिक खोलीको भावझैँ छल्किरहनेछन् हाम्रा मनमा, त्यो साँझ गुन्जिएका सुखानुभूतिका सुन्दर र मनमोहक लहर ।
aavaas@gmail.com

प्रकाशित : माघ १२, २०७५ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×