पुँजीवाद भर्सेस योग

स्वास्थ्य
पुँजीवादले मानव समाजलाई दिएको एउटा ठूलो उपहार भोगवादी दर्शन हो, जुन मान्छेको दु:खको मूल कारण हो ।
दीपक भेटवाल

काठमाडौँ — पुँजीवादी चिकित्साको उद्देश्य मान्छेको रोग निर्मूल बनाएर उसलाई निरोगी बनाउनु होइन, बरु मान्छेलाई आजन्म रोगी बनाएर औषधि बेचेर नाफा कमाउनु हो । 


उतिबेलाको लक्का जवान उमेरताका मनमा हवार्हवार्ती क्रान्तिको राँँको बलेको हुन्थ्यो । लाग्थ्यो— बूढो पुँजीवादको आयु सकिनै लाग्यो, ढिलोचाँडो यो गर्लम्म ढलिहाल्छ । बूढो पुँजीवादको चिहानमा जग हालेर निर्माण हुने समाजवादी व्यवस्थामा मान्छेका दु:ख सबै नास भइहाल्छन् ।

झन्डै आधा जीवन काटेपछि पो बल्ल चेत खुल्यो । बूढो पुँजीवाद त झन् जवान–जवान हुँदै गएको छ । यसो मुन्टो उठाएर हेर्छु— मान्छेका दु:खका पहाडहरू झन्झन् अग्लिँदा छन् । बूढो पुँजीवाद त हेर्दाहेर्दै ‘काँठे पुँजीवाद’ को नयाँ अवतार झन्झन् क्रूर मुद्रामा विश्व विचरण गरिरहेको छ । डिजिटल प्रवधिका तरंगमार्फत संसारभरि नै हरेक घरको ढोकाढोका र कोठाकोठामा आफ्नो धन्दा फैलाउँदो छ ।

पुँजीवादी दर्शन भोगवादी दर्शन हो । यसले मान्छेलाई ‘एकबारको जुनीमा सक्दो भोग गर’ भन्ने आदर्श सिकाउँछ । किनकि नाफा पँुजीवादको ठूलो भगवान् हो । आम मनुवाले जति भोग गर्‍यो, संसार कब्जा गरेर बसेका कर्पोरेट मालिकको नाफा उति धेरै चुलिँदै जान्छ । लाटो हिसाबले हेर्दा पुँजीवादी कर्पोरेट आदर्श ठग टाइपको लाग्छ । यसले किसानसँग चुत्थो दाममा गहुँ खरिद गर्छ अनि, त्यसमा चिनी मिसाएर हर्लिक्स नामको पिठोलाई उत्पात भाउमा बिक्री गर्छ । तिर्खा लाग्दा पानी होइन, कोकाकोलाको झोल पिउन उक्साउँछ । मान्छेले खाने–लाउने हरेक वस्तुमा ‘ब्रान्ड’ नामको आतंककारी लोगो सिर्जना गरेर मान्छेलाई लुट्नसम्म लुट्छ ।

पुँजीवादले मान्छेलाई आफ्नो सग्लो स्वरूपमा बाँच्नै दिँदैन । यसले विभिन्न दाउपेच लगाएर मान्छेभित्र भएको भावना, चेतना सबै थुत्छ र मान्छेलाई यन्त्र–मानवजस्तो बनाइदिन्छ । यसले डिजिटल पर्दामा आफ्नो उत्पादनको जादुमयी विज्ञापन देखाउँछ, मान्छेको मन–मस्तिष्कलाई झ्याप्प आफ्नो वशमा पार्छ । मान्छेको चित्तमा भोगवादी विकार पैदा गराउँछ । अनि आफूले जे खाऊ भन्यो त्यही खाने, जे लाउ भन्यो त्यही लाउने र जे सोच भन्यो त्यही सोच्ने यान्त्रिक मानव तयार गर्छ । संसारभरिका यान्त्रिक मानवहरू आफ्नो आवश्यकताका लागि कम भोग गर्छन्, कर्पोरेट मालिकको नाफाको चुलीलाई अग्ल्याउन बढी भोग गर्छन् । तब त पुँजीवादमा मान्छेको प्राकृतिक आवश्यकताको वस्तु कम उत्पादन हुन्छ, नाफा प्रेरित वस्तु बढी उत्पादन हुन्छ ।

मान्छेको चित्तमा जति भोगवादी दर्शन छिप्पिँदै जान्छ, मान्छेको असीमित दु:खको मुहान त्यहींबाट सुरु हुन्छ । भोगवादी चिन्तनले मान्छेलाई भोगको प्रतिस्पर्धामा धकेल्छ । भोगको दौडमा एकले अर्कोलाई उछिन्ने कर्ममा दु:खी मनुवा कुदिरहन्छ । पुँजीवादले मानव समाजलाई दिएको एउटा ठूलो उपहार भोगवादी दर्शन हो, जुन मान्छेको दु:खको मूल कारण हो ।

झट्ट हेर्दा पुँजीवादी कारखानामा वस्तु मात्रै उत्पादन भइरहेजस्तो देखिन्छ । पुँजीवादले वस्तुको व्यापार गरेर मात्र नाफा असुलेजस्तो लाग्छ । तर, चेतनाको क्षितिज अलि उघारेर हेर्दा पुँजीवादी कारखानाबाट हरेक क्षण असीमित परिमाणमा निराशा र कुण्ठा पनि उत्पादन भइरहेको देखिन्छ । उसो त यो कारखानाबाट उत्तिकै मात्रामा भय र तनाव पनि निरन्तर उत्पादन भइरहेको हुन्छ । भोगवादी दर्शनले मान्छेलाई शारीरिक रूपमा रोगी बनाउँछ । अनि चिन्ता, तनाव, भय र कुण्ठाले मानसिक रोग बनाउँछ । मनोविज्ञान शास्त्र भन्छ— मान्छेको सम्पूर्ण रोग र दु:खको कारण भय र तनाव हो । यसरी उमेर ढल्कँदै गएपछि मान्छेको शरीर रोगको स्थायी घरमा परिणत हुन्छ । फेरि रोगी शरीरमाथि व्यापार गर्न झोलामा औषधिको पोको बोकेर दाँत ङिच्याउँदै पुँजीवाद ट्याक्क हाजिर हुन्छ ।
***

पुँजीवादी चिकित्साशास्त्रको उद्देश्य मान्छेको रोग निर्मूल बनाएर उसलाई निरोगी बनाउनु होइन, उसको उद्देश्य त मान्छेलाई आजन्म रोगी बनाएर औषधि बेचेर नाफा आर्जन गरिरहनु हो । नाफा नै पुँजीवादको एक मात्र धर्म हो । पुँजीवादकै देन मान्नुपर्छ, आज संसारमा हरेक चालीस सेकेन्डमा एउटा मान्छेले आत्महत्या गरिरहेको हुन्छ । संसारका झन्डै एक चौथाई मान्छे उच्च रक्तचापको सिकार भएरै बाँचेका छन् ।

विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ—बर्सेनि संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु मुटु रोगको कारणले हुन्छ । पुँजीवादी चिकित्साशास्त्र भन्छ— नब्बे प्रतिशत उच्च रक्तचापको कारण अज्ञेय छ ।

विज्ञान र प्रविधिको विकासले शिखर टेकिसक्दा पनि पुँजीवादी चिकित्साशास्त्रले ब्लडप्रेसर, सुगर, दम, मधुमेहजस्ता दीर्घरोगको उपचार विधि पत्ता लगाउन सकेको छैन । यस्ता दीर्घरोगीलाई जीवनभर औषधि बेचेर आफ्नो नाफा धर्म चलाइरहेको छ ।

हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं, पुँजीवादी दुनियाँको अन्धकारभित्र एउटा झिनो उज्यालो गोचर हुन्छ । त्यो योग विद्याको उज्यालो हो । तब त विश्व प्रसिद्ध अमेरिकी डाक्टर डिन ओर्निस मुटु रोग, उच्च रक्तचापजस्ता कतिपय दीर्घरोगको समाधान योगशास्त्रमा छ भनेर संसारभर भन्दै हिँडेका छन् ।

योगशास्त्र गरुड पुराण जस्तो कुनै धूर्त पण्डितले लेखेको हावादारी गफ होइन । न त यो कुनै धर्म विशेषको पेवा नै हो । योग अभ्यासका लागि जनै, कन्दनी लगाउने, टुप्पी पाल्ने वा गेरु वस्त्र धारण गर्नु पनि आवश्यक हुँदैन । योगशास्त्र मानव समाजको हजारौं वर्षको यात्रामा ज्ञानीहरूलेआफ्नो अनुभव, ज्ञान र अनुसन्धानबाट तयार गरेका वैज्ञानिक शास्त्र हो । यो आरोग्यको पथ पनि हो ।

उसो त योगको सीमा रोगहरूको उपचारमा मात्र सीमित छैन । यसको महत्त्वको आयाम व्यक्ति, समाज, विज्ञान, शिक्षाजस्ता बहुआयामिक क्षेत्रमा फैलिएको छ । रोगको निदान विराट योगको सामान्य अंश मात्र हो । योगको महत्त्वलाई आत्मसात् गरेरै संयुक्त राष्टसंघले संसारभरि विश्व योग दिवस मनाउने चलन सुरु गरेको छ । भारतले योग विद्यालाई समाजमा फैलाउनकै लागि नयाँ मन्त्रालयको रूपमा आयुष मन्त्रालयको स्थापना गरेको छ । धेरैलाई थाहा नहुन सक्छ— नेपालमा पनि झन्डै चालीस वर्षदेखि माघ १ गतेलाई राष्टिय योग दिवसको रूपमा मनाइँदै आएको छ ।
पुँजीवादी औषधिशास्त्रले रोगको निदानको खोजी स्थूल शरीरको तहमा मात्र गर्छ । योगशास्त्रले रोगको उपचारको निदानको खोजी शरीरको तहमा मात्र होइन, प्राण, मन र विचारको तहमा पनि गर्छ । अझ मनको तहमा गरिने उपचारलाई प्रमुख मान्छ । योगमा गरिने आसनले शरीरको तहमा रोगको निदान गर्ने प्रयास गर्छ । प्राणायामले मन वा विचारको तहमा रोगको निदानको प्रयास गर्छ । योगशास्त्र भन्छ— श्वास परिवर्तन हुँदा विचार परिवर्तन हुन्छ, विचार परिवर्तन हुँदा श्वास परिवर्तन हुन्छ । बुद्दले प्रतिपादन गरेको विपश्यना ध्यानको सार पनि यही हो ।

योगी खप्तडबाबाले आफ्नो विचार विज्ञान पुस्तकमा लेखेका छन्— मान्छेको मनमा जस्तो विचार खेल्छ, उसको जीवन सोही विचारद्वारा निर्देशित हुन्छ । मान्छेको रोग, भोक र शोकको कारण सामाजिक परिस्थिति मात्र होइन, मान्छेको मनमा खेलिरहने विचार पनि हो । योगले मान्छेलाई विचारको व्यवस्थापन गर्न सिकाउँछ । अझ सुगर, प्रेसर, युरिक एसिड जीवनभर औषधि खानुपर्ने दीर्घरोगको स्रोत नै निराशा, भय, तनाव कुण्ठाजस्ता मनमा खेलिरहने कुविचार हो ।
जुन रोगको उपचार आजसम्म पुँजीवादी चिकित्साशास्त्रले गर्न सकेको छैन, त्यस्ता कैयन रोगको उपचार योगमार्गबाट सम्भव छ । तर, यसको प्रयोग र अभ्यासमा निकै सजगता अपनाउनु पनि उत्तिकै महत्त्व छ । आसन र प्राणायामको अभ्यास योगशास्त्रको उचित ज्ञान भएका गुरुसँग गरेमा मात्रै यसले पूर्ण फल दिन्छ । योगविद्याको भित्री मर्म नबुझेका, बोक्रा मात्र बुझेका लहडीसँग योग अभ्यास सिक्दा यसले उचित फल नदिन सक्छ । जथाभावी चौरमा उफ्रेर गरिने योगले लाभभन्दा हानि बढी हुन सक्छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

खोइ, खुला चउर ?

सरोकार
दीपक भेटवाल

काठमाडौँ — हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन्— सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफखोरहरू छन । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ ।

आज नेपाल बन्दको दिन । हिजो साँझ नानीहरूको स्कुलले पठाएको म्यासेजले मोबाइल ट्वाङ्ङ बज्यो । म्यासेज पढे, टार्न नसकिने अवस्थाको कारणले भोलि स्कुल बन्द रहनेछ । नानीहरू भोलि घरमै कैद हुने भए । स्कुल बिदा भएको दिन केटाकेटीहरू बाहिर घुम्न जान पाएनन् भने घरेलु कैदमा थुनिनुपरेजस्तो गर्छन् । मेरा दुई छोराछोरी पाँच र सात वर्षका भए । विदेशमा जन्मेर उतै हुर्केका नानीहरू नेपालीपनमा भर्खर घुलमिल हुँदै छन् । मनभरि जिज्ञासा र कौतूहल छचल्किने यो उमेरका कलिला नानीहरू घरबाहिरको संसारमा चुलबुलिन हुरुक्क हुन्छन । तर, पछौटेपनले गाँजेको हाम्रो समाजको विकासे योजनामा कलिला बालबालिकाहरू फुक्काफाल भएर खेल्ने खुला ठाउँको नक्सा कतै देखिँदैन ।


बिदाको पटयारलाग्दो दिन काट्न दिक्क लागेपछि दिदी–भाइ मिलेर मलाई प्रस्ताव राखे— लेट्स गो टु पार्क, डयाड । मेरो डेरा खुमलटार हाइटमा छ । घरको सामुन्ने अगाडि प्रिमियर स्कुल छ । प्रिमियर स्कुलको ठीक पछाडि एउटा खुला चउर छ । त्यसैलाई उनीहरू पार्क भन्छन् ।


केटाकेटीको पछि लागेर पार्क गइयो । हिलाम्मे खुला चउरमा गाई–बाख्रा चरिरहेका थिए । काठको लाठो बोकेर केही जवानहरू क्रिकेट खेल्दै थिए । ससाना नानीहरू फुक्काफाल घुम्दै थिए । यसअघि जाँदा चौरको वरिपरि बार लगाउन ठडिएका कंक्रिटको पिल्लरहरू आज भुइँमा सुतिरहेक देखिए । एउटा अनलाइन पत्रिका पढेर थाहा पाएको थिएँ— यो चउर सरकारले भाडामा दिइसकेको छ । सरकारको यो निर्णयविरुद्ध जागरुक स्थानीयहरू एकमत भएर उभिएका छन् । सायद स्थानीय अभियन्ताको आक्रोशको निसानामा परेर हो कि ? ढाड भाँचिएको कंक्रिटका पिल्लरहरू घाममा सुतिरहेका थिए ।


हिजो बेलुका मात्र दर्केको झरीले छपक्कै भिजेको चउर, आजको निम्छरो घाममा ओभाइसकेको थिएन । बल खेल्ने भनेर हातमा भकुन्डो बोकेर गएका दिदी–भाइले चिसो चउरमा बल खेल्न पाएनन् । बसिबियाँलो गर्न मैले यिनीहरूलाई चरिरहेका एक हूल बाख्रातिर डोर्‍याएँ । बाख्रा हेर्न खटिएको अधबैंसे गोठालो हातमा आफूभन्दा अग्लो लौरो टेकेर उभिइरहेको थियो । बाख्रा अगाडि जान दुवै जना अलि डराएजस्तो गरे । उनीहरूले विद्यालयको पुस्तकमा पढेको भाका समात्दै मैले बाख्रा ‘डोमेस्टिक एनिमल’ हो, यसले मान्छेलाई हानि गर्दैन भनेर सम्झाएँ । दुवैले अलि सहज माने । छोरीले एउटा खसीको थुतुनोमा भकुन्डो लगेर जोड्न थाली । यसो सुँघेजस्तो गरेर खसीले मुन्टो बटार्‍यो । बगरेको पसलमा पुग्न ठिक्क परेजस्तो अर्को एउटा बूढो खसीलाई मैले हात दिएँ । बूढो खसीले हात चाटुँलाजस्तो गरेर सुँघ्न थाल्यो । मैले टाउको मुसारें । ऊ सन्चो मानेर उभियो । नानीहरू मेरा नजिक आए । हल्का धक मान्दै कलिला हातहरूले खसीको ढाडको रौं मुसारे । दुवै दंग परे । खसीसँग जिस्किँदै मेरो पछाडि लुक्न आए । घरी फुत्त खसीको ढाड मुसार्दै र घरी मेरो पछाडि आएर लुक्दै गर्न थाले । खसी मलाई चिनेजस्तो गरेर आनन्द मान्दै मेरो अगाडि उभिएको छ । म उसको टाउको मुसार्दै छु । दुई चिचिला बूढो खसीसँग लुकामारी खेल्दै छन् ।


जिब्रोले मेरो हात चाट्दै बूढो खसीले मबाट केही खान्कीको अपेक्षा गर्न थाल्यो । अलिकति घाँसको मुन्टो चिमोटेर मुखमा हालिदिए । अल्छी बूढो दंग पर्दै घाँस उग्राउन थाल्यो । दुई चिचिलाले पनि मेरो सिको गर्दै सकीनसकी घाँस चुँडेर ल्याए । परैबाटै हात तन्काएर खसीको मुखमा हाल्न थाले । कलिला नानीहरूले खुवाएको घाँस बूढो खसीले स्वाद मानेर खान थाल्यो । चिचिलाहरू पुलकित भए । चउरमा चरिरहेका चौपायासँग डर र धक हट्दै जान थाल्यो । बूढो खसीसँग सहज हुँदै जान थाले । यिनीहरूले बाख्राहरूका सिङ गने । कान गने, खुट्टा गने । कुनको सिङ ठूलो छ, कुनको सानो दाँजे ।


उतापट्टि दुई खसी सिङ जुधाएर कुस्ती खेल्न थाले । दुई लडाकुहरू एकआपसमा सिङ ठोक्नुअघि अगाडिको दुई खुट्टा माथिसम्म उठाउँथे । अनि खुट्टा भुइँतिर झार्दै एकअर्काको सिङ ठोक्थे । ठ्वाक्क ! यो दृश्य हेरिरहेको दुई चिचिलाको चञ्चल मन झन् तरंगित भयो । पर बसेर यी दुईले निकै स्वाद मानीमानी खसी जुधाइ हेरे । ठूलो स्वरमा चिच्याई–चिच्याई ‘अगेन–अगेन’ भनेर लडाकु खसीलाई जुध्न उत्प्रेरित गर्न थाले । अघिसम्म भयभीत चिचिलाहरूले बाख्राको हूललाई खेद्न थाले । पुस्तकमा पढेका यी ‘डोमेस्टिक एनिमल’ सँग नानीहरू झ्याम्मिन थाले ।


नेहरूले छोरीलाई लेखेको पत्रमा भनेका थिए— ब्रह्माण्ड खुला पाठशाला हो । दुई चिचिलाहरूले हिलाम्मे घाँसे चउरमा मनोरञ्जन मात्र लिएनन्, खुला पाठशालामा टेकेर मसिना ज्ञान पनि बटुल्न पाए । कक्षाकोठामा कैयांै दिन लगाएर घोक्नुपर्ने घरेलु चौपायासँग खेल्दै, लखेट्दै, आनन्द लिँदै सिकिरहेका थिए । घरेलु चौपायाको खान्की, व्यवहार सिकिरहेका थिए । घरेलु चौपायासँग मित्रवत् व्यवहार गर्ने संस्कार सिक्दै थिए ।


तर, यो खुला पाठशाला सरकारले भाडामा दिने निर्णय गरिसकेको छ ।


खुला ठाउँमा उभिएर सास फेर्न मात्र होइन, सार्वजनिक जीवनका मसिना बान्कीहरू नियाल्दै आनन्दित हुन पनि हामीलाई खुला पार्क चाहिन्छ । खुला ठाउँमा उभिएर एकअर्काको जीवन, अस्तित्व, हाउभाउ नियाल्दै हिँड्दा जीवन अझ जीवन्त लाग्छ । त्यसैले सार्वजनिक पार्क मलाई निकै सजीव लाग्छ । गतिशील लाग्छ । जीवनजस्तै लाग्छ ।


सार्वजनिक पार्क मान्छेको जीवनको अभिन्न अंग हो । तर, हाम्रोजस्तो पछौटे समाजको विकासको नक्सामा सार्वजनिक पार्कको रेखांकन खासै देखिँदैन । स्कुले नानीहरू खल्याङ्ग खुट्टी गर्दै उफ्रिन अथवा खुला ठाउँमा बसेर गफिन, प्रौढ बा–आमाहरूलाई लौरो टेकेर घाम ताप्न, वयस्कहरू कुइना जोडेर धित मरुन्जेल गफिनलाई सार्वजनिक पार्क चाहिन्छ । पार्कमा बसेर कडा रंग हालेको चिया पिउँदै गफिनु, भुटेको बदाम छोडाउँदै सम्झना साटासाट गर्नु, सुन्तलाको केस्रा छोडाउँदै पहारीलो घाम ताप्नु ! आहा, सार्वजनिक पार्क हाम्रो मनोविज्ञानको ग्रन्थिसँग कति धेरै निकट छ । तर, आज यो खुला चउर ओहो ! कति टाढा भइसकेको छ ।


तर, गज्जबको पार्क बनाउन मिल्ने घर अगाडिको खुला चउर गणतन्त्र नेपालको दुईतिहाइ सरकारले निसानी छाप ठोकेर भाडामा दिइसकेको छ । खुला चउरमा पिलर गाड्ने कार्य सुरु भइसकेको छ । सरकार विकास गर्न मरिमेटेर लागेको छ । यस्तो विकास जहाँ जनताको भावना जोडिएको छैन, जनताको जीवन जोडिएको छैन ।


हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन् । सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफाखोरहरू छन् । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ । यी दुई बलियाहरूले निल्न लागेको खुला चउर जोगाउन स्थानीय नागरिकहरू कस्सिएका छन् । जागरुक स्थानीयहरू सिंहदरबार धाएका छन् । यो खुला चउर हाम्रो सास फेर्ने ठाउँ हो भाडामा नदिऊ भनेर हात जोडेका छन् । भर्खरै जीवनको लय सिक्न थालेका मेरा नानीहरू भोलिदेखि खुला चउर खोज्दै कहाँ जालान् ? क्याट स्टेभेन्सको गीत जस्तै :
‘मलाई थाहा छ,
हामी निकै लामो बाटो नाघेर आएका छौं
हामी दिनानुदिन बदलिंदै छौं
तर मलाई भन,
केटाकेटीहरू खेल्ने ठाउँ कहाँ छ ?’

twetter: @deepakbhetwal

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्