दाँत तथा मुख स्वास्थ्यमा नेपालको अवस्था- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्व मुख स्वास्थ्य दिवस

दाँत तथा मुख स्वास्थ्यमा नेपालको अवस्था

डा.अमृतराज जैशी

काठमाडौँ — भनिन्छ सच्चा मुस्कान मानिसको हृदयमा आउँछ तर स्वस्थ मुस्कानका लागि भने दाँत तथा मुख स्वास्थ्यको उपयुक्त हेरचाह र उपचार आवश्यक पर्छ । मुख तथा दाँत स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ ।

धेरै दीर्घ रोगहरूको सुरुवाती लक्षण मुखमा सामान्य परिवर्तन आएर देखिन्छ भने अर्कोतर्फ मुख स्वस्थ राख्न सकिएन भने त्यसकै कारणले अन्य धेरै रोगहरूको सिकार बन्नुपर्ने अवस्था पनि आउँछ । त्यसकारण शारीरिक रुपमा स्वास्थ रहनलाई मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

विश्व दन्त महासंघको अगुवाइमा सबैले न्युनतम मुख स्वास्थ्य प्राप्त गर्ने मुख्य लक्ष्यका साथ हरेक वर्ष मार्च २० गतेका दिन विश्व मुख स्वास्थ्य दिवस विश्वभरी नै विविध कार्यक्रम गरेर मनाइन्छ । सन २००२१-२००२३ सम्मको विश्व मुख स्वास्थ्य दिवशको नारा "आफ्नो मुख स्वास्थ्यमा गर्व गरौं" राखिएको छ । मुख स्वास्थ्य बहुआयामिक हुने र यसमा दुखाइ, पीडा र असुविधा नहुनु मात्र नभई आत्मविश्वासका साथ मुख सम्बन्धि कुनै पनि रोग बिना अनुहारको अभिव्यक्ति मार्फत बोल्ने, मुस्कान, गन्ध, स्वाद, स्पर्श, चपाउने, निल्ने र भावनाहरू व्यक्त गर्ने क्षमता समावेश हुन सक्नुलाई विश्व दन्त महासंघले स्वास्थ मुखको रुपमा परिभाषित गरिएको छ ।

मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूको सजिलै रोकथाम गर्न सकिने भएतापनि विश्वभर नै धेरै मानिसहरु मुख तथा दाँत सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको धेरै अध्ययनहरुले देखाएको छ । विकसित देशहरुमा मुख्यतः खानपिनको कारणबाट धेरै मुख तथा दाँत सम्बन्धी रोगहरु लागेको पाइन्छ भने विकाशिल देशहरुमा भने जनचेतनाको र स्वास्थमा पहुँचको कमि कै कारण पनि धेरै मानिसहरूमा मुख सम्बन्धी समस्या देखिने गरेका छ्न् । विभिन्न देशमा भएका फरक फरक अध्ययनले शिक्षा, आर्थिक अवस्था र सामाजिक अवस्थाको मुख स्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको कुरा देखाएको छ ।

हाम्रो जस्तो देशमा मुख तथा दाँत सम्बन्धी धेरै समस्याहरुको मुख्य कारकतत्व मध्येको जनचेतनाको कमि, आर्थिक, सामजिक अवस्था अनि सरकार र सरोकारवाला निकायहरूले मुख स्वास्थ्यलाई उपेक्षामा पार्नु नै हो । यसको उदाहरणको निम्ति नेपालमा पनि सन् १९९७ सम्ममा धेरै कम मानिसहरूले फ्लोराइडयुक्त दन्त मन्जनले दाँत माझ्ने गरेको भएपनी त्यसपश्चात दन्तमन्जनमा भएको फ्लोराइड तत्वले दाँतमा सडन हुनबाट रोकथाम गर्छ भन्ने कुराको जनचेतना जनस्तरमा पुगेपश्चात् हाल ९०% को हाराहारीले फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

विश्वभरि नै अहिले स्वास्थ्य क्षेत्रमा उपचारात्मक सँगै रोगहरुबाट बच्न रोकथामतर्फ पनि उत्तिकै ध्यान केन्द्रित हुँदै आइरहेको छ । दाँत तथा मुख सम्बन्धी धेरै समस्यामा सहनै नसकिने गरी दुखाइ हुने हुँदा अन्य दुखाइभन्दा दाँतको दुखाइ अलि पृथक र सहन अलि कठिन पनि हुन्छ । तर दाँत तथा मुखमा दुखाइ हुनु मात्र अस्वस्थ हुनु होइन । सामान्य मानिसले मानिस खुसी छ, हाँसेको छ, प्रसन्न छ र दुखाइ छैन भन्ने कुरालाइ एउटा कोणबाट मात्रै हेर्छन् । तर, दाँत नदुखे पनि दाँत बाङ्गोटिङो हुनु, दाँत नहुनु, बोली राम्रोसँग नआउनु, ओठ तथा तालुमा चिरा पार्नु, दाँतमा दाग हुनु, स्वास गनाउनु लगायत अन्य थुप्रै दाँत सम्बन्धी समस्या छन् भने ऊ खुलेर हाँस्न पनि नसक्ने र सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा समेत आत्मविश्वासको कमि हुने कुरा धेरै अध्ययनले देखाएको छ । त्यसैले दाँत र मुखमा दुखाइ हुने मात्र समस्या नभई दाँत सम्बन्धी अन्य समस्याले पनि मानिसको जीवनशैलिलाई धेरै हदसम्म असर गरेको हुन्छ ।

विश्वभर नै अहिले मुख र दाँत सम्बन्धीको रोगको बढ्दो चापले यसको उपचार र रोकथामका निम्ति प्रत्येक तहमा छुट्टाछुट्टै कार्यको माग गर्दछ । हरेक व्यक्तिले आफू स्वास्थ रहन, आफ्नो परिवारलाई स्वास्थ राख्न र समूदायस्तरमा सबैलाई स्वास्थ जीवनशैली प्रदान गर्न व्यक्तिगत, सामूदायिक र परिवारस्तरमा लक्षित विविध कार्यक्रम आवश्यक छ्न् ।

दाँत तथा मुख स्वास्थ्यमा हाम्रो अवस्था

समग्र स्वास्थ्य अवस्थामा हाम्रो देशको स्वास्थ्य अवस्था अन्य देशको तुलनामा अझै पछाडि नै छ । पछिल्लो समय प्राइभेट अस्पतालहरुको स्थापना पश्चात् धेरै सेवा सुविधामा त जनताहरुको पहुँच भयो तर सबै जसो अस्पताल शहर केन्द्रीत छन् । त्यसमा पनि मुख स्वास्थ्य त अझै गाउँघर तिर पुग्नै बाँकी छ ।

नेपालको सन्दर्भमा स्वास्थ्य बिमा पश्चात् न्यूनतम स्वास्थको पहुँचबाट वन्चित धेरैजनाले अहिले सेवा सुविधा लिइरहेको छन् । तर स्वास्थ बिमा पश्चात् पनि दाँत तथा मुख स्वास्थ्यमा भने कुनै परिवर्तन हुन सकेको छैन । हाल हाम्रो स्वास्थ्य बिमाले दाँत निकाल्ने, सामन्य दन्त सडन भएको दाँत भर्ने र दाँतको एक्सरे बाहेक अन्य उपचारलाई समेट्न सकेको छैन । दाँत सम्बन्धी दुखाइ भए पश्चात् मुख्य गरी हुने उपचार आरसीटी अथवा जरैदेखि दाँत भर्ने र यस्तै बच्चाहरुको हकमा पल्पेक्टोमी उपचार बिमा मार्फत नै हुने ब्यवस्था नहुँदासम्म धेरै नेपालीहरु बचाउन सकिने दाँतलाई बचाउनभन्दा पनि आर्थिक लगायत कारणले निकाल्न नै विवश छन् ।

सरकारले पटकपटक मुख तथा दाँत सम्बन्धी स्वास्थ्यलाई आफ्नो विशेष प्राथमिकतामा राख्ने भनेर घोषणा गरिरहँदा पनि स्वास्थ्य क्षेत्रको मुख्य प्राथमिकताबाट भने सधै वञ्चित रहँदै आएको छ । दुखत कुरा नेपाल सरकारसँग मुख स्वास्थ्य सम्बन्धी न त यकिन तथ्यांक नै छ न त सरकरीस्तरबाट कुनै ठोस अध्ययन अनुसन्धान नै भइरहेका छन् । यसका बाबजुद प्रत्येक वर्ष करिब सात सयको हाराहारीमा नयाँ दन्त चिकित्सकहरु उत्पादन हुन्छन् । त्यसैगरी प्रत्येक वर्ष ४० जना विशेषज्ञ दन्त चिकित्सकहरु उत्पादन हुन्छन् । तर उक्त जनशक्तिको व्यवस्थापनतर्फ भने सरकारले कुनै ठोस् कदम चाल्न सकेको छैन । हाल सरकारीस्तरमा संचालित प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रिय अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकको भरमा अस्पताल चलिरहेका छन् । त्यहाँ न त नयाँ दरबन्दी नै सृजना गर्न सकेको छ न त वैज्ञानिक ढङ्गले उक्त जनशक्तिको ब्यवस्थापन नै ।

नेपाल सरकारले स्वास्थ्य मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर घोषणा गरेको थियो । तर आज २०७८ सालसम्म पनि न त अस्पताल स्थापना गर्ने कुरा नै अघि बढेको छ, न दरबन्दी सृजना गर्ने कुरा नै । एकातर्फ दाँत तथा मुख सम्बन्धी उपचार सबैको पहुँचमा छैन भने अर्कोतर्फ भएको उपचार पनि दक्ष जनशक्तिले गरेको छ कि छैन भनेर सही रुपमा अनुगमन र निरिक्षण भएको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार दन्त चिकित्सक-जनसङ्ख्या अनुपात १:७,५०० हुनुपर्छ । नेपालमा अहिले नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको सङ्ख्या ४०८१ रहेको छ भने विशेषज्ञ चिकित्सकको संख्या ६५९ छ । जनसंख्याको अनुपातसँग हेर्दा करिब विश्व स्वास्थ्य संगठनले भनेको अनुपातमा नै दन्त चिकित्सक उत्पादन भइसकेका छन् । तर वास्तविकता यो हो कि नेपालमा धेरै दन्त चिकित्सकहरु शहरी क्षेत्रमा छन् । अहिले पनि कति पहाडी जिल्लामा एक जिल्ला एक दन्त चिकित्सक पनि उपलब्ध छैनन् ।

त्यसैले हाम्रो अहिलेको अवश्यकता सरकारले तत्काल सरकारी अस्पतामा चिकित्सकको दरबन्दी सृजना गर्ने र बिमाको सेवामा दाँत सम्बन्धी इमर्जन्सी मानिने आरसीटी र पल्पेक्टोमी उपचारलाई समावेश गाराउने नै हो । यससँगै हाल प्राइभेट रुपमा संचालित क्लिनिकहरुको सही रुपमा अनुगमन र पटक पटक निरीक्षण गर्न सके मुख स्वास्थ्य उपचारमा भइरहेको कुट चिकित्सालाई नियन्त्रण गरी जनताहरुले गुणस्तरीय सेवा पाउने आधार तय हुनसक्छ।


प्रकाशित : चैत्र ६, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

मुसहर बालबालिका जन्मदर्ताबाट वञ्चित

अभिभावकको नागरिकता नहुँदा जन्मदर्ता नबनेपछि पोषणभत्ता पाउन सकेका छैनन्
शिव पुरी

रौतहट — चन्द्रपुर–९ डुमरियास्थित मुसहर बस्तीकी २४ वर्षीया कविता माझीका चार छोरीको जन्मदर्ता छैन । वडाले आमाको नागरिकता मागेपछि छोरीको जन्मदर्ता हुन नसकेको हो । कविताको पनि नागरिकता छैन । छोरा/छोरीको जन्मदर्ता बनाउन बुबाआमाको नागरिकता पेस गर्नुपर्छ । जन्मदर्ता नभएपछि छोरीहरूले स्थानीय तहबाट दिइने पोषण भत्ता पाएनन् ।

सरकारले गरिबीको सूचकांकमा अति पछाडि परेका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्दै आएको छ । वडाले जन्मदर्ता नै नबनाएपछि भत्ताबाट वञ्चित भएको कविताले गुनासो पोखिन् । ‘मेरो नागरिकता बनेकै छैन । बुबाआमाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा वडा कार्यालयले नागरिकतामै अड्चन देखाएपछि चारै छोरीको जन्मदर्ता बनेन,’ उनले भनिन्, ‘अब कसलाई गुहार्न जाऊँ । हाम्रो कुनै पहुँच छैन । यही कारण भत्ता पनि पाइएन ।’ जन्मदर्ता नभएपछि उनले आफ्ना छोरीहरूलाई स्कुल भर्नासमेत गर्न पाएकी छैनन् । मुसहर बस्तीनजिकको डुमरिया माविमा भर्ना गर्न जाँदा जन्मदर्ता मागेपछि पढाउन नपाएको उनले बताइन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले २०७४ सालमै स्थानीय तहमार्फत रौतहट, अछाम र बझाङका सबै समुदायका बालबालिकालाई मासिक चार सय रुपैयाँका दरले भत्ता वितरण गर्ने निर्णय गरेको थियो । ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरिएको कार्यक्रमअन्तर्गत बालबालिकाले त्यही वर्षको माघदेखि भत्ता पाउँदै आएका हुन् । मुसहर बस्तीका अधिकांश बालबालिकाको जन्मदर्ता नभएको स्थानीय मनोज मुसहरले बताए । ‘झन्डै ५० को हाराहारीमा ५ वर्षमुनिका बालबालिकाहरू छन् । तिनीहरू कसैको पनि जन्मदर्ता बनेको छैन, ‘उनले भने, ‘जन्मदर्ता नहुँदा पोषणभत्ता र विद्यालय भर्ना हुन पाएनन् ।’

चन्द्रपुरको चेतनगर, डुमरिया, गुजरा नगरपालिकाको जुगौलिया, गौर नगरपालिकाको पुरेनवा, ईशनाथ नगरपालिकाका मुसहर बस्तीका बालबालिकाको जन्मदर्ता बनेको छैन । स्थानीय तहमा जन्मदर्ता बनाउन जाँदा आमाबुबाको नागरिकता र विवाह दर्ता चाहिन्छ । बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउँदा शुल्क लाग्दैन । त्यसपछि २ सय शुल्क लाग्ने चन्द्रपुर–२ का वडासचिव केशव बस्नेतले बताए । नगरले अहिले ५ वर्षमुनिका बालबालिकाका लागि प्रत्येक महिना ५ सयको दरले पोषण भत्ताको व्यवस्था गरेको छ । ‘बालबालिकाको हकमा जन्मदर्ता गराउनुपर्दा आमाको नागरिकता नभए पनि हुन्छ,’ उनले भने, ‘सबै कुरा कानुन मात्र हेरेर हुँदैन । केही त व्यावहारिक पनि हेर्नुपर्छ । आमाबुबा दुवै उपस्थिति भएमा जन्मदर्ता गर्न मिल्छ ।’

वडा नम्बर ९ को कार्यालयले भने नागरिकता चाहिने भनिएपछि अधिकांश मुसहर समुदायका बालबालिकाको जन्मदर्ता नभएको हो । वडाध्यक्ष गोविन्द दुलालले मुसहर अभिभावकहरू तलका कर्मचारीलाई भेटेर फर्कने गरेकाले समस्या भएको बताए । ‘कम्तीमा के कागज पुगेन । तलका कर्मचारीले के भने भन्ने कुरा बुझ्न नपाउँदै मुसहर समुदायका मानिस फर्कन्छन्,’ उनले भने, ‘मलाई यथार्थ भनेपछि कागज मिलाएर सहयोग गर्न सक्छु । अब गाउँमै कर्मचारी पठाएर जन्मदर्ताको पहल गर्छु ।’

सरकारको सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दुई जनासम्म बालबालिकाले पोषण भत्ता पाउने व्यवस्था गरेको छ । जिल्लाका करिब ५ सयको हाराहारीमा मुसहर र डोम जातिका बालबालिकाले यस्तो भत्ता पाउन नसकेको अनुमान छ । मुसहर अगुवा अनुप माझीले स्थानीय तहकै लापरबाहीका कारण धेरैजसो मुसहर बालबालिकाको जन्मदर्ता हुन नसकेको बताए ।

‘पाँच वर्षमुनिका कति बालबालिकाहरू जन्मदर्ता बनाउनबाट वञ्चित छन् भन्ने विवरण संकलनको तयारी गरिरहेका छौं,’ उनले भने, ‘कतिपय कुरा व्यावहारिक रूपमा गर्न मिल्दा पनि वडाले गरेको पाइँदैन । यसमा हाम्रो आपत्ति छ । राज्यले दिएको सुविधासमेत उपभोग गर्न नपाइएको अवस्था छ ।’ गरिबीको सूचकांकमा अति पछाडि परेको रौतहटका बालबालिकामा पोषणको स्थिति ज्यादै दयनीय छ ।

प्रकाशित : चैत्र ६, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×