
दोहा — फ्रान्सेली समाचार संस्था एएफसीले कतार विश्वकपका यस्ता केही भनाइ उल्लेखनीय मानेका छन्, जसको उल्लेखविना प्रतियोगिताको चर्चा अधुरो हुनेछ ।

‘आफ्नो फोन झिक्नु र इच्छा छ भने उनीसँग फोटो खिच्नु ।’
– अर्जेन्टिनाका खेलाडी लियोनल मेसीलाई लिएर आफ्ना खेलाडीप्रति साउदी प्रशिक्षक हार्भे रेनार्डको सुझाव । उनले हाफटाइममा यस्तो भनेका थिए, सायद यस भनाइले साउदी खेलाडी अभिप्रेरित भएको हुनुपर्छ, त्यसैले टिमले अपूर्व जित निकालेको थियो ।
‘सबैले फ्रान्स नै बलियो भन्छन्, तर हामीसँग विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी रहेको छ ।’
– अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले टिमका प्रमुख खेलाडी मेसीको प्रशंसा गर्दै भनेका थिए ।
‘आज मैले आफूलाई कतारी महसुस गरिरहेको छु । अरबी, अफ्रिकी, समलिंगी, फरक क्षमता भएका र आप्रवासी कामदार भएको पनि महसुस गरिरहेको छु ।’
– विश्वकपको सुरुआती प्रेस कन्फ्रेन्समा बोल्दै फिफाका अध्यक्ष जियानी इन्फाटिनो ।
‘अहिले यस्तो छलफलको कुनै अर्थ छैन । यो विवादलाई अहिले नै रोक्न आवश्यक छ । यो समय क्रिस्टियानो रोनाल्डोलाई एक्लै छाडे राम्रो । हामी सबैलाई थाहा छ, पोर्चुगाली फुटबलमा उनको योगदान कति धेरै छ भनेर ।’
– पोर्चुगाली प्रशिक्षक फर्नान्डो सान्तोष आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट उठेको विवाद छलेर आफ्नो धारणा राख्दै ।
‘जतिबेला रक्की सिनेमा हेरिन्छ, सबैलाई रक्की बोलबोआ मनपर्ने हुन्छ, किनभने उनी निकै परिश्रमी छन् । उनी पूर्णतः समर्पित पनि छन् । खासमा यस विश्वकपका हामी रक्की हौं ।’
– मोरक्को प्रशिक्षक वालिद रेग्रागुइ आफ्नो टिममाथि रहेको ‘अन्डरडग’ छविबारे बोल्दै ।
‘यो मेरोबाट भएको भुल होइन, किनभने म पेनाल्टीबाट गोल गर्न चुकेको होइन ।’
– उरुग्वेली भेट्रान खेलाडी लुइस स्वारेज सन् २०१० को विश्वकपको घानाविरुद्धको खेलबारे चर्चा गर्दै । त्यस विश्वकपमा उनले घानाको निश्चित गोल अवसरमा बललाई हातले रोकेका थिए । यसलाई विश्वकप इतिहासमै कुख्यात घटना मानिएको छ ।
‘हाम्रो कुनै सम्भावना नै छैन । हाम्रो बलियो सम्भावना त सन् २०१८ को विश्वकपमा मात्रै हो । हामीसँगै पक्कै पनि बलियो टिम रहेको छ, तर यसका खेलाडी लगभग सबै बुढा भइसके ।’
– बेल्जियमका जादुयी खेलाडी केभिन डी ब्रुयन यस विश्वकपमा आफ्नो टिमको सम्भावनाबारे सुरुमै बोल्दै ।
‘हामी कतानिर चुक्यौं त ? हाम्रो आक्रमण पनि निकै खराब रह्यो । यस्तो किनभन्दा हामी वास्तवमै बुढा खेलाडीको समूह रह्यौं । अब त यो तथ्य प्रमाणित भएको छ ।’
– बेल्जियमका भेट्रान डिफेन्डर यान भेर्टोघन मोरक्कोविरुद्धको खेलमा पराजित भएपछि केभिन डी ब्रुयनलाई इंगित गर्दै बोल्दै ।
‘कसैले पनि मानवअधिकारबारे बोल्न सक्छ । कसैले पनि रंगभेद, बाल मृत्युदर, स्कुलमा गोली हानाहानबारे बोल्न सक्छ । हामी सबैको यी तथ्यमा एकबद्धता छ । तर हामी यहाँ ९० मिनेट खेलेर कसैको पनि अनुहारमा खुसी ल्याउने उद्देश्यमा छौं ।’
– इरानी प्रशिक्षक कार्लोस क्विरेज अमेरिकाविरुद्धको खेलबारे बोल्दै ।
‘म शारीरिक रूपमा पूर्णतः ध्वस्त जस्तै भएको छु । यो हारले म निकै दुखित छु । खेल सकेको १० मिनेटसम्म त म चल्नै सकिनँ, पक्षघात भएको अनुभव भएको थियो । त्यसपछि त मैले आफूलाई रोक्नै सकिनँ, आँसु झरिरहे ।’
– क्रोएसियाविरुद्धको खेल गुमाएपछि ब्राजिलका नेयमर प्रतिक्रिया दिँदै ।
‘अहिले जे भएको छ, त्यसले मलाई हरर सिनेमा हेरेजस्तै अनुभव भयो ।’
– जर्मनी खेलाडी काइ हाभर्टेज आफ्नो टिम समूह चरणबाटै बाहिरिएपछि ।
प्रकाशित : पुस ४, २०७९ ०७:३८