
दोहा — डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग आइतबार विश्वकपको फाइनल खेल्ने तयारी गरिरहँदा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज आफ्नो टोली ‘अन्डरडग्स’ भएकोमै खुसी छन् । लुसेल रंगशालामा हुने फाइनलमा उत्रँदा अर्जेन्टिनासँग गत वर्षको कोपा अमेरिकाको सफलता अनुभव र लियोनेल मेसीको उत्कृष्ट लय हुने मार्टिनेज बताउँछन् ।

अर्जेन्टिनाले गत वर्ष रियो दी जेनेरियोको माराकाना रंगशालामा प्रमुख प्रतिद्वन्द्वी ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । उक्त सफलताको सम्झना र मेसीको उपस्थितिका कारण फ्रान्ससँग फाइनलमा डराउनुपर्ने कुनै कारण नरहेको मार्टिनेज बताउँछन् ।
‘ब्राजिलमा हामीले कोपा अमेरिका जित्दा सबैले ब्राजिललाई नै दाबेदार मानेका थिए,’ मार्टिनेजले शनिबार भने, ‘हामी जहिल्यै पनि प्रतिद्वन्द्वी टोली दाबेदार रहेको सुन्न मन पराउँछौं । किनभने त्यसले आफू नै सर्वोच्च हो वा उनीहरू कमजोर हो भन्ने मानसिकताबाट बाहिर राख्छ र अहिले पनि त्यही भइरहेको छ । धेरैले फ्रान्सलाई दाबेदार भनिरहेका छन् । तर, हामीसँग अहिलेसम्मकै उत्कृष्ट खेलाडी छन् ।’
फ्रान्ससँगको फाइनल खेल मेसीको विश्वकपमा अन्तिम खेलजस्तै हो, जसलाई उनी उपाधिले सुसज्जित गर्न चाहन्छन् । गत वर्ष कोपा अमेरिका जितेयता मेसीले आफ्नो खेललाई अर्को स्तरमा पुर्याएको मार्टिनेजको बुझाइ छ । ‘मैले कोपा अमेरिकामा महान् मेसीलाई देखें । अहिले विश्वकपमा मेसी त्योभन्दा उच्च लयमा छन्,’ मार्टिनेजले भने, ‘उनी शारीरिक हिसाब र फुटबलको हिसाबमा राम्रो खेलिरहेका छन् । कोपा अमेरिकाभन्दा उनले यहाँ झनै राम्रो खेलिरहेका छन् । यसले टोलीका सबै खेलाडीमा स्फुर्ति जगाएको छ । उनी आफैं पनि निकै उत्साहित छन् । उनी निकै आनन्दित छन् र यसले हामीलाई पनि राम्रो खेल्न मद्दत गर्छ ।’
मेसी र पेरिस सेन्ट जर्मेनबाट खेल्ने उनका सहपाठी फ्रान्सका फरवार्ड केलियन एमबाप्पेबीच नै फाइनल खेल केन्द्रित हुनेमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी सहमत देखिएनन् । ‘अब हुन लागेको खेल अर्जेन्टिनाविरुद्ध फ्रान्स हो, मेसीविरुद्ध एमबाप्पे होइन । यो खेल यी दुई खेलाडीभन्दा बाहिरको विषय हो,’ स्कालोनीले भने, ‘हाम्रो हतियार र हाम्रो शक्ति भनेको निश्चय नै हाम्रा खेलाडी हुन्, यी दुई खेलाडीमात्र होइनन् । मेसीले राम्रो गरिरहेका छन् र हामी जित्छौं भन्ने विश्वास छ । तर अर्जेन्टिना र फ्रान्सबीचको यस्तो खेल हुनेछ, जसलाई धेरै खेलाडीले परिभाषित गर्न सक्नेछन् । यो फाइनल खेल व्यक्तिगत टकरावभन्दा पनि संयुक्त प्रयासका लागि हुनेछ ।’
यता आर्सेन वेंगरले ३५ वर्षे मेसीलाई ‘आर्केस्ट्राका नेता’ भनेर प्रशंसा गरेका छन् । मेसीले आफ्नो गतिबाट विपक्षीलाई चोट पुर्याउने गरेको फिफा फुटबल डेभलपमेन्ट प्रमुख रहेका आर्सनलका पूर्व व्यवस्थापक वेंगरले बताए । ‘मेसी आर्केस्ट्राका प्रमुख हुन् । उनीको सामीप्यतामा बल आएपछि संगीत सुरु हुन्छ । आर्केस्ट्राका बाँकी सदस्य पनि कडा मिहिनेत गर्नलाई तयार छन् ।’
प्रकाशित : पुस ३, २०७९ ०७:२७