४–३–३ शैलीमा उत्कृष्ट ११- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४–३–३ शैलीमा उत्कृष्ट ११

एएफपी

काठमाडौँ — फ्रान्सेली समाचार संस्था एएफपीले आफ्ना समाचारदाताहरुको सहयोगमा विश्वकप २०२२ को उत्कृष्ट ११ खेलाडी छानेर टिम बनाएको छ । यसका लागि ४–३–३ को शैली अपनाइएको छ । टिम यस प्रकार छ :

ह्युगो लोरिस (गोलरक्षक)

चार वर्षअगाडि फ्रान्सले विश्वकप जित्दाका कप्तान तथा गोलरक्षक ह्युगो लोरिस पोस्ट अगाडि उत्कृष्ट रहे । विशेषतः इंग्ल्यान्डविरुद्ध क्वाटरफाइनल र मोरक्कोविरुद्ध सेमिफाइनलमा उनले केही उत्कृष्ट बचाउ गरे । यस विश्वकपकै क्रममा लिलियन थुरामलाई उछिनेर उनी फ्रान्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका छन् ।

जोसिप जुरानोभिच

यी खेलाडीले क्रोएसियाको नयाँ पुस्ताका खेलाडीको प्रतिनिधित्व गर्दै छन् । सन् २०१८ को विश्वकपको यात्रा तय गर्दा जोसिप जुरानोभिच प्रमुख खेलाडी थिए । अहिले २७ वर्ष पुगेको सेल्टिकका राइक ब्याट आफ्नो भूमिकामा अब्बल रहे । ब्राजिललाई क्वाटरफाइनलमा हराउँदा उनले टिमका लागि प्रमुख भूमिका खेले ।

राफेल भारान

लोरिस जस्तै राफेल भारान पनि फ्रान्सेली टिमका मध्यपंक्तिका खम्बा हुन् । उनी फ्रान्सले चार वर्षअगाडि विश्वकप जित्दाका सदस्य हुन् । प्रशिक्षक डिडियर डेसच्याम्पको रणनीतिका उनी प्रमुख खेलाडी हुन् । चोटका कारण सुरुआती खेल गुमाएका भाराने टिममा फर्केयता कडा मिहिनेत गरेर खेलेका छन् ।

जोस्को गभार्डियोल

उनी भर्खर २० वर्षका भए, तर यही उमेरमा पनि यस विश्वकपका ठूलो स्टार बनेर निस्केका छन् । गभार्डियोलकै उत्कृष्ट खेल मदतमा क्रोएसियाले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । नाकको चोटका कारण सुरक्षात्मक मुखौटा लगाएर खेलिरहेका गभार्डियोलले प्रशंसायोग्य खेल खेले ।

मार्कोस अकुना

अर्जेन्टिनाका लागि ३१ वर्षीय प्रभावशाली खेल प्रदर्शन गरे । उनले सेमिफाइनल भने खेल्न पाएनन् नेदरल्यान्ड्सविरुद्धको तनावपूर्ण क्वाटरफाइनलमा कार्ड खाएको हुनाले । सेभियाका पनि प्रमुख खेलाडी रहेका मार्कोस लेफ्ट ब्याकबाट खेल्छन्, तर चाहिएका बेला अगाडि बढेर आक्रामक हुन सक्छन् ।

एन्टोनी ग्रिजमन

फ्रान्सका लागि पूरा एक वर्ष कुनै गोल गर्न असफल एन्टोनी ग्रिजमन यस विश्वकपमा भने फरक खेलाडी साबित भएका छन् । प्रशिक्षक डेसच्याम्पका लागि उनी पूर्णतः परिपक्व मिडफिल्डर साबित भएका छन् । अहिले यी ३१ वर्षीय खेलाडी प्लेमेकरको भूमिकामा छन् । मैदानमा कडा परिश्रमिक गर्ने उनी गोलको अवसर सिर्जना गर्न सक्षम भएका छन् ।

सोफयान अम्राबात

मोरक्कोले सेमिफाइनलसम्म तय गरेको यात्रामा सबैभन्दा ठूलो भूमिका यी खेलाडीको छ । कुनै पनि अफ्रिदी र अरब देशका लागि सबैभन्दा राम्रो प्रदर्शन मोरक्कोको नाममा भएको छ । यसमा उनी योगदानका आधारमा सबैभन्दा अगाडि छन् ।

यी २६ वर्षीय नेदरल्यान्ड्समा जन्मेका २६ वर्षीय फिओरेन्टिना खेलाडीले पोर्चुगललाई हराउन प्रमुख भूमिका खेलेका थिए ।

जुड बेलिङ्घम

यस विश्वकपमा इंग्ल्यान्डका लागि केही राम्रो भएको छ भने त्यो बोरुसिया डर्टमन्डका खेलाडी जुड वेलिङ्घमको उदय हो । मिडफिल्डमा राम्रो खेल्दै उनले इरानविरुद्ध एक गोल गरे । सेनेगलविरुद्ध अन्तिम १६ मा प्राप्त जितमा एक गोलका लागि अवसर पनि सिर्जना गरे । तय छ अब खेलाडी बजारमा उनको मूल्य चर्को लाग्नेछ ।

लियोनल मेसी

आफ्नो व्यक्तिगत पाँचौं विश्वकप खेलिरहेका लियोनल मेसी ३५ वर्षका उमेरमा सर्वाधिक उत्कृष्ट देखिएका छन् । उनकै खेल मदतमा अर्जेन्टिनाले उत्कृष्ट लय समात्दै अगाडि बढ्न सफल भएको हो । उनले गोलमात्र गरेका छैनन्, अन्य गोललाई उत्कृष्ट अवसर सिर्जना गरेका छन् ।

रिचार्लिसन

यस उत्कृष्ट ११ खेलाडी सूचीमा परेका रिचार्लिसन एक्ला ब्राजिली खेलाडी हुन् । यसका लागि उनले ओलिभर जिरुड र जुलियन अल्भारेजलाई पनि उछिनेका छन् । टोटेनहमका यी खेलाडीले यस विश्वकपकै सर्वाधिक उत्कृष्ट गोलका रूपमा सर्बियाविरुद्ध गरेका थिए । ब्राजिलका लागि उनको प्रदर्शन सम्झनलायक रह्यो ।

केलियन एमबाप्पे

फ्रान्सले रच्ने आक्रमणमा एमबाप्पे साँच्चै घातक अस्त्र साबित भएका छन् । उनी भर्खर २४ वर्षका भए, उनको खेल अहिले नै परिपक्व भएको छ । त्यसै कारण उनी फ्रान्सका प्रतिद्वन्द्वीका लागि निकै घातक साबित भएका छन् । कतारमा उनले गोल त गरेकै छन्, अन्य गोलमा पनि उत्तिकै सहजकर्ताको भूमिका खेलेका छन् ।

एलेक्सी म्याकएलिस्टर

अर्जेन्टिनाको उपाधि यात्रामा म्याकएलिस्टरले प्लेयर अफ द फाइनल प्रदर्शन गरे । उनकै सानदार पासमा एन्जल डी मारियाले ३६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अतिरिक्त ३० मिनेटको खेलमा २६ औं मिनेटमा उनले मैदान छाडेका थिए । प्रिमियर लिगको टोली ब्राइटनबाट खेल्ने २३ वर्षे उनले यस विश्वकपमा ६ खेल खेल्दै एक गोल गरे । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट १३ खेल खेल्दै उनले गरेको यही एक गोल हो । अर्जेन्टिनाको विश्वकप छनोट यात्रामा उनले २ खेल खेलेका थिए ।

प्रकाशित : पुस ४, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

महिलामाथि नै औंला किन उठ्छ ?

मिरा मिश्र

लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान भर्खरै सकिएको छ । यस अभियानको मूल ठम्याइ महिलामाथि हुने यौनजन्य दुर्व्यवहार कम हुनुको साटो झन्झन् बढेर गएको छ भन्ने नै रह्यो । विविध तथ्यांकले पनि यसको पुष्टि गरिरहेका छन् । यसै सन्दर्भमा महिलामाथि हिंसा कम हुनुको साटो किन बढिरहेछ भन्ने प्रश्नको जवाफ खोतल्ने क्रममा मैले यो लेख लेखेकी हुँ । 

हाल उठिरहेका बलात्कार वा अन्य यौन दुर्व्यवहार सम्बन्धी बहसहरू (सन्दीप लामिछाने प्रकरण) देखि विगतका घटनाहरू (महरा–रोशनी काण्ड, पल शाह र सरिता तिवारी प्रकरण आदि–इत्यादि) सम्मलाई केलाउने हो भने, न्यायको लडाइँमा केही पुरुषको सापेक्षिक हार देखिए पनि मूल रूपमा समाजको औंला महिलाप्रति नै उठेको देखिन्छ । तलका उदाहरणहरूले पनि यसको पुष्टि गर्छन्।

मैले नजिकबाट चिनेका एक युवक सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा लिनेबित्तिकै निकै आक्रोशित भएका थिए । सानो पारिवारिक जमघटमा उनी भन्दै थिए, ‘के भैरहेको छ यहाँ ! म त बुझ्नै नसक्ने भैसकें । पहिले पल शाह, अहिले सन्दीप लामिछाने ! अब कोकोलाई आरोप लगाउने हुन् ! आरोप लगायो, पैसा झार्‍यो ! केटीहरूलाई त कस्तो आनन्द ! न जेल जानपर्ने, न करिअरमा धक्का, झन्झन् चम्किने ! केटाहरूलाई त बचेर हिँड्नै गाह्रो भैसक्यो । कुन बेला कसले फसाउने हो, भन्नै नसकिने ।’ अनि मतर्फ फर्केर भन्न थाले, ‘तपाईंको जेन्डर स्टडिजले यस्ता महिलाहरूलाई के भन्छ नि ? के पुरुषहरूलाई नै दोषी देखाउने काम मात्रै गर्छ ?’

एक युवा महिला नातेदार - जसको पढाइ र करिअर दुवै राम्रो छ - को चासो पनि यस्तै थियो । ‘अब त केटीहरूको मात्रै कुरा सुन्ने बेला छैन, केटाहरूको कुरा पनि बुझ्नुपर्छ । केटीचाहिँ नाबालिग हो भने, कति नै उमेर पुगेको छ र सन्दीपको पनि ! फेरि, सन्दीपको क्रियाकलाप चित्त नबुझेको भए नगरकोटबाटै किन नफर्किएको ? परिवारलाई फोन पनि गर्न सकिन्थ्यो । आजकलका केटीहरूको हातहातमा फोन भैहाल्छ । केले छेकेको थियो ? मलाई त चित्तै बुझेको छैन । केटीचाहिँ बिचरी हुने, सन्दीपलाई चाहिँ सजाय ? जे भए पनि राष्ट्रिय खेलाडी हो ऊ, चानचुने होइन ।’

जेन्डर स्टडिजका केही विद्यार्थीको भनाइ पनि लगभग उस्तै थियो । एक छात्राको भनाइ थियो, ‘पल शाहलाई त फँसाइएकै हो । जल्दोबल्दो मान्छेसँग विवाह गर्न पाइन्छ भन्ने लोभले पहिले सम्बन्ध बनाइयो ! पछि कुरा मिलेन, बलात्कार भयो भनी आरोप लगाइयो । बाबुआमा पनि मिलेका देखिन्छन् यो कुरामा त ! यस्तै केटीहरूले अरूको पनि बदनाम गर्छन् ।’

अर्की छात्रा थप्दै थिइन्, ‘आफू त अलि उमेर पुगिसकेकी भएर हो कि, आफ्ना छोरीहरूलाई कसरी हुर्काउने भन्ने चिन्ता पो लाग्न थाल्यो आजकल । छोरीहरूलाई सबै क्षेत्रमा अगाडि बढाउनपर्छ भन्ने लागेर खुला छोडिइराखिएको छ । कहाँ गएर दुर्घटना हुने हो, थाहै छैन । पल शाह, सन्दीप लामिछानेजस्ता घटनाहरू बाहिर आइरहेका छन् । केटाहरूलाई मात्रै दोष दिने ठाउँ पनि देख्दिनँ म त, केटीहरू पनि कम छैनन् !’

सरिता तिवारी प्रकरणमा, महिला अधिकारकै क्षेत्रमा काम गर्ने एक जना सानो छलफलमा भन्दै थिइन्, ‘म त कुरै बुझ्न छोडिसकें ! भर्खरका केटीहरूले म बलात्कृत भएँ भन्नु एउटा कुरा, यस्तो जान्नेसुन्ने महिलाले घटना भएको लामो समयपछि आएर मलाई यौन शोषण गरियो भन्नुचाहिँ ताज्जुबको कुरा छ । के हो, के !’

महरा–रोशनी काण्डपछि लामो समयदेखि विकास र लैंगिक समानताको पैरवी गर्दै आएका एक पुरुष आफ्नो विचार यसरी व्यक्त गर्दै थिए, ‘यो त यौन शोषण नै होइन । लेनदेन नमिलेपछि बलात्कार भयो भन्ने पुरानो ट्रिक हो यो । हाकिमलाई रिझाएर आफ्नो उद्देश्य पूरा गरिरहेकी महिलालाई पनि बिचरी वा पीडित भन्न मिल्छ र ?’

यी सबै भनाइको सार एकै प्रकारको छ । सन्दीप लामिछाने प्रकरणमा ‘किन एक्लै केटासँग घुम्न गई त’ देखि पल शाह प्रकरणमा ‘विवाहको कुरा नमिलेपछि बलात्कार भएको भनी नाटक गरेकी’ भनी समाजले दोष महिलामै देख्ने गरेको छ । त्यति मात्रै नभई, सरिता तिवारीको केसमा ‘यौन शोषण गरेको भनिएको मान्छेसँगै घण्टौं कुरा गरेर बस्ने, पछि आरोप लगाउने’ भनी उनको दाबीलाई हल्का रूपमा लिइएको देखिन्छ । महरा–रोशनी काण्डमा रोशनीलाई पैसा र शक्तिका लागि बिक्ने चरित्रहीन महिलाका रूपमा चित्रण गरिएको छ ।

अब प्रश्न आउँछ, कसलाई साँच्चिकै पीडित भन्ने त ?

सरसर्ती हेर्दा, महिलाहरूमाथि लागेका यी आरोपहरू गलत पनि देखिँदैनन् । कहीँ पनि सम्बन्धको सुरुमा पुरुषले जबरजस्ती महिलालाई आफूसँग मित्रता गाँस्न, हिँड्न वा सँगै बस्न बाध्य पारेको देखिँदैन । महिलाहरूको एक तहको स्वीकृति यसमा देखिन्छ । उदाहरणका लागि सन्दीप प्रकरणलाई हेर्ने हो भने, केटीले सन्दीपसँग मित्रता चाहेको देखिन्छ । राजीखुसी घुम्न गएको देखिन्छ, घुमाउन जबरजस्ती लगेको देखिँदैन ।

पुरुषसँग मित्रता र सामीप्य बढाउने महिलाले यौन सम्बन्धका लागि पनि स्वीकृति दिएकी हुन्छिन् भन्ने बुझाइ पुरुषहरूमा देखिन्छ । त्यो बुझाइ सीमित पुरुषमा मात्रै नभई पढेलेखेका, नपढेका, धनी, गरिब, महिला, पुरुष, वयस्क र युवा गरी धेरथोर सबैमा छ ।

उदाहरणका लागि, नेपाली महिलाहरूको जीवनमा आएको परिवर्तनलाई नियालिरहेका एक ३५ वर्षे पुरुषले यस विषयमा आफ्नो भनाइ यसरी राखे, “केटाहरूलाई मात्रै दोष दिएर यो समस्याको समाधान हुनेवाला छैन । आजकलका केटीहरूको जीवनलाई पनि केलाउनु आवश्यक छ । मोबाइल फोन र रिचार्ज कार्ड चाहिने, सिनेमा हेर्ने र घुम्न जाने रहर, रेस्टुरेन्टमा साथीहरूसँगको जमघट र नयाँ फेसनको होडबाजी सहरी जीवनको अभिन्न अंग बन्दै छ । कति केटीहरू यी सबैका लागि आर्थिक रूपमा सक्षम हुन्छन् ? सबै त हुँदैनन् । इच्छा–आकांक्षा त सबैमा हुन्छ, उमेर हो । त्यसमाथि पनि देखासिकी बढेर गएको छ । केटाहरूले पनि बुझेका छन् । कोही केटीलाई रिचार्ज कार्ड किन्दिएर मात्र पनि आफ्नो नजिक पार्न सकिन्छ भने कसैलाई विवाहको प्रलोभनै देखाउनुपर्छ । केटाहरूले यस्तै केटीहरूलाई घुमाउन लग्ने, पैसा खर्च गर्ने गर्छन्् । उनीहरू मूर्ख छन् र ? आफ्नो उद्देश्य पूरा गर्न जालो थापिरहन्छन् । केटीले भनेभनेको गर्दै जान्छन् । जब मौका मिल्यो, आफ्नो यौनइच्छा पूरा गर्छन् । त्यो त पक्कै छ । केटीले पो बुझ्नुपर्छ त यी कुराहरू पहिले नै ! पछि आएर ‘मलाई बलात्कार भयो’ वा ‘मेरो यौन शोषण भयो’ भनेर के गर्ने ?”

यस्तो बुझाइ आम रहेको पाइन्छ । आम बन्नुका पछाडि महिला र महिलाको यौनिकताप्रति नेपाली समाजको संकुचित दृष्टिकोण एउटा प्रमुख कारण रहिआएको छ ।

हुन त म्हिला र पुरुषको यौनिकताको परिभाषा समय र समाज अनुसार फरक हुन्छ अनि यो निरन्तर परिवर्तन पनि हुन्छ तर आर्थिक, सामाजिक आदि विभिन्न कोणबाट पितृसत्तात्मक समाजको वकालत गरिने प्रायः ठाउँमा महिलाको यौनिकतालाई पुरुषको दाँजोमा संकुचित रूपमा व्याख्या गरिन्छ । उदाहरणका लागि, हामीकहाँ पुरुषको चरित्रमा आएको विचलनलाई ढाकछोप गर्न भनिन्छ, ‘केटाहरू त यस्तै हुन् नि, उडेको चराजस्ता, कसले बन्देज गर्न सक्छ उनीहरूलाई ! बचेर हिँड्ने काम त महिलाको पो हो । तर आजकलका केटीहरूलाई छुनै नसकिने ! अनि यस्तै दुर्घटना पर्छ ।’ त्यति मात्र नभई, ‘आमाले राम्रोसँग तालिम दिन नसकेपछि छोरीहरू के गतिला हुन्थे’ भनी उल्टै आमालाई आरोप लगाइन्छ । यो व्याख्यालाई अझ बल पुर्‍याउन ‘असल’ र ‘छाडा’ महिला भनी वर्गीकरण गरिन्छ ।

‘असल’ महिला भन्नाले पितृसत्तात्मक समाजले बनाएको संरचनालाई प्रश्न नगर्ने,, बरु सोही अनुरूप आफ्नो जीवन ढाल्दै लग्ने र त्यसबाट पाइने सीमित सुविधाहरूमा रमाउने । नारीवादी इतिहासकार गर्डा लर्नरले ‘क्रिएसन अफ पेट्रिआर्की’ मा यस्ता महिलाहरूको अधीनस्थ अवस्थालाई उनीहरूको रहर नभई बाध्यता भनी तर्क गरेकी छन् । आर्थिक रूपमा केही नभएका महिलाहरूलाई विवाहपछि प्राप्त सीमित सुविधाहरू (जस्तो- दुई छाक खान पाउनु र बस्नका लागि बास पाउनु) नै ठूलो कुरा हुन्छ । त्यसैले उक्त परिवारलाई आफ्नो ठान्ने र त्यसमै रमाउने गर्छन् । पुँजीवाद र पितृसत्तालाई जोडेर फेडरिक एंगेल्सले आफ्नो किताब ‘द ओरिजिन अफ द फ्यामिली, प्राइभेट प्रोपर्टी एन्ड द स्टेट’ मा प्रश्न नगर्ने यस्ता महिलाहरूलाई परजीवीको पनि परजीवी भनेका छन् । परजीवी महिला भन्नाले धनी पुरुषका श्रीमतीहरू जो गरगहना, कार, महँगो घर, भातभान्साको कामसहित सुविधाजनक जीवनशैलीमा रमाउने गर्छन् । नारीवादी इतिहासकार उमा चक्रवर्तीले पनि आफ्नो लेख ‘कन्सेप्च्युलाइजिङ ब्राह्मनिकल पेट्रिआर्की इन अर्ली इन्डिया’ मा ‘असल’ भनिएका यस्तै महिलाहरूको साथ पाएर मात्र पितृसत्तात्मक समाजले निरन्तरता पाउने तर्क गरेकी छन् । त्यसैले यस्ता महिलाहरूको निर्माण पुरुषमुखी समाजको आवश्यकता पनि हो ।

अर्कातिर, त्यस्ता महिला जसले आफ्नो स्वतन्त्र अस्तित्व स्वीकार नगर्ने पुरुषप्रधान समाजलाई ठीक मान्दैनन्, आफ्नो जीवनलाई बाँध्ने नियमहरूलाई अलिकति पनि चुनौती दिन्छन्, ‘छाडा’ मा दर्ता भैहाल्छन् । यसका पनि अनेका नाम छन्- आधुनिक महिला वा आजकलका महिला, नारीवादी इत्यादि । समय र सन्दर्भ हेरेर यी नामहरू प्रयोग हुन्छन् । महिलालाई नियममा बाँधेर राख्नु भनेको मूल रूपमा उनीहरूको यौनिकता र हिँडडुललाई नियन्त्रण गर्नु हो । पुरुषप्रधान समाजका नियमहरूमाथि प्रश्न गर्ने वा तिनलाई नमान्ने, बरु महिला स्वतन्त्रता र लैंगिक समानताको वकालत गर्ने महिलालाई आधुनिक वा नारीवादीको बिल्ला भिराइदिने गरिन्छ । र कतिपय सन्दर्भमा उनीहरूको चरित्रमा संका गर्ने र लाञ्छना लगाउने काम हुन्छ, ‘यस्ताले नै घरपरिवार र समाज बिगार्छन्’ भनी भ्रामक प्रचार पनि गरिन्छ । अझ अगाडि बढेर, ‘त्यसैले यस्ताप्रति सहानुभूति राख्न हुँदैन’ भन्ने सन्देश पनि लगातार प्रवाहित भैरहेको हुन्छ । हाम्रो घर, परिवार, छरछिमेक, नातेदारÙ हामीले काम गर्ने संघसंस्था र मिडिया आदिमा यस्ता विचारधाराहरूको मलजल भैरहेको हुन्छ । हामी हुर्किंदै गरेका छोराछोरीमाझ बसेर जानी–नजानी यस्तै कुरा गर्छौं र उनीहरूका कलिला दिमागमा यिनै कुरा भर्दै जान्छौं । परिणामस्वरूप, कुनै पनि प्रकारको यौन शोषणको घटना सार्वजनिक हुनेबित्तिकै पहिले औंला महिलामाथि नै उठ्ने गर्छ, चाहे ऊ नाबालिग होस् कि वयस्क ।

पितृसत्तात्मक समाजको यही चरित्रलाई चुनौती दिँदै सन् १९९० को दशकमा प्रकाशित ‘चरित्रहीन चेली’ शीर्षक लेखले धेरै चर्चा पाएको थियो । उक्त लेखमा लैंगिक समानता र महिला स्वतन्त्रताको वकालत गर्ने केही महिलाले समाजले भन्नुभन्दा पहिले नै आफैंले आफूलाई ‘चरित्रहीन (छाडा)’ भनी लेखमार्फत अगाडि आएका थिए । नारीवादी इतिहासकार उमा चक्रवर्तीले पनि महिलाको यौनिकताबारेको संकुचित व्याख्या पुरुषप्रधान समाजको रहर मात्र नभई अनिवार्य आवश्यकता रहेको प्रस्ट्याएकी छन् ।

हाल महिलाप्रतिको संकुचित मान्यता बलियोसँग बोक्नेहरूमा छटपटी पनि बढेर गएको छ । यसको प्रमुख कारण बदलिँदै गएको नेपाली समाज र क्रमशः भत्किँदै गएका पुराना मूल्यमान्यता हुन् । बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिसँगै महिलाहरू स्कुल, कलेज, खेलकुददेखि समाजको हरेक क्षेत्रमा बलियो उपस्थिति जमाउन प्रयासरत छन् । यो उनीहरूको इच्छा मात्रै होइनÙ कैयौं आमाबाबु, घरपरिवार र राज्य नै लैंगिक विभेद अन्त्य गर्न र महिलालाई समान नागरिक बनाउन लागिपरेका छन् । त्यसैले पहिले पुरुषका लागि मात्रै भनिने र वास्तविकता पनि त्यस्तै भएका सार्वजनिक क्षेत्रहरू (जस्तो- शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीति आदि) मा अहिले महिलाको उल्लेख्य उपस्थिति देखिन्छ । स्कुले शिक्षालाई यसको उदाहरणका रूपमा लिइन्छ । ‘छोरी पढे बिग्रिन्छन्’ भन्ने सोचाइबाट प्रभावित नेपाली समाजमा लगभग ७० वर्षमा एघार–बाह्र कक्षामा केटीहरू केटाहरूभन्दा बढी भइसकेका छन् । समयसँगै महिलाहरूको पुरुषसँगको मित्रता र सहकार्य बढ्दो छ । र आगामी दिनमा यो बढेर जाने पक्का छ । पुरुष साथी बनाउन हुँदैन, नातेदारबाहेक अरू पुरुषसँग धेरै हेलमेल गर्न हुँदैन भन्ने मान्यता भत्किँदो छ ।

महिला र पुरुषबीच एकअर्काको आदर गरेर कुराकानी गर्ने, घुम्न जाने, रेस्टुरेन्टमा सँगै खाना खाने, सिनेमा हेर्न जाने, पढाइ वा अन्य विषयमा छलफल गर्ने गरी एक तहको मित्रवत् सम्बन्ध हुन्छ । उनीहरू घण्टौं सँगै समय बिताउँछन् । यस्तो मित्रतामा उनीहरूबीच आफ्नै जीवनका सहज र कठिन विषयहरू (जस्तो- आफ्नो वा छोराछोरीको पढाइ, व्यवसाय र जीवनसाथीको छनोट) मा सम्म सरसल्लाह हुन सक्छ । त्यसैले आजकल ‘मेरो त महिलाभन्दा बढी पुरुष साथी छन्, उनीहरूसँगै धेरै कुरा मिल्छ’ भन्ने युवा महिलाको जमात पनि बढेरै गएको छ । तैपनि महिलाको पुरुषसँगको मित्रता र सहकार्यलाई घरपरिवारभित्रबाटै होस् वा छरछिमेक वा नातेदारका तर्फबाट, शंकाले हेर्ने प्रचलन धेरै हदसम्म पूर्ववत् नै छ । जसरी दलितसँगको मित्रताले आफ्ना छोराछोरी पनि बिटुलिन्छन् कि भन्ने चिन्ता गैरदलित, खास गरी बाबुआमाहरूमा अझै व्याप्त छ, त्यसरी नै कुनै पनि महिलाको गैरनातेदार पुरुषसँगको मित्रता र सहकार्य समाजलाई अझै पनि पचाउन गाह्रो भैरहेको छ । बदलिँदो लैंगिक सम्बन्धलाई कसरी परिभाषित गर्ने भन्ने सकस प्रायः धेरैमा देखिन्छ । त्यसैले मित्रता र सहकार्यको सम्बन्धलाई यौनिकतासँग नजोडीकन ढुक्क भएर बस्ने समाज अझै बनिसकेको छैन ।

मित्रता र सहकार्यबाहेक कैयौं महिला पद, प्रतिष्ठा, रूप, उमेर, विद्वत्ता र सोचाइ आदि कुनै न कुनै कारणले गर्दा पुरुषप्रति आकर्षित पनि हुन सक्छन् र सामीप्य बढाउन पनि चाहन्छन् । कसैकसैका लागि मित्रता पछि गएर आकर्षणमा पनि परिवर्तन हुन सक्छ । मूल कुरा, उक्त महिलाको नजिकिइने चाहना कति छ, यसको दायरा के हो र कति फराकिलो वा संकुचित छ भन्ने आफैंमा महत्त्वपूर्ण हुन्छ । घरपरिवारलाई थाहै नदिई एक्लै कुनै केटासँग घुम्न जाने, जीउ छुन दिने, अझ बढेर हात समात्न दिने वा अन्य कुराले निर्धारण गर्छन्, कतिसम्मको सामीप्यलाई केटीको मन्जुरी थियो त भनेर । सामीप्यको दायरा फराकिलो वा सीमित बनाउन महिला र पुरुष दुवै स्वतन्त्र हुनुपर्छ । सामीप्यको दायरा फराकिलो छ भने यौन सम्बन्ध पनि स्वीकृतिसहितको हुन्छ, त्यो बलात्कार हुँदैन । तर एक्लै घुम्न जान आँट गर्नेले वा हात समात्न दिनेले जे पनि गर्न स्वीकृति दिन्छन् भनी सामीप्यको दायरा आफैं फराकिलो बनाउनुचाहिँ महिलाप्रति अनादर गर्नु वा उनीहरूको अस्तित्वलाई स्वीकार नगर्नु हो । अर्को शब्दमा, यो पुरुषहरूको बलमिच्याइँ हो । पितृसत्तात्मक समाजले उनीहरूलाई बलमिच्याइँ गर्न हौसला दिन्छ । यौन शोषणका घटनामा समाजको औंला महिलामाथि नै सहजै उठ्नाले पुरुषहरूको हौसला झन् बुलन्द हुँदै जान्छ । यसको असर व्यापक र गहिरो हुन्छ ।

महिलामाथि नै औंला उठ्नुको दीर्घकालीन असर

पहिलो, यौन शोषणको घटना सार्वजनिक हुनेबित्तिकै महिलाको चरित्रमै दोष देखेपछि अरू सम्पूर्ण कुरा गौण हुन जान्छन् । पितृसत्ता, पुरुषत्वको निर्माण, विषाक्त पुरुषत्व एवं यसको निर्माणमा घरपरिवार र पुरुषसाथीहरूको हातजस्ता विषयहरू - जुन यस्ता घटनाहरूसँग सोझै सम्बन्धित हुन्छन् - मा छलफल नै हुँदैन । हामीलाई छलफल गर्नुपर्छ भन्ने नै लाग्दैन किनकि महिलालाई पहिले नै चरित्रहीन देखिसक्छौं । अनि कसरी कम हुन्छन् यौन शोषणका घटनाहरू ?

दोस्रो, हामी आफ्ना छोरीहरूलाई पखेटा फिँजाएर हिँड्न प्रेरित गरिरहेका छौं । हरक्षेत्रमा उनीहरू अब्बल होऊन् भन्ने चाहना राख्छौं । खास गरी सहरी बाबुआमा त छोरीहरूले, चाहे त्यो स्कुलको ग्रेड होस् वा खेलकुद, सबैमा अति राम्रो गरेको हेर्न चाहन्छन्Ù त्यसमा लागिपरिरहेका छन् । तर, त्यही घरमा अरू महिलाबारे कस्ताकस्ता धारणाहरू व्यक्त हुन्छन् त, खास गरी बलात्कारका घटनाहरू सार्वजनिक हुँदा कसरी प्रतिक्रिया व्यक्त गर्छन् भन्ने कुराले आफ्नै छोरीहरूको जीवन फराकिलो हुन्छ कि साँघुरो भन्ने निर्धारण गर्छ । अरूका छोरीबुहारीको चरित्रमाथि सजिलै टीकाटिप्पणी गर्नेले अरूले पनि आफ्ना छोरीहरूबारे यस्तै टीकाटिप्पणी गर्छन् भन्ने बिर्सन हुँदैन । टीकाटिप्पणी मात्र भए त केही थिएन, तर यसले नजानिँदो पाराले हामीलाई छोरीहरूको स्वतन्त्र जीवन बाँच्ने चाहनामा छेकबार लगाउन प्रेरित गर्छ । परिणामस्वरूप, पितृसत्ताले चाहेका जस्ता ‘असल’ छोरीहरू उत्पादन गर्न बाबुआमा नै पनि उद्यत हुन्छन् ।

तेस्रो कुरा, युवा केटाकेटीले पनि गहिरोसँग सोच्नुपर्ने भएको छ- किन हामी सजिलैसँग अर्काको चरित्रमाथि शंका गर्छौं ? पुरुष–महिला सम्बन्धका विविध तह हुन्छन् भन्ने कुरा हामीलाई किन महत्त्वपूर्ण लाग्दैन ? युवा महिला - जो महिलाकै चरित्रमा दोष देख्छन् - ले बुझ्नुपर्छ, भोलि हाम्रो मित्रतालाई पनि केटासँग नजिकिने रहरका रूपमा व्याख्या गर्ने र हामीमाथि शंका गर्ने परिस्थिति आउँछ कि ? त्यो शंकाले हाम्रो बराबरीको चाहनामा छेकबार पो लगाउँछ कि ? यी कुराको हेक्का राख्नु अत्यन्त जरुरी छ ।

चौथो, आजकल सामाजिक सञ्जाल युवा पुरुषहरूको भावना र आक्रोश पोख्ने थलो भएको छ । पल शाह र सन्दीप लामिछाने प्रकरणमा पनि यो आक्रोश छरपस्ट भयो । उदाहरणका लागि, बलात्कारको आरोप लागेका पुरुषहरूलाई तुरुन्तै प्रहरीले हिरासतमा लिने, उनीहरूको नाम र फोटो सार्वजनिक गर्ने चलनसँग पनि उनीहरूको आक्रोश जोडिएको छ । किन प्रमाणित नै नभएको घटनामा पुरुषलाई दोषीजस्तो व्यवहार गरिन्छ र उनीहरूको जीवन तहसनहस पारिन्छ भनी प्रश्न गर्ने युवा पुरुषहरूको जमात बाक्लै छ । यो कुरा महत्त्वपूर्ण पनि छ र यसबारे छलफल हुनु जरुरी छ ।

तर फेरि कैयौं युवा पुरुष आँखा चिम्लिएर पीडित भनिएकी महिलालाई छाडा वा चरित्रहीनको आरोप लगाइरहेका छन् । उनीहरूको चरित्रहत्या गर्न प्रयोग हुने शब्दहरू सभ्य समाजका लागि सरमको विषय बन्दै छन् । साथै पीडित ठानिएकी महिलाको पक्षमा बोल्नेलाई धरि धम्कीका शब्दहरू प्रयोग गर्ने गरिएको पाइन्छ । यो अत्यन्त दुःखदायी कुरा हो, चिन्ता र चिन्तनको विषय हो । किनकि वयस्क पुरुषको दाँजोमा युवाहरूको सोचाइ र व्यवहारले समाज कतातिर मोडिँदै छ भनी देखाउँछ र भोलिका दिनहरू कस्ता हुन्छन् भनी मार्गदर्शन पनि गर्छ ।

मिश्र त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक हुन् ।

प्रकाशित : पुस ४, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×