कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

मोरक्कोको प्रदर्शनमा गर्व

एएफपी

कासाब्लान्का, मोरक्को — मोरक्को आखिरमा विश्वकप फाइनल प्रवेशबाट एकै पाइलाले मात्र चुक्यो । तर, मोरक्कोवासीका लागि कतारमा आफ्नो टिमको प्रदर्शन सर्वथा गर्व गर्न लायक रह्यो । बुधबारको दोस्रो सेमिफाइनलमा मोरक्को डिफेन्डिङ च्याम्पियन फ्रान्सको हातबाट २–० ले पराजित रह्यो । कासाब्लान्काका फुटबलप्रेमी ओसमा अब्दोह भन्छन्, ‘हाम्रा खेलाडीले निकै राम्रो खेले तर भाग्य हाम्रो टिमको पक्षमा रहेन ।’

मोरक्कोको प्रदर्शनमा गर्व

उनी थप्छन्, ‘जसरी हाम्रो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध खेल्यो, त्यो आफैंमा अद्वितीय छ । यो मोरक्को टिमले हामीलाई सपना देख्न प्रेरित गरेको छ, त्यो पनि अन्त्यसम्म । यसै कारण यो टिमप्रति मेरो सलाम छ ।’

हाकिम सल्मा मान्छिन्, फ्रान्ससँगको हार पचाउन गाह्रो छ । उनी भन्छिन्, ‘हाम्रो टिमले धेरै गल्ती गरे, केही राम्रा अवसर पनि गुमाए ।’ राजधानी रबाटमा सेमिफाइनलको समय पानी परिरहेको थियो ।

हारसँगै मोरक्को विश्वकप जित्ने सपना टुटेको छ । तर, टिमको सेमिफाइनल यात्रा कम्तीको रहेन । आखिरमा मोरक्को नै विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी र अरब देश रह्यो । खेलपछि गाडीका हर्नहरू चुपचाप रहे, ड्रम बजाउने काम पनि भएन । एक प्रकारले खेलपछि मोरक्कोमा सन्नाटा छाएको थियो । रचिद सबिक के मान्छन् भने मोरक्को टिमले त खासमा चमत्कारी प्रदर्शन गरेको छ, त्यसैले शोक मनाउनुपर्ने कारण छैन ।

कासाब्लान्काको सडक व्यापारी रहेका सबिक भन्छन्, ‘हामी जित्यौं कि हार्‍यौं, त्यो महत्त्वपूर्ण नै रहेन । सबैभन्दा ठूलो मोरक्कोका खेलाडीले बाँकी विश्वकपबाट इज्जत कमाएको छ र यो अमूल्य छ ।’

विश्वकप ताका उनले आफ्नो नियमित व्यापार छाडेर मोरक्कोको झण्डा बेच्ने काम गरे । उनीमात्र होइनन्, हारपछि पनि मारेक्कोका राजा मोहम्मद छैटौंले टिमलाई हृदयदेखि बधाई दिएका छन् । राष्ट्रिय समाचार संस्था एमएपीका अनुसार राजाले आफ्नो फुटबल टिमले मोरक्कोको जनताको सम्मान गरेको बताएका छन् ।

उनले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनलाई पनि बधाई सन्देश पठाएका छन् । यसका लागि उनले टेलिफोन वार्ता गरेका थिए । सन् १९१२ देखि १९५६ सम्म उत्तर अमेरिकी देश मोरक्को फ्रान्सेली उपनिवेशकै रूपमा रहेको थियो । यसै कारणले पनि मोरक्कोमा फुटबल निकै लोकप्रिय रह्यो । डर्ब सुल्तानमा जन्मेका मोहम्मद जरिर मोरक्कोको फुटबलको अहिलेसम्मका सबैभन्दा ठूला स्टार हुन् । सन् १९७० को विश्वकपमा उनी मोरक्कोका लागि गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

डर्ब सुल्तानकै किशोर फुटबलप्रेमी मोहम्मद नादिफ भन्छन्, ‘हामी फुटबललाई असाध्यै माया गर्छौं र राष्ट्रिय टिमले तय गरेको यात्राले गर्दा हामी विश्व च्याम्पियन भएको सपना देख्न पायौं ।’ उनी आफ्नो पसलमा मोरक्कोको झण्डा र जर्सी बेचिरहेका छन् । उनी थप्छन्, ‘मोरक्कोको टिमले हामीलाई खुसीमात्र बनाएको छैन, व्यापार पनि दिएको छ । मोरक्को टिमले हाम्रो झण्डालाई अझ उच्च राखेको छ, त्यसैले यो टिमलाई जति धन्यवाद दिए पनि पुग्दैन ।’

प्रकाशित : पुस १, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?