क्रोएसियालाई ३‍-० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

क्रोएसियालाई ३‍-० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

राजु घिसिङ

दोहा — कप्तान लियोनल मेसीप्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महानमध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई सार्थक बनाउन चाहन्छन् ।

त्यसैअनुसार उनले कतारमा भइरहेको २२ औं संस्करणमा प्रदर्शन पनि गरिरहेका छन् । चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्‍याएका हुन् ।

स्ट्राइकर अलभारेजलाई गोलकिपर डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले ३४ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसमा मेसीले सहजै गोल गरेपछि अर्जेन्टिना अगाडि बढ्यो । यससगै मेसीले प्रतियोगितामा सर्बाधिक ५ गोल गरेका फ्रान्सका किलियन एम्बाप्पेको गोल संख्यालाई बराबरी गरेका छन् । उनी विश्वकपमा सबभन्दा बढी ११ गोल गर्ने अर्जेन्टिनी खेलाडी भए । उनले विश्वकपमै सबभन्दा धेरै २५ खेल खेलेका लोथर म्याथ्युज (जर्मनी) को रेकर्ड बराबरी गरे ।

अलभारेजले ३९ औं मिनेटमा गरेको गोल निक्कै उत्कृष्ट रह्यो । मेसीले मैदानको मध्यभागनजिक हेडद्वारा दिएको बललाई अलभारेजले अगाडि बढाउदै पेनाल्टी क्षेत्रमा पुर्‍याएर बललाई जाली चुमाउदै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । जासेपि बुरानोभचि र बोर्ना सोसालाई लागेर फर्केको बललाई उनले लिभाकोभिचलाई कुनै मौका नदिई गोलमा परिणत गरेका थिए ।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका जोस्को जिभार्डियोलालाई छक्याउदै मेसीले उत्कृष्ट रूपमा उपलब्ध गराएको बललाई अलभारेजले फिनिसिङमा दिदै ६९ औं मिनेटमा अर्जेन्टिनालाई ३–० को अग्रता दिलाएका थिए । यससँगै उनको यो विश्वकपमा गोल संख्या ४ पुगेको छ ।

दक्षिण अमेरिकी महारथीले अरु अवसर पनि बनाएको थियो तर गोल थप्न सकेन । रुसमा (सन् २०१८) सर्बोत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बल जितेका ल्युका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाले गतिलो प्रदर्शन गर्न सकेन । अर्जेन्टिनी टिमको प्रदर्शन संगठित, परिस्कृत र उत्कृष्ट रह्यो । क्रोएसियाले भने अर्जेन्टिनाको खेल पछ्याइरह्यो मात्रै । त्यसैले त एक गोल पनि गर्न सकेन । ३७ वर्षीय मोड्रिचको उपाधि अनुभव गर्न नपाएरै अन्तर्राष्ट्रिय करिअरमा पूर्णविराम लाग्ने अवस्था आएको छ ।

सन् १९७८ र १९८६ को विश्वकप विजेता अर्जेन्टिनाले छैटौंपल्ट फाइनलमा प्रवेश गरेको हो । पााचपल्टको च्याम्पियन ब्राजिलले पनि ६ पल्ट विश्वकप पाइनल खेलेको छ । सबभन्दा बढी आठपल्ट फाइनल खेलेको रेकर्ड जर्मनीको नाममा छ । अर्जेन्टिनाले पछिल्लोपल्ट ब्राजिल (सन् २०१४) मा फाइनल खेलेको थियो, जहा मेसीको टिम अतिरिक्त समयमा १–० ले हारेको थियो ।

त्यसैले अर्जेन्टिना डिएगो म्याराडोनाको युगपछि अर्थात् ३६ वर्षपछि विश्वविजेता बन्न चाहन्छ । त्यसको लािग उसले आइतबार लुसेलमै हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्स वा मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्ने छ । फ्रान्स र मोरक्को बुधबार अल बायत रंगशालामा हुने दोस्रो सेमिफाइनलमा भिड्दै छन् ।

यसपाली पहिलो खेलमै साउदी अरेबियाविरुद्ध हारेको अर्जेन्टिना क्रमिक सुधार गरेर मेक्सिको (२–०), पोल्यान्ड (२–०), अस्ट्रेलिया (२–१), नेदरल्यान्ड्स (२–२ को बराबरीपछि टाइब्रेकरमा ४–३) लाई पराजित गरेपछि क्रोएसियाको चुनौती ३–० ले समाप्त पार्दै उपाधि होडमा उभिएको हो ।

प्रकाशित : मंसिर २८, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

मेसी–मोड्रिच भिडन्त

राजु घिसिङ

दोहा — दुई घन्टाभन्दा बढी चलेका सनसनीपूर्ण खेलपछि पेनाल्टी सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा मंगलबार हुँदै छ ।

चार वर्षअघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्ने हो भने सुपर स्टार लियोनल मेसीलाई रोक्न अनिवार्य छ । किनभने अर्जेन्टिनाको खेल कप्तान मेसीमै निर्भर छ ।

कतार संस्करणमा दर्शकमाझ सबैभन्दा लोकप्रिय टिम अर्जेन्टिना नै हो । यसको मुख्य कारण पनि मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटरफाइनलमै सकियो । त्यसैले सबैभन्दा बढी समर्थक भएको र रंगशालामा माहोल तताएको अर्को टिम बनेको छ मोरक्को । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले अर्को फाइनल प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दै छ । त्यसअघि नै मेसीको टिम अर्जेन्टिना फाइनल यात्रा तय गर्दै उपाधि नजिक पुग्न चाहन्छ ।

फुटबलले पाएको सर्वकालीन महान् खेलाडीमध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । उनको टिम विश्वविजेता नभएको पनि ३६ वर्ष भइसकेको छ । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ ।

पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । मेसी चार गोलसहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि छन् । रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।

रेफ्रीले १८ वटा कार्ड देखाएको अन्तिम आठको प्रतिस्पर्धामा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । क्रोएसियाले कीर्तिमान पाँचपल्टको च्याम्पियन तथा यसपालि प्रतियोगितापूर्व सबैभन्दा बलियो मानिएको ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काइदियो ।

दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस (सन् २०१८) मा ३–० ले हराएको थियो ।

यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ र अर्जेन्टिनाको घरेलु मैदानजस्तै भएको लुसेलमा मंगलबारको खेल पनि आकर्षक र स्तरीय हुने अपेक्षा गरिएको छ । लुका मोड्रिचले पनि गोल गरेका निज्नी नोभ्गोरोद (रुस) को खेलपछि यी दुई टिम पहिलोपल्ट भिड्न लागेका हुन् ।

युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।

अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ । यसक्रममा दक्षिण अमेरिकी महारथीले अमेरिकालाई ६–१ (सन् १९३०), बेल्जियमलाई २–० (१९८६), इटालीलाई १–१ को बराबरीपछि टाइब्रेकरमा ४–३ (१९९०) र नेदरल्यान्ड्सलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ (२०१४) ले हराएको थियो ।

...

६ तथ्य

– अर्जेन्टिनाले पछिल्ला ४१ खेलमा एक खेलमात्रै हारेको छ भने २८ जित र १२ खेल बराबरी गरेको छ ।

–अर्जेन्टिनाले विश्व्कपमा युरोपेली टिमविरुद्ध नकआउटमा पछिल्लोपल्ट खेलेका १४ मध्ये आठ खेल अतिरिक्त समयमा पुगेर टुंगिएको छ ।

– लियोनल मेसीले क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्नेछन् ।

– क्रोएसियाले विश्वकपमा पछिल्ला १२ खेलमध्ये एक खेलमात्रै हारेको छ भने ५ जित र ६ खेल बराबरी गरेको छ ।

– क्रोएसियाले विश्वकपको नकआउट चरणका दसमध्ये आठ खेल जितेको छ ।

– विश्वकपको नकआउट चरणमा क्रोएसियाले खेलेका ६ खेलमध्ये पाँच खेल अतिरिक्त समयसम्म पुगेर टुंगिएको थियो।

प्रकाशित : मंसिर २७, २०७९ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×