विश्वकप २०२२

मेसी–मोड्रिच भिडन्त

राजु घिसिङ

दोहा — दुई घन्टाभन्दा बढी चलेका सनसनीपूर्ण खेलपछि पेनाल्टी सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा मंगलबार हुँदै छ ।

चार वर्षअघिको उपविजेता क्रोएसियाले फेरि फाइनल खेल्ने हो भने सुपर स्टार लियोनल मेसीलाई रोक्न अनिवार्य छ । किनभने अर्जेन्टिनाको खेल कप्तान मेसीमै निर्भर छ ।

कतार संस्करणमा दर्शकमाझ सबैभन्दा लोकप्रिय टिम अर्जेन्टिना नै हो । यसको मुख्य कारण पनि मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटरफाइनलमै सकियो । त्यसैले सबैभन्दा बढी समर्थक भएको र रंगशालामा माहोल तताएको अर्को टिम बनेको छ मोरक्को । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले अर्को फाइनल प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दै छ । त्यसअघि नै मेसीको टिम अर्जेन्टिना फाइनल यात्रा तय गर्दै उपाधि नजिक पुग्न चाहन्छ ।

फुटबलले पाएको सर्वकालीन महान् खेलाडीमध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । उनको टिम विश्वविजेता नभएको पनि ३६ वर्ष भइसकेको छ । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ ।

पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । मेसी चार गोलसहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि छन् । रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।

रेफ्रीले १८ वटा कार्ड देखाएको अन्तिम आठको प्रतिस्पर्धामा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । क्रोएसियाले कीर्तिमान पाँचपल्टको च्याम्पियन तथा यसपालि प्रतियोगितापूर्व सबैभन्दा बलियो मानिएको ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काइदियो ।

दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस (सन् २०१८) मा ३–० ले हराएको थियो ।

यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ र अर्जेन्टिनाको घरेलु मैदानजस्तै भएको लुसेलमा मंगलबारको खेल पनि आकर्षक र स्तरीय हुने अपेक्षा गरिएको छ । लुका मोड्रिचले पनि गोल गरेका निज्नी नोभ्गोरोद (रुस) को खेलपछि यी दुई टिम पहिलोपल्ट भिड्न लागेका हुन् ।

युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।

अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ । यसक्रममा दक्षिण अमेरिकी महारथीले अमेरिकालाई ६–१ (सन् १९३०), बेल्जियमलाई २–० (१९८६), इटालीलाई १–१ को बराबरीपछि टाइब्रेकरमा ४–३ (१९९०) र नेदरल्यान्ड्सलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ (२०१४) ले हराएको थियो ।

...

६ तथ्य

– अर्जेन्टिनाले पछिल्ला ४१ खेलमा एक खेलमात्रै हारेको छ भने २८ जित र १२ खेल बराबरी गरेको छ ।

–अर्जेन्टिनाले विश्व्कपमा युरोपेली टिमविरुद्ध नकआउटमा पछिल्लोपल्ट खेलेका १४ मध्ये आठ खेल अतिरिक्त समयमा पुगेर टुंगिएको छ ।

– लियोनल मेसीले क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्नेछन् ।

– क्रोएसियाले विश्वकपमा पछिल्ला १२ खेलमध्ये एक खेलमात्रै हारेको छ भने ५ जित र ६ खेल बराबरी गरेको छ ।

– क्रोएसियाले विश्वकपको नकआउट चरणका दसमध्ये आठ खेल जितेको छ ।

– विश्वकपको नकआउट चरणमा क्रोएसियाले खेलेका ६ खेलमध्ये पाँच खेल अतिरिक्त समयसम्म पुगेर टुंगिएको थियो।

प्रकाशित : मंसिर २७, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

सुटुक्क फर्किए प्रशिक्षक प्रभाकर

केही प्रमुख खेलाडीसँगको वादविवाद र नामिबिया भ्रमणमा निराशाजनक प्रदर्शनपछि क्रिकेट प्रशिक्षक मनोज प्रभाकर राजीनामा गर्न बाध्य
विनोद पाण्डे

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट भारतीय प्रशिक्षक मनोज प्रभाकर अलग भएका छन् । नेपाली क्रिकेटको निकै व्यस्त र चुनौतीपूर्ण समयको अवस्थामा प्रभाकर सोमबार बिहान दिल्ली फर्किएका हुन् । नेपालको प्रमुख प्रशिक्षकका रूपमा उनको कार्यकाल केवल चार महिनामात्र रह्यो ।

एकवर्षे सम्झौतासहित क्यानडाका पुबुदु दासानायकेको स्थान लिन उनी अगस्ट दोस्रो साता नेपाल आएका थिए । तर केही प्रमुख खेलाडीसँगको वादविवाद तथा अघिल्लो साता नामिबिया भ्रमणमा निराशाजनक प्रदर्शनपछि क्यानले राजीनामा गर्न बाध्य पारेपछि प्रभाकर नेपाल छाड्न राजी भएको स्रोतको दाबी छ । क्यानले प्रभाकरको बिदाइबारे केही आधिकारिक जानकारी दिएको छैन ।

नामिबिया भ्रमणमा नेपालको विश्वकप लिग २ का ४ खेलमा नेपालले एउटै खेल जित्न सकेन । नामिबिया भ्रमण नेपालको लिग २ को छैटौं शृंखला थियो । नेपालले लिग २ मा एउटै खेल जित्न नसकेको नामिबिया भ्रमण पहिलो शृंखला बन्यो । स्कटल्यान्डसँगको दुई हारमा नेपालले निकै फितलो प्रदर्शन गरेको हो ।

पहिलो खेलमा नेपालले १ सय ९७ रन बनाएपछि जवाफमा नामिबियाले पहिलो ओभरमा ४ रन बनाएको अवस्थामा खेल रद्द हुन पुगेको थियो । स्कटल्यान्डसँगको अर्को खेलमा १ सय ३७ रनमात्र बनाउन सकेको नेपालले ३ विकेटको हार बेहोर्‍यो । त्यसपछिका खेलमा नामिबियाले २ सय ७५ रन बनाउँदै नेपालसँग खेल ८६ रनले जितेको थियो । अन्तिम खेलमा स्कटल्यान्डसँग १ सय १९ रनमा अलआउट भई नेपालले ८ विकेटको हार भोगेको थियो ।

क्यानले आइतबार राति उनको बिदाइमा एउटा ‘प्राइभेट’ कार्यक्रम गरेको थियो । ‘यी खेलाडी भएसम्म जो प्रशिक्षक ल्याए पनि केही फरक पर्दैन, धेरै खेलाडी अनुशासन बाहिर छन्, मैले केहीलाई अनुशासनको दायराभित्र ल्याउन सकें, केहीलाई सकिनँ । प्रशिक्षकभन्दा पनि खेलाडी परिवर्तन हुन जरुरी छ,’ प्रभाकरले उक्त कार्यक्रममा क्यान पदाधिकारीसामु राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

उनी आएको एक सातापछि नै नेपालले तीन एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले र एकदिवसीय शृंखला नेपालले ३–० ले ‘क्लिन स्विप’ गरे पनि केन्या भ्रमण प्रशिक्षक प्रभाकर र केही खेलाडीबीचको विवादले तनावग्रस्त बन्यो । अगस्ट–सेप्टेम्बरको केन्या भ्रमणमा शेख दाजुभाइ आरिफ र आसिफसहित केही अरू खेलाडीको प्रशिक्षक प्रभाकरसँग भनाभन भएपछि दुवै पक्ष एकअर्काको विपक्षमा जाइलागेका थिए । उनीहरूले प्रभाकर प्रशिक्षक भइरहेमा खेल्न कठिन हुने तथा प्रभाकरले शेख दाजुभाइ भएमा आफूलाई नेपाली टोली सम्हाल्न गाह्रो हुने जनाएपछि क्यानले नेपाल फर्केर यो विवाद सामसुम बनाउने प्रयास गरेको थियो ।

नेपाली क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर । फाइल तस्बिर

प्रभाकरले आरिफलाई केन्यासँगको तीन एकदिवसीय खेलमै खेलाएनन् । अघिल्लो महिना यूएईविरुद्ध घरेलु मैदानमा भएको तीन एकदिवसीय शृंखलाको पहिलो खेलमा ओपनिङ ब्याटिङको भूमिकामा खेल्न सक्ने ५ खेलाडी उतारे पनि मध्यपंक्तिमा दरिलो प्रदर्शन गर्दै आएका आरिफलाई प्लेयिङमा राखिएको थिएन ।

यूएईसँगको दोस्रो खेलमा आरिफ प्लेयिङ ११ मा फर्किएका थिए । यूएईले छाडेको १ सय ९२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले २५ ओभरमा ८९–५ को स्थितिमा पुगेको थियो । त्यहींबाट आरिफले गुलशन झासँग म्याच विजयी साझेदारी गरे । नेपालले विजयी रन बटुलेपछि ३३ रनको अविजित इनिङ्स खेलेका आरिफले पेभेलियनतर्फ हेर्दै एक हातको ग्लोभ्स फुकालेर ‘ब्याट बोलेको’ भाव देखाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ब्याटले बोल्छ’ आरिफको सेलिब्रेसनबाट प्रभाकर झनै रुष्ट भएका थिए । उनलाई टोलीबाट निकाल्नुपर्ने निचोडमा पुगे पनि आरिफ नामिबिया जाने टोलीमा थिए । नामिबिया गएको टोलीमा अलराउन्डर करण केसी प्रशिक्षकको रोजाइमा थिएनन् । क्यानले त्यसमा हस्तक्षेपकारी भूमिका खेलेपछि करण टोलीमा परेका थिए तर नामिबियामा प्रभाकरले उनलाई एक खेलमात्र खेलाएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालको ब्याटिङक्रम कहिल्यै एक रूपको रहेन । दीपेन्द्रसिंह ऐरी सातौं नम्बरमा पुर्‍याइएका थिए । आरिफको ब्याटिङ स्थान पनि नियमित थिएन । त्यसमा आफ्नो भूमिकालाई लिएर आरिफले प्रभाकरसँग प्रश्न गरेका थिए । राम्रो अलराउन्डरको छाप बनाएका मोहम्मद आदिल आलमलाई प्रभाकरले यूएईसँगको शृंखलामा एक खेलमा पनि खेलाएका थिएनन् भने नामिबिया जाने सूचीमै राखेनन् ।

नामिबिया जानुअघि नै क्यानले ५९ वर्षे प्रभाकरलाई बिदाइ गर्ने तयारी गरिसकेको थियो । सन् १९८४ देखि १९९६ सम्म गरी भारतबाट ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकरको ९० को दशकको प्रशिक्षण शैलीबाट क्यान र खेलाडी दुवै सन्तुष्ट हुन सकेका थिएनन् । नेपाल आएपछि प्रभाकरले आफूलाई स्थापित हुन केही समय लाग्ने र २–३ महिनामा नतिजा देखाइदिने बताएका थिए । यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले घरेलु मैदानमा जितेको पहिलो एकदिवसीय शृंखला हो ।

पछिल्लो १५ महिनामा नेपालबाट बाहिरिने उनी तेस्रो प्रशिक्षक हुन् । २०२१ को सेप्टेम्बरमा डेभ ह्वाटमोर नेपाल छाडेर गएका थिए । उनको स्थानमा डिसेम्बर अन्तम आएका दासानायके पनि नेपालको प्रशिक्षकमा ६ महिनामात्र टिक्न सकेपछि क्यानले भारतको पूर्वअलराउन्डर चेतन शर्माको सिफारिसमा प्रभाकरलाई ल्याएको थियो ।

प्रकाशित : मंसिर २७, २०७९ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×