कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
विश्वकप २०२२

रोकियो पेनाल्टीमा जापानको यात्रा

राजु घिसिङ

दोहा — अल वक्रस्थित अल जनोब रंगशालामा २ घण्टा ७ मिनेट कडा चुनौती दिएर पनि पेनाल्टी शुटआउटमा फितलो प्रदर्शन गरेपछि सोमबार जापानको विश्वकप फुटबलमा पहिलोपल्ट क्वाटरफाइनल पुग्ने सपना तुहाउँदै क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको छ ।

रोकियो पेनाल्टीमा जापानको यात्रा

निर्धारित ९० मिनेट, अतिरिक्त ३० मिनेट र इन्ज्युरीको ७ मिनेट गरी १ सय २७ मिनेट चलेको प्रतिस्पर्धा १–१ को बराबरीपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रकेरमा २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले जापानका तीन खेलाडीको प्रहार रोक्दै क्रोएसियालाई क्वाटरफाइनलमा डोर्‍याएका हुन् । लिभाकोभिचको बचाउ राम्रो रह्यो, जसले चार वर्षअघिको उपविजेता क्रोएसियालाई जित दिलाए । उनले असफल पारिदिएका ताकुमी मिनामिनो, काउरो मितोमाको र कप्तान माया योसिदाको प्रहार पनि फितलो रह्यो । तेस्रो प्रहारमा आएका ताकुमा आसानोमात्रै सफल भए ।

निकोला भ्लासिच र मार्सेलो ब्रोजोभिचले सटिक प्रहार गरेपछि मार्को लिभाजाले बल पोलमा हाने पनि क्रोएसिया २–१ ले अघि बढिसकेको थियो । लिभाकोभिचले योसिडालाई रोकेपछि मारियो पासालिचले सहजै बल जाली चुमाउँदै टाइब्रेकरमा ३–१ को जितसहित क्रोएसियालाई अन्तिम आठमा पुर्‍याए । जापानी गोलकिपर सुइची गोन्डाले पेनाल्टीमा केही गर्न सकेनन् । जर्मनी र अर्जेन्टिनापछि विश्वकपमा लगातार तीनपल्ट टाइब्रकेरमा जित हासिल गर्ने क्रोएसिया पहिलो टिम बन्यो ।

क्रोएसियाले रुसमा सन् २०१८ मा टाइब्रेकरमा दुई खेल जितेको थियो, जहाँ अन्तिम १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसलाई सिकार बनाएको हो । त्यहाँ इंग्ल्यान्डलाई अतिरिक्त समयमा हराएर फाइनल पुगेको लुका मोड्रिचको टिम उपाधि होडमा फ्रान्ससँग ४–२ ले हारेको थियो ।

जापानले नजोगाएको अग्रता

जापानले टिममा तीन खेलाडी परिवर्तन गर्‍यो । जर्मनी र स्पेनविरुद्ध समान २–१ ले जितेको खेलमा एक–एक गोल गरेका रित्सु डोआनसहित आर्सनलका डिफेन्डर ताकेसिरो तोमियासु र मिडफिल्डर वातारी इन्डो पहिलो रोजाइमा उत्रिए । प्रशिक्षक हाजिमे मोरियासुले युरोपेली लिगका आठ र घरेलु प्रतियोगिता जे लिगका तीन खेलाडीलाई अवसर दिएका थिए । पहिलो हाफमा राम्रो खेल्यो ।

अगाडि बढ्ने पहिलो अवसर भने क्रोएसियाले पायो । डिफेन्सको गल्तीमा आठौं मिनेटमा पाएको अवसरमा इभान पेरिसिचले प्रहार गरेको बल गोलकिपर सुइची गोन्डाले रोकिदिए । प्रतियोगितामा दुई गोल गरेका आन्द्रेज क्रामारिकले त्यही रिबाउन्डमा प्राप्त बल राम्ररी नियन्त्रण गर्न नसक्दा प्रहार गर्न सकेनन् र अग्रता लिने अर्को अवसर गुमायो । उनलाई जापानी डिफेन्सले घेरा हालेर बल कब्जामा लियो ।

जुनया इतोको क्रसलाई दाइजेन मायदा र युतो नागातोमोले सिक्स यार्ड बक्सबाट प्रहार गर्न नसक्दा जापानले पनि १३ औं मिनेटमा गोलको खाता खोल्ने मौका चुकायो । बेल्जिमविरुद्ध उत्रिएको टिममा दुई खेलाडी परिवर्तन गरेको क्रोएसियाले बोर्ना बारिसिचको क्रसमा इभान पेरिसिचले हेडर बललाई क्रामारिकले छोएको भए लात्को डालिचको टिम अगाडि बढ्न सक्थ्यो ।

कर्नरको मुभमा डोआनले क्रस गरेको बल डिफेन्सले फर्काइदिए । त्यसैमा कप्तान माया योसिदामार्फत् आएको बललाई मायदाले तुरुन्तै प्रहार गर्दै ४३ औं मिनेटमा जापानलाई १–० को अग्रता दिलाए । यो विश्वकपमा जापानले पहिलोपल्ट अग्रता लिएको हो । उसले समूह चरणमा पछाडि परेको स्थिति उल्टाउँदै जर्मनी र स्पेनमाथि सनसनीपूर्ण जित निकालेको थियो । दोस्रो हाफको सुरुमै पेनाल्टी क्षेत्रबाहिरैबाट दाइची कामदाले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो ।

पहिलो हाफमा निकै चनाखो देखिएको जापानले राम्रो खेल्यो । रुस संस्करणको गोल्डेन बल र बालोन डी’अर अवार्ड २०१८ विजेता मोड्रिचको टिमलाई दबाबमा राख्यो । तर, दोस्रो हाफमा अनुभवी खेलाडीको आक्रामण जापानले थेग्न सकेन । मस्कोस्थित लुज्निस्की रंगशालामा एक गोल गरेका इभान पेरिसिचले ५५ औं मिनेटमा उत्कृष्ट हेडर गोल गर्दै खेल १–१ को बराबरी गरे । डेजान लोभरेनको क्रसमा पेरिसिचको हेडरमा लोभलाग्दो गोल निस्किएपछि क्रोएसिया थप बलियो बन्यो ।

इन्डोले ५७ औं मिनेटमा प्रहार गरेको बल किपर लिभाकोभिचले उत्कृष्ट रूपमा बाहिर फाल्दै क्रोएसियाको संकट टारिदिए । मोड्रिचले ६३ औं मिनेटमा प्रहार गरेको बललाई गोलकिपर सुइची गोन्डाले जोगाए । काउरो मितोमाको चलाखीपूर्ण पासमा पेनाल्टी क्षेत्रमा अनमार्क ताकेहिरो तोमियासुले समयमै बल प्रहार गरेको भए जापान ऐतिहासिक उपलब्धिमा पुग्ने थियो । तर, ८१ औं मिनेटको त्यो अवसरमा तोमियासुले ढिलाइ गरे ।

मितोमाले १०५ औं मिनेटमा उत्कृष्ट रूपमा प्रहार गरेको बल पनि लिभाकोभिचले रोकिदिए । प्लेमेकर मोड्रिचले ९९ औं मिनेटमा मैदान छाडे पनि क्रोएसियाले मिहिनेत जारी राख्दै टाइब्रकेरमा जित निकाल्यो । विश्व फुटबलको महाकुम्भमा सन् १९९८ यता लगातार सहभागी जापानको चुनौती तेस्रोपल्ट अन्तिम १६ मा समाप्त भएको हो । यसअघि सहआयोजक छँदा २००२, दक्षिण अफ्रिका (२०१०) र रुस (२०१८) मा पनि जापान नकआउटको पहिलो खेलमै हारेको थियो ।

फ्रान्सको प्रतिद्वन्द्वी इंग्ल्यान्ड

अल बायत रंगशालामा आइतबार सेनेगलविरुद्ध ३–० को सहज जित रच्दै इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्ने पक्का गरेको छ । ६४ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डले अफ्रिकी च्याम्पियन सेनेगलविरुद्ध एकतर्फी खेल प्रदर्शन गर्‍यो । एलिस सिसेको टिमले कुनै पनि बेला इंग्ल्यान्डलाई चुनौती दिन सकेन । खेल पूरा इंग्ल्यान्डको नियन्त्रणमा रह्यो र नतिजा त्यस्तै निस्कियो ।

जुड बेलिङ्घमको क्रसमा जोर्डन हेन्डरसनले ३८ औं मिनेटमा गोलको खाता खोले । बेलिंघमसँगकै सहकार्यमा फिल फोडेनले दिएको बललाई कप्तान ह्यारी केनले जाली चुमाउँदै पहिलो हाफको इन्ज्युरी समयमा इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । अन्तिम १६ को प्रतिस्पर्धामा फेरि एकपल्ट गोल अवसर फोडेनले सिर्जना गरे, जसमा बुकायो साकाले गोलकिपर एडुआर्ड मेन्डीलाई पन्छाउँदै उत्कृष्ट फिनिसिङसहित ५७ औं मिनेटमा इंग्ल्यान्डलाई ३–० ले अघि बढाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिदिए । इंग्ल्यान्ड क्वाटरफाइनलमा फ्रान्सविरुद्ध अल बायत रंगशालामै शनिबार भिड्ने छ ।

प्रकाशित : मंसिर २०, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?