कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डद्वारा सेनेगल ३-० ले पराजित, अब फ्रान्सविरुद्ध खेल्ने

राजु घिसिङ

दोहा — इंग्ल्यान्डले कतारको अल बायत रंगशालामा सेनेगलविरुद्ध ३–० को सहज जित रच्दै विश्वकप २०२२ को क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्ने बाटो तय गरेको छ ।

इंग्ल्यान्डद्वारा सेनेगल ३-० ले पराजित, अब फ्रान्सविरुद्ध खेल्ने

६४ वर्षपछि विश्वकप जित्ने लक्ष्यसहित कतार ओर्लिएको प्रशिक्षक गारेथ साउथगेटको टिमले अफ्रिकी च्याम्पियन सेनेगललाई पूरा समय दबाबमा राख्यो । सेनेगलले कुनै पनि बेला इंग्ल्यान्डलाई समस्यामा पार्न सकेन । प्रतिस्पर्धाभर इंग्ल्यान्डका खेलाडीले पास मिलाएर खेल्ने र मौका मिलेको अवस्थामा गोलपोस्टमा प्रहार गर्ने गरिरहे । सेनेगलका खेलाडीहरू इंग्लस प्रिमियर लिगका स्टारहरूलाई पछ्याइरहे मात्रै । खेल इंग्ल्यान्डको पक्षमा एकतर्फी रह्यो ।

जुड बेलिंघमको क्रसमा जोर्डन हेन्डरसनले ३८ औं मिनेटमा गोलको खाता खोले । बेलिंघमसागकै सहकार्यमा फिल फोडेनले दिएको बललाई कप्तान ह्यारी केनले गोल गर्दै पहिलो हाफको इन्ज्युरी समयमा इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । चार वर्षअघि रुसमा भएको विश्वकपमा सर्वाधिक ६ गोल गरेर गोल्डेन बुट अवार्ड जितेका केनले यसपालि भने पहिलो गोल गरेका हुन् । उनी इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गरेका वायनी रोनीको कीर्तिमाननजिक पनि पुगेका छन् । योसँगै उनको गोल संख्या ५२ पुगेको छ । यस क्रममा ७९ खेल खेलेका छन् ।

अन्तिम १६ को प्रतिस्पर्धामा फेरि एकपल्ट गोलको अवसर फोडेनले सिर्जना गरे, जसमा बुकायो साकाले गोलकिपर एडुआर्ड मेन्डीलाई पन्छाउदै उत्कृष्ट फिनिसिङ देखाएर ५७ औं मिनेटमा इंग्ल्यान्डलाई ३–० ले अघि बढाउँदै क्वाटरफाइनल यात्रा निश्चित गरे ।

सन् १९६६ यता पहिलोपल्ट विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशको लािग यही अल बायत रंगशालामा आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ । फ्रान्सले अल थुमामा रंगशालामा आइतबारै भएको प्रतिस्पर्धामा किलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पोल्यान्डलाई ३–१ ले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?