कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

अघि बढ्यो अस्ट्रेलिया

अस्ट्रेलियाकै समूह ‘डी’ मा रहेको विश्वविजेता फ्रान्स भने ट्युनिसियासँग १–० ले पराजित
राजु घिसिङ

दोहा — डिफेन्डिङ च्याम्पियन फ्रान्सले नियमित कप्तान एवं गोलकिपर ह्युगो लोरिस, स्टार स्ट्राइकर केलियन एमबाप्पे, प्लेमेकर एन्टोनी ग्रिजमनसहित पहिलो रोजाइका ९ खेलाडी परिवर्तन गर्दै ट्युनिसियाविरुद्ध एजुकेसन सिटी स्टेडियममा दोस्रो रोजाइको टिम उतार्‍यो । नतिजा पनि उस्तै रह्यो कि विश्वकपमा उसको अपराजित यात्रालाई अफ्रिकी टिमले ९ खेलमा पूर्णविराम लगाइदियो ।

अघि बढ्यो अस्ट्रेलिया

युसुफ फोफनाले गुमाएको बललाई तीव्र गतिमा अगाडि बढाउँदै वाहबी खाजरीले ५८ औं मिनेटमा गोलको खाता खोलेका थिए । फ्रान्सेली डिफेन्डर भारानलाई पनि उछिन्दै वाहबीले गरेको फिनिसिङ उत्कृष्ट रह्यो । लगत्तै परिवर्तन भएका उनको खेलमा उक्त गोल नै अन्तिम मुभ बन्यो । कतार संस्करणमा ट्युनिसियाको पहिलो गोल पनि यही हो, जसमा उसले फ्रान्समाथि १–० को अनापेक्षित जित निकाल्यो ।

प्रशिक्षक डिडियर डेसच्याम्पले दोस्रो हाफमा ग्रिजमन, एम्बाप्पे, ओसमन डेम्बेले, एड्रियन ऱ्याबियट र विलियम सालिबालाई मैदानमा पठाए । फ्रान्सले अन्तिम २० मिनेट आक्रामक खेल प्रदर्शन पनि गर्‍यो । तर, उनीहरूले ट्युनिसियाको संगठित डिफेन्स चिर्दै गोल गर्न भने सकेन । ग्रिजमनले ८ मिनेट थपिएको इन्ज्युरी समयको अन्तिम क्षणमा गोल गरेपछि फ्रान्सले भव्य खुसी मनाएको थियो । तर, अफसाइड करार गर्दै भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन ।

त्यसैले चार वर्षअघि रुसमा अपराजित रहँदै च्याम्पियन भएको फ्रान्सले विश्वकपमा आठ वर्षयता पहिलो हार बेहोर्‍यो । ट्युनिसियाविरुद्ध हार्नुअघि ६ खेलमा डेसच्याम्पको टिमले जित हात पारेको थियो । तैपनि फ्रान्स समान अंकपछि गोल अन्तरमा अस्ट्रेलियालाई उछिन्दै समूह ‘डी’ विजेता बन्यो ।

ब्राजिलमा भएको विश्वकप २०१४ को क्वाटरफाइनलमा फ्रान्सले जर्मनीविरुद्ध १–० को हार बेहोरेको थियो । त्यसयता फ्रान्सलाई पराजित गर्ने पहिलो टिम ट्युनिसिया बन्यो । नसोचिएको जित हात पारेको ट्युनिसियाले छैटौं प्रयासमा पनि विश्वकपमा समूह चरण पार गर्न सकेन ।

डेनमार्कविरुद्ध अस्ट्रेलियाको जितले ट्यनिसियाको पहिलोपल्ट नकआउट चरण पुग्ने सपना तुहाइदियो । उसले युरोपेली टिमविरुद्ध पहिलो जितसहित कतार संस्करणबाट बिदाइ लियो । यसअघि युरोपेली टिमविरुद्ध उसले ४ बराबरी र ७ हारको नतिजा बेहोरेको थियो ।

सुरुका दुई खेल जित्दै ट्युनिसियाविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नै फ्रान्सको टिमले अन्तिम १६ को यात्रा पक्का गरेको थियो । त्यसैले प्रशिक्षक डेसच्याम्पले ३ गोल गरेका एमबाप्पेसहित पहिलो रोजाइका ९ खेलाडीलाई आराम दिएका थिए । ब्राजिली लिजेन्ड पेलेको रेकर्ड पछ्याउने क्रममा एमबाप्पेले अस्ट्रेलिविरुद्ध ४–१ को जितमा एक र डेनमार्कविरुद्ध २–१ को जितमा दुवै गोल गरेका थिए ।

थिएरी हेनरीको फ्रान्सका लागि सर्वाधिक ५१ गोलको रेकर्ड तोड्ने लक्ष्यमा रहेका सेन्टर फरवार्ड ओलिभर जिरुडलाई पनि आराम दिइएको थियो । उनले अस्ट्रेलियाविरुद्ध दुई गोल गरेर हेनरीको रेकर्ड बराबरी गरेका थिए । उक्त खेलमा एक गोल गरेका ऱ्याबियट पनि सुरुमा बेन्चमै थिए । डेनमार्कविरुद्ध पहिलो रोजाइमा खेलेका म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भारान र रियल म्याड्रिडका मिडफिल्डर चाउमेनी आउरेलिन मात्रै टिममा निरन्तर रहे । भारानले कप्तानी गर्ने अवसर पाए । फरवार्ड करिम बेन्जेमा चोटका कारण विश्वकपमा खेल्न नसक्ने अवस्थामा छन् भने डिफेन्डर लुकास हर्नान्डेज पहिलो खेलमै घाइते भएदेखि मैदानबाहिरै छन् ।

अस्ट्रेलियाको १६ वर्षको प्रतीक्षा

अस्ट्रेलिया अनपेक्षित रूपमा डेनमार्कलाई १–० ले पराजित गर्दै बुधबार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम बनेको छ । अल जनोब रंगशालामा भएको प्रतिस्पर्धामा युरो २०२० को सेमिफाइनल खेलेको डेनमार्क बल पोजेसनमा हाबी भयो । तर, उसले चाहिएको गोल गर्न सकेन । त्यसैले म्याथ्यु लेकीले ६० औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो र अस्ट्रेलियाले १–० को जित निकाल्दै सन् २००६ यता पहिलोपल्ट विश्वकपको नकआउट चरणको यात्रा गर्‍यो । आफ्नो १४ औं अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा लेकीले दुई डेनिस डिफेन्सलाई छक्याउँदै बनाएको अवसरमा गोलकिपर कास्पर स्माइकललाई पन्छाएर उत्कृष्ट गोल गरेका थिए ।

विश्वकपमा छैटौंपल्ट सहभागी डेनमार्कले नकआउटमा स्थान बनाउन नसकेको दोस्रोपल्ट हो । फ्रान्स १९९८ मा क्वाटरफाइनल पुग्नु नै विश्वकपमा उसको सबैभन्दा ठूलो उपलब्धि हो । अस्ट्रेलियाले पनि छैटौंपल्ट विश्वकप खेलेको हो । सन् २०६६ देखि लगातार विश्वकपमा खेल्दै आएको उसले १६ वर्षयता पहिलोपल्ट समूह चरण पार गरेको हो ।

इंग्ल्यान्डविरुद्ध सेनेगल

सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डले अफ्रिकी टिम सेनेगलविरुद्ध अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने भएको छ । वेल्समाथि ३–० को जित निकाल्दै मंगलबार इंग्ल्यान्डले ७ अंक बनाएर समूह ‘बी’ विजेता हुँदै नकआउट यात्रा तय गरेको हो ।

दोस्रो खेलमा अमेरिकाविरुद्ध गोलरहित खेल्दै अंक बाँडेपछि फुटबलको जन्मदाता इंग्ल्यान्ड समस्यामा परेको थियो । तर, पहिलो हाफमा गोलरविहीन रोके पनि इंग्ल्यान्डलाई वेल्सले गतिलो चुनौती दिन सकेन । तीनै गोल दोस्रो हाफमा भए । यसक्रममा उत्कृष्ट प्रदर्शन गरेका मार्कस रासफोर्डले दुई तथा फिल फोडेनले एक गोल गरे । ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स २ हार र १ बराबरी नतिजासँगै समूह चरणबाटै बाहिरियो । यससँगै एक समय विश्वकै सबैभन्दा महँगा खेलाडीको रेकर्ड बनाएका गारेथ बेलको अन्तर्राष्ट्रिय फुटबल करिअर पनि टुंगिन सक्छ ।

अर्कोतिर सेनेगल २–१ ले इक्वेडरलाई हराएर समूह ‘ए’ उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो । उक्त समूहमा विजेता भएको नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । राजनीतिक रूपमा चिसो सम्बन्ध भएको देश इरानलाई क्रिस्टियन पुलिसिचको गोलमा १–० ले पराजित गर्दै अमेरिकाले ५ अंक जोड्दै समूह चरण पार गरेको हो । अमेरिकाले इंग्ल्यान्ड र वेल्सविरुद्ध बराबरी खेल्दै अंक बाँडेको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?