नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकको कप्तानीमा रहेको डच टिम ८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दा उत्कृष्ट नतिजा दिलाउन चाहन्छ
राजु घिसिङ

दोहा — समूह ‘ए’ को अन्तिम खेलमा जित निकाल्दै नेदरल्यान्ड्स र सेनेगल मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेका छन् । नेदरल्यान्ड्सले आयोजक कतारमाथि अल बायत रंगशालामा २–० ले हरायो भने खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सेनेगल दक्षिण अमेरिकी टिम इक्वेडरमाथि २–१ को जित रच्दै यसपालि समूह चरण पार गर्ने पहिलो अफ्रिकी टिम बनेको हो ।

नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

डच टिम २ जित र एक बराबरीसँगै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम १६ मा पुग्यो । सेनेगल २ जित र एक हारसहित ६ अंक बनाएर समूहमा उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गर्‍यो । अन्तिम खेलमा हार टार्न सके नकआउट पुग्ने अवस्थामा रहेको इक्वेडर आफूअनुकूल नतिजा निकाल्न असफल भएपछि प्रतियोगिताबाट बाहिरिने पहिलो दक्षिण अमेरिकी टिम बन्यो ।

सुरुबाटै कतारलाई दाबमा राखेको नेदरल्यान्ड्सले गोलका अवसर पनि सिर्जना गर्‍यो । सहज तीन अवसरमा राम्रो फिनिसिङ गर्न असफल भए पनि डच टिमले कोडी गाक्पोको गोलमा पहिलो हाफमै अग्रता लियो । उनले डेवी क्लासेनको पासमा बल अघि बढाउँदै पेनाल्टी क्षेत्रको ठीकभित्रबाट बललाई २६ औं मिनेटमा आकर्षक गोलमा परिणत गर्दै कतार संस्करणमा आफ्नो गोल संख्या ३ पुर्‍याए । २३ वर्षीय यी फरवार्डले सेनेगलविरुद्ध २–० को जित र इक्वेडरविरुद्ध १–१ को बराबरीमा पनि गोल गरेका थिए ।

बर्सिलोनाका मिडफिल्डर फ्रान्क डी जोङले ४९ औं मिनेटमा गोल गर्दै डच टिमलाई २–० ले अगाडि बढाए । क्लासेनको क्रसमा मेम्फिस डिपेले प्रहार गरेको बल कतारका गोलकिपर बरसम मेसालले रोके पनि त्यसमा नजिकै रहेका डी जोङले सहजै बललाई पोस्टको दिशा दिँदै नेदरल्यान्ड्सलाई जिततर्फ अग्रसर बनाए ।

स्टेभेन बर्गिसले ६८ औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले उक्त मुभमा गाक्पोको हातले बल छोएको देखिएपछि उक्त गोलले मान्यता पाएन । उनले इन्ज्युरी समयमा प्रहार गरेको बल क्रसबारमा लागेर बाहरिएको थियो ।

डच टिमले विश्वकपमा एसियाली टिमविरुद्ध जितको शृंखला कायम राख्दै ६ खेल पुर्‍यायो । नेदरल्यान्ड्सले विश्वकपको समूह चरणमा अपरािजत यात्रा १६ खेल पनि बनायो । सन् १९७४, १९७८ र २०१० को उपविजेता नेदरल्यान्ड्स चार वर्षअघि रुसमा भएको विश्वकपमा युरोपेली छनोटमै रोकिएको थियो । लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकको कप्तानीमा रहेको टिम ८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दा उत्कृष्ट नतिजा दिलाउन चाहन्छ । डच टिम ब्राजिल (२०१४) मा तेस्रो भएको थियो ।

उद्घाटन खेलमा इक्वेडरविरुद्ध २–० र अफ्रिकी टिम सेनेगलविरुद्ध ३–१ ले हारेपछि कतार ९२ वर्ष लामो विश्वकप इतिहासमै सबैभन्दा छिटो प्रतियोगिताबाट बाहिरिने टिम भएको थियो । त्यसपछि नेदरल्यान्ड्सले कतारको विश्वकप डेब्युमा लगातार तीन हारको नतिजा थमाइदिएको हो । कतार समूह चरणबाटै बाहिरिने दोस्रो आयोजक टिम हो । यसअघि यो खराब रेकर्ड दक्षिण अफ्रिका (सन् २०१०) ले मात्रै बनाएको थियो । आयोजक टिमको औपचारिक बिदाइमा अल बायत रंगशालामा ६६ हजार ७ सय ८४ दर्शकको उपस्थिति देखाइए पनि प्यारापिटका थुप्रै सिट खाली नै देखिन्थ्यो ।

सन् २०२२ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगल टिमका हिरो एलिउ सिसे अहिलेको टिममा मुख्य प्रशिक्षक छन् । त्यसयता सेनेगलले पहिलोपल्ट विश्वकपको नकआउटमा स्थान बनाएको हो ।

काउलीबेलीको निर्णायक गोल

स्माइल सरले ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । तर, मोइसेस काइसेडोले ६७ औं मिनेटमा गोल गरेर बराबरी गर्दै इक्वेडरको नकआउट प्रवेशको सम्भावना कायम राखेका थिए । प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर कालिडोउ कोउलिबेलीले ७० औं मिनेटमा निर्णायक गोल गरेर सेनेगललाई अन्तिम १६ मा पुर्‍याए ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?