कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
विश्वकप २०२२

नेयमर फर्कने ब्राजिलको विश्वास

एएफपी

दोहा — छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास रहेको छ, विश्व फुटबलका सबैभन्दा महँगा खेलाडी नेयमर चोटबाट फर्केर टिमको नेतृत्व गर्न सक्षम हुनेछन् । कतारमा ब्राजिलको पहिलो खेलमा नेयमरको घुँडामा चोट लागेको थियो । सर्बियाविरुद्ध प्राप्त २–० जितमा उनी खेलको अन्त्यतिर मैदानबाट बाहिर निस्केका थिए ।

नेयमर फर्कने ब्राजिलको विश्वास

पछि उनको एको चोट लागेको निश्चित भएको थियो । समूह ‘जी’ मा ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दा उनले नखेल्ने निश्चित मानिएको छ । डर त के थियो भने सम्भवतः उनले पूरा प्रतियोगिता नै खेल्न सक्ने छैनन् । डिसेम्बर १८ को फाइनल अगाडि उनी चोटबाट मुक्त हुन संघर्षरत रहने सम्भावना थियो ।

तर डिफेन्डर तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का साथी खेलाडी मारक्विन्होले नेयमर गहन उपचारमा संलग्न रहेको र पूर्ण निको भएर मैदानमा फर्कन प्रयासरत रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा मारक्विन्होले भने, ‘अहिले उनलाई गाह्रै भइरहेको छ ।’

उनी भन्छन्, ‘पहिलो खेलपछि उनी दुःखी थिए । यो सामान्य पनि हो, किनभने यही विश्वकपका लागि उनले कति धेरै सपना बुनेका छन् । अहिले परीक्षण र उपचार पनि उनी २४ घण्टा नै फिजियोथेरापी गरिरहेका छन् । यसले पनि देखाउँछ, उनी कति धेरै टिममा फर्कन चाहन्छन् । उनी ठ्याक्कै कहिले खेल्न सक्षम हुनेछन्, त्यो हामीलाई थाहा छैन । तर हाम्रो विश्वास छ, यो चाँडोभन्दा चाँडो हुनेछ ।’

ब्राजिली प्रशिक्षक टिटेले सर्बियाविरुद्धको खेललगत्तै नेयमरले प्रतियोगिताकै क्रममा खेल्न सक्षम हुने बताएका थिए । अहिले तिनै प्रशिक्षक ३० वर्षीय खेलाडीको खेल्न सम्भावनाबारे बचेर बोलिरहेका छन् । उनी नेयमर मात्र होइन, राइट ब्याक डानिलोले खेल्न नखेल्नेबारे दाबी गर्न सकिरहेका छैनन् । टिटे भन्छन्, ‘मलाई पूरा विश्वास छ, नेयमर र डानिलो यसै प्रतियोगितामा खेल्न सक्षम हुनेछन्, किनभने यो विश्वकप हो । तर चिकित्सकीय र आधिकारिक रूपमा यस्तै हुनेछ भनेर भन्न सक्ने स्थिति छैन । हामीलाई के विश्वास छ भने नेयमर मात्र होइन, डानिलोले पनि यसै विश्वकपमा खेल्नेछन् ।’

स्विट्जरल्यान्डका जेरडान साकिरी र प्रशिक्षक मुरत याकिन । तस्बिर : एएफपी

स्टेडियम ९७४ मा हुने खेलमा ब्राजिल स्विट्जरल्यान्डमाथि विजयी रहे, समूह चरणको एक खेल अगाडि नै त्यो अन्तिम १६ मा प्रवेशका लागि पर्याप्त रहन सक्नेछ । तर त्यसका लागि समूह ‘जी’ मा क्यामरुन र सर्बियाबीचको खेलको नतिजा भने कुर्नुपर्नेछ । त्यो हो भने डिसेम्बरको ५ अथवा ६ मा ब्राजिलले अन्तिम १६ को खेल खेल्नेछ । युभेन्ट्सका ३१ वर्षीय खेलाडी डानिलो पनि घुँडाको चोटबाट गुज्रिरहेका छन् र उनले पनि यो चोट सर्बियाविरुद्धको खेलमै बोकेका थिए ।

उनले खेल्न नसक्ने स्थितिमा स्विस टिमविरुद्ध रियल म्याड्रिडका एडेर मिलिटाओ अथवा ३९ वर्षीय डानी एलाभेसलाई उतारिनेछ । तर चर्चाको केन्द्रबिन्दु भने नेयमर नै रहेका छन् । ब्राजिली टिमको प्रदर्शन धेरे हदसम्म नेयमरकै खेलमा भर पर्ने मानिन्छ । सन् २०१४ को ब्राजिलमै भएको विश्वकपमा पनि नेयमर कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलमा घाइते भएका थिए । त्यसैले उनी जर्मनीविरुद्ध ७–१ को खेलमा उपस्थित थिएनन् ।

प्रकाशित : मंसिर १२, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?