१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

राजनीतिक दुस्मनी र तीन मिनेटको खेल

गोलकिपरले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध अन्तिम समयको दुई गोलमा २–० को जित रच्दै इरानको अन्तिम १६ मा छनोट हुने सम्भावना कायम
राजु घिसिङ

दोहा — संयुक्त अधिराज्य (युके) मा चार देश छन् । त्यसैमा पर्दछन् इंग्ल्यान्ड र वेल्स । अघिल्लो शताब्दी विश्वमै शासन जमाएको युकेको पहिल्यैदेखि घनिष्ट राजनीतिक सम्बन्ध छ अमेरिकासँग । पहिला युकेले उपनिवेश बनाएको विश्वका अधिकांश देशको नेतृत्व अहिले अमेरिकी नीति र इसारामा चल्ने गरेको छ ।

राजनीतिक दुस्मनी र तीन मिनेटको खेल

विश्व राजनीतिमा ठूलो प्रभाव जमाइरहेका अमेरिका र युकेसँग इरानको सम्बन्ध पटक्कै राम्रो छैन । सम्बन्ध निकै चिसो छ । कस्तोसम्म भने राजनीतिक रूपमा यी दुई ध्रुवका देश एकले अर्काको अस्तित्व पनि स्वीकार्न चाहँदैनन् । कहिले आणविक अस्त्र त कहिले सशस्त्र इस्लामामिक समूहलाई प्रश्रय दिएको भन्दै अमेरिकी–युके एलायन्सले इरानमाथि नाकाबन्दी गर्दै आएको छ । मौका पारेर शक्तिशाली इरानी व्यक्तिमाथि आक्रामण नै गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर कासिम सुलेइमनलाई इराकी प्रधानमन्त्री भेट्न बगदाद पुगेका बेला अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिएको दुई वर्ष पनि भएको छैन ।

त्यसैले इरानले राजनीतिक शत्रुता रहेका टिमहरूविरुद्ध कतारमा भिड्न चाहेको थिएन । तर, विश्वकपको ‘ड्र’ त्यस्तो भएन । फुटबलको मैदानबाहिर कटु सम्बन्ध भएका देशकै तीन टिम इरानको समूहमा पर्नु संयोग पनि हो । खाडी क्षेत्रमा भएको पहिलो विश्वकपमा इरानको सुरुआत राम्रो भएन । छैटौंपल्ट विश्वकपमा सहभागी इरानले गत सोमबार फुटबलको जन्मदाता एवं सन् १९६६ को च्याम्पियन इंग्ल्यान्डविरुद्ध इतिहासकै सबैभन्दा फराकिलो ६–२ को हार खेप्यो । त्यसैले रियल म्याड्रिड र टोटेनहमका पूर्वफरवार्ड गारेथ बेलको कप्तानीमा रहेको वेल्सविरुद्ध इरानी टिम सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाबमा थियो ।

विश्वकपमा पहिलोपल्ट नकआउट चरणमा स्थान बनाउन इरानलाई प्रिमियर लिगका खेलाडीको उपस्थितिले बलियो हुँदै ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्समाथि जित्नैपर्ने बाध्यता थियो । किनभने पहिलो खेलमा अन्त्यतिर बेलको पेनाल्टी गोलमा अमेरिकालाई १–१ मा रोक्दै हार टारेको वेल्सले समूहको अन्तिम खेलमा चार वर्षअघि सेमिफाइनल खेलेको तथा युरो २०२० को उपविजेता इंग्ल्याडको सामना गर्नेछ । त्यसैले कतार यात्रा लम्ब्याउने चाहनामा दुवै टिमका लागि पूरा ३ अंक जरुरी थियो । त्यसैले दुवै टिमले आक्रामक रणनीति लिएको थियो ।

शृंखलाबद्ध आक्रामण

वास्तवमा अहमद बिन अली रंगशालामा प्रतिस्पर्धाको घण्टौंअघि नै इरानको पक्षमा माहोल बनेको थियो । रंगशालाबाहिर इरानी समर्थक सेतो जर्सी, झन्डा, रंगीन टोपीसहित नाचगान र हुटिङ गरिरहेका थिए । इरानी नाच र संगीतको प्रस्तुति भइरहेको थियो । त्यो माहोल देखेर तटस्थ दर्शक पनि इरानको झण्डाको तीन रंग (हरियो, रातो र सेतो) ले गाला रंगाउन लाइन लागेका थिए ।

पहिलो मिनेटबाटै वेल्सको पोस्टमा धावा बोलेको इरानले त्यसक्रमलाई पूरा खेलमा निरन्तरता दियो । हरेक पोजिसनमा इरानी खेलाडी मिहिनेती देखिए । वेल्सले पनि बेलाबेला इरानी डिफेन्सलाई दबाब दिएको थियो । इंग्ल्यान्डविरुद्ध लज्जास्पद हार बिर्साउने प्रयासमा इरानी खेलाडीहरूले गोलका लागि सहज चार अवसर सिर्जना गर्‍यो । तर, फिनिसिङ चुस्त भएन । एकपल्ट बललाई पोस्टको दिशा दिए पनि त्यो ‘मुभ’ मा भिडियो असिस्टेन्ट रेफ्री (भार) ले अफसाइड देखाइदियो । दोस्रो हाफमा वेल्स केही सुधारियो । गोलको मौका पनि बनायो तर नतिजाका लागि निर्णायक प्रहार गर्न सकेन ।

जर्मन क्लब बायर लेभरकुजनका फरवार्ड सरदार अजमोनले ५१ औं मिनेटमा प्रहार गरेको बल पोलमा लागेर फर्कियो । अली गोलिजादेहले पेनाल्टी क्षेत्रबाहिरैबाट सशक्त रूपमा हानेको बलमा पनि पोस्ट बाधक बन्यो । त्यसैमा फर्किएको बल पेनाल्टी क्षेत्रमा रहेका अजमोनले पाए तर उनले बल सिधै गोलकिपर वायनी होनेसीलाई दिँदा इरानले अग्रता लिने अवसर गुमायो । सइद एजातोलाहीको प्रहारमा होनेसीको उत्कृष्ट बचाउ गर्दै बल बाहिर फालेर वेल्सको संकट टारेका थिए । वेल्सका बेन डेभिसको शक्तिशाली प्रहारमा इरानी गोलकिपरले आकर्षक रूपमा बल बाहिर पठाए ।

रातो कार्ड निर्णायक

रोमाञ्चक खेलको कथा ८६ औं मिनेटमा फेरियो । गोलकिपर होनेसीले बल अगाडि बढाइरहेका मेहदी तारेमीलाई पेनाल्टी क्षेत्रबाहिरै लडाएपछि वेल्सलाई संकट आइलाग्यो । तत्कालै रेफ्रीले उनलाई पहेंलो कार्ड दिएपछि इरानी खेलाडीहरूले विरोध गरेका थिए अनि भारले रिभ्यु गरेपछि होनेसीलाई रातो कार्ड दिइयो । वेल्स १० खेलाडीमा खुम्चियो । आक्रामक खेलाडी आरोन राम्सीलाई निकाल्दै वैकल्पिक गोलकिपर ड्यानी वार्डलाई वेल्सको पोस्ट सम्हाल्न पठाइयो ।

खेलाडी संख्याले फाइदा भए पनि इरान थप आक्रामक बन्यो । इन्ज्युरी समय ९ मिनेट थपिए पनि ११ मिनेट चल्यो । त्यसैको आठौं मिनेट अर्थात् ९८ औं मिनेटमा रुजवेह चेस्मीले पेनाल्टी क्षेत्रबाहिरैबाट बल प्रहार गर्दै रोमाञ्चक गोल गरेर इरानलाई अग्रता दिलाए । उनले सशक्त रूपमा प्रहार गरेको बल गोलकिपर वार्डले रोक्ने कुनै अवसर पाएनन् र सुन्दर गोलसँगै इरान १–० ले अगाडि बढ्यो ।

इरानी खेलाडी र समर्थकले चेस्मीको गोलमा ४० हजार ८ सय ७४ दर्शकसामु भव्य खुसीयाली मनाए । केही दर्शक रोए । कप्तान गारेथ बेलसहित वेल्सका खेलाडीहरू भने हार स्वीकारेजस्तै गरी मैदानमै ढलेका थिए । वेल्सका खेलाडीहरू एक गोलले पछाडि परेलगत्तै गोल फर्काउने प्रयासमा निकै हतारियो । समय पनि सकिँदै गयो । उल्टै, काउन्टर एट्याकमा रमिन रेजाइनले पाएको अवसरलाई इन्ज्युरी समयको ११ औं मिनेटमा गोलमा परिणत गर्दै २–० को अग्रतासहित विश्वकपमा इरानको तेस्रो जित पक्का गरिदिए । लगत्तै खेल सकियो ।

इरानले समूह चरणको अन्तिम खेलमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उसलाई नकआउट प्रवेशका लागि त्यो खेल निर्णायक बन्नेछ । दुई खेलमा एक अंकमै सीमित भएपछि वेल्स भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

‘मासा २२ अमिनी’

अमेरिकी नीतिको अन्तराष्ट्रिय राजनीतिको भूमरीमा फसेको इरान अहिले आफ्नै देशभित्रको आन्दोलनले पनि समस्यामा परेको छ । दुई महिनाअघि बुर्का नलगाएको दोषमा पक्राउ परेकी २२ वर्षीया युवती मासा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएपछि पूरा इरानमै महिलाअधिकारको पक्षमा आन्दोलन चर्किएको छ । सरकारले आन्दोलनको दमन गर्दा ४ सय बढीले ज्यान गुमाएको मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् ।

दमनविरुद्ध र अधिकारका लागि इरानी टिमले इंग्ल्यान्डविरुद्धको खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए । उनीहरूले वेल्सविरुद्ध गाए । खेलाडीहरूले पनि अधिकारको लडाइँमा साथ दिएका छन्, सार्वजनिक रूपमै आवाज उठाइरहेका छन् । केही दर्शक ‘मासा २२ अमिनी’ लेखेको टिसर्ट लगाएर र प्लेकार्ड बोकेर आएका थिए । रंगशालाभित्र प्रहरीले त्यस्ता टिसर्ट परिवर्तन गर्न वा छोप्न दबाब दिइरहेका थिए । प्लेकार्ड खोसिएको थियो । त्यसैले इरानीका लागि वेल्सविरुद्ध जित विशेष रह्यो । इरानी जनताका लागि विश्वकपमा जोडेको ३ अंकमात्रै होइन, राजनीतिक शत्रुता रहेको देशमाथिको जित र स्वदेशमै अधिकारको लडाइँमा चर्किरहेको आन्दोलनको समर्थनमा थपिएको हौसला पनि हो ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?