डेनमार्कलाई च्याम्पियन फ्रान्सको डर छैन- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

डेनमार्कलाई च्याम्पियन फ्रान्सको डर छैन

एएफपी

दोहा — डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमलाई डिफेन्डिङ च्याम्पियन फ्रान्सको शनिबार सामना गर्दा कुनै डर नभएको दाबी गरेका छन् । यसै वर्ष नेसन्स लिगमा डेनमार्कले फ्रान्सलाई दुईपल्ट हराइसकेको छ ।

यसपल्टको विश्वकपको आफ्नो उद्घाटन खेलमा भने डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । डेनर्माकले अहिले पनि फ्रान्सलाई हराउने हो भने समूह ‘डी’ बाट अगाडि बढ्ने सम्भावना बलियो रहनेछ ।

डेनमार्कले अर्को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । हुजलमन्डले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘पहिलो खेलको बराबरीपछि हाम्रा लागि निकै महत्त्वपूर्ण खेल अगाडि आएको छ । हाम्रो प्रतिद्वन्द्वी निकै अब्बल दर्जाको छ र उसको परिचय विश्वकपको पछिल्लो विजेता पनि हो । फ्रान्सेली फुटबल टिममा जति प्रतिभाशाली खेलाडी छन्, त्यो निकै लोभलाग्दो छ । मेरो यो टिमप्रति धेरै प्रशंसा पनि छ । तर हामी आफैं कति बलियो छौं भनेर पनि थाहा छ ।’

युरो २०२० को सेमिफाइनलसम्म पुगेको डेनमार्कले फ्रान्सलाई नेसन्स लिग घर बाहिर र भित्र पराजित गरेको थियो । कतारमा पनि डेनमार्क ‘डार्क हर्स’ को रूपमा रहेको छ । रुसमा भएको चार वर्षअगाडिको पछिल्लो विश्वकपमा पनि यी दुई टिम लिग चरणमा भिडेका थिए । त्यसको नतिजा गोलरहित रहेको थियो । हुजलमन्ड भन्छन्, ‘हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने फ्रान्सविरुद्ध राम्रो नतिजा निस्कने सम्भावना धेरै छ ।’

उनी थप्छन्, ‘त्यसैले हामीले यो खेलमा राम्रो गर्नुपर्छ र अगाडि गन्तव्यतर्फ अग्रसर हुनुपर्छ ।’ फ्रान्सले चोटका कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई गुमाइसकेको छ । फ्रान्सले उपाधि रक्षा गर्ने अभियान सुरु हुने संघारमै बेन्जेमालाई गुमाएको थियो । तर डिडियर डेसच्याम्पको टिमले अस्ट्रेलियालाई सजिलै ४–१ ले हराएको थियो । त्यसमा ओलिभर जिरोडले दुई गोल गरे । उनले फ्रान्सका लागि थिएरी हेनरीको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका थिए ।

त्यस खेलमा केलियन एमबाप्पेले एक गोल गर्दै अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । एमबाप्पेविरुद्ध सम्भाविन रणनीतिबारे प्रशिक्षक हुजलमन्डले भने, ‘कोही कसैबारे डराउनु ठीक हुन्न । फ्रान्सविरुद्ध पछिल्लो सेप्टेम्बरमा कोपनहेगनमा खेल्दा हामीले राम्रो योजना बनाएका थियौं र खेलका क्रममा दुई तीन राम्रा अवसर पनि बनाउन सक्यौं । एमबाप्पे जत्तिको विश्वस्तरीय खेलाडीका लागि कुनै योजना बनाएर रोक्न सकिन्न । उनलाई चुप राखेर राख्न सकिन्न ।’

उनी थप्छन्, ‘हामी एमबाप्लेले सजिलो मौका नपाओस भन्ने मात्र हो । उनले आफूले चाहेअनुसार खेल्न नसकोस् भन्ने मात्र हो ।’ डनेमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले ट्युनिसियाविरुद्धको खेलमा पूरा ९० मिनेट खेलेका थिए । युरोमा भएको मैदानमै भएको कार्डिक आक्रामणपछि एरिक्सन पहिलो ठूलो प्रतियोगिता खेलिरहेका छन् । खेलकै क्रममा मैदानमा ढलेका एरिक्सन अहिले भन्छन्, ‘यो त धेरै पुरानो कुरा जस्तै भयो, चर्चा अहिले म जे जस्तो खेलाडी छु, त्यसबारे हो । फेरि पनि फुटबल खेल्न पाएकोमा म खुसी छु ।’

प्रकाशित : मंसिर १०, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

हुम्ला प्रदेशसभा ‘२’ मा कर्णालीका मुख्यमन्त्री शाही पुन:  विजयी

माओवादीबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका छक्कबहादुर लामा पराजित
जनकबहादुर शाही

हुम्ला — हुम्ला प्रदेशसभा (२)मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्  । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही ७ हजार ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी उम्मेदवार छक्कबहादुर लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।

हुम्ला प्रदेशसभा ‘२’ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाहीले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई ४ हजार ७८ मत अन्तरले पराजित गरेका हुन् ।

कांग्रेसका शाहीले ७ हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नैनसिंह रावतले ९७ मत प्राप्त गरे भने जनता समाजवादी जसपाका बलिराज शाहीले ४० र राप्रपा नेपालका उम्मेदवार सुमन रावतले १५ मत प्राप्त गरे ।

यस्तै १ सय १९ मत बदर भएको छ । यसअघि प्रदेश ‘१’ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । २०७४ प्रदेशसभा सदस्य बनेका शाही पुन: प्रदेश (२)मा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×