कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

इंग्ल्यान्डको फितलो प्रदर्शन, अमेरिकासँग गोलरहित खेल

युरोप कप २०२० को उपविजेता इंग्ल्यान्डले अमेरिकाविरुद्ध अंक बाँडेपछि विश्वकपको नकआउट चरणमा छनोट हुन वेल्सविरुद्ध अनुकूल नतिजा निकाल्नुपर्ने भएको छ
राजु घिसिङ

दोहा — उपाधिविहीन यात्रालाई ५६ वर्षमा पूरर्णविराम लागउने लक्ष्यसहित कतार ओर्लिएको फुटबलको जन्मदाता इंग्ल्यान्डले कठिन संघर्षपछि अमेरिकालाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ । खेल जित्न असफल भएपछि युरो कपको उपविजेताले नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने अवसर गुमायो ।

इंग्ल्यान्डको फितलो प्रदर्शन, अमेरिकासँग गोलरहित खेल

पहिलो खेलमा इरानमाथि ६–२ को सानदार जित निकालेको इंग्ल्यान्डले अल खोरस्थित अल बायत रंगशालामा निक्कै फितलो प्रदर्शन गऱ्यो । प्रिमियर लिगका स्टार खेलाडीहरु सुस्त देखिए । इंग्ल्यान्डको डिफेन्सलाई अमेरिकी खेलाडीहरुले पूरा खेलमा दबाबमा राख्यो । सन् १९६६ मा घरेलु भूमिमा भएको विश्वकपको चयाम्पियन इंग्ल्यान्डको प्रदर्शन बराबरी नतिजाको लागि खेलेजस्तै देखियो ।

अमेरिकाले २६ औं मिनेटमा अग्रता लिने अवसर पाएको थियो । तर, टिमोथी वेहको आकर्षक क्रसमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका वेस्टन म्याकेन्नीको प्रहार सटिक भएन । उनले बल पोष्टमाथि प्रहार गरे । कप्तान क्रिस्टियन पुलिसिचले ३३ औं मिनेटमा सशक्त रुपमा प्रहार गरेको बल क्रसबारमा चुम्दै बाहिरिँदा अमेरिका फेरि अग्रता नजिक पुगेर पनि रोकिएको थियो ।

प्रशिक्षक गारेथ साउथगेटले दोस्रो हाफमा ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन र मार्कुस रासफोर्डलाई मैदानमा उतार्दै आक्रामणमा केही सुधार गरेपनि त्यो प्रयास एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गर्न पर्याप्त भएन । चार वर्षअघि रुसमा सेमिफाइनल खेलेको तथा गत वर्ष युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इंग्ल्यान्डले अब समूह चरण पार गर्नको लागि वेल्सविरुद्धको खेल निर्णायक हुने भएको छ ।

पहिलो खेल वेल्सविरुद्ध १–१ मा टुंग्याएको अमेरिकाले लगातार दोस्रो बराबरीसँगै विश्वकपमा इंग्ल्यान्डविरुद्ध अपराजित यात्रालाई कायम राख्यो । सन् १९५० को संस्कणमा इंग्ल्यान्डमाथि १–० को नसोसचएको जित हात पारेको अमेरिकाले १२ वर्षअघि भएको समूह चरणको भेटमा १–१ मा टुंग्याएको थियो । उसले खाडी क्षेत्रमा आएर इंग्ल्यान्डविरुद्ध गोलरहित खेल्दै अंक बाँड्यो ।

अमेरिकाले विश्वकपको समूह चरणका पछिल्ला सातमध्ये छैटौं खेलमा बराबरी नतिजा निकालेको हो । उसले अब २२ औं संस्करणमा समूह चरणको अन्तिम खेलमा राजनीतिक रुपमा चिसो सम्बन्ध रहेको इरानविरुद्ध खेल्ने छ । शुक्रबारै भएको नाटकीय खेलमा वेल्सलाई २–० हराएर इरानले अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायम राखेको थियो ।

चार अंकसहित शीर्षस्थानमा रहेको इंग्ल्यान्डले समूहको अन्तिम खेलमा वेल्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ । इरानले तीन र अमेरिकाले दुई अंक बनाएका छन् भने वेल्स १ अंकसहित समूहको पुछारमा छ ।

प्रकाशित : मंसिर १०, २०७९ ०३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?