कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केनले खेल्नेमा साउथगेट विश्वस्त

काठमाडौँ — इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले आफ्ना कप्तान ह्यारी केन फिट रहेको बताउँदै शुक्रबार अमेरिकाविरुद्ध खेल्ने जनाएका छन् । इंग्ल्यान्डले समूह ‘बी’ को आफ्नो पहिलो खेलमा इरानलाई सजिलै ६–२ ले पराजित गर्दा केन घाइते भएका थिए ।

केनले खेल्नेमा साउथगेट विश्वस्त

उनलाई घुँडामा चोट लागेको थियो । टोटेनहमका स्ट्राइकर केनको घुँडाको चोटको लामो इतिहास छ । बुधबार मात्रै केनको चोटको परीक्षण गरिएको थियो । डर उत्पन्न भएको थियो सायद उनी बेञ्चमै रहने हो कि ?

तर, इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पनि केन बुधबारको अभ्याससत्रमा उपलब्ध भएको बताएका छन् । इंग्ल्यान्डले शुक्रबार खेलमा अमेरिकाको सामना गर्नेछ । यो खेल अल बयाट स्टेडियममा हुनेछ । साउथगेटले बीबीसीलाई भनेका छन्, ‘केन ठीक छन् । उनले आफ्नो टिमभन्दा फरक स्थानमा अलग्गै रहेर तयारी गरेका छन् । तर उनी शुक्रबार रातिको खेलमा उपलब्ध हुनेछन् । परीक्षणपछि उनले खेल्ने तय भएको हो ।’

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको इरानविरुद्धको खेलमा २९ वर्षीय खेलाडीले ७५ मिनेटसम्म खेलेका थिए । पिकफोर्डले थपेका छन्, ‘सबैलाई थाहा छ, केन कति उम्दा खेलाडी हुन् भनेर । टिमका लागि उनी राम्रो खेलेर उदाहरण पेस गर्नसक्ने खेलाडी हुन् । उनी नेता हुन, कप्तान हुन् । उनी निःस्वार्थी खेलाडी हुन् । त्यसैले हामी उनलाई पछ्याउने गर्छौं ।’ केनले सन् २०१८ को विश्वकपमा इंग्ल्यान्डका लागि ‘गोल्डेन बुट’ अवार्ड जितेका थिए ।

सन् १९६६ यता पहिलो ठूलो फुटबल उपाधि जित्न प्रयासरत इंग्ल्यान्डका लागि केन सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहेका छन् । इरानविरुद्धको खेलमा उनले कुनै गोल नगरे पनि रहिम स्टर्लिङ र बुकायो साकाको गोलमा सहयोगी भूमिका निभाएका थिए । सकेसम्म चोटमुक्त रहेर खेल्नका लागि केनले पछिल्लो समय निजी चिकित्सकको सहयोग लिइरहेका छन् । घुँडाको चोटकै कारण उनी आफ्नो खेलजीवनमा पाँचपल्ट लामो समय मैदानबाहिर रहेका छन् ।

इरानविरुद्धको खेलमा केन सबैको ध्यान खिच्न सफल रहेका थिए । उनले ‘वन लभ’ आर्मब्यान्ड लगाएर खेल्ने बताएका थिए, तर इंग्लिस फुटबल संघले उनलाई त्यस्तो नगर्न निर्देशन दिएको थियो । फिफाले त्यस्तो कुनै प्रकारको आर्मब्यान्ड लगाएर खेल्ने खेलाडीलाई कार्ड देखाइने बताएपछि सबै सतर्क भएका थिए । तर, पिकफोर्डले केनले त्यस्तै आर्मब्यान्ड लगाएर खेलेको हेर्न चाहेका बनाए । उनले भने, ‘तर यो निर्णय अब उनको हातमा मात्र रहेन ।’

यस्तै साउथगेटले ह्यारी मगायर पनि स्वस्थ महसुस गरिरहेको बताए । म्यानचेस्टर युनाइटेडका सेन्ट ब्याक इरानविरुद्धको खेलको अन्त्यतिर बिरामी भएपछि उनलाई मैदानबाट फिर्ता बोलाइएको थियो । साउथगेटले थपे, ‘इरानविरुद्धको खेलका बेला मगायरले बिरामी भएको महसुस गरे र त्यसैले उनले आँखा पनि धमिलो थियो । यसले उनलाई चोट लाग्ने जोखिम बढी हुनसक्थ्यो । तर, अहिले चिन्ताको विषय रहेन ।’

प्रकाशित : मंसिर ९, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?