१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘ब्याटम्यान’ शैलीमा फर्किए सन

राजु घिसिङ

दोहा, कतार — दक्षिण कोरियाली स्टार सन ह्युङ–मिन प्रिमियर लिगको लन्डन क्लब टोटेनहम हर्टस्परबाट च्याम्पियन्स लिग खेल्दा फ्याक्चर भएको आँखाको हाडको शल्यक्रिया गरेपछि विश्वकप २०२२ को टिम घोषणा गर्दासम्म खेल्न सक्नेमा शंका थियो । उनी खेल्न सकेन भने टिममा समावेश गर्न वैकल्पिक खेलाडी लिएर प्रशिक्षक पाउलो बेन्टो कतार आएका थिए ।

‘ब्याटम्यान’ शैलीमा फर्किए सन

कतार ओर्लेपछि टिमसँगै ट्रेनिङ थालेका ३० वर्षीय फरवार्ड सन यो विश्वकपको पहिलो खेलमा बिहीबार उरुग्वेविरुद्ध अनुहारमा सुरक्षा मास्क लगाएर ‘ब्याटम्यान’ को रूपमा मैदानमा उत्रिए । उनको कप्तानीमा कोरियाले अल रायनस्थित एजुकेसन सिटी स्टेडियममा ४१ हजार ६ सय ६३ दर्शकमाझ राम्रै प्रदर्शन गरे । तर, पाएका अवसर उपयोग गर्न सकेन । पहिलो हाफमा कोरियाले राम्रो गरेको थियो । दोस्रो हाफमा लय समातेको उरुग्वेले अन्त्यतिर दबाब दियो । उसले अवसर सिर्जना गरेर पनि बललाई गोलमा परिणत गर्न सकेन । त्यसैले पहिलो खेल गोलरहित टुंग्याउँदै कोरिया र उरुग्वेले अंक बाँडे ।

नेपोलीका डिफेन्डर किम मिन–जाएले चोट बोक्दै मैदान छाडेपछि कोरिया दबाबमा परेको थियो । सन र चो गु–सुङले दोस्रो हाफमा पेनाल्टी क्षेत्रबाहिरैबाट प्रहार गरेको बल पोस्ट नजिकबाट बाहिरियो । रियल म्याड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेले ९० औं मिनेटमा सशक्त रूपमा प्रहार गरेको बल क्रसबारमा लाग्दै बाहिरिँदा उरुग्वेले ३ अंक जोडने अवसर गुमाएको थियो । इंग्ल्यान्ड, स्पेन र इटालीका ठूला क्लबमा आबद्ध खेलाडीलाई समेटेको उरुग्वेले व्यक्तिगत कौशलअनुसार प्रदर्शन गर्न सकेन ।

प्रशिक्षक डिएगो अलोन्सोले लिभरपुलका फरवार्ड डार्विन नुनेजसँगै भेट्रान लुइस स्वारेजलाई पहिलो रोजाइमा खेलाएका थिए । गोल गर्न नसके पनि नुनेजको प्रदर्शन छरितो रह्यो । लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड स्वारेज भने मैदानमा हराइरहेका थिए । दोस्रो हाफमा एडिन्सन काभानी उत्रिए । तर, दुईपल्टको विश्वकप विजेतालाई जित दिलाउने उनको प्रयास पनि सफल भएन । खेल प्रतिस्पर्धात्मक र हेर्नलायक थियो । तैपनि कोरियाविरुद्ध उरुग्वेको प्रतिस्पर्धा बल गोलमा परिणत हुने गरी पोस्टमा प्रहार गर्न नसकेको पहिलो खेल बन्यो । समूह ‘एच’ मा रहेको कोरियाले दोस्रो खेलमा घानाविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने उरुग्वेले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको सामना गर्नेछ ।

समूह ‘जी’ को पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० ले पराजित गर्यो । अल जनोब रंगशालामा ब्रिल एम्बोलोले ४८ औं मिनेटमा निर्णायक गोल गरे । घानामा जन्मिएका उनले गोलको खुसी भने मनाएनन् । कीर्तिमान पाँचपल्टको विश्वकप विजेता ब्राजिल रहेको समूहमा स्विट्जरल्यान्डको जित नकआउट चरण प्रवेशका लागि महत्त्वपूर्ण हुनेछ । स्विस टिमले दोस्रो खेलमा ब्राजिलको सामना गर्नेछ भने क्यामरुनको भेट सर्बियासँग हुनेछ ।

बुधबार राति बेल्जियमले क्यानडालाई १–० ले पन्छाउन निकै संघर्ष गर्नुपर्‍यो । मध्यान्तर हुनु ठीकअगाडि मिची बात्सुयीले टबी एल्डरवेइलर्डको लामो क्रसमा क्यानडाका मिलान बोर्जानलाई पन्छाउँदै गोल गरेका थिए । क्यानडाका अल्फोन्सो डेभिसले सुरुमै गोल गरेको भए कथा फरक हुन सक्थ्यो । तर १० औं मिनेटमा बायर्न म्युनिकका स्टार डेभिसको पेनाल्टी प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टियसले बचाइदिए । खेलभरि बेल्जियमले भन्दा क्यानडाले धेरै गोल अवसर बुनेको थियो ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?