गाभीको उदय र स्पेनको ७ गोल- विश्वकप फुटबल २०२२ - कान्तिपुर समाचार

गाभीको उदय र स्पेनको ७ गोल

एएफपी

दोहा — गाभीले भलीमा उत्कृष्ट गोल गर्दै विश्व स्टेजमा आफ्नो आगमनको सन्देश दिएपछि स्पेनले विश्वकपको आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कोस्टारिकालाई ७–० ले हराएको छ ।

सन् २०१० को विजेता स्पेनका लागि फेरान टोरेसले दुई गोल गरे । तर स्पेनका लागि पाँचौं गोल १८ वर्ष ११० दिन उमेरका गाभीले असाधारण भलीमा गरेका थिए । बार्सिलोनाका टिनएजर गाभीले पेनाल्टी बक्सलाइनबाट गरेको ड्रप बल पोस्टमा लागेर गोल भएको थियो । विश्वकपमा कम उमेरमा गोल गर्ने गाभी तेस्रो कान्छा खेलाडी बनेका छन् । कम उमेरमा गोल गर्नेमा ब्राजिलका पेले र मेक्सिकोका म्यानुयल रोसास थिए ।

समूह ‘इ’ को प्रतिद्घन्द्घी जर्मनी बुधबारकै अर्को खेलमा जापानसँग स्तब्ध भइसकेको अवस्थामा स्पेनका लागि यो जित महत्त्वपूर्ण बनेको छ । डानी ओल्मो र मार्को एसेन्सियोले पहिलो १० औं मिनेटमा गोल गरेपछि स्पेनलाई सुरुदेखि खेलमा पकड राख्न मदत गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको प्रतियोगिताको क्वाटरफाइनल पुगेको कोस्टारिका विश्वकपका लागि छानिने अन्तिम टोली थियो । टोलीले स्पेनविरुद्ध एउटै आक्रामण गर्न सकेन । रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेनबाट खेलिसकेका कोस्टारिकाका गोलरक्षक केलर नाभास स्पेनसामु मूकदर्शकमात्र बने । स्पेनबाट कार्लोस सोलेरले ९० मिनेट र अल्भारो मोराटाले इन्ज्युरी समयमा गोल गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतमा एमालेका पदम गिरी विजयी

अगन्धर तिवारी

पर्वत — पर्वतमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ एमालेका पदम गिरीले २९ हजार ८७२ मत ल्याउँदै विजयी भएका हुन् । उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत ल्याए । उनीहरूबीचको मतान्तर २२ सय ६३ रहेको छ ।

७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गिरीले जोशीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका थिए । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजापुन तेस्रो स्थानमा छन् । उनले ४ हजार ८९ मत ल्याए ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×