कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विश्वकप २०२२

यस्ता छन् ठूला अप्रत्याशित नतिजा

दोहा

एएफपी — साउदी अरेबियाले अर्जेन्टिनालाई हराएर मंगलबार विश्वकपकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजा रचेको छ । दक्षिण अमेरिकी बलियो टिम अर्जेन्टिना त्यस खेल हार्छ भनेर सम्भवत: कसैले सोचेका थिएनन् होला ।

यस्ता छन् ठूला अप्रत्याशित नतिजा

फ्रान्सेली समाचार संस्था एएफपीले यही पृष्ठभूमिमा विश्वकप इतिहासका पाँच ठूला अप्रत्याशित नतिजा खोजेर पस्कने काम गरेको छ ।

सन् १९५०, अमेरिका १–० इंग्ल्यान्ड

इंग्ल्यान्ड पहिलोपल्ट विश्वकपका लागि छनोट भएको थियो । इंग्ल्यान्डलाई उपाधिको बलियो प्रत्याशी पनि मानिएको थियो । तर यही इंग्ल्यान्ड त्यस्तो अमेरिकी टिमविरुद्ध पराजित रह्यो, जसका खेलाडी यताउता जम्मा गरेर बनाइएको थियो । बेलो होरिजोन्टेमा भएको खेलमा अमेरिकाका लागि जो गेटजेन्सले विजयी गोल गरे ।

सन् १९६६, उत्तर कोरिया १–० इटाली

पार्क डु–इक अचेल विश्वकप इतिहासको दन्तेकथाका नायक भएका छन् । उनकै गोल मदतमा उत्तर कोरियाले इटाली जत्तिको टिमलाई हराएको थियो । यो हार पनि कस्तो भने इटाली प्रतियोगिताबाटै बाहिरियो । घर फर्केयता इटालीका खेलाडीलाई रोममा उसका समर्थकले स्वागत गरेका थिए गोलभेंडा फालेर । यही उत्तर कोरिया इसिबोप्रेरित पोर्चुगलविरुद्धको क्वाटरफाइनलमा पराजित रह्यो ।

सन् १९८२, अल्जेरिया २–१ पश्चिम जर्मनी

स्पेनमा भएको विश्वकपमा अल्जेरियाको प्रतिष्ठा सुरुमा थियो, केही गर्न नसक्ने टिमका रूपमा । आखिरमा उत्तरी अफ्रिकी देशले पहिलोपल्ट विश्वकप खेलिरहेको थियो । तर यही अल्जेरियाले अन्तत: पश्चिम जर्मनीलाई हराएको थियो । उसका लागि रबाह मादजर र लाख्दर बेलाउमीले गोल गरे । पश्चिम जर्मनीका लागि भने कार्ल हेन्ज रुमेनिङ्गले हराएको थियो । पछि पश्चिम जर्मनीले विवादास्पद रूपमा अस्ट्रियालाई १–० ले हरायो । यो नतिजापछि ती दुवै टिम दोस्रो चरण पुगे । भनिन्छ, त्यो नतिजाका लागि दुवैले फाइदा पुग्ने गरेर खेलेका थिए ।

कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र साउदी अरेबियाबीचको विश्वकपको समूह सी फुटबल खेलमा अर्जेन्टिनाका खेलाडीहरू मैदान छोड्दै।

सन् १९९०, क्यामरुन १–० अर्जेन्टिना

डिएगो म्याराडोनाको नेतृत्वमा अर्जेन्टिना इटालीमा भएको विश्वकपमा डिफेन्डिङ च्याम्पियनका रूपमा पुगेको थियो । त्यसको चार वर्षअगाडि म्याराडोनाकै चमत्कारिक खेलपछि अर्जेन्टिना विजेता बनेको थियो । तिनै म्याराडोनाले पनि अर्जेन्टिनालाई क्यामरुनविरुद्धको खेलमा हारबाट जोगाउन सकेनन् । मिलानको सान सिरोमा भएको खेलमा विजयी गोल गरेका थिए, फ्रान्कोइस ओमाम–बियिक । त्यस खेलको अन्त्यमा क्यामरुन ९ खेलाडीमा सीमित रहेको थियो । क्यामरुनी टिम क्वाटरफाइनलसम्म पुगेको थियो ।

सन् २००२, सेनेगल १–० फ्रान्स

सन् १९९८ को विश्वकप तथा सन् २००० को युरो विजेता फ्रान्सलाई दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा उपाधिका लागि फेरि बलियो प्रत्याशी मानिएको थियो । तर पहिलोपल्ट विश्वकप खेलिरहेको सेनेगेलले फ्रान्सको चुनौतीलाई सुरुमै कमजोर बनाइदियो । पापा बोउबा डिओपले खेलको एकमात्र गोल गरे र प्रसिद्ध अप्रत्याशित नतिजा सम्भव पारे । फ्रान्स अन्तत: पहिलो चरणबाटै बाहिरियो ।

प्रकाशित : मंसिर ६, २०७९ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?