कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेसीको गोलमा अग्रता लिएको अर्जेन्टिना साउदीसँग २–१ ले पराजित

राजु घिसिङ

दोहा — कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत सुरुमै दिलाएको अग्रता जोगाउन असफल भएको अर्जेन्टिना विश्वकप फुटबल २०२२ को पहिलो खेलमै साउदी अरेबियाविरुद्ध २–१ ले स्तब्ध भएको छ ।

मेसीको गोलमा अग्रता लिएको अर्जेन्टिना साउदीसँग २–१ ले पराजित

कर्नरमा बल प्रहार गर्ने प्रयासमा रहेका लियान्द्रो पाराडेसलाई मेसीले साउदीका डिफेन्डर अब्दुल हमिदसाउदले धकेलेर लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाएको पेनाल्टीमा मेसीले सहजै गोल गर्दै १० औं मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसअघि दोस्रो मिनेटमै मेसीको प्रहारमा गोलकिपर मोहमद अवाइसले उत्कृष्ट बचाउ गर्दै साउदीको संकट टारेका थिए ।

पहिलो हाफमा अर्जेन्टिना हावी भयो । तर, दोस्रो हाफमा उस्तै लय काम राख्न सकेन । दोस्रो हाफको पहिलो १५ मिनेटमा साउदीले आक्रामक खेल प्रदर्शन गर्यो । सलेह अलसहरीले नियन्त्रण लिदै अगाडि बढाएर ४८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै साउदीलाई बराबरीमा पुर्याएका थिए । उनले सेकेन्डबार च्याप्दै प्रहार गरेको उक्त गोलमा फिनिसिङ उत्कृष्ट रह्यो ।

सलेम अलडवसरीले ५३ औं मिनेटमा गोल गर्दै साउदीलाई २–१ ले अगाडि बढाएका थिए । उनले डिफेन्सलार्य छक्याउँदै विपक्षीका चार खेलाडीको वीचबाट प्रहार गरेको बलले गोलकिपर एमिलानो मार्टिनेजको ग्लोभ्स छुँदै लोभलाग्दा रुपमा जाली चुमेको थियो ।

थपिएको इन्ज्युरीको आठ मिनेटसहित अन्तिम आधा घन्टा अर्जेन्टिनाले आक्राम रुप लियो । केही मुभ पनि बनायो । तर, संगठित देखिएको साउदीको डिफेन्स र गोलकिपरलाई उछिन्न सकेन र पहिलो तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्य बनाएको टिम कतार संस्करणको पहिलो खेलमै पराजित भयो । अर्जेन्टिनाले समूह सी मा मेक्सिको र पोल्यान्डविरुद्ध खेल्ने छ, जसमा जित हासिल गर्दै नकआउट चरणमा स्थान बनाउने प्रयास गर्नेछ ।

प्रकाशित : मंसिर ६, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?