विश्वकप २०२२

फ्रान्सको अभियानमा एमबाप्पे महत्त्वपूर्ण

एएफपी

दोहा — विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले मंगलबार उपाधि रक्षाको अभियान सुरु गर्दै छ । टोलीका लागि केलियन एमबाप्पे आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा हुनुपर्नेछ । फ्रान्सले चोटकै कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई हालै मात्र गुमाएको छ, त्यसैले प्रशिक्षक डिडियर डेसच्याम्प पनि मान्छन्, फ्रान्सेली टिमका लागि एमबाप्पे नै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । फ्रान्सको समूह चरणको पहिलो खेल छ अस्ट्रेलियाविरुद्ध ।

समस्या के हो भने चोटका कारण फ्रान्सले बेन्जेमा मात्र गुमाएको छैन, अन्य केही प्रमुख खेलाडी पनि कतार ल्याउन पाएको छैन । बेन्जेमा त कतार आएका थिए, तर अभ्यासका क्रममा घाइते भए ।

सन् २०१८ मा विश्वकप जित्दाको फ्रान्सेली टिमका सदस्य नरहेका रियल म्याड्रिड खेलाडीको तिघ्रामा चोट लागेको थियो । रुसमा भएको विश्वकपकै क्रममा एमबाप्पेले आफूलाई विश्व फुटबलको उदीयमान उत्कृष्ट खेलाडीका रूपमा आफूलाई प्रमाणित गरेको थियो ।

त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी जम्मा १९ वर्षका थिए । प्रतियोगितामा क्रममा चार गोल गरे । त्यसमध्ये एक गोल क्रोएसियाविरुद्धको फाइनलमा थियो । डेसच्याम्पले मिडियासँगै दोहामा कुराकानी गर्दै भनेका छन्, ‘एमबाप्पे अझै पनि युवा छन् । सायद चार वर्षको तुलना केही परिपक्व भए । यही चार वर्षको समयमा पनि उनले मैदानमा भने धेरै गरेका छन् । अहिले उनी धेरै परिवक्व खेलाडी भएका छन् । अहिले तत्काल उनी जत्तिको खेलाडी विश्व फुटबलमा विरलै छन् ।’

डेसच्याम्प थप्छन्, ‘एमबाप्पेले आफ्नो टिमका लागि यसअघि नै साबित गरिसकेका छन् । उनी जतिबेला चाहिएको हुन्छ, त्यही बेला निर्णायक प्रदर्शन गर्न सक्षम छन् । उनी कुनै पनि मोडमा आफ्नो उपयोगिता प्रमाणित गर्न सिपालु छन् ।’ अर्को महिना एमबाप्पे २४ वर्षका हुनेछन् । उनले ओलिभर जिरोडसँग मिलेर फ्रान्सेली आक्रमणको नेतृत्व गर्नेछन् । बेन्जेमाको अनुपस्थितिमा अर्का अनुभवी जिरोडले नै अवसर पाउने अनुमान गरिएको छ ।

यदि चार वर्षअगाडि रुसमा एमबाप्पे किशोर खेलाडी थिए । अहिले उनी अब्बल दर्जाका खेलाडी भएका छन्, त्यसैले त उनले रियलको प्रस्तावसमेत अस्वीकार गरे । यसक्रममा उनले पीएसजीबाट निकै आकर्षक अनुबन्ध पाए । तर उनका लागि पछिल्लो ठूला प्रतियोगिता युरो २०२० भने खासै सफल रहेन । उनी निर्णायक मोडमा पेनाल्टीबाट गोल गर्न चुके र स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा फ्रान्स टाइब्रेकरमा पराजित रह्यो ।

फ्रान्सेली कप्तान हुगो लोरिस मान्छन्, ‘उनी कति राम्रा खेलाडी हुन् भनिरहनुपर्दैन । अहिले उनी पूर्णत: खेलमा केन्द्रित छन् र आराम महसुस गरिरहेका छन् । उनी राम्रो खेल्न प्रेरित छन् र टिमलाई जित दिलाउन चाहन्छन् ।’ फ्रान्सले सन् २०१८ को विश्वकपमा पनि अस्ट्रेलियालाई हराएर नै विजयी सुरुआत लिएको थियो । यसपल्ट पनि यस्तै उपलब्धि दोहोर्‍याउन चाहन्छन् । लोरिस के पनि मान्छन् भने अस्ट्रेलियाले तेस्र्याउने चुनौती बलियो रहनेछ ।

उनी भन्छन्, ‘पक्कै पनि अस्ट्रेलिया बलियो टिम छ र उसले प्रतिस्पर्धात्मक फुटबल खेल्छ । पेरुलाई पेनाल्टीमा हराएपछि यो टिमको आत्मविश्वास बढेको हुनुपर्छ । यस्तै जितले टिमलाई अझ राम्रो बनाउने हो ।’

प्रशिक्षक डेसच्याम्पलाई के पनि आस रहेको छ भने खेल सुरु हुनुअगाडि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भराने ठीक हुनेछन् । उनी खुट्टाको चोटमुक्त हुँदै मैदानमा फर्कने प्रयासमा छन् । उनको उपस्थिति फ्रान्सका लागि महत्त्वपूर्ण रहनेछ ।’

प्रकाशित : मंसिर ६, २०७९ ०४:०३
प्रतिक्रिया
पठाउनुहोस्

लेवान्डोस्की चम्किने विश्वास

एएफपी

दोहा — पोल्यान्डका गोलरक्षक विज्निएक स्जेस्नीले आफ्नो टोली १९८६ यता पहिलो पटक नकआउट चरणमा पुग्ने प्रयासमा रहँदा रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोलको खाता खोल्ने विश्वास लिएका छन् ।

लेवान्डोस्कीले पोल्यान्डबाट १ सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर बार्सिलोनाका यी स्टारले चार वर्षअघि रुस विश्वकपमा एउटै गोल गर्न नसक्दा पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो ।

पछिल्ला दुई विश्वकप छनोट चरणका क्रममा ३४ वर्षे लेवान्डोस्कीले २५ गोल गरिसकेका छन्, तर पनि विश्वकप जस्तो ठूलो प्रतियोगितामा एउटै गोल गर्न सकेका छैनन् । ‘मलाई लाग्छ, उनका लागि पनि गोल गर्नु अति महत्त्वपूर्ण छ,’ स्जेस्नीले मेक्सिकोसँगको खेलअघि लेवान्डोस्कीबारे भने, ‘विश्वकपअघि उनी निकै उत्प्रेरित छन् । अहिलेको समयमा उनी विश्वका उत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै शंका छैन ।’

आठ उत्कृष्ट सिजन बायर्न म्युनिकमा बिताएपछि उनी यसै सिजनमा बार्सिलोना गएका थिए, जहाँ उनले १९ खेलमा १८ गोल गरिसकेका छन् । ‘क्लबस्तरमा मात्र नभई राष्ट्रिय टोलीबाट पनि उनी पक्कै आफ्नो महत्त्वाकांक्षा पूरा भएको हेर्न चाहन्छन्, त्यसैले यो प्रतियोगिता उनका लागि महत्त्वपूर्ण छ,’ स्जेस्नीले भने, ‘कतारमा देखाएको प्रदर्शनले लेवान्डोस्कीलाई पोल्यान्डका महान् खेलाडीको सूचीमा उभ्याउने छ ।’

मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पाँचौं पटक विश्वकप खेल्दै छन् । तर उनीसामु लेवान्डोस्कीलाई मात्र नभई समूह ‘सी’ कै प्रतिद्वन्द्वी अर्जेन्टिनाका स्टार लियोनल मेसीलाई पनि रोक्नुपर्ने चुनौती छ ।

‘कुनै पनि प्रतिद्वन्द्वी सजिला हुँदैनन्, चाहे त्यो अर्जेन्टिना होस् वा साउदी अरेबिया । यो छोटो समयको प्रतियोगिता हो, त्यसैले तीन अंकसहित यात्रा सुरु गर्नु आवश्यक छ,’ ३७ वर्षे ओचोआले भने । पछिल्ला तीन विश्वकप सहभागितामा पोल्यान्ड पहिलो चरणबाटै बाहिरिँदै आएको छ । चार वर्षअघि खेल्दा स्जेस्नीले नै सेनेगलविरुद्ध गल्ती गर्दा पोल्यान्डले त्यसको मूल्य चुकाउनुपरेको थियो ।

युभेन्ट्सका यी गोलरक्षकलाई प्रमुख प्रतियोगिता अफाप सिद्ध हुँदै आएको छ । पोल्यान्ड युरो २०१२ को सहआयोजक हुँदा उनले पहिलो खेलमै रातो कार्ड पाएका थिए । युरो २०१६ को पहिलो खेलमा घाइतेपछि उनले त्यसपछि प्रतियोगिताका खेल खेलेका थिएनन् । युरो २०२० मा स्लोभाकियासँग पोल्यान्ड पराजित हुँदा उनले आत्मघाती गोल गर्न पुगेका थिए । ‘मलाई लाग्छ सबै प्रतियोगिताको आफ्नै इतिहास छ,’ ३२ वर्षे स्जेस्नीले यो आफ्नो अन्तिम विश्वकप हुने निश्चित गरे ।

प्रकाशित : मंसिर ६, २०७९ ०३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×