मानेप्रति सहानुभूति राख्दै भान डाइक

एएफपी

दोहा — नेदरल्यान्ड्सका स्टार खेलाडी भर्जिल भान डाइकले लिभरपुलका आफ्ना पूर्वखेलाडी साडियो मानेले चोटका कारण विश्वकप गुमाउनु दु:खद रहेको बताएका छन् । मानेको अनुपस्थितिले विश्वकपको सोमबार सेनेगलविरुद्ध हुने खेलमा नेदरल्यान्ड्सलाई नै फाइदा हुनेछ । समूह ‘ए’ को आफ्नो पहिलो खेलमा डच टिमले अफ्रिकी प्रतिद्वन्द्वीको सामना गर्न लागेको हो ।

मानेप्रति सहानुभूति राख्दै भान डाइक

बायर्न म्युनिखका लागि खेल्ने क्रममा खुट्टामा चोट लागेपछि मानेले विश्वकप गुमाएका हुन् । भान डाइकले दोहामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा भने, ‘मैले घटनाको भोलिपल्ट नै उनलाई फोन गरेको थिएँ । म उनको स्थिति बुझ्न चाहन्थें । हल्लाका भरमा आइरहेका समाचारले दुविधा भएको थियो । एक साथी खेलाडीका रूपमा म उनको स्थिति बुझ्न चाहन्थें । तर वास्तवमै समाचार राम्रो रहेन । दुर्भाग्य उनले विश्वकप खेल्न पाएनन् ।’ भान डाइक र माने दुवैले लिभरपुलका लागि खेल्नअगाडि साउथह्याम्पटनमा आबद्ध थिए ।

एनफिल्डमा रहने क्रममा दुवै खेलाडीले योर्गन क्लोपका टिमका लागि इंग्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिग जिते । यस सिजनको सुरुमा मानेले बायर्नका लागि लिभरपुल छाडेका थिए । भान डाइकले थपे, ‘म उनीप्रति सहानुभूति राख्छु । यस विश्वकपका लागि उनले कति मिहिनेत गरेका छन्, त्यो मलाई थाहा छ । उनी सेनेगलका सर्वाधिक महत्त्वपूर्ण खेलाडी हुन् । त्यसैले उनको अनुपस्थिति खड्किने निश्चित रहेको छ । अन्त्यमा खालि यति आस गरौं, माने नहुँदा हामीलाई फाइदा नै हुनेछ ।’

अल थुमामामा हुने सोमबारको खेलसँगै नेदरल्यान्ड्सले विश्वकपमा पुनरागमन पनि रच्दै छ । डच टिम सन् २०१८ मा रुसमा भएको विश्वकपमा छनोट भएको थिएन । सन् २०१४ मा नेदरल्यान्ड्स तेस्रो स्थानमा आएको थियो । प्रशिक्षका रहेका लुइस भान गालले मेम्फिस डेपे नहुनुले डच टिमका लागि ठूलै धक्का रहेको बताएका छन् । बार्सिलोनाका फरवार्डले आफ्नो देशका लागि ८१ खेलमा ४२ गोल गरेका छन्, तर चोटका कारण सेप्टेम्बरयता खेलेका छैनन् ।

भान गालले भनेका छन्, ‘सेनेगल अफ्रिकी च्याम्पियन हो, त्यसैले यसलाई एक अर्को प्रतिद्वन्द्वी मात्र मान्न सकिन्न । यो खेलको नतिजाले प्रतियोगिताकै दिशा निर्देश गर्न मद्दत गर्नेछ । माने असाधारण खेलाडी हुन् । म म्यानचेस्टर युनाइटेडमै छँदा उनलाई साउथह्याम्पटनबाट किन्न चाहन्थें । यसले प्रस्ट पार्छ, म उनको प्रशंसक हुँ । उनी एक्लैले खेल आफ्नो पक्षमा मोड्न सक्छन् । सेनेगलले पक्कै पनि उनको अनुपस्थितिमा मूल्य चुकाउनुपर्नेछ ।’

प्रकाशित : मंसिर ५, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?