२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
विश्वकप २०२२

यस्ता छन् समूह ‘एफ’

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी नोभेम्बर २० देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि विभिन्न मुलुकहरूले टिम घोषणा गरिरहेका छन् । समूह 'एफ' मा बेल्जियम,क्रोएसिया,क्यानडा र मोरक्को रहेका छन् ।

यस्ता छन् समूह ‘एफ’

हेर्नुहोस् यस्ता छन् समूह 'एफ' का खेलाडी, टिम र प्रशिक्षक :

बेल्जियम

विश्वकप: १४ औं सहभागिता

विश्वकपमा उत्कृष्ट: २०१८ मा तेस्रो

अन्य सफलता: सन् १९८० को युरोपियन च्याम्पियनसिपको उपविजेता

फिफा वरीयता: दोस्रो

मुख्य क्लबहरू: एन्डरलेक, क्लब ब्रुग

छनोट यात्रा: युरोपियन क्षेत्रको समूह 'ई' विजेता

प्रशिक्षक: रोबर्टो मार्टिनेज

बेल्जियमको प्रशिक्षकको रूपमा मार्टिनेजले ६ महत्त्वपूर्ण वर्ष बिताइसकेका छन् तर उनले टोलीलाई प्रमुख उपाधि दिलाउन सकेका छैनन् । ४ वर्षअघि टोलीलाई बेल्जियमको ‘स्वर्णिम पुस्ता’ मानिएको थियो । तर, टोली रुस विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग रोकिएको थियो । त्यसभन्दा माथि उठ्ने मार्टिनेजको वर्तमान टोलीका लागि अन्तिम अवसर हो । टोलीका धेरै महत्त्वपूर्ण खेलाडी ३० वर्ष नाघिसकेका छन् । मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले ७२.४ प्रतिशतले खेल जितेको छ । मार्टिनेजले आफ्नो सम्पूर्ण खेलजीवनमा एउटा उपाधि जितेका छन् । सन् २०१३ मा उनको विगान टोलीले इंग्लिस एफए कप जितेको थियो ।

प्रमुख खेलाडी: केभिन डी ब्रुयना

भर्खरै सम्पन्न बालोन डी’अर भोटिङमा तेस्रो भएका म्यानचेस्टर सिटीका मिडफिल्डर बेल्जियमलाई आवश्यक पर्दा सधैं प्रेरणा दिने खेलाडी हुन् । चोटले सताइएका कप्तान इडेन हाजार्डले गत सिजनको सुरुआतदेखि रियल म्याड्रिडबाट केवल ११ खेलमात्र प्लेयिङ सेटबाट खेल्न सकेका छन् भने चेल्सीबाट लोनमा इन्टर मिलान आएयता रोमेलु लुकाकुलाई फिटनेस कायम राख्न गाह्रो परिरहेको छ । डी ब्रुयनाले गत सिजनमा इंग्लिस च्याम्पियन सिटीका लागि १९ गोल गरिसकेका छन् भने इर्लिङ हालान्डलाई यस सिजनमा भित्र्याएयता उनले १२ अवसरमा गोलको सिर्जना गरिसकेका छन् ।

क्रोएसिया

विश्वकप: छैटौं सहभागिता

विश्वकपमा उत्कृष्ट: सन् २०१८ मा उपविजेता

अन्य सफलता: युरो १९९६ र २००८ को क्वाटरफाइनलिस्ट

फिफा वरीयता: १२ औं

मुख्य क्लबहरू: डिनामो जाग्रेब, हाजडुक स्पिल्ट

छनोट यात्रा: युरोपियन क्षेत्रको समूह 'एच' विजेता

प्रशिक्षक: ज्लाट्को डालिच

घुमन्ते यी प्रशिक्षकलाई २०१८ को विश्वकप छनोटमा क्रोएसियाको जिम्मेवारी दिनु आश्चर्यजनक थियो । तर प्लेअफ हुँदै क्रोएसिया विश्वकपमा मात्र छनोट भएन अर्को आश्चर्य निकाल्दै विश्वकपको फाइनलमा पनि पुग्यो । फाइनलमा टोली फ्रान्ससँग ४–२ ले पराजित भयो । त्यसयता स्ट्राइकर मारियो मान्डजुकिकसहितका धेरै प्रमुख खेलाडीले संन्यास लिइसकेका छन् । गत वर्षको यूईएफए नेसन्स लिगमा निराशाजनक यात्रापछि डालिचले राजीनामा दिनुपर्छ भन्ने आवाज पनि सुनिएका थिए, तर त्यसपछि क्रोएसियाउत्कृष्ट पुनरागमन गरेर विश्वकपमा छानिएको थियो ।

प्रमुख खेलाडी: लुका मोड्रिच

चार वर्षअघि रुसमा क्रोएसियालाई पहिलोपल्ट विश्वकप फाइनलमा डोर्‍याउँदा भेट्रान यी मिडफिल्डर मोड्रिच प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिएका थिए । त्यही वर्ष उनले बालोन डी’अरमा क्रिस्टियानो रोनाल्डो र

लियोनल मेसीको दबदबा तोडेका थिए । उमेर ढल्कदै जाँदा उनको प्रभाव झन बढ्दो छ । गत सिजनमात्र उनले रियल म्याड्रिडबाट उनले आफ्नो पाँचौं च्याम्पियन्स लिगको उपाधि जितेका थिए । ३७ वर्षे उनका लागि पक्कै पनि अन्तिम विश्वकप हो । उनले क्रोएसियाबाट सर्वाधिक १ सय ५४ खेल खेलिसकेका छन् ।

क्यानडा

विश्वकप: दोस्रो सहभागिता

विश्वकपमा उत्कृष्ट: यसअघिको एकमात्र सहभागिता जनाउँदा १९८६ मा समूह चरणबाटै बाहिर

अन्य सफलता: १९८५, २००० मा कन्काकाफ च्याम्पियनसिप विजेता

फिफा वरीयता: ४१ औं

छनोट यात्रा: कन्काकाफ क्षेत्रको छनोटमा पहिलो भएर

प्रशिक्षक: जोन हेर्डमन

विश्वविद्यालयमा पार्टटाइम प्राध्यापक भएको समयमा आफ्नो फुटबल प्रशिक्षण यात्रा सुरु गरेका ४७ वर्षे इंग्लिस हेर्डमनले क्यानडालाई विश्वकपमा पुर्‍याउँदै अविश्वसनीय यात्रा गरेका छन् । सन्डरल्यान्डको युथ टोलीसँग कार्य गरेपछि उनले २००३ मा न्युजिल्यान्ड लागेका थिए । २००६ मा उनी न्युजिल्यान्ड महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाए । त्यसपछि क्यानडा लागेका उनले २०१६ र २०२१ को ओलम्पिकमा टोलीलाई कांस्य पदक दिलाए । सन् २०१८ मा उनलाई क्यानडालाई दोस्रो पटक विश्वकपमा पुर्‍याउने लक्ष्यसहित पुरुष टोलीको जिम्मेवारी दिइएको थियो ।

प्रमुख खेलाडी: अल्फान्सो डेभिस

क्यानडाले कडा परिश्रम, अनुशासन र स्पष्ट रणनीति ढाँचाको आधारमा टोली बनाएको छ । बायर्न म्युनिकका डेभिस क्यानडाको टोलीका केही यस्ता खेलाडी हुन्, जसले टोलीमा एक्स फ्याक्टर प्रदान गर्न सक्छन् । फुलब्याक र विंगर दुवै पोजिसनमा खेल्न सक्षम डेभिस ठूला प्रतियोगितामा काउन्टर एट्याकमा तीव्र गति प्रदान गर्न माहिर छन् । बायर्न म्युनिकले २०२० को यूइएफए च्याम्पियन्स लिग जित्दाका प्रमुख खेलाडी उनले क्यानडाबाट विश्वकप छनोट यात्रामा पनि यही भूमिका निभाएका थिए ।

मोरक्को

विश्वकप: छैटौं सहभागिता

विश्वकपमा उत्कृष्ट: १९८६ मा दोस्रो चरण

अन्य सफलता: १९७६ को अफ्रिकन च्याम्पियन

फिफा वरीयता: २२ औं

मुख्य क्लबहरू: राजा कासाब्लान्का, विडाड कासाब्लान्का, रेनाईसएन्स बेर्काने

छनोट यात्रा: अफ्रिकी छनोटको प्लेअफमा कंगोलाई पराजित गरेर

प्रशिक्षक: वालिड रेग्रागुई

अगस्टको अन्तिम दिन बोस्नियाका वाहिद हलिल्होजिकलाई स्थानान्तरण गरेका ४७ वर्षे रेग्रागुईले टिम तयारीका लागि छोटो समयमात्र पाएका छन् । फ्रान्समा जन्मिएका उनले फ्रान्सका धेरै र स्पेनका एक क्लबबाट राइट ब्याकको भूमिकामा खेले । उनले आफ्नो अभिभावक देश मोरक्कोबाट ४५ खेल खेले । उनले २०१२ मा मोरक्कोको सहायक प्रशिक्षक भएर आफ्नो प्रशिक्षण यात्रा सुरु गरे । त्यसबाहेक उनले मोरक्को र कतारका क्लबहरूमा पनि प्रशिक्षक भएर काम गरे । यसै वर्ष उनको टोली विडाड कासाब्लान्काले इजिप्टको महारथी अल अहलीलाई पराजित गर्दै अफ्रिकन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रमुख खेलाडी: हकिम जिएच

चेल्सीका विंगर जिएचसँगको विवादकै कारण हलिल्होडजिकले मोरक्कोको प्रशिक्षकका रूपमा बिदाइ लिनुपरेको थियो । बोस्नियाका प्रशिक्षकले जिएचलाई चोटको बहाना गरेर गत वर्ष अभ्यास खेलहरू नखेलेको आरोप लगाउँदै यसलाई ‘अस्वीकार्य व्यवहार’ भएको जनाएका थिए । त्यसपछि २९ वर्षे जिएचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे । मोरक्कन फुटबल पदाधिकारीले हलिल्होजिकलाई बर्खास्त गरी जिएचलाई संन्यास फिर्ता गर्न लगाए । रेग्रागुईले भने नेदरल्यान्ड्समा जन्मिएका जिएचलाई ‘अपनाएको देशका लागि लडिरहेका एक योद्धा’ भनेर बखान गरेका छन् । तर मुख्य चिन्ताको विषय उनले चेल्सीमा खेल्ने समय कम पाएका छन् । उनले अक्टोबरमा १७ मिनेटमात्र खेल्न पाएका छन् । विश्वकपपछि उनी एसी मिलान लाग्ने चर्चा छ ।

प्रकाशित : कार्तिक २९, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?