२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘देवी’ को साक्षी टोरन्टो

पत्रकार सुविना श्रेष्ठको डकुमेन्ट्रीमा प्रस्तुत देवी (खड्का) ले आफ्नो कथा पुनः बाँचिरहेकी मात्रै छैनन्, असंख्य पीडितका लागि उपचार, मर्यादा र सम्मानको नयाँ गोरेटो पनि खनिरहेकी छन्
'एक पत्रकारका रूपमा म नेपालमा के भइरहेको थियो र यौन हिंसापीडितको जीवन कति कष्टपूर्ण छ भन्नेबारेमा जानकार नै थिएँ, यी सब जटिलता र अवरोधलाई पार गर्दै न्यायका लागि लड्ने देवीजीको अपूर्व साहसलाई देखाउन मलाई समाचार होइन, डकुमेन्ट्री बढी उपयुक्त लाग्यो ।'
घनश्याम खड्का

काठमाडौँ — मुट्ठी उचाल्नु वा वादविवाद गर्नुका अतिरिक्त चित्त नबुझेका मामिलामा विरोध जनाउने अनेकन् तरिका छन् । र, यस्ता तरिकाका पनि अनेकन् शैली छन् । पत्रकार सुविना श्रेष्ठलाई नेपालको दसवर्षे सशस्त्र संघर्षमा बलात्कृत महिलालाई पीडितको पहिचान पनि दिन इन्कार गर्ने राज्य संयन्त्रको व्यवहार पटक्कै चित्त बुझेको थिएन ।

‘देवी’ को साक्षी टोरन्टो

तर, उनले यसको प्रतिरोधमा मुट्ठी होइन, क्यामरा उचालिन् । देशका कुनाकाप्चा पुगेर आफू बलात्कारको सिकारमा परेको कथा भन्न पनि नसक्ने अवस्थाका महिलालाई भेटिन् र वर्षौं लगाएर तिनको रोदनलाई आफू पनि रुँदारुँदै क्यामराका दृश्यमा कैद गरिन् ।

भएको जागिर छाडेर र खर्च जुटाउन जग्गा नै बेचेर लागिपरेको झन्डै पाँच वर्ष र यस दौरानको मिहिनेतपछि अन्ततः तयार भएको वृत्तचित्र ‘देवी’ ले गत शनिबार पहिलो ठूलो पर्दा र अन्तर्राष्ट्रिय दर्शक पायो क्यानडाको टोरन्टो हट डक्स अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सवमा । निद्राले पोलिरहेका आँखा च्यातीच्याती उनी दर्शकको प्रतिक्रिया हेर्नमा व्यस्त भइन् । ‘अरूसँग बसेर आफ्नो काम हेर्दा पर्दामा होइन, दर्शकका भावभंगिमामा ध्यान जाने रहेछ,’ क्यानडाको सूर्यास्तमा ब्युँझिएलगत्तै अर्को प्रदर्शनीको तयारीमा जुटेकी सुविनाले कान्तिपुरसँगको दूरभाषमा अनुभव सुनाइन्, ‘मैले हँसाउन खोजेका दृश्यमा दर्शक हाँसे कि हाँसेनन्, म रोएको दृश्यमा हेर्नेहरू रोए कि रोएनन् भनेर अरूको आँखामा हेर्न मन लाग्ने रहेछ ।’

अचम्म के भने, एक पत्रकारका रूपमा ‘अलजजिरा’ टेलिभिजनका लागि बनाएका कैयन् वृत्तचित्र महोत्सवमा यो अनुभव उनले कहिल्यै गर्नु परेन । किनभने, ती कहिल्यै यसरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेलै भएका थिएनन् । हट डक्समा देखाइने भएपछि हतार–हतार ट्रेलर बनाएर पाँच वर्षको काम विधिवत् ‘प्याक अप’ गर्दा उनलाई आरामले सास लिने फुर्सद थिएन । दर्शकमाझ वाहवाही बटुलेपछि र महोत्सवमा देखाइएका १ सय ६८ वृत्तचित्रमध्ये उत्कृष्ट २० मा ‘देवी’ परेपछि सुविनालाई पत्रपत्रिका र रेडियो–टेलिभिजनले अन्तर्वार्ताका लागि बोलाए, दर्शकले छलफलका लागि डाके र शुभेच्छुकले फोटो खिच्नका लागि उनका पाइलालाई हतारका साथ लम्किन दिएका छैनन् ।

व्यस्तता कतिसम्म बढेको छ भने अचेल उनी निदाउन पाइरहेकी छैनन् । प्रथम प्रदर्शनलगत्तै मजदुर दिवसका दिन हट डक्समा पुनः प्रदर्शन भयो ‘देवी’ । ‘अन्तर्राष्ट्रिय डकुमेन्ट्री प्रदर्शनीका आयोजकले पनि फोन गरेर देवीमाथि काम गरौं भन्ने प्रस्ताव ल्याइरहेका छन्,’ सुविना भन्छिन्, ‘सबैतिरबाट आइरहेको चासो र दर्शकले नेपालको टीआरसी प्रक्रियाका बारेमा गरिरहेको प्रश्न चाखलाग्दो छ ।’

सशस्त्र संघर्षको एक दशक अवधिमा सुरक्षाकर्मी र माओवादी दुवैबाट बलात्कारमा परेका तीन हजारभन्दा बढी महिला छन् । तर, इज्जत जाने डरले र घरपरिवारबाट निकालिने भयले उनीहरू कोही बोलिरहेका छैनन् । परिणामतः राज्यले उनीहरूलाई पीडितको दर्जासमेत पनि दिएको छैन, राहत, परिपूरण र न्याय त परको कुरा भयो । यो उकुसमुकुसपूर्ण अन्यायका खिलाफ देवी खड्का भने हिम्मत गरेर अघि बढिन्, आफूमाथि भएको अन्याय र आफूजस्ता सयौं महिलाले भोग्न परेको पीडालाई सार्वजनिक गरिन् । अनि, रातको अन्धकारमा भएका कहालीलाग्दा काला कथालाई बाहिर ल्याउन पीडितलाई देशभरबाट एउटै संगठनमा गोलबद्ध गर्न सुरु गर्दै संक्रमणकालीन विधेयकमा कानुन संशोधन गर्न सरकारलाई दबाब दिइन् । वृत्तचित्तले देवीले भोगेको अकल्पनीय त्रासदी, त्यसका विरुद्ध उनले गरेको साहसिलो संघर्ष र त्यसले पारेको प्रभावको वरपर सुविनाको वृत्तचित्र घुमेको छ ।

युद्धमा उनीहरू बराबर थिए, शान्तिमा चाहिँ तिनका कथा मेटाइयो भन्ने भावलाई उनको निर्देशनले सकेसम्म सम्प्रेष्य शैलीमा देखाउन खोजेको छ । ‘एक पत्रकारका रूपमा म नेपालमा के भइरहेको थियो र यौन हिंसापीडितको जीवन कति कष्टपूर्ण छ भन्ने बारेमा जानकार नै थिएँ,’ सुविना भन्छिन्, ‘यी सब जटिलता र अवरोधलाई पार गर्दै न्यायका लागि लड्ने देवीजीको अपूर्व साहसलाई देखाउन मलाई समाचार होइन, डकुमेन्ट्री बढी उपयुक्त लाग्यो ।’ अनि, सुविनाले देवीलाई पछ्याउन थालिन् । तर, देवीले सजिलै उनलाई पत्याउन सम्भव थिएन ।

देवीकी सहृदयी र कुनै समयकी भूमिगत पत्रकार अस्मिता खड्काको सहयोगमा बल्लतल्ल सन् २०१८ मा वृत्तचित्रका लागि देवीलाई मनाइन् उनले । ‘त्यसपछि एक वर्ष यसबारे रिसर्च गर्न लाग्यो र अर्को वर्षदेखि वृत्तचित्रको काम सुरु भयो,’ सुविना भन्छिन्, ‘यो वृत्तचित्रका पात्र र घटना खोज्दै जाँदा पूरै देश डुलिएछ ।’ ‘देवी’ हेरेपछि दर्शकले नेपालको संक्रमणकालीन न्याय प्रक्रियाप्रति निराशा र नेताहरूप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएको देख्दा सुविनालाई लाग्न थालेको छ– देवीहरूले भोग्नु परेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको भिन्न शैलीले प्रभाव देखाउन सुरु गरेको छ । ‘देवीले आफ्नो कथा पुनः लेखिरहेकी मात्रै छैनन्,’ हट डक्सले वृत्तचित्रको जानकारी दिन तयार पारेको पर्चामा लेखिएको छ, ‘उनले असंख्य पीडितका लागि उपचार, मर्यादा र सम्मानको भाष्य बदल्दै नयाँ बाटो खनिरहेकी छन् ।’

देवी १७ वर्षकी थिइन्, २०५४ मा पक्राउ पर्दा । माओवादीको अभियोगमा हत्कडी लगाइएकी देवी हिरासतमै सामूहिक यौन हिंसाको सिकार बन्न पुगिन् । त्यसले दिने शारीरिक पीडा र मानसिक वेदना त छँदैछ, सामाजिक दृष्टिकोण र पीडितलाई गरिने निकृष्ट व्यवहारले पाइला–पाइलामा अपमानबोध गराउँछ । यो सबका बाबजुद देवीले संघर्षलाई अघि बढाइन् । कसैगरी हिरासतमुक्त भएपछि उनीभित्रको विद्रोह झनै बलियो हुन पुग्यो । द्वन्द्वको अन्त्यपछि संविधानसभाको सदस्यसमेत भएकी देवीले अन्ततः मौनता तोड्दै आफूमाथि भएको बर्बर घटनालाई बाहिर ल्याइन् । ‘मैले नबोले कोही नबोल्ने रहेछ,’ वृत्तचित्रको टेलरमा देवी अश्रुधारा बगाउँदै बोलेको सुनिन्छ ।

सामाजिक लाञ्छनाको डरले पीडितहरू बोल्न नसक्ने भएपछि पीडकलाई हाइसञ्चो हुने नै भयो । यो अवस्थालाई तोड्न देवीले आफ्नो विगतलाई जस्ताको तस्तै बाहिर ल्याउने साहस जुटाइन् । र, देशभरका पीडितलाई गोलबद्ध गरेर न्यायका लागि आवाज उठाइन् । उनको यो अभूतपूर्व साहसलाई सकेसम्म ताजगीका साथ पर्दामा उतार्ने प्रयास गर्दा वृत्तचित्र केही लामो हुन पुगेको सुविनाको प्रस्टोक्ति छ । ‘सुरुमा १५ मिनेटको छरितो डकुमेन्ट्री बनाउने भन्ने थियो,’ उनी भन्छिन्, ‘तर, सुन्दै जाँदा र बुझ्दै जाँदा यति समयमा केही देखाउनै नसकिने रहेछ भन्ने लाग्यो र बल्लतल्ल ८० मिनेटमा यसलाई सक्काएँ ।’

वृत्तचित्र निर्माणका क्रममा अनुहार नदेखाई आवाज र अन्य गतिविधि खिच्दै दूरदराजका महिलाको बस्तीमा पुगेर तिनको कुरा सुन्दा सुरुमा भन्न नसकेर उनीहरू धेरै बेर कोक्कीकोक्की रुन्थे । यो देख्दा सुविनाका आँसु पनि सँगसँगै खस्थे । १५ वर्षदेखि सुविनासँगको सहकार्यमा जुटेका क्यामरा पर्सन विष्णु कल्पित चस्मा पुछेको अभिनय गर्दै आँखा ओभानो पार्न खोज्थे । हट डक्समा पहिलो प्रदर्शनीपछि दर्शकले यी सबै अनुभवका बारेमा सुविना र विष्णुसँग प्रश्नोत्तर गरे । क्यानडाका १८ औं प्रधानमन्त्री ब्रायन मुलरोनीका पुत्र बेनेडिक्ट मार्टिन पउल रेडियो कार्यक्रम चलाउँदा रहेछन् भन्ने जानकारी सुविनालाई थिएन । वृत्तचित्र प्रदर्शनी लगत्तै पउल आफैंले सुविनालाई फोन गरेर रेडियो अन्तर्वार्तामा निम्त्याए । त्यसै दिन प्रसिद्ध म्यागजिन ‘भेराइटी’ ले नेपालका यौनहिंसा पीडितको न्यायलाई मुखरित गरेको भन्दै ‘देवी’ को प्रदर्शनपछि त्यसले पारेको प्रभावका बारेमा लामो सामग्री ‘एक्सक्लुसिभ’ भन्दै प्रकाशन गर्‍यो ।

रमाइलो के भने, क्यानडामै पनि नेपाली भाषामा रेडियो प्रसारण हुँदो रहेछ, त्यहाँबाट पनि उनलाई अन्तर्वार्ताका लागि बोलाइयो । देश विदेशका धेरै पत्रकारले फोन गरेर उनीसँग अन्तर्वार्ताको समय मागिरहेका छन् । ‘मैले जीवनभर अरूलाई प्रश्न मात्रै सोधिरहेँ, अहिले प्रश्नले मलाई खोजिरहेका छन्,’ अचानक फेरिएको दैनिकी र भूमिकाका बारेमा सुविना भन्छिन्, ‘मलाई प्रश्न सोध्नजति उत्तर दिन नआउने रहेछ, र म आफ्नाबारेमा बोल्न धकाउँदो रहेछु, यो पनि एक खास्साको अनुभव हो मेरा लागि ।’ वृत्तचित्रमा सुविनाले देवीकै निडरता र स्वीकृतिका कारण उनको कथा खुलस्त देखाएकी छन् । तर, अरू पीडितको भने अनुहार र पहिचान खुलाएकी छैनन् ।

‘देवी’ बनाउन निर्देशक सुविनाले देवीका श्रीमान् र उनकी छोरीको पनि सहमति पाएपछि छायांकन सुरु गरेको बताइन् । ‘समय र पैसा धेरै नै लाग्यो, देशका अनेकन् ठाउँमा पुग्दा भएको खर्चमध्ये कतिपयलाई तिर्नै बाँकी छ,’ निद्रा भगाउन कडा कालो कफी पिएपछि क्यानडामा छिप्पिँदै गरेको बिहान सुविनाले परिहासपूर्ण लबजमा भनिन्, ‘अहिले म त टाट पल्टिएको अवस्थामा छु ।’

न्युयोर्क टाइम्समा लेखहरू छाप्नेदेखि म्यानमारको नरगिस चक्रवातको रिपोर्टिङ गर्नेसम्मका काममा खटिएकी सुविनाले ‘अलजजिरा’ टेलिभिजनमा नेपालको भूकम्प र त्यसको परिणामबारे गरेको शृंखलाबद्ध समाचारका लागि अन्तर्राष्ट्रिय पुरस्कार र स्याबासी पाएकी थिइन् । उनको यो काम प्रसिद्ध एमी नोमिनेसनमा पनि परेको थियो । म्यानमारको चक्रवातको गुप्त कभरेजका लागि उनले रोरी पेक अवार्ड पनि पाएकी थिइन् । हार्वर्डमा सन् २०१७ को निमन फेलो, फिल्म इन्डिपेन्डेन्टमा २०१९ मा ग्लोबल मिडिया मेकर फेलो र कोलम्बिया विश्वविद्यालयको डार्ट सेन्टरमा २०२२ को ओचबर्ग फेलोसमेत रहेकी उनले फिचर डकुमेन्ट्री बनाएको भने ‘देवी’ नै पहिलो हो, जसको चार सदस्यीय निर्मात्री टिममा उनी पनि एक हुन् । बेलायतकी रोजी गर्थवेट, नेपालकी अस्मिता खड्का र कोरियाकी हिजुङ ओह ‘देवी’ का अरू निर्मात्री हुन् ।

दर्जनौं वृत्तचित्र र सिनेमा निर्माणमा ख्याति कमाएका सिग्रिड डेकज्याएर र डेनिस पउल चाहिँ यसका कार्यकारी निर्माता हुन् । ‘देवी’ को कथा एक व्यक्तिको जीवनमा मात्र सीमित छैन, यसले महिलाले सामना गरिरहेका विभेद र हिंसायुक्त घटनाले भरिएको फराकिलो सामाजिक मुद्दा पनि उठाएको छ । वृत्तचित्रमार्फत दर्शकले नेपाली समाजमा थुप्रिएका असहज सत्यको सामना गर्छन्, जहाँ यौन हिंसा र लैंगिक असमानता डरलाग्दा पाटो उजागर हुन्छन् । यस्ता मामिलामा प्रायः पीडित मौन बस्छन् । तर, ‘देवी’ यो सन्नाटा चिर्दै अकल्पनीय रूपले मुखरित हुन्छिन्, जो देख्दा दर्शकको मनमा अनौठो साहस, प्रेरणा र वेदनाको मिश्रित भाव उदाउँछ । ‘देवी’मा सुविनाले यौन हिंसामा परेकाहरूको जीवनमा आइलाग्ने कलंक, सामाजिक दबाब र संस्थागत अवरोधको मिहिन फेहरिस्त देखाउन खोजेकी छन् । ‘डकुमेन्ट्रीहरूमा सत्य पत्ता लगाउने र मौन आवाज सुनाउने सामर्थ्य हुन्छ,’ उनी भन्छिन्, ‘देवीमा मैले त्यही देखाउन खोजेकी छु ।’

प्रकाशित : वैशाख २०, २०८१ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?