थोरै गुरु धेरै साथी

युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’ 

माघ ९, २०८०

दीपक सापकोटा

Few teachers many friends

काठमाडौँ — अपहरणमा परेकी एक छोरी कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? वृद्ध आमालाई कसरी सुनाउन सक्लिन्, आफू अपहरणमा परेको खबर ? ‘खतरा’ हरूबाट घेरिएको खबर ? आँसुले भिजेका आँखा लिएर बन्दुकहरूबीच निरीह टोलाइरहेको खबर ? आफूमाथि कठोरतम केरकार भइरहेको खबर ? ‘हामी दुश्मनलाई छाड्दैनौं’ भनिरहेका माओवादी सरदारहरूका खबर ?

५० को दशकमा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो गीत, मेरो सन्देश’ टेलिभिजन कार्यक्रमकी प्रस्तोता, ‘जब सन्ध्या हुन्छ...’ म्युजिक भिडियोकी मोडल, ‘काठमान्डुमा एक दिन’ उपन्यासकी लेखक शिवानीसिंह थारू नै हुन्– बन्धक बनाइएकी ती छोरी । छोरी हुनुको धर्मअनुसार, उनले आमालाई सुनाउनैपर्थ्यो त्यो ‘खतरा’ खबर ! तर, उच्च रक्तचापले भयानक थलिएकी, ओछ्यानमा पल्टिएर सिलिङतिर टोल्हाइरहेकी आमालाई कसरी सुनाउनु– ‘आमा ! म बन्दुकहरूले घेरिएकी छु, कुनै पनि बेला मारिन सक्छु !’

Few teachers many friendsलेखक शिवानीसिंह थारू । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

माघको एक चिसो बिहान बाफ उडिरहेको चिया–कपअघि अछामका ती ठिहिर्‍याउने, फासफुस गइजाने पुसे–दिनहरूका स्मृतितिर विचरण गरिरहेकी थिइन्– शिवानी । अहिले उनका स्मृतिमा ती दिन धमिला भएका छन्  । तर, बिस्तारै  सिग्नल टिपिरहेको रेडियोजस्तै उनका मस्तिष्कमा ओहोरदोहोर गरिरहेको थियो, त्यो अपहरण–प्रकरण । ‘ममीलाई आफू अपहरणमा परेको खबर सुनाउने मनस्थितिमा म त्यसबेला छँदै थिइन्, किनभने ममी उच्च रक्तचापकी रोगी हुनुहुन्थ्यो । त्यो घटना सुनाएको भए उनलाई जे पनि त हुन सक्थ्यो !’ त्यो ‘जे पनि’ भित्र एक छोरीको आमाप्रति भव्य प्रेम बाँचिरहेको छ  उच्चस्थानमा ।

बन्धक भएकै बखत शिवानीलाई खाना दिइरहेकी, आफ्नै आमा उमेरकी कसैले कानेखुसी गरेकी थिइन्, ‘किन आयौ नि बा बाघका मुखाँ ?’ ती आमाको त्यो प्रेमपूर्ण–सहानुभूति उनको चित्तमै गढेको थियो । रुद्रघण्टी नै गाँठो परेर नमिठोसँग घुँक्क–घुँक्क रोएकी थिइन्, शिवानी । भन्छिन्, ‘त्यो बिरानो ठाउँमा, त्यो चिसो रातमा मलाई मेरै आमाको वात्सल्य याद आयो ।’

२०६१ पुस पहिलो साता माओवादीबाट अछाममा अपहरणमा परेकी थिइन्, शिवानी । जुन विन्दुमा ‘आफू मारिने भएँ’ भन्ने लागेको थियो, त्यही विन्दुमा माओवादीका सरदार लेखराज भट्टले स्याटलाइट फोन दिँदै शिवानीसँग भनेका थिए, ‘घरमा म यहाँ छु भन्नु !’ त्यसबेला भट्टसँग शिवानीले बोलेको एउटै वाक्य थियो, ‘बरु मलाई गोली ठोकेर मार्नुस्, तर म आफू अपहरणमा परेको खबर आमालाई सुनाउन सक्दिनँ ।’ राष्ट्रिय अनुसन्धान विभागकी गुप्तचरको आशंकामा समातिएकी उनी कालको आँखासँग आँखा जुधाई रिहा भएर काठमान्डु फर्किंदा भित्रैदेखि हल्लिएकी थिइन्, मानसिक रूपमा थिलथिलो भएकी थिइन् । भन्छिन्, ‘आमाको यादले फतक्कै गलेकी थिएँ ।’ 

***

आमा–हजुरआमा–नेपालगन्ज उनका दृष्टिमा उत्तिकै प्रिय बाँचेकै छन् । शिवानीले आमाभन्दा पहिले हजुरआमालाई जानिन् । उनको ओछ्यानको शिरानमाथि भित्तामा झुन्डिएको छ– हजुरआमाको फोटो । आमा कल्पना शाह थारू (७५) शिवानीलाई बरोबर भनिरहन्छिन्– मृतक मान्छेको फोटो सिरानमा राख्नु हुँदैन । सायद हजुरआमालाई ‘भूतप्रेत’ ठानिएको हुनुपर्छ । ‘तर, मेरी हजुरआमा भूतप्रेत होइन, मेरो जीवन हो,’ शिवानी भन्छिन् । उनलाई आमा चिनाइदिएकी हजुरआमाले हो ।

Few teachers many friendsशिवानीका बुबा, पूर्वमन्त्री फत्तेसिंह थारूका दुइटी श्रीमती । धम्बोझी घर भएका, बर्दियाका जमिनदार फत्तेसिंहसँग २१ वर्षको छँदा २०३१ सालमा प्रेम–बिहे भयो, कल्पनाको । शिवानी कान्छी आमापट्टिकी । आमा र बुबाको अन्तरजातीय विवाह । शिवानीको आमा–घर नेपालगन्जको धम्बोझी, मामा–घर गगनगन्ज । तर, मामाघरमा मामा थिएनन् । थिइन् त असाध्यै प्रेम गर्ने हजुरआमा । शिवानीकी हजुरआमाको कथा त होइन यो । तर, हजुरआमाको कथा नभनी आमाको मात्रै भनियो भने यो आलेख अपूरो–अधुरो हुन सक्छ । आउनुस्, एकछिन हजुरआमाको समयतिर चियाऔं, शिवानीको स्मृति–झ्यालबाट !

शिवानी जन्मिइन्– नेपालगन्जको भेरी अस्पतालमा । घरमा किचलो भएकैले हजुरआमाले ९ महिनाकी नातिनी लिएर गइन्, गगनगन्ज । छोराकै आसमा ६ छोरी जन्मिएका थिए हजुरआमा सरस्वती शाहको कोखबाट । कल्पना काइँली छोरी । कल्पना सानै छँदा बुवा बिते । श्रीमान् पनि नभएको, छोरा पनि नभएको गगनगन्जको खपरैल (टायल) घरमा हजुरआमासँग हुर्किइन् शिवानी । आर्थिक अवस्था निकै कमजोर थियो, हजुरआमा रक्सी बेच्थिन् । आमा कल्पना बेलाबखत धम्बोझीबाट शिवानीलाई भेट्न आउँथिन्– हर्लिक्स बोकेर । उनलाई घर लैजाने कोसिस गर्थिन् । शिवानी सोच्थिन्– यही हो मेरो घर । ‘घर जान्न’ भन्दै भुइँमा खुट्टा बजारेर रुन्थिन् । आमालाई चिन्ता थियो, छोरीले घर नचिन्ने भई, बाउको नाम पनि थाहा नपाउने भई भन्ने । जबर्जस्ती घिसार्दै घर पुर्‍याएपछि ‘तेरो बाउको नाम यो, आमाको नाम यो’ भनेर कराइरहन्थिन् । ‘तर, म कहिल्यै सुध्रिनँ, हजुरआमाकै घरमा बसिरहें, दिउँसो धम्बोझी गए पनि राति गगनगन्ज आइहाल्थें,’ शिवानी भन्छिन् । जीवनका सुरुवती दिनमा शिवानीले जसलाई ‘आमा’ भनेर चिनिन्, तिनी हजुरआमा थिइन् । आमा आउँदा शिवानी सोच्थिन्– यी अपरिचित मलाई किन भेट्न आउँछे ? 

Few teachers many friendsआमासँग अनेक अनुस्मरण छन्, शिवानीका । हजुरआमाले आमालाई बोलाउने नाम थियो– ‘माया’ । शिवानीको कानले जब ‘माया’ सुन्यो, सोचिन्– सबै आमाको नाम माया हुँदोरहेछ । त्यसपछि आमा सधैंभरि उनको सम्बोधनमा ‘माया’ भइन् । परिवारको अनुशासनमा नहुर्किएकै भएर ‘मेरो फरक हुर्काइ छ,’ भन्छिन् शिवानी, ‘मैले आमाको दूध खाइनँ, गाई–भैंसीको दूध खाएर हुर्किएँ– त्यसैले आमासँग मेरो सामीप्यता नै छैन ।’ हो शिवानीसँग भव्य सामीप्यता भएकी, सेतो धोती, सेतै बर्को ओडिरहने, समाजले ‘विधवा’ भन्ने कडा मिजासकी हजुरआमा सरस्वती महुवा फूलको रक्सी बेच्थिन् । शिवानीको मस्तिष्कका पत्रहरूमा थपक्कै बसेका छन्, नेपालगन्जको गर्मी, लु, शीतलहर, बूढो जामुनको रूख, मध्यदिनको आरिघोप्टे वर्षा हेर्दै दैलोमा उदास उभिएकी,  फ्रक लगाएकी सानी केटी अनि मत्याउने, च्यापच्याप लाग्ने त्यो महुवाको फूल !

आमा–हजुरआमाको स्मृति–लोकतिर पदयात्रा गर्दा शिवानीलाई बाँकेको थरूहट मेलाको सम्झना आउँछ (जुन कथा आमाले सुनाइन्) । कल्पना आफ्नी आमा सरस्वतीसँग थरूनीले लगाउने बनारसबाट ल्याइएको गिलटको सस्तो गहना बेच्न मेला पुग्थिन् । गाईका बथानले धुलो उडाउँदै गोठतिर पसिरहेको गोधूलिमा मेलाबाट फिर्दा अरू–अरू उखुको लाँक्रो र बरफ चुसिरहेका हुन्थे । गहना नबिकेका दिन आमा–छोरी भने भोकै लडियामा उदास घर फिर्थे । दिनैभरि गहना बेच्न हाट बसे पनि नबिक्दा आमा–हजुरआमाको मनोदशा कस्तो हुन्थ्यो होला ! शिवानी त्यो मनोदशा लेख्न चाहन्छिन् आख्यानमा । गगनगन्जमा केही मानिस चरेस पैठारी गर्थे । छोरीहरू हुर्काउन हजुरआमाले पनि चरेस पैठारी गरिन् । हिमाली जिल्लाबाट हटेरुहरूले बोकेर ल्याएका चरेस जंगलै जंगल भारत पुर्‍याउँथिन् उनी– नेपालगन्जदेखि मुरादाबादसम्म । घरका नानीहरूलाई चरेस खुवाएर, लट्ठै पारेर जान्थिन् र शरीरभरि चरेस पोको पारी फर्किन्थिन् । 

Few teachers many friendsरुपैडिया बोर्डरमा, रहरको दाल लगाइएको खेतमा, घुँडासम्मै आउने ग्याजग्याजे हिलोमा लुकेर बसेका डाँकाहरू कहिलेकाहीं आक्रमण गर्थे र हजुरआमाको ‘माल’ लुट्थे । चरेसको पैठारीपछि उनले भारतबाट भन्सार छलेर क्राबिन चुरोट ल्याइन् र व्यापार थालिन् । हजुरआमाका बा–हजुरबा जाजरकोटबाट कोलकाता पुगेका थिए, बा त्यहाँको एक स्टेटका महाराजाका कारिन्दा थिए । जब भारत स्वतन्त्र भयो, महाराजाहरू खारेज भए । अनि कारिन्दाहरू पनि सदाका लागि बिदा भए । सरस्वती बासँग १५/१६ वर्षको छँदा नेपालगन्ज फिरिन् । यता आउँदाका ती दिनहरू सुनाउँथिन् उनी शिवानीलाई, ठण्डी दिनमा मकलमा आगो ताप्दै, ‘हामी नेपाल फर्केको दिन कलकाताको ट्रेन स्टेसनमा ठूलो दंगा भएको थियो, मान्छेहरू भागदौड गरिरहेका थिए । त्यो भागदौड किन थियो भने त्यसै दिन महात्मा गान्धीको हत्या भएको थियो ।’ हजुरआमाको अनेक संघर्षमा शिवानीकी आमा साक्षी छिन्, केही साक्षी शिवानी पनि । हजुरआमाको यो कथाले एक मधेशकी महिलाको दुर्दान्त जीवन–कथा भन्छ ।

१० वर्षको हुँदासम्म मामाघर बसिन्– शिवानी । बुवा फत्तेसिंह पञ्चायतकालमा सञ्चारमन्त्री भएर ०३८ सालमा काठमाडौं आउँदा उनकी आमा पनि सँगै आइन् । बुवाले त्यसबेला चुनावमा दशरथ चन्दका बुवा ललित चन्दलाई हराएका थिए । आमा काठमाडौंबाट बरोबर फोन गर्थिन्, गगनगन्जमा । टोलमा एउटै मात्र फोन थियो, पहिले हजुरआमा कुरा गर्थिन् । सन्चो–बिसन्चोभन्दा बढी शिवानीको गुनासो गर्थिन्– ‘यो खाली खुट्टा हिँड्छे, धुलोमा खेल्छे र लौंडा (केटा) सँग मात्र खेल्छे ।’ त्यसपछि आमा शिवानीलाई भन्थिन्– ‘चप्पल लगाऊ, धुलोमा नखेल र लौडासँग खेल्दै नखेल !’ 

Few teachers many friendsमधेशी समुदायमा ११ वर्षको हुँदासम्म केटीलाई घरबाहिर निस्कन दिइँदैनथ्यो । शिवानीका दौंतरीहरूको ११ वर्षको छँदै बिहे भइसकेको हुन्थ्यो । अनि उनी लौंडासँग नखेले कोसँग खेल्थिन् त ? शिवानीकी सानीआमाको छोरा टुइनअटर चढेर काठमान्डुबाट नेपालगन्ज आउँथ्यो, मामाघरमा उसको इज्जत हुन्थ्यो, किनकि ऊ प्लेन चढ्थ्यो । शिवानीले सोच्न थालिन्– जुन देशबाट प्लेन आउँछ, त्यहाँ गएँ भने मेरो पनि इज्जत हुन्छ, म प्लेन भएको त्यो ठाउँ जान्छु । त्यसपछि शिवानीले आमासँग अनुरोध गरिन् र प्यारी हजुरआमा छोडेर काठमाडौं आइन्– २०४० सालमा । उनी पढ्न मन लागेर, आमाको यादले लखेटेर होइन, ‘इज्जत’ पाउन काठमान्डु आएकी थिइन् । 

***

बुवा शिक्षामन्त्री थिए, शिवानी सेन्ट मेरिज स्कुल जाउलाखेलमा कक्षा १ मा भर्ना भइन् । शिवानीले कल्पनालाई ‘आमा’ भन्दा बढी ‘टिचर’ का रूपमा पाइन् । आमाले आईए पास गरेकी थिइन्– नेपालगन्जको बालमन्दिर पढाउँथिन् । काठमान्डु आएर पनि स्कुलमै पढाइन् । २०४६ सालपछि बुवाको पञ्चायत–राजनीति लगभग सकियो । उनी नेपालगन्ज फर्किए । आमाले काठमान्डु बसेरै २ छोरी र १ छोरा हुर्काइन् । प्रत्येक दिन स्कुल पढाउन जावलाखेलबाट ठिमी पुग्थिन् । जीवनका यी लामा दिनहरूमा आमासँग शिवानीको सामीप्यता कहिल्यै भएन । उनले अहिलेसम्म आमालाई कहिल्यै अँगालो मारेकी छैनन् । विवाह गरेर जाँदा पनि भावुक भइनन्, अँगालो हालिनन् । तर, आमाप्रति उनको असाध्यै अगाध सम्मान छ । भन्छिन्, ‘किनकि आमा पनि मलाई सम्मान गर्नुहुन्छ ।’

Few teachers many friendsआमासँगका काठमान्डु सम्झना सक्किएका छैनन्, बरु शिवानी ती दिनका स्मृतिको लहर–नृत्यमा झन् मग्न छिन् । आमा जहिल्यै छोरीले पढिरहेको मात्रै हेर्न चाहने । तर, को सधैं पढिरहन सक्छ ? उनलाई लाग्छ, आमा शिक्षक भएकाले त्यसो भएको हो । उनी पढ्थिन्, तर कोर्सबाहेकका सबै किताब । स्कुलका किताबभित्र इन्द्रजाल, कमिक्स र कथाका किताब लुकाएर पढ्थिन् । छोरीले ‘पढेको छ कि छैन ?’ आमा चियाएर हेर्थिन् । कमिक्स च्यातचुत पारेर फालिदिन्थिन् र सजायस्वरूप भण्डारकोठामा दिनभर थुनिदिन्थिन् । शिवानीकी बहिनी भने होस्टल बस्थिन् । उनी घर आइन् र पहिल्यै पैसा तिरिसकिएकाले बहिनीको बदला शिवानी होस्टल बसिन्– पाँच कक्षादेखि नौसम्म । 

शिवानी महिनावारी पनि भएकी थिइनन्, तर आमा होस्टल आएर घरका महत्त्वपूर्ण निर्णय सुनाउँथिन् । परिवारमा तनाव थियो, त्यसैले घरको किचलोले सायद आमा निकै गलेकी थिइन्, शिवानीलाई आमा ‘साथी’ सोच्थिन् । शिवानीसँग सबै तनाव ‘सेयर’ गर्थिन् । जस्तो कसैलाई पैसा दिएको छ र उठेको छैन भने आमा शिवानीलाई पैसा उठाउन अह्राउँथिन्, जेठी छोरी जो थिइन् । उनी पैसा उठाउन जान्थिन् । आमा उनलाई भन्थिन्, ‘तिमी छोरा भइदिएको भए म तिमीलाई मात्रै पाउँथे, तर छोरी भयौ...छोरा भएर मात्रै परिवारमा मेरो इज्जत हुन थाल्यो ।’ 

‘म छोराजस्तै बन्न चाहन्थें । त्यसैले आमाको सबै कुरा मान्थें । म सोच्थें– छोराले गर्न सक्ने काम सबै गर्न सक्छु । ‘छ कक्षा पढ्ने केटी, गुन्डाजस्तो भएर पैसा ल्याउन सक्दिनथें, तर म त्यो काम गर्थें, आँट लिएर । आमालाई प्रमाणित गर्न चाहन्थें– म छोराभन्दा काबिल छु,’ शिवानी भन्छिन्, ‘त्यसैले सानोमा म आफूभन्दा १० वर्ष ठूली भएँ, सानैमा बूढी भएँ । मेरो सामान्य बाल्यावस्था थिएन । आजको म कोहीसँग नडराउने मान्छे त्यसैकारण भएँ ।’

Few teachers many friendsबुवा नेपालगन्ज फर्केपछि शिवानी पनि होस्टल छाडेर डेरा फर्किइन् । उनीहरूसँग स्कुलमा लगाउने एउटै मात्र सर्ट थियो, जाडोमा पनि एकदमै पातलो स्वेटर लगाएर स्कुल जान्थे । सर्ट प्रत्येक दिन मैलो हुन्थ्यो, स्कुलबाट नानीहरू फर्किनेबित्तिकै आमा धोइदिन्थिन् । आमा कल्पना अब्बल नर्तकी थिइन् । बाँकेमा २०१८ सालमा भएको राष्ट्रिय नृत्य प्रतियोगितामा उनी बाँकेबाट प्रथम भइन् । र, राजा महेन्द्रबाट पुरस्कृत भइन् । आमाले लेहेंगा, चोली, हसुला लगाएर कहरूवा नाच नाचेको पुरानो बिम्ब शिवानीको स्मृतिमा आइरहन्छ । ‘त्यस्तो नाच नाच्ने आमाको आत्मविश्वास कमजोर भइसकेको थियो, घरझगडाले,’ शिवानी भन्छिन्, ‘त्यसकारण उनको आत्मविश्वास मै भएँ ।’

***

गगनगञ्जका चाँदनी रातमा शिवानीका आमाहरू जम्मा हुन्थे, लुगा सिउँथे र खटियामा बसेर कथाहरू सुनाउँथे । ‘तिम्रो आँगनमै तिम्रो बाटो छ’ भनेझैं मूलबाटो भन्नु नै आँगन थियो । ‘म बाटोमै हुर्किएकी हुँ,’ शिवानी भन्छिन् । त्यसबेला बहराइचबाट ट्रक ड्राइभर आउँथे गगनगन्ज र आमाहरूलाई अनेक इसारा गरेर जिस्क्याउँथे। ड्राइभरलाई आमाहरू गाउँको सीमासम्मै लखेट्थे । ती कथा आमा अहिले पनि वाचन गर्छिन्– उज्याला आँखा नचाउँदै, अनुहारका अनेक चाउरी पन्छाउँदै । 

शिवानीले नेपालगन्जको जति कथा लेखिन्, ती सबै उनकी आमाले वाचन गरेकी हुन् । आमा कल्पना साँझ–साँझ अहिले पनि गगनगन्जका कथा हाल्छिन् । जस्तो आमाले भन्ने अँधेरी बगियाको कथा सुनौं । आमा, उनका साथीहरू अँधेरी बगियामा कण्डी (गोबरको गुइँठा) लिन जान्थे, त्यहाँको एक कुवामा हुन्थे– युवतीका लासहरू । लास देखेर आमा र साथीहरू असाध्यै डराउँथे ।

‘म लेखनमा आउनुमा आमाको मात्रै प्रभाव हो । सानैमा आमा मोटा–मोटा किताब दिन्थिन्, तिनले मलाई कथाहरूमा रुचि बढाइदियो,’ शिवानी भन्छिन् । आमा अहिले पनि भन्छिन्– गरिबीले सबै बिग्रियो । आमालाई सायद लागेको हुनुपर्छ– म गरिब नभएको भए कसैकी कान्छी हुनुपर्दैनथ्यो । ‘आमा धेरै कुरा भन्नुहुन्न, तर मौन भएर धेरै भन्नुहुन्छ,’ शिवानी भन्छिन् । 

Few teachers many friendsअहिले काठमान्डुमा शिवानी आमा कल्पना र भाइसँगै बस्छिन् । बा फत्तेसिंह नेपालगन्जमा जेठी श्रीमतीसँगै छन् । आमा बिहानै उठेर पूजा गर्छिन्, पत्रपत्रिका पढ्छिन् । ‘नेपालगन्जसँग सम्बन्धित मेरो लेखनको प्रायः विषय आमाले नै दिनुहुन्छ । आमाकै सल्लाहअनुसार लेखनमा परिमार्जन गर्छु । आमा लेख्नका लागि चाहिने पात्र पनि खोजिदिनुहुन्छ,’ शिवानी भन्छिन् । अनेकमध्ये शिवानीको लेखक छविमा आमा खुसी छिन् ।

प्रत्येक दिन आमा शिवानीलाई भन्छिन्– ‘म मरेपछि मेरो लासमा तुलसीको पात राखिदिनू र लास राम्रोसँग जलेपछि मात्रै घर फर्किनू !’ आमा बूढी हुँदै गएको, स्मरण क्षय हुँदै गएको शिवानी देख्छिन् । गगनगन्ज र धम्बोझीका पुराना दिन विस्मृतिमा गइसके । शिवानीलाई डर छ– कुनै दिन उनले मलाई पनि बिर्सिइन् भने ?

एक लेखककी आमाको युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पनाका संघर्षमय ती दिनको सम्झना । ती दिनको सम्झनाले शिवानी बेलाबेला उदास हुन्छिन् । आमाप्रति पुत्रीवत् सम्मान प्रकट गर्दै शिवानी भन्छिन्, ‘मेरो धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’

कान्तिपुरमा प्रकाशित आमा शृंखला

आमा-फिचर श्रृंखला

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully