‘मेरी आमालाई अंग्रेजी, नेपाली दुवै भाषाको राम्रो ज्ञान थियो, अक्षरहरू बडा सुन्दर थिए, हामी सबैको प्रथम गुरु नै आमा हो’
काठमाडौँ — सपनामा बारम्बार कोही आइरहन्छ भने त्यसको संकेत के हो ? यसबारे मनोविज्ञानले विभिन्न अर्थमा भिन्नभिन्न विश्लेषणहरू गर्छ, जो समय र सन्दर्भले फरक पर्न जान्छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको भने यसमा स्पष्ट मत छ– सपनामा बारम्बार आउने मान्छे संसारकै सबभन्दा मायालु हो । हुन पनि हो, कोही सधैं सँगै भए पनि जिन्दगीभर सपनामा आउँदैन । कोहीचाहिँ साथै नभए पनि स्वप्नलोकमा सधैं भेट हुन पुग्छ । यो सब त्यही प्रेमकै परिणति त हो !
जस्तो कि, उनकी मायालु आमा यो संसारमै छैनन् । तर, हरेक दुई/तीन दिनमा सुशीला नबिराइकनै सपनामा आमालाई भेट्छिन् ।‘मैले जीवनभर सपनामा कहिल्यै कसैलाई देखेको छैन,’ सुशीला भन्छिन्, ‘तर आमासँग भने नबिराइकन भेट हुन्छ, जबकि विपनामा यसबारे कुनै ख्यालसम्म पनि गरेको हुन्न ।’
मनोविद्हरू भन्छन्, ‘मनको अवचेतन पत्रमा जे छ त्यो सपनामा प्रकट हुन्छ, भलै त्यसबारे सचेत मनलाई विपनामा अत्तोपत्तो हुँदैन ।’ यस दृष्टिले हेर्दा के ठहर्छ भने, पूर्वप्रधानन्यायाधीशको मनमा आमा लीलाकुमारीप्रतिको प्रेम कहिल्यै ननिख्रिने गरी बसेको छ, थपक्कसँग ।
आमा लीलाकुमारीको तस्बिर देखाउँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर
‘आमालाई माया नगर्ने त को होला र ?’ सुशीला भन्छिन्, ‘तर अचम्म के भने नसम्झेका बेलामा पनि सपनामा नित्य भेट भइरहन्छ, केही अप्ठेरो पर्दा भन् बढी उहाँ सपना बनेर आइदिनुहुन्छ, जसको कारण नबुझेर म सधैं छक्क पर्छु !’
आमा सम्झ्यो कि सुशीला मधेशका ती देहाती दिनहरूतिर फर्किन्छिन् । जहाँ घरभरि बग्रेल्ती बच्चाहरूका साथ लीलाकुमारी तिनको स्याहारसुसारमा जुट्थिन् । उनका पाँच छोरी र दुई छोरा जन्मे, जसमध्ये जेठी थिइन् सुशीला । साँघुरो जन्मान्तरमा एकपछि अर्को गरी भेट हुन आइपुगेका भाइबहिनाको हूलमा बाल्यकाल बितेका दिनहरू विश्लेषण गर्दा सुशीलालाई के लाग्छ भने एकै मात्रै सन्तानमा काम चलाउने अचेलका आमासँग केटाकेटीहरूले भरपेट समय बिताएजस्तो उनले बिताउन पाइनन् ।
‘हाम्रो पालामा छोराछोरी धेरै हुने हुनाले खाने कुरा मात्रै होइन, माया अनि हेरचाह पनि बाँडिन्थ्यो,’ सत्तरी हिउँद–वर्षा देखेका आँखामा पुराना दिनको तस्बिर उतार्दै सुशीला बोलिन्, ‘त्यसबेला, आमाहरूलाई छोराछोरीलाई वैयक्तिक होइन, सामूहिक माया गर्नुपर्ने बाध्यता हुन्थ्यो, त्यसैले मलाई आमासँग एक्लै बसेर बिताएका लामो सम्झना एउटै छैन ।’
जेठी छोरी हुनाले सुरुवाती वर्षहरूमा आमाको काखमा उनले बाक्लै बस्न पाइन् । तर त्यो मधुर समयको सम्झना ज्यादै सानो हुनाले उनले सम्हालेर राख्नै सकिनन् ।
‘अँ, एउटा कुरा भने मलाई झलझली याद छ,’ बुधबार बिहान कौसीभरि छरिएको आमाको सम्झनाजस्तै न्यानो घाम ताप्दै सुशीलाले सर्वाधिक पुरानो स्मृति चिहाइन्, ‘अढाई वर्षकी हुँदी हुँ, मैले प्लास्टिकको कुकुर उपहारमा पाएकी थिएँ ।’ आफन्तले दिएको त्यो खेलौना एउटा बच्चाका लागि मूल्यवान् थियो । यसको बोध भने सानी सुशीलालाई अलिकति पनि थिएन । उनलाई आजैजस्तो लाग्छ, एक दिन त्यही खेलौना समातेर सुशीला भान्सामा काम गरिरहेकी आमासामु ठिङ्ग उभिइन् । आमा चुलामा केही पकाइरहेकी थिइन् ।
‘आगो बलिरहेको थियो र मैले त्यसलाई त्यही आगोमा घुसारिदिएँ,’ सुशीला कतै टोलाएजस्तो भइन्, ‘प्लास्टिक हुनाले त्यो हुरहुरी बल्न थाल्ले र म खुस्सी भएँ, छोरीको खेलौना छेक्दाछेक्दै बल्न पुगेकामा आमा भने दुःखी हुनुभयो ।’ आगाको लप्कामा उद्विप्त एक बालिकाको चकित अनुहार र उनकी युवा आमाको मलिन भाव एक साथ सलबलाउँछन् अहिले पनि सुशीलाको स्मृति गर्भमा ।
‘सम्झने गरी आमाको अनुहार मनमा बसेको सबभन्दा पहिलो क्षण त्यही थियो,’ सुशीला भन्छिन्, ‘जस्तै आपत् पर्दा पनि दुःखी नहुने मेरी आमाको अनुहारमा त्यस बेला त्यति सानो खेलौना जल्दा देखिएको खिन्नता त मेरा लागि उहाँको असीम माया रहेछ, पछि पो बुझें !’
सुशीलाको बाल्यकालीन सम्झनामा तराईका फुसका घर र त्यसका ठूलठूला पिँढीमा गुन्द्रीमाथि हालिएको बिस्तरा अनि केटाकेटीका साथ लस्करै सुतेको दृश्यहरू सलबलाउँछन् । त्यतिबेला देहातमा परेवा पाल्ने चलन आम रूपले सामान्य थियो । ओछ्यानमा बसीबसी परेवाहरू हेरेको र आमाले त्यसमै लस्करै बसाएर भुराहरूलाई खाना खुवाएको सम्झनाले उनलाई मौसम–बेमौसममा अँगाल्न आइपुग्छ । मुखमा गाँस हालेर अरू केटाकेटी उडिरहेको परेवाको बथानलाई हेर्न तल्लीन हुँदा सुशीलाकी माहिली बहिनी इन्दिरा सबका थालबाट मासु निकालेर आफ्नो भागमा पार्थिन् । यसको पत्तो पाएपछि उनीहरूबीच झगडा चल्थ्यो ।
‘अनि हाम्री आमा ल, ल चुप लागो भन्दै चोरिएका मासुका टुक्राहरू पुनः फिर्ता गराइदिनु हुन्थ्यो,’ सुशीला उही बालखा दिनहरूमा पुगेर मस्तले हाँसिन्, ‘क्या रमाइला दिन थिए ती ।’ देहातमा महिला पुरुष र मान्यजनका अघिल्तिर नपर्ने र पर्नैपरे घुम्टो ओढेर शिर ढाक्ने चलन थियो । परिणाम के भयो भने, लीलाकुमारीहरू कामै नभए पनि चुलाचौकामै अल्झेर बस्न अभिशप्त थिए । ‘देहातमा वरिपरि घर र बीचमा फराकिलो आँगन हुन्थ्यो,’ सुशीला सम्झन्छिन्, ‘त्यही आँगन नै महिलाको संसार थियो ।’
लीलाकुमारीले पनि पूरै जीवन त्यही फराकिलो आँगन र त्यस पछाडिको खेतबारीमा बिताइन् । काठमाडौंको नयाँ सडकमा जन्मेकी र चोभारमा हुर्केकी सभ्रान्त बस्नेतकाजी परिवारकी छोरी लीलाकुमारी देहातकी बुहारी र सुशीलाकी आमा बन्न कसरी पुगिन् भन्ने चाखलाग्दो कथा छ, जो कुनै सिनेमाभन्दा कम स्वैरकाल्पनिक लाग्दैन । लीलाकुमारीका पिताजी हेमानसिंह बस्नेत त्यसताका पटनाबाट स्नातकोत्तर गरेका राणाकालका न्यायनिसाफ छिन्ने पहुँचवाला मानिस थिए । दुनियाँदारलाई पढ्न दत्तचित्तले रोक्ने राणाहरूको जगजगी हुँदा लीलाकुमारीले लेखपढ गर्न नत्र कहाँबाट पाउँथिन् ?
‘मेरी आमालाई अंग्रेजी, नेपाली दुवै भाषाको राम्रो ज्ञान थियो, अक्षरहरू बडा सुन्दर थिए उहाँका,’ सुशीला सम्झिन्छिन्, ‘हामी सबको प्रथम गुरु नै आमा हो ।’ लीलाकुमारी सानै छँदा उनका पिताजी बित्न पुगे । आठ कक्षापछि उनको पढाइ रोक्कियो । तिनताक १८ वर्ष पुगिसक्दा पनि बिहा नहुने थोरै कन्याहरू हुन्थे जसमध्ये लीलाकुमारी पनि एक थिइन् । उनको बिहा ढिलो हुन पुग्नाको कारण थियो ज्योतिषीको जोखाना । ‘यी नानीको बिहा कुनै विधुरसँग गराइदिनू,’ ज्योतिषीले भनेछ, ‘कन्ने केटासँग गराए अनिष्ट हुने योग छ ।’
श्रीमती बितिसकेका बर खोज्दा बूढाखाडाहरू मात्रै ठोक्किन आइपुग्दा रहेछन् । ‘मेरी हजुरआमालाई छोरीको बिहा अधार्नो बूढाहरूसँग हुने भयो भन्ने ठूलो चिन्ता परेछ, अनि उहाँले युवा विधुरको धुइँपत्ताल खोजबिन गर्न पुग्नुभयो,’ बाल्यकालमा आमाको देहात आगमनबारे सुनेको किस्सा सुशीलाले सुनाइन्, ‘त्यसै उपक्रममा बुबा फेला पर्नुभएको रहेछ ।’
राणाहरूको शासनकालमा धनकुटे लप्टन कर्णवीर विराटनगरमा ६ सय बिघाभन्दा जमिनका मालिक थिए । विपुल धनका अतिरिक्त कर्णवीर पाँच पत्नी र १३ सन्तानका साथ विराटनगरको शंखरापुरमा खुब रवाफका साथ बस्थे । उनकी कान्छी पत्नीका जेठा छोरा डिल्लीबहादुर १९ वर्षमा बिहा गरेर २१ वर्षमा विधुर हुन पुगेका रहेछन् ।
लीलाकुमारीकी ठूली आमाको दिदीको छोरा शमशेरबहादुर थापा भीमसेन थापाको खनाती थिए र राणा प्रशासनतन्त्रका हाकिम पनि । सानीआमाको आग्रहमा उनले बहिनीका लागि योग्य विधुरको खोजबिन गर्दा डिल्लीबहादुर उपयुक्त जँचे । कानमा हिराको मुन्द्राका साथ लीलाकुमारीको तस्बिर खिचाएर डिल्लीबहादुरकहाँ पुर्याउने काम भयो ।
‘मेरी आमा परिकथाको राजकुमारीजस्ती सुकुमारी र सुन्दरी थिइन्,’ अचेल टोखास्थित आफ्नो घरको एक शान्त कोठामा फूलमालाका साथ भित्तामा झुन्डिएको ७१ वर्ष पुरानो उही तस्बिरलाई स्नेहका साथ छातीमा टाँस्दै सुशीला स्मृतिको पल्लाछेउ पुगिन्, ‘बुबाले त्यो देख्नेबित्तिकै विवाहका लागि मञ्जुरी दिनुभएछ ।’
लीलाकुमारीलाई डोलीमा राखेर लावालस्करका साथ वीरगन्जसम्म लगियो । त्यहाँबाट रेलमा रक्सौल हुँदै जोगबनी पुर्याइयो र वारि विराटनगरमा काजी डिल्लीबहादुरसँग लगनगाँठो बाँध्न लगाइयो ।
‘ठन्डा ठाउँमा हुर्केकी मेरी सुकुमारी आमा विराटनगरमा मच्छरको टोकाइ र गर्मीको आलसतालसले बिरामी नै पर्नु भएछ, गएकै दिनमा’ कुनै अँध्यारो गल्लीमा चिहाएजस्तो गरी सुशीलाका आँखा ठूला भए, ‘सहनै नसक्ने ठाउँमा जीवन बिताउन परेकामा र देहाती बुहारी भएर चुलाचौकामा सीमित हुन परेकामा उहाँलाई हुनसम्म दुःख भयो रे ।’
यसरी चौबीस वर्षका विधुर दुलहा र १८ वर्षकी कन्या दुलहीबीच विवाह भएको थियो, २००८ सालमा । त्यसको एकै वर्षमा सुशीलाका कोमल पाइलाहरू धर्तीमा टेकिन पुगे । त्यो सगोलको घरमा १३ काकाकाकीका छोराछोरीसमेत गरेर ५० भन्दा बढी जहान थिए । त्यसमाथि, आठदस पाहुना सधैं आएकै हुन्थे । घरका सबै पुरुष र पाहुनापासालाई खुवाइसकेपछि महिला सदस्यको भान्सा बस्ने पालो आउँदा अपराह्नको ३ बजिसकेको हुन्थ्यो । लीलाकुमारीकी सासू योगकुमारी देवी उदार विचारकी थिइन्, त्यसैले बुहारीहरूलाई खाने पालो आउञ्जेल भाकबाट अताल्लिन नपरोस् भनेर चिउरा टोक्ने अनुमति हार्दिकताका साथ दिन्थिनन् मात्रै, केही खान कर नै गर्थिन् । लोग्नेमान्छेहरू समयमै खान नआउँदा बरोबरजसो घाम डुबिसक्थ्यो । यस्तोमा, बिहान पकाएको खाना साँझ खान नहुने चलन थियो । भोका लीलाकुमारीहरू फेरि पकाउँथे र बल्ल खान पाउँथे ।
‘घरमा काम गर्नेहरू धेरै नै थिए तर आमा तिनलाई अह्राउन र खटाउनमा लाग्नुपर्ने भएकाले चुलाचौकाबाट बाहिर निक्लन पाउनु हुन्नथ्यो,’ सुशीलाको बाल्यकालीन सम्झना छ, ‘भारत हुँदै काठमाडौं जान पर्ने भएकाले माइती पनि उहाँका लागि परदेश नै भयो ।’
सुशीलालाई सम्झना छ, लीलाकुमारी शाकाहारी थिइन् । तर, उनको खाने शैली अलिक अचम्मको थियो । ‘उहाँ दूधमा दही मिसाउनु हुन्थ्यो र भातसँग मुछेर खुब स्वाद मानेर खानु हुन्थ्यो,’ सुशीलाले सम्झनाको ठेली उधिनिन्, ‘खाएपछि आँखाको पिरो मार्न पर्यो भनेर केहीबेर सुत्नु हुन्थ्यो र उठेपछि दिनभरि नै बारीमा बोटबिरुवाका साथ खनीखोस्रीमा बिताउनु हुन्थ्यो ।’
आमा घरेलु काममा व्यस्त भएपछि सुशीला र उनका भाइबहिनाको सारा समय हजुरआमा योगकुमारीका साथ बित्ने गर्थ्यो । योगकुमारी सप्तरीको पक्री भन्ने गाउँका जिम्बुवाल थापाकी छोरी थिइन् । तिनताका पाठशालाहरू नखुले पनि जिमिन्दारहरू छोराछोरीलाई घरमै मास्टर बोलाएर पढाउने गर्दा रहेछन् । सायद, योगकुमारी देवीलाई पढाउने मास्टर बंगाली थिए । त्यसैले होला, हजुरआमाले बंगाली भाषामा रामायण मीठोसँग पढेको देखिन् सुशीलाले । योगकुमारीका पिता आयुर्वेदका ज्ञाता थिए, जसबाट उनले कुन रोगमा कस्तो जडिबुटीले काम गर्छ भन्ने सिकेकी थिइन् । विराटनगरमा उनको परिचय डाक्टरको भन्दा कम थिएन र जँचाउन आउनेहरूको लर्को कुनै अस्पतालमा भन्दा थोरै थिएन ।
‘विराटनगरमा एक जना मात्रै डाक्टर थिए त्यस बेला,’ सुशिला भन्छिन्, ‘बिरामीको चाप थेग्न नसकेर होला, पछि त डाक्टरले पनि हजुरआमाकैमा जान सिफारिस गर्न थाले ।’
पिँढीमाथिको छानालाई सिकुवा भन्छन् देहातमा । खरले छाएको सिकुवाभरि नै औषधिका पोकाहरू सिउरेको देखेकी छन् सुशीलाले । यस्ती जाती हजुरआमा ९३ वर्षको उमेरमा ०५४ तिर बितिन् । त्यसको ६ महिनाजति अघि सुशीलाले हजुरआमासँग भनेकी रहिछन्, ‘आयुर्वेदको ज्ञान हामीलाई पनि सिकाउनुस् न हजुरआमा ।’
हजुरआमाले भनिछन्, ‘दुःख हुन्छ बेक्कारमा, रहरै नगर्नु ।’ हजुरआमा बित्नुअघि सुशीलाका बुबा बितिसकेका थिए, ०४५ सालमै । छोराछोरीहरू बिहा गरेर लाखापाखा लागे । एक्ली लीलाकुमारी देहातको घरमा कामदारहरूका साथ बसिरहेका बेला सुशीला बरोबरजसो उनलाई भेट्न गइरन्थिन् । यस्तै उपक्रममा ०६५ मा पुसको एक दिन उनले आमालाई आफू सर्वोच्च अदालतको न्यायाधीश भएको सुनाइन् । काठमाडौं पुगेपछि आमालाई पनि यतै बस्न बोलाइन् । ‘तर आमाले मान्नुभएन,’ सुशीला भन्छिन्, ‘बुबा बितेको ठाउँलाई म छाडदिन भन्नुभयो ।’ त्यसको आठ वर्षपछि ०७३ असारमा प्रधानन्यायाधीश भएपछि सुशीला आमाको आशीर्वाद लिन विराटनगर पुगिन्, दलबलका साथ ।
‘आमालाई मैले त्यति खुसी कहिल्यै देखेकी थिइनँ,’ सुशीला मुस्कुराइन्, ‘मेरा अंगरक्षक क्याप्टेन शिवबहादुर थापा थिए, उनलाई आमाले मेराबारेमा सानतिनो प्रवचन नै दिनुभयो ।’
‘हेर्नुस् क्याप्टेन साब, मैले छोरीलाई एक थप्पड लाइनँ,’ लीलाकुमारीले भनिछन्, ‘सधैं उसको खुसीमा हिँड्न दिएँ, आज हेर्नुस् त कहाँ पुगी !’ छोरीहरूलाई हुर्काउने उत्तम उपायका बारेमा ९१ वर्षकी लीलाकुमारीबाट सुन्न पाउँदा क्याप्टेन थापा पुलकित थिए अरे ।
त्यसको दुई वर्षमा लीलाकुमारीले भित्रिएको उही पुरानो घरमा अन्तिम सास फेरिन् । त्यसयता सुशीलाका सपनाहरूमा आमा नियमित रूपले आइरहिन्छन् । ‘मेरी आमा दुःखहरूमा कहिल्यै आत्तिनु भएन, सुखमा कहिल्यै मात्तिनु भएन,’ सुशीलाले आँखा चिम्लिन्, ‘यस्तै हुन मलाई पनि सिकाउनु हुन्थ्यो, यही सम्झाउन होला, सपनामा आइरहनुहुन्छ र मलाई आमाको सम्झनाले सधैं न्यानो पारिरहन्छ ।’
कान्तिपुरमा प्रकाशित आमा शृंखला
