२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

सामाजिक न्यायका पर्याय ‘बराल बा’

दीपक परियार

पोखरा — सेतै फुलेका दाह्री कपाल लिएर टेकनाथ बराल अब नागरिकको पक्षमा सडकमा नाराबाजी गर्दै गरेको भेटिने छैनन् । न त उनी द्वन्द्वको क्रममा वेपत्ता बनाइएका नागरिकको परिवारसँगै आन्दोलनमा उभिएको देखिने छन्, न महँगी र भ्रष्टाचारको विरुद्धको प्रदर्शनमा उनको चर्को स्वर सुनिने छ ।

सामाजिक न्यायका पर्याय ‘बराल बा’

महिलाविरुद्धको हिंसा होस् वा दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्ध सधै अग्रमोर्चामा उभिने ‘बराल बा’लाई ८४ वर्षको उमेरमा पोखराले गुमाएको छ ।

प्रजातन्त्रवादीबाट वामपन्थी हुँदै जीवनको उत्तरार्धमा मानवअधिकारवादी नेताको परिचय बनाएका उनले भदौ १२ मा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । हरेकजसो राजनीतिक र नागरिक आन्दोलनमा पोखराबाट आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याउँदै आएका उनी राणाशासनदेखि गणतन्त्रसम्म आधुनिक नेपालका साक्षी थिए । रोगले च्याप्दै लगेपछि केही वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । बैदाममा रहेको महेन्द्रकालीन ‘रत्न मन्दिर’ दरबार यही गणतन्त्र दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिँदा सकिनसकी पुगे ।

विसं १९९६ मा बैदामको नुवारथोकमा सम्पन्न परिवारमा जन्मिएका उनी सुरुआती समयमा प्रजातान्त्रिक विचारबाट प्रभावित थिए । प्रेम चैतन्य र कानो जोगीले पोखरामा चलाएको राणाशासन विरोधी आन्दोलनबाट प्रभावित भएका उनी २०१३ सालमा रात्रि पाठशालामा छात्र संगठनको अध्यक्ष बने । आठ कक्षा पास गरेर शिक्षक तालिम लिएपछि विभिन्न विद्यालयमा पढाए । गोरखा, लमजुङ, तनहुँसम्म पढाउन पुगे । केही साथीसँग मिलेर बैदाममै विसं २०१५ मा जनज्योति प्रावि स्थापना गरेर त्यहीँ पढाउन थाले ।

०१७ मा बीपी कोइरालाको सरकार अपदस्त भएपछि पञ्चायत आयो । कांग्रेस निकट नेपाल युवक संगठनको उनी कास्की जिल्ला सभापति भए । २०१८ सालको एक महिना उनले मोहरिया टोलमा संगठनको बैठक राखेका थिए । मोहरिया टोलमा तत्कालीन् बडा हाकिम धन शम्शेर बस्ने घर थियो । घरबाट बैदामको रत्न मन्दिर पुर्‍याएको टेलिफोन तार त्यही रात चोरी भयो । बडा हाकिमले राज्य विद्रोह गर्न तार काटेको शंकामा टेकनाथ सहित कांग्रेस, कम्युनिस्ट नेता र केही समाजसेवीलाई पक्राउ गराए । उनीहरुलाई रानीपौवाको जेलमा राखियो । एक महिना प्रहरी र दुई महिना मिलिटरी कस्टडीमा राखेपछि उनलाई धवलागिरी अञ्चलमा हाजिर हुने गरी पुर्जी थमाएर छाडियो ।

तारेखमा जानुको साटो उनी केही साथी बटुलेर चितवन हानिए । पहिलोपल्ट गाडी चढेर नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं पुगे । त्यसपछि उनी बनारस गए । त्यहीबाट मेट्रिक पास गरे । २० को दशकको सुरुआतमा आईए पढ्दै गर्दा पुष्पलालले उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाए । बनारस रहँदा विद्यार्थी संगठनमा रहेर काम गरे । विभिन्न मुखपत्र प्रकाशन गरे । क्याम्पसमा भएको नेपाल छात्र संगठनको चुनाव पहिलोपल्ट नेकपाको विद्यार्थी संगठनले जितेको थियो । त्यतिबेला उनी सचिव चुनिए ।

त्यहाँबाट फर्केपछि उनी गण्डकी धौलागिरी क्षेत्रमा संगठन निर्माणमा लागे । उनी तत्कालीन सरकारले उनलाई राज्य विरुद्ध प्रकाशन गरेको भन्दै ०२३ सालमा गिरफ्तार गर्‍यो । उनी २ वर्षपछि ०२५ मा रिहा भए ।

०२२ सालदेखि नै पोखरा ६ मा रहेको उनको घर कम्युनिस्ट नेता, कार्यकर्ताको आश्रयस्थल थियो । २०२९ सालमा उनी देश निकाला भए । सकभर देशमै बस्ने उद्देश्यले उनी कास्की, गोरखा र तनहुँका लेकमा भूमिगत बनेर संगठन बनाउन लागे । ०३० सालमा उनी पुनः वनारस निर्वासित भए । ०३३ सम्म उनले पुष्पलालसँगै पार्टीको काम गरे । ०३३ देखि ०३६ सम्म उनी भारतका असाम, मेघालय, नागाल्यान्डमा विभिन्न क्षेत्रमा शिक्षकको रुपमा घुमे । त्यहाँ पनि उनी नेकपाको संगठन बनाउन क्रियाशील थिए ।

राजनीतिक कारणले निर्वासित भएर लामो समय बनारसमा बिताएका, संस्थापक नेता पुष्पलालको सान्निध्यमा बसेका बराल जनमतसंग्रहको खुकुलो वातावरणपछि पोखरा फर्किए । उनी ०३६ सालमा नेपाल फर्किएर जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय बने । नेकपा विभाजनपछि भने उनी कतै लागेनन् । बरु स्वतन्त्र वामपन्थी नेताका रुपमा आफूलाई उभ्याए । टुटफुट भएको कम्युनिस्ट आन्दोलनलाई एक बनाउन प्रयत्नशील रहे ।

उनी स्वतन्त्र भएकैले ०४६ सालको आन्दोलनमा ६ वाम पार्टीले उनलाई वाममोर्चाको गण्डकी अञ्चल अक्ष्यक्ष बनाए । वाममोर्चाको अध्यक्ष भएर उनले कांग्रेससँग मिलेर पोखरामा आन्दोलन हाँके । आन्दोलन सफल भए पछि उनी मानवअधिकार, सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणको वकालतमा सक्रिय भए । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।

माओवादी सशत्र युद्धको सुरुआतसँगै उनी मानवअधिकार तथा मानवीय कानुन उल्लंघनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा भूमिका निर्वाह गरे । द्वन्द्वकालमा उनले जनअधिकार संरक्षण मञ्च नामक संस्था गठन गरेर वेपत्ता, यातनापीडित, राजवन्दीको अधिकारको क्षेत्रमा निरन्तर लडे । दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी उनले त्यसयता आन्दोलनका उपलब्धि संस्थागत नभएको र सामाजिक रुपान्तरण नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।

राजनीतिक विश्लेषक झलक सुवेदीका अनुसार बरालले परम्परागत रूपमा हिन्दू परिवारले सम्पन्न गर्ने सांस्कृतिक या धार्मिक चाडपर्व या परम्परा मनाउँदैन्थे । दसैंमा टीका लगाउने, दक्षिणा दिने, पितृश्राद्ध गर्ने परम्परा उनले त्यागेको दशकौं भएको थियो । उनी जहिलेदेखि कम्युनिस्ट पार्टीमा लागे त्यतिबेलादेखि नै विद्रोही स्वभाव निरन्तर लिएर बसेका थिए ।

त्यसयता यिनले स्थानीय पार्टी समर्थक र कार्यकर्तासँग मिलेर परम्परागत संस्कृतिले मानिसलाई समान हुनबाट छेक्छ भन्दै नयाँ संस्कृतिको अभ्यास गर्ने प्रायस गरे । उनले आफ्ना सन्तानको बिहेमा कहिल्यै पनि परम्परागत पिताको भूमिका खेलेनन् ।

उनी आफ्ना मान्यताबाट पछि हटेनन् । बरु आफ्नो पुर्ख्यौली सम्पत्ति एक छोरा, तीन छोरी, श्रीमती र आफूलाई अलग–अलग भाग लगाएर पुष्पलाल पार्कको ठीक पश्चिमपट्टिको एउटा भिरालो पाखामा रहेको पुरानो घरमा भैंसी पालेर बसे । सांस्कृतिक रूपान्तरणको मामिलामा परिवारमा एक्लै हुँदै गए ।

पोखराका धेरैजसो कार्यक्रममा अतिथि बन्न पुग्ने उनी हरेकजसो कार्यक्रममा संस्कृतिबारे कुरा उठाउँथे । आफूलाई नास्तिक र मान्छेको जातको एउटा मान्छे मात्र भनेर परिचय दिन्थे । प्रगतिवादी भनिने साहित्यले समेत सांस्कृतिक रूपान्तरणमा खासै भूमिका खेल्न नसकेको भनेर आलोचना गर्थे ।

विश्लेषक सुवेदी बराललाई जीवनका आदर्श र जीवनशैलीलाई सँगै लिएर हिँड्ने त्यागी योगीको रुपमा सम्झन्छन् । भन्छन्, ‘सम्पूर्ण जीवनमा व्यक्तिगत जीवनको पाटोलाई कम समय दिएर मानवता र मानिसको मुक्तिको लागि, सामाजिक न्यायको लागि बिताउनुभयो ।’

टेकनाथकी छोरी प्रभा एमाले केन्द्रीय सदस्य, छोरा विद्याविमल गण्डकी प्रदेश कमिटी सदस्य र छोरी शोभा कास्की जिल्ला कमिटी सदस्य छन् । नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा पनि टेकनाथलाई एक संघर्षशील व्यक्तित्वको रुपमा सम्झन्छन् । ‘समाजका विभिन्न पाटामा संलग्न भएर उहाँले योगदान गर्नुभयो, दुःख गर्नुभयो तर उपलब्धि आउने बेलासम्म त्यही टिक्नु भएन । उहाँ पश्चिमाञ्चलकै सबैभन्दा उच्च पदमा पुग्न सक्ने क्षमता भएको मानिस हुनुहुन्थ्यो,’ उनी भन्छन् ।

बराल मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष भएका थिए । त्यसबाहेक कुनै लाभको पद उनले लिएनन् । पटक पटक कम्युनिस्ट नेतृत्वको सरकार बन्दा समेत उनले गरेको योगदानको कुनै कदर नभएको वामपन्थी नेता रामराज रेग्मी बताउँछन् । ‘अचेल पार्टीमा आवद्ध भएकै आधारमा पुरस्कृत गरिँदा पुरस्कारकै बद्नाम भएको छ,’ उनी भन्छन्, ‘उहाँ(बराल)को जीवनकालमा सरकारले सम्मान गर्न कन्जुस्याइँ गर्नु दुःखद हो ।’

प्रकाशित : भाद्र २४, २०८० १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?