कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

लन्डनमा विशेष कार्यक्रमसहित बुद्धजयन्ती

नवीन पोखरेल

लन्डन — लन्डनमा एक विशेष कार्यक्रमसहित २५६८औं बुद्धजयन्ती मनाइएको छ । बुद्ध फाउन्डेसन यूकेको आयोजनामा आइतबार वुल्लिचस्थित जनरल गोर्डन स्क्वायरमा कार्यक्रम भएको हो । 

लन्डनमा विशेष कार्यक्रमसहित बुद्धजयन्ती

हजारौं मानिस ओहोरदोहोर रहने गोर्डन स्क्वायरको कार्यक्रमले सयौं गैरनेपालीको पनि ध्यान आकर्षित गरिरहेको थियो । झन्डै सात सय नेपाली सहभागी उक्त कार्यक्रम गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसँगै बुद्धको सन्देश र पर्यटन प्रवद्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।

नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति हृदयरत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण बनेका थिए ।

ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले कार्यक्रमस्थल सजिएको थियो । त्यसमाथि मौलिक नेपाली पहिरनमा सयौं नेपालीको उपस्थितिले माहोल नेपालमय बनाएको थियो ।

बालबालिकालाई बुद्ध दर्शनसम्बन्धी जानकारी दिने उद्धेश्यले पुस्तक र नेपाल पोस्टरसमेत प्रदर्शन गरिएको थियो । सोही अवसरमा बालबालिकामाझ बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिस्पर्धा गराएर पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीले सामूहिक दीप प्रज्ववलन गरेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जित रानाभाटलगायतले सम्बोधन गरे ।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन र ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्धसम्बन्धी मन्तव्य दिएका थिए । आयोजक बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए। सो अवसरमा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसँगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरेका थिए।

त्यस्तै, पासा पुच: यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो। स-साना बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डसमेतको सहयोगमा लन्डनमा बर्सेनि हुँदै आएको बुद्धजयन्ती कार्यक्रमको यसपटक छैँटौँ संस्करण थियो ।

प्रकाशित : जेष्ठ २१, २०८१ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x