कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तानसेनमा ‘तरकारी जात्रा’ !

पाल्पा — तानसेन नगरपालिका–३, होलाङ्गदीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि खुसी भएका किसानलाई प्रोत्साहन दिन र बिक्री वितरणमा सहजता ल्याउन ‘तरकारी जात्रा’ निकालिएको छ । 

तानसेनमा ‘तरकारी जात्रा’ !

पाल्पाका साथै छिमेकी जिल्लाका किसानको तरकारी बिक्री गर्न तानसेन होलाङ्दीमा थोकबजारका साथै हाट बजार सञ्चालन आएको थियो । तर सञ्चालनमा समस्या भएपछि प्रचारका लागि ‘तरकारी जात्रा’ निकालेको हो । तानसेन नगरपालिका–१३, बौघागुम्हास्थित मिलनसार महिला सहकारीले मिलनसार कृषि उपज थोक बजार केन्द्र तथा तरकारी प्रशोधन मेसिन सञ्चालनमा ल्याएपछि बिक्रीमा सहजता ल्याउने अपेक्षा थियो ।

त्यसलाई प्रचारप्रसार गर्न तानसेन बजारमा शरीरका विभिन्न भागमा भिन्न जातका तरकारीकै कपडा लगाएर युवायुवतीलाई प्रदर्शन गरिएको हो । तरकारी थोक बजारको प्रचारप्रसार गर्दै उपभोक्तालाई ताजा सफा तरकारीको जानकारी दिन नयाँ शैली अपनाइएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताइन । टाउकोदेखि खुट्टासम्म फरकफरक जातका तरकारी लगाएर बजारमा डुलाएर प्रचार गरिएको उनले बताइन् ।

तानसेनको बसपार्क टुँडिखेल, भीमसेनटोल, नारायाणस्थान, असनटोल शीतलपाटी, मखनटोल हुलाकचोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारी जात्रा प्रदर्शन गरिएको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यक्रम अधिकृत नृप परियारले बताए । शरीरमा आलु, लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली, बेगन, सिमी, बोडी, पर्वललगायतका तरकारी लगाएर जात्रा देखाएको उनले बताए । संस्थाले दैनिक १० टन तरकारीको कारोबार गर्दै आएको छ ।

पाल्पाको तरकारी बुटवल बजारमा पुग्ने, सोही स्थानबाट विभिन्न भारतीय विषादीयुक्त तरकारी मिसिएर पुनः तानसेनको बजार आउादा व्यापारीदेखी उपभोक्तासम्म ५० प्रतिशतसम्म लागत महँगो पर्ने गरेको छ । ‘तरकारीलाई सिधै पाल्पामै खपत गरौँ भन्ने नै छ,’ उनले भने, ‘पाल्पामा बढी भएको तरकारी मात्र बाहिर पठाऔं भन्ने सन्देश दिन तरकारी प्रदर्शन गर्दै हिडाएको हो ।’ संस्थासँग अहिले पाल्पाका झण्डै १ हजार ८ सय कृषक जोडिएका छन् ।

कृषकले उत्पादन गरेको तरकारी ओजन प्रविधिबाट सफा गरी उपभोक्ताको घर–घरमा पुर्‍याउन खोजिएको उनले बताए । तरकारी प्रशोधन केन्द्रका प्रबन्धक सञ्जित कुँवरका अनुसार तानसेनमा पाल्पाकै तरकारी खाने बानी नपर्दा समस्या भएको छ । मिलनसार तरकारी थोक बजार सञ्चालनको लागि तानसेन नगरपालिका, लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेसनल र रेडा पाल्पाले सहयोग गर्दै आएको छ । संस्थामा कृषिजन्य सामग्री धुने मेशिन रहेको छ । दैनिक ६ टन क्षमतामा धुन सकिनेगरी प्रविधियुक्त बनाइएको छ । यहाँ तरकारीको थोक तथा खुद्रा बिक्री पनि हुन्छ । थोक बजार केन्द्रमा १६ टन क्षमताको चिस्यान भण्डारणसमेत छ । सहकारीले निश्चित मापदण्ड पूरा गरेर थोक बजार केन्द्र सञ्चालन गरेको छ ।

३५ रोपनी सार्वजनिक ऐलानी पर्ती जमिनमा थोक बजार केन्द्र निर्माण गरिएको छ । थोक बजार केन्द्रबाट वार्षिक ९४ लाख ७१ हजार केजी तरकारी बिक्री गरेर १६ करोड ४९ लाख आम्दानी गर्ने लक्ष्य सहकारीको रहेको व्यवस्थापक तथा अगुवा किसान सुमित्रा रानाले बताइन् । सहकारीले जिउँदो तौलमा खसीबोका बिक्री, नश्ल सुधारका लागि बीउ बोका र पाठी बिक्री, रासायनिक मलको बिक्री, दूध डेरी सञ्चालन, थोक बजार, पशु बीमा, सुधारिएको पशु दाना बिक्री, ढुवानी, बचत तथा ऋण परिचालनको काम गर्दै आएको सहकारीकी व्यवस्थापक रानाले बताइन् ।

यस सहकारीको कुल पुँजी ७ करोड ६ लाख ५ हजार रहेको छ । सहकारीकी अध्यक्ष भण्डारीका अनुसार विभिन्न नगर तथा पालिकामा समूह तथा सहकारीमा आवद्ध किसानहरुलाई प्रविधि तथा प्राविधिक सहयोगमार्फत् मागमा आधारित कृषि उपजको उत्पादन तथा उत्पादकत्वमा वृद्धिमा सामूहिक बजारीकरणको अभ्यासमार्फत् थोक बजार सञ्चालन गरिएको छ ।

कृषि उपजको मूल्य अभिवृद्धिका लागि प्याकेजिङ, ग्रेडिङ, प्रशोधन गरी बजार क्षेत्रमा निर्यात गर्ने लक्ष्य लिएको छ । सहकारी तथा समूहको बजारसँगको पहुँचलाई वृद्धि गर्दै किसान मैत्री र उपभोक्ता मैत्री वातावरणको सिर्जना गरिएको अध्यक्ष भण्डारीले बताइन् । केन्द्र निर्माणपश्चात कारीतास नेपालले घुम्ती कोष रकम, ६ महिनाका लागि प्राविधिक जेटिए, अदुवा वायर हाउस, प्रशासनिक सहयोग गरेको सहकारीकी अध्यक्ष भण्डारीले बताइन् ।

थोक बजारको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकार, दातृ निकाय, छिमेकी जिल्लाका सरोकारवाला निकाय र निजीक्षेत्रसँग समन्वय गरिने उनले बताइन् । सहकारीले बजारको मागमा आधारित कृषि उपजहरुको संकलन, भण्डार र प्रशोधन गर्दै आएको छ । थोक बजारलाई आवश्यक पर्ने कृषि उपज संकलन, बजारको खोजी, किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य कायम गर्ने काममा सहभागी छ ।

२ करोड ३२ लाख ७४ हजार रुपैयाँ लागतमा केन्द्र निर्माण भएको हो । यसका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ४६ लाख ३६ हजार, तानसेन नगरपालिकाको ४१ लाख २३ हजार, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ८५ लाख र मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था तानसेन–१३, बौघागुम्हाको ५२ लाख, लुम्बिनी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको ८ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोगमा कृषि उपज थोक बजार निर्माण भएको हो ।

प्रकाशित : असार ७, २०८१ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×