एमसीए नेपालले लगायो रातामाटे सबस्टेसन निर्माण ठेक्का

४०० केभी ग्यास इन्सुलेटेड स्विच गिएर सबस्टेसन निर्माण ३९ महिनामा सक्ने सम्झौता

काठमाडौँ — मिलेनियम च्यालेन्स एकाउन्ट (एमसीए) नेपालले नुवाकोटमा ४०० केभी नयाँ रातामाटे सबस्टेसन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङलाई दिएको छ । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विच गिएर (जीआईएस) सबस्टेसन ३९ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो ।

एमसीए नेपालले लगायो रातामाटे सबस्टेसन निर्माण ठेक्का

सम्झौतामा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको एउटा भाग कार्यान्वयनमा ल्याउन लागेको हो । रातामाटे सबस्टेसन निर्माण सकिएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने मुलुककै ठूलो सबस्टेसनमध्ये एक हुने विज्ञप्तिमा उल्लेख छ । कुल ५ करोड १६ लाख डलर लागतमा निर्माण हुने रातामाटे सबस्टेसनले निर्माणपछि लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनबीच विद्युत् प्रसारणलाइनको काम गर्नेछ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीन वटा सबस्टेसनमध्ये यो दोस्रो सबस्टेसनको सम्झौता भएको हो । नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्त्वपूर्ण अंग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको योगदानमा अर्को कोसेढुंगा हो ।

‘तीन वटा सबस्टेसनमध्ये दोस्रो रातामाटे सबस्टेसनको हस्ताक्षरले एमसीसी नेपाल कम्प्याक्टले यसको कार्यान्वयनमा गति बढाएको देखाउँछ,’ एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भने, ‘हामी विश्वस्त छौं– आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ, यसले नेपालका विकासशील आवश्यकता पूरा गर्न नेपालको अपार सम्भावनालाई बलियो बनाउन र नेपाली जनताको समृद्धि ल्याउन मद्दत गर्नेछ ।’

४०० केभी रातामाटे सबस्टेसनबाट विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३२०० मेगावाट बिजुली प्रसारण गर्ने क्षमता हुनेछ । यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरणले नेपालमा औद्योगिक र व्यावसायिक गतिविधि बढाउन सकिनेछ । एमसीसी नेपाल कम्प्याक्टले तीन वटा सबस्टेसनबाहेक विद्युत् प्रसारण आयोजनाअन्तर्गत लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमि प्रसारण लाइन निर्माणका लागि लगानी गर्नेछ ।

एमसीए नेपालका अनुसार १८ किलोमिटर अन्तदेशीय प्रसारणलाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ । एमसीए–नेपालले यसको निर्माण सम्झौता अगस्टभित्र गर्ने लक्ष्य लिएको छ । बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ ।

गत वैशाखमा एमसीए– नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका लागि लिंकसन इन्डिया प्रालिसँग सम्झौता गरेको थियो । उक्त सबस्टेसनको निर्माण सम्झौता अवधिको ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने एमसीए–नेपालले बताएको छ ।

प्रकाशित : असार २, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x