कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एप्पलले एआईको व्यापक प्रयोग गर्ने, मस्कले एप्पल डिभाइसमा प्रतिबन्ध लगाउने

काठमाडौँ — विश्वकै प्रभावशाली र बहुमूल्य कम्पनीमध्ये एक एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स २०२४ कार्यक्रमका क्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को व्यापक प्रयोग समावेश गरिएको विभिन्न नयाँ प्रयोगकर्तामैत्री अपडेट र साझेदारीको घोषणा गरेको छ ।

एप्पलले एआईको व्यापक प्रयोग गर्ने, मस्कले एप्पल डिभाइसमा प्रतिबन्ध लगाउने

धनाढ्य व्यापारी इलन मस्कले भने ओपनएआईसँग व्यापक साझेदारी जारी रहे आफ्ना कम्पनीमा एप्पलको डिभाइसहरू प्रयोगमा प्रतिबन्ध लगाइदिने घोषणा गरेका छन् ।

सामान्यतया आफ्ना सफ्टवेयरमा सुधार र नयाँ पहलहरूबारे छलफल हुने सो कार्यक्रममा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानको उपस्थितिमा एप्पलले 'एप्पल इन्टेलिजेन्स'लाई आफ्ना विभिन्न सेवामा प्रयोग गर्ने र एआई साझेदारीहरू बढाउने सार्वजनिक गरेको हो ।

क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा सोमबार साँझ आयोजित सो कार्यक्रममा कम्पनी प्रमुख टिम कुक लगायतले कम्पनीका विभिन्न उत्पादनहरूका लागि नयाँ भर्जनका सफ्टवेयरबारे सुनाएका थिए । कम्पनीले गोपनियता र इमेज जेनेरेसनसम्बन्धी विभिन्न सुविधाहरू बढाउने सार्वजनिक गरेको हो ।

आफ्ना सबैजसो नयाँ भर्जनमा एआईको प्रयोग थपेको एप्पलले एआईको प्रयोग व्यापक बनेको झन्डै डेढ वर्षपछि एप्पल इन्टेलिजेन्सको घोषणा गरेको हो । यसमा ओपनएआईको च्याटजीपीटीजस्ता सेवालाई प्रयोगकर्ताले आफ्ना डिभाइससँगै प्रयोग गर्नेगरी समाहित गर्न लागिएको छ ।

प्रयोगकर्ताको एप्पल प्रयोगको अनुभव सुधार्ने उद्देश्य राखिएको भनिएको यो सेवाले व्यक्तिगत रूपमा विशिष्टिकरण गरिएको सेवा पाउनुका साथै आफ्ना सन्देश, तस्बिरहरू अझै सहज तवरले सिर्जना गर्न र नोटिफिकेसनका प्राथमिकता समेत बदल्न सक्नेछन् ।

'एप्पल इन्टेलिजेन्स शक्तिशाली जेनेरेटिभ इन्टेलिजेन्सलाई केन्द्रमा राखेर निर्माण गरिएको व्यक्तिगत प्रकारको एआइ सिस्टम हुनेछ,' कम्पनीका वरिष्ठ उपाध्यक्ष क्रेग फेडेरिघीले भनेका छन्, 'यसले प्रयोगकर्तालाई आफ्ना कन्टेन्टका आधारमा सहयोगी र उपायोगी किसिमको इन्टेलिजेन्स उपलब्ध गराउनेछ ।'

आइफोन १५ जस्ता पछिल्ला भर्जनका एप्पल डिभाइसमा क्रमश: उपलब्ध हुने भनिएका यी सेवासँगै एप्पलले आईओेस १८ को घोषणा समेत गरेको छ । यो केही महिनाभित्र एप्पल इन्टेलिजेन्सका विभिन्न सेवा सहित प्रयोगकर्ताहरूको लागि बजारमा आउने अपेक्षा गरिएको छ । कतिपय टेक विश्लेषकले एन्ड्रोइडको जस्तै सेवा थपेको भन्दै खिल्ली समेत उडाएको एप्पलको पछिल्लो अपरेटिङ सिस्टममा आफू अनुकुल बनाउन मिल्ने होम स्क्रीन, तस्बिर, म्यासेजिङ लगायतका सेवामा सुधार गरिएको छ । यसमा एआईको प्रयोगलाई विभिन्न प्लाटफर्म र टुलमा थप्दै लगिएको देख्न सकिन्छ ।

हार्डवेयरको लागि खासै रूचिकर नमानिने यो कार्यक्रममा एप्पलले एप्पल एम-४ चिप सहितको नयाँ आइप्याड प्रो र दुई फरक आकारका आइप्याड एअरको पनि घोषणा गरेको थियो । यस्तै, एप्पलको डिजिटल असिस्टेन्ट सिरीलाई जेनेरेटिभ एआई सुविधासहित थप व्यापकतासहित सुधार गरेको घोषणा गरेको कम्पनीले आफ्ना एप्पल टिभि, सफारी, म्याप लगायत प्लाटफर्ममा एआईका विकल्प थप्ने र प्रयोगकर्ता मैत्री बनाउने पनि घोषणा गरेको छ ।

सँगसँगै कम्पनीको भिजन प्रोका लागि भिजन ओएस २, आइप्याडका लागि ओेएस १८, वाचका लागि ओेएस ११ र म्याकबुकका लागि म्याकओेएस सकियाजस्ता पछिल्ला र एआइ समाहित अपडेट ल्याउने पनि सो कार्यक्रममा सार्वजनिक गरिएको छ ।

एप्पल अधिकारीहरूले आफ्ना प्रस्तुतिका क्रममा झन्डै ५ दर्जनपटक एआईसम्बन्धी प्रसंग उल्लेख गरेका बताइएको कार्यक्रममा कम्पनीले प्रयोगकर्ताहरूको गोपनियताका लागि पासवर्ड र एक्सेससम्बन्धी थप नियन्त्रण सुविधाको पनि व्यवस्था गरेको जनाएको छ ।

आफ्ना सबै सेवा र डिभाइसहरूमा रहेका प्रयोगकर्ताका लागि गोपनियताको सवाल केन्द्रमा राखेर आफूहरूले काम गर्ने कम्पनीको दावी छ । एअरपडको माध्यमबाट जवाफ दिने अझै सहज तरीका थप्ने, इमोजी र सिर्जनात्मकतामा थप विकल्प, एप्पल पेमा सुधार र बिस्तारसँगै सन्देशहरू सेड्युल गर्ने, वाचमार्फत महत्वपूर्ण स्वास्थ्य संकेतहरू अवलोकन र आइफोनहरूमा आरसिएस अर्थात रिच कम्युनिकेशन सर्भिस समावेश गर्ने कम्पनीको घोषणा छ ।

एप्पल इभेन्टका बारेमा थुप्रै प्रतिक्रिया सार्वजनिक गरेका मस्कले ओपनएआईसँग एप्पलले व्यापक साझेदारी गरे आफूले आफ्ना कम्पनीमा एप्पलको डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाइदिने घोषणा गरेका छन् । एप्पलको एआईमा आक्रामक प्रयास एक 'अस्वीकार्य सुरक्षा चुक' भएको उल्लेख गर्दै मस्कले एप्पललाई 'के भइरहेको छ भन्ने थाहा नभएको' खरो टिप्पणी गरेका छन् । सो कार्यक्रमसँगै एप्पलको शेयर मूल्यमा केही गिरावट देखिएको समाचारहरूले उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×