कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उत्तरी सीमाका १४ व्यापारिक नाका शनिबारदेखि पुनः खुला

चार वर्षदेखि बन्द नाका खुलेसँगै भोटखोलाका किमाथांका, च्याम्तांग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत

संखुवासभा — चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका शनिबारदेखि खुलेका छन् । कोरोना संक्रमणका कारण २०७६ माघ ५ देखि बन्द रहेका ती नाका एकसाथ खुलेका हुन् । नाका खुलाउने सिलसिलामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत पुगेका हुन् ।

उत्तरी सीमाका १४ व्यापारिक नाका शनिबारदेखि पुनः खुला

त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्ट्रमन्त्री श्रेष्ठले शनिबार १४ वटै व्यापारिक नाका पुनःसञ्चालन भएको घोषणा गरेका थिए । तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका यी नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्व बीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याइएको बताए ।

मन्त्री श्रेष्ठले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेको बताए । चिनियाँ पक्षले अन्य सात वटा नाका खुलाउँदै जाने उनले बताए । ‘परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुक बीच लामो समयदेखि कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो,’ उनले भने, ‘गत चैतमा गरेको चीनको औपचारिक भ्रमणका अवसरमा सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापारिक नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।’

किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

नाका खुलेपछि गाउँपालिका अध्यक्ष भोटेले भोटखोलावासीका दुःखका दिन सकिएको बताए । ‘नाका बन्द भएपछि सदरमुकाम खाँदबारीबाट खाद्यान्नलगायतका उपभोग्य बस्तु महंगोमा ढुवानी गरेर ल्याउन पर्थ्यो,’ उनले भने, ‘अब सस्तोमा डेन्दाङ र चाँगा बजारबाट नुनतेल ल्याउन सजिलो भयो ।’ यसअघि नाका खोल्न धेरैपटक प्रयास भए पनि नसकिएको उनले बताए ।

नाका खुलेपछि भोटखोलाका किमाथांका, च्याम्तांग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य बस्तु ढुवानी गर्दा महंगो पर्दै आएको थियो । खाँदबारी किमाथांका सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथांकाको दूरी १ सय ६२ किमि छ ।

उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति हुने भोटेले बताए । ‘भन्सार राजस्वमा बृद्धि हुन्छ,’ उनले भने, ‘स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना सहज हुनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउनेछ ।’ किमाथंकावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×