कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भूकम्पप्रभावित बस्तीमा खानेपानीको हाहाकार

भूकम्पले मुहान सुकेपछि र संरचनामा क्षति पुर्‍याएपछि भेरी नदी र खोलाको पानीको भर

जाजरकोट — गत कात्तिक १७ मा गएको भूकम्पका कारण बारेकोट–गाउँपालिका–९ स्थित काप्के खानेपानी योजनाको मुहान सुक्यो । मुहान झन्डै एक फिट दबेपछि काप्केका १ सय २० परिवारमा झन्डै साढे ७ महिनादेखि खानेपानी हाहाकार छ ।

भूकम्पप्रभावित बस्तीमा खानेपानीको हाहाकार

स्थानीय आधा घण्टा हिँडेर सिधेरीखोला मुहानमा गई पानी ल्याउन बाध्य छन् । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ स्थानीय गजेन्द्र विकले भने, ‘एक गाग्री पानीका लागि आधा रातमै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता भयो, महिला र बालबालिकाको बिहानभरिको कामै पानी ल्याउने नै हुन्छ ।’

भूकम्पले बारेकोट–६ घर्तीगाउँस्थित तासे खानेपानी र वडा १ बयाला खानेपानी योजनाको ट्यांकी र मुहानमा क्षति पुगेको छ, जसका कारण २ गाउँका झन्डै २ सय परिवार पनि झन्डै आधा घण्टा हिँडेर पानीखोला, लहरेखोला, जामुनलगायत खोलाको पानी ल्याउन बाध्य छन् । ‘बिहान ल्याएको एक गाग्री पानीले खाना पकाउन नै पुग्दैन, भोक प्यास नभनी दिनभर एक जनाको काम पानी बोक्ने नै हुन्छ,’ स्थानीय विमला घर्तीले भनिन्, ‘उकालो–ओरालो बाटो भएकाले लड्ने डर उत्तिकै, बिहानै पानी भर्न जाँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम उत्तिकै, नुहाउन र लुगा धुन खोलामै झर्नुपर्ने बाध्यता छ ।’

भूकम्पका कारण जिल्लाभरिका १ सय ४३ खानेपानी योजनाको मुहान सुकेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार १ सय ६ खानेपानी योजनाको टंकी, पाइपलाइनलगायत संरचना भत्किएका कारण खानेपानीको आपूर्ति बन्द भएको छ । सबैभन्दा बढी नलगाड नगरपालिकामा २३ योजना पूर्ण रूपमा र २६ योजनामा आशिंक क्षति पुगेपछि खानेपानी हाहाकार भएको छ । नलगाडमा हलचौर, काइखोला, तिउरी, ठूलोखोलालगायत खानेपानी योजनामा क्षति पुगेपछि झन्डै ३ हजार परिवार खोला, भेरी नदी र विभिन्न मुहान चहारेर खानी खोज्न बाध्य भएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । ‘भेरी नदी किनारका बस्तीका बासिन्दा नदीकै दूषित पानी उपभोग गर्न बाध्य छन्,’ उनले भने, ‘दूषित पानीका कारण झाडापखाला, आउलगायत स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’

बढ्दो गर्मीसँगै दूषित पानीका कारण ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखालालगायतका बिरामी बढेको नलगाड नगर अस्पतालका प्रमुख विशाल उप्रेतीले बताए । अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । ‘भूकम्पपछि टहरामा बसेकाहरुले खुला शौच गर्दा पनि स्वास्थ्य समस्या बढेको छ,’ उनले भने, ‘समयमै नियन्त्रण गर्न नसके झाडापखालाको महामारीको जोखिम पनि बढेको छ ।’ पालिकामा झन्डै ८ हजार अस्थायी टहरा बने पनि शौचालय निर्माण नभएको नगरप्रमुख रावतले बताए । कतिपयले पुरानै शौचालय प्रयोग गरे पनि धेरैजसो बासिन्दा टहरा आसपासमै खुला शौच गरिरहेका छन् ।

सदरमुकामस्थित भेरी नगरपालिकामा पनि खानेपानीको अभाव चुलिएको छ । ‘एक त हिउँद र गर्मीमा यहाँ बर्सेनि खानेपानी समस्या थियो,’ भेरी नगरपालिका–४ का वडाध्यक्ष वसन्तप्रसाद शर्माले भने, ‘बजारमा पानीको आपूर्ति भएका मुहानहरु पनि भूकम्पले सुके, ३/४ दिनमा एकपल्ट पानी आउँछ, त्यसैले पुर्‍याउनुपर्ने बाध्यता भयो ।’

भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारको विशाल फाँट कुदुका बासिन्दा पनि वर्षौंदेखि खानेपानी अभावमा छन् । झन्डै ३ सय परिवारका लागि डिप बोरिङमार्फत पानी निकालेर एउटा धारा जडान गरिएको छ । ‘बिहान ३ बजे नै उठेर पानी भर्न धारामा पुग्नुपर्छ,’ कुदुस्थित रोकायटोलकी सरिता रोकायले भनिन्, ‘नत्र पानी पाउनै मुस्किल हुन्छ, ३ बजे उठेर पुग्दा पनि कम्तीमा ३०/४० जना सय महिला जम्मा भइसकेका हुन्छन् ।’ धाराको पानी नपाइएपछि झन्डै आधा घण्टा हिँडेर ३ किलोमिटर टाढाको भेरी नदीमा पुग्न बाध्य हुनुपरेको उनको गुनासो छ ।

भूकम्पपछि कुदुका झन्डै ८० प्रतिशत स्थानीय अस्थायी टहरामा बसाइँ सरेका छन् । ‘टहरामा झन् सरसफाइका काम गरिरहनुपर्छ, बढ्दो गर्मीले तिर्खा मेटाउनै समस्या भयो,’ स्थानीय कल्पना रोकायले भनिन्, ‘अड्कलेर पानी पिउन बाध्य छौं ।’ सिँचाइ र खानेपानी अभावका कारण स्थानीय बर्खेबाली मात्र खेती गर्छन् । कुदुको खानेपानी समस्या हल गर्न एकीकृत कर्णाली सिँचाइ विकास आयोजनाले गत वर्ष ५ करोड ६३ लाखको लागतमा सौर्य प्रणालीमार्फत डिप बोरिङ योजना सञ्चालन गरेको थियो । तर भूकम्पपछि पर्याप्त पानी नआउँदा स्थानीय काकाकुल बनेको स्थानीय शिक्षक हर्कबहादुर रोकायले बताए ।

जाजरकोटमा खोला, नदी र मुहान नजिकै भएर पनि स्थानीयले गर्मीयाममा खानेपानी अभाव भोग्दै आएका थिए । भूकम्पपछि झन् खानेपानी अभाव चुलिएको नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले जनाए । ‘भूकम्पपछिको लामो खडेरी गत वर्ष आउने मुहान पनि यसपालि सुकेका छन्,’ उनले भने, ‘पानी सुकेपछि भेरी किनारामा बस्ती भएका स्थानीयलाई नदीको पानी उपभोग गर्नुको विकल्प छैन ।’ खानेपानी अभावका कारण पशुपालनमा पनि ठूलो असर परेको उनको भनाइ छ ।

खानेपानी अभावको समस्या समाधान गर्न योजनाहरुको प्राथमिकीकरण गर्न लागिएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘भूकम्पले अरु सार्वजनिक संरचनासँगै सबै वडामा खानेपानी योजनाहरु पनि क्षतविच्छेद बनाएको छ,’ उनले भने, ‘आर्थिक वर्षको मसान्तसम्म बढी क्षति भएका १० योजनाको काम सक्ने गरी काम थालिएको छ ।’ खानेपानी अभावको समस्या चुलिएपछि ठूला योजनाका लागि संघीय प्रदेश सरकारलाई अनुरोध गरिएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । भूकम्पका कारण जाजरकोट, सल्यान र रुकुम पश्चिममा विभिन्न ४ सय ८० खानेपानी योजनामा क्षति पुग्दा झन्डै ३ अर्ब रुपैयाँको क्षति भएको कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांक छ । क्षति भएका योजनाहरु तीनवटै तहको सहकार्यमा पुनर्निर्माण गरिने मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८१ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?