द्रुतमार्गको सुरुङ निर्माण अन्तिम चरणमा, १ हजार ५२९ मिटर मात्र खन्न बाँकी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — समग्र आयोजनाको प्रगति कम रहेकाबेला काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । ६ हजार ४१५ मिटरमध्ये १ हजार ५२९ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![द्रुतमार्गको सुरुङ निर्माण अन्तिम चरणमा, १ हजार ५२९ मिटर मात्र खन्न बाँकी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/fasttrackvisit11-1822024110154-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
आयोजनाको परिमार्जित विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार ६ वटा सुरुङ निर्माण हुने छन् । महादेवटार, लेनडाँडा र धेद्रे सुरुङ खन्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ आगामी जेठभित्र गर्नेगरी रात्रिकालीन समयमा पनि काम भइरहेको आयोजनाका प्रमुख एवं सहायक रथी विकास पोखरेलले बताए ।
लेनडाँडा सुरुङको कुल दूरी १ हजार ४३० मिट रहेकोमा अहिलेसम्म १ हजार ३५० मिटर खनी सकिएको छ । अब ८० मिटर मात्र खन्न बाँकी छ । त्यस्तै धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ३९८ मिटर सुरुङ खनी सकिएको छ । अब २ सय ३२ मिटर मात्र खन्न बाँकी छ ।
महादेवटार सुरुङमा पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । यो सुरुङको दूरी ३ हजार ३५५ मिटर छ । अहिलेसम्म २ हजार १३८ मिटर खनी सकिएको र १ हजार २१७ मिटर मात्र खन्न बाँकी छ । यी तीनैवटा सुरुङ १ र २ नम्बर प्याकेजमा पर्छन । दुई महिनाभित्र सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी द्रुत गतिमा काम भइरहेको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बताए । पछि थप भएको २ हजार २५० मिटरको चन्द्राम भिर सुरुङ ,१ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का भएर निर्माण प्रक्रियामा गएको आयोजनाले जनाएको छ ।
नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको फास्ट ट्र्याकमा ७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन । जसले गर्दा यो खण्डको ६.५ किमि क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्नेगरी काम भइरहेको प्रधानसेनापति प्रभुराम शर्माले बताए । आयोजनाको म्याद ०८३ चैत मसान्तसम्म छ । यो आयोजनामा ८९ पुलमध्ये ८५ पुलको ठेक्का भएर काम भइरहेको छ । खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । ८९ मध्ये पुलमध्ये प्याकेज नम्बर ३ मा पर्ने ५ वटा पुलको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनायो ।
प्रधानसेनापति शर्माले ०७६ असोजमा सरकारबाट डीपीआर स्वीकृत भएर आएपछि मात्र आयोजनाको काम सुरु भएको दाबी गरे । यो आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (हालका पनि प्रधानमन्त्री) ले ०७४ जेठ १४ मा शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो । अहिलेसम्म यसको भौतिक प्रगति ३३.२० प्रतिशत छ । यो आयोजनाको सुरु लागत अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ हो । संशोधन गरेर अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ । अहिलेसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
सम्बन्धित समाचार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)